मेघालयका मुख्यमन्त्रीको पत्राचारबारे गोजमुमोले गऱ्यो प्रतिक्रिया : भन्यो- ‘बाबु गोर्खा खेदाउने, छोरा गोर्खाल्याण्ड भन्ने, पत्राचार चुनावी स्टन्ट मात्र नहोस्’

विज्ञापन

केशवराज पोखरेल, प्रवक्ता, गोजमुमो

पोखरेलअनुसार मुख्यमन्त्री कनराडकै पिता स्व. पीए साङ्माले आफू मेघायलको मुख्यमन्त्री छँदा 1980 को दशकमा लाखौं गोर्खाहरूलाई मेघालयबाट लखेटेका हुन्। उनले यसरी लखेटेकै कारण मेघालयका लाखौं गोर्खाहरूले धेरै दुःख कष्ट झेल्नुपरेको हो।‘त्यतिबेला आधाबाटोमा मरेका गोर्खाहरूको लावारिस लाशहरू दाह-संस्कार समेत गर्न नपाई पशुहरूको आहार भएका थिए,’ पोखरेलले भनेका छन्, ‘गोर्खाहरूमाथि मेघालयमा भएको उक्त प्रताड़नाले जलेर नै दार्जीलिङ पहाड़बाट सुवास घिसिङले गोर्खाल्यान्ड आन्दोलन शुरु गरेका थिए। सोझै भन्ने हो भने मेघालयमा गोर्खाहरूमाथि भएको अत्याचारले नै गोर्खाहरूको छात्तीमा गोर्खाल्याण्डको आगो सल्काएको हो।’


कालेबुङ, 16 सेप्टेम्बर


मेघालयका मुख्यमन्त्री कनराड के साङ्माले गोर्खाल्याण्ड राज्य गठन गर्नुपर्छ भन्दै गृहमन्त्री अमित शाहसमक्ष गरेको पत्राचार केवल राजनैतिक स्टन्टमात्रै नहोस् बन्दै गोजमुमोले प्रतिक्रिया दिएको छ।

गोजमुमो प्रवक्ता केशवराज पोखरेलले साङ्माको पत्राचारलाई लिएर व्यापक सन्देह रहेको बताएका छन्।   पोखरेलले आफूहरूलाई लागेको सन्देहको कारण खुलाउँदै जारी गरिएको विज्ञप्तीमा भनेका छन्, ‘कनराड के साङ्माको पार्टी एनपीपी (पीए साङ्माद्वारा स्थापित) पार्टीले नै मेघालयका गोर्खाहरूमाथि धेरै प्रताड़ना गरिरहेको हामीले अनुभव गरिरहेका छौं।’

पोखरेलअनुसार मुख्यमन्त्री कनराडकै पिता स्व. पीए साङ्माले आफू मेघायलको मुख्यमन्त्री छँदा 1980 को दशकमा लाखौं गोर्खाहरूलाई मेघालयबाट लखेटेका हुन्। उनले यसरी लखेटेकै कारण मेघालयका लाखौं गोर्खाहरूले धेरै दुःख कष्ट झेल्नुपरेको हो।

‘त्यतिबेला आधाबाटोमा मरेका गोर्खाहरूको लावारिस लाशहरू दाह-संस्कार समेत गर्न नपाई पशुहरूको आहार भएका थिए,’ पोखरेलले भनेका छन्, ‘गोर्खाहरूमाथि मेघालयमा भएको उक्त प्रताड़नाले जलेर नै दार्जीलिङ पहाड़बाट सुवास घिसिङले गोर्खाल्यान्ड आन्दोलन शुरु गरेका थिए। सोझै भन्ने हो भने मेघालयमा गोर्खाहरूमाथि भएको अत्याचारले नै गोर्खाहरूको छात्तीमा गोर्खाल्याण्डको आगो सल्काएको हो।’

पोखरेलले अहिले पनि मेघालयमा गोर्खाहरूको स्थिति ठिक नरहेको बताएका छन्। उनीअनुसार मेघालय सरकारले त्यहाँका गोर्खाहरूलाई दोस्रो दर्जाको नागरिकको रूपमा हेर्ने गर्छ। उनीहरूलाई विभिन्न सुविधाहरूबाट पनि वञ्चित गरिएको छ।

 ‘मेघालयमा आजसम्म पनि कुनै पनि गोर्खाहरूले जग्गा-जमीन किन्न सक्दैनन्। आफ्नो पिताको जमीन छोराको नाममासमेत हस्तान्तरण हुँदैन,’ पोखरेलले भनेका छन्, ‘यसबाहेक मेघालयमा गोर्खाहरूलाई सरकारी नोकरी गर्ने अधिकारसमेत छैन। विभिन्न प्रकारको राजनैतिक दाउपेच अनि कानूनहरू लगाएर मेघालयबाट गोर्खाहरूलाई खेद्ने षड़यन्त्र अझै पनि उत्तिकै छ।’

पोखरेलले मुख्यमन्त्री साङ्माले साँच्चै गोर्खाहरूको हित चाहन्छन् भने पहिले मेघालयका गोर्खाहरूलाई सम्मानको साथ बाच्ने अधिकार प्रदान गरिनुपर्ने जनाएका छन्। उनले मेघालयको राजनैतिक, आर्थिक, सामाजिक विकासमा गोर्खाहरूको पनि उत्तिकै योगदान रहेको भन्दै मेघालयमा गोर्खाहरूलाई अन्य जातिलाई सरह सम्मान दिइनुपर्ने सुझाएका छन्।

यदि यसो नगरी गोर्खाल्याण्डको माग गर्दै मुख्यमन्त्री साङ्माले गृहमन्त्रीलाई पत्राचार गर्छन् भने त्यसलाई गोजमुमोले राजनैतिक स्टन्टमात्रै मान्नेसमेत पोखरेलले जनाएका छन्।

‘किनभने पश्चिम बङ्गालमा अब चुनाउ नजिकै आइसकेको छ अनि साङ्माको पार्टीले पनि यसपाली उत्तर बङ्गालमा चुनाउ लड्ने रणनीति बनाइरहेको सर्वविवित छ,’ पोखरेलले भनेका छन्, ‘उत्तर बङ्गालमा बसोबासो गर्ने गोर्खाहरू अब मूर्ख छैनन् उनीहरू भारतभरि छरिएर बसोबासो गरिरहेका गोर्खाहरूको अभिभावक पनि हुन्। यसैले यहाँका गोर्खाहरूलाई मूर्ख बनाउने कोशिष गर्नुको साटो मुख्यमन्त्री भएको नाताले मेघालयका गोर्खाहरूलाई न्याय दिइयोस्, तबमात्र भारतका गोर्खाहरूले मुख्यमन्त्रीलाई विश्वास गर्नेछन्।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया