पपुलर पोलिटिक्स र गोर्खाल्याण्ड

विज्ञापन

विचार

गोर्खाहरूको सवालमा भाजपाको हिन्दु राष्ट्रवादजस्तै  ‘गोर्खाल्यान्ड’ पनि एक ‘पपुलर’ भावना हो। यसले विशेष भूगोलका मानिसहरूलाई ‘चिन्हारी’-को हावाला दिएर भाषा र संस्कृति संरक्षणको नाममा एकजुट गराउँछ। जाति र चिन्हारी यो भावनाको नारा हो। अब भाजपाको पपुलर पोलिटिक्सको कारण क्षेत्रीय भावना कुँजे बन्दैछ। ‘गोर्खाल्याण्ड’-लाई ‘पपुलर पोलिटिक्स’ बनाएर क्षेत्रीय राजनीति र भावना मास्ने पहल शुरु भइसकेको छ। बुझ्नुपर्ने कुरा के हो भने क्षेत्रीय दलले मात्र क्षेत्रीय मुद्दालाई ध्यान दिन सक्छ। राष्ट्रिय दलले लोकप्रिय भावनामाथि राजनीति मात्र गर्छ। अब राजनीति बुझेर मात्र हुँदैन, यो पपुलर पोलिटिक्सको चरित्रसमेत बुझ्नुपर्ने हुन्छ।


सपना छेत्री


आइरिस् चिन्तक एवं इन्टेलेजेन्सिया फ्रेड हालिडे भन्छन्, ‘राष्ट्रवाद,  आधुनिक संसारको प्रारम्भिक प्रक्रियाहरू मध्ये एक हो।’ उनको तर्क छ, राष्ट्रवादी विचारधाराले विकसित अनि विकासशील संसारको राजनीतिक आग्रह र निर्णयमा एक महत्वपूर्ण भूमिका खेल्छ।

मलाई लाग्छ, वैश्विकरणले जब ‘राष्ट्रवादको विरोध गर्ने कारकहरू’-लाई प्रोत्साहित गर्छ,  तब यसले समानरुपमा सुरक्षित व्यक्तिगत अनि सांस्कृतिक चिन्हारी निहित मनोवैज्ञानिक आवश्यकतालाई व्यक्त गर्छ। ग्लोबलाइजेसनले 21 औं शताब्दीमा ‘राष्ट्रवादी आदर्श’-लाई दीर्घायु बनाएको छ।

आधुनिकतावादी प्रतिमानका समर्थकहरू र अति इतिहास-केन्द्रितहरूलाई राष्ट्रवादी विचारधारालाई लिएर विरोधी दृष्टिकोणहरूमा बाँडिएको देखिन्छन्। अमेरिकी इन्टेलेजेन्सिया एवं चिन्तक मेरी कलडोर पनि 21 औं शताब्दीमा ‘राष्ट्रवाद’-को रुप फरकिएको बताउँछन्। उनको तर्क छ, राष्ट्रवाद एक यस्तो बिन्दुमाथि विकसित हुँदैछ, जसको स्वरुप अघिल्लो परिभाषासित मिल्दैन। यसलाई  ‘नयाँ राष्ट्रवाद’ भने हुन्छ।

उनी राष्ट्रवादका पुराना मिथक भत्किसकेको मान्छन्।  जसका पारम्परिक मानक र आदर्शहरू परिवर्तन भइसकेको छ। उनी यस्तो राष्ट्रवादको जिकिर गर्छन्, जसलाई नितान्तै प्रतिगामी देखिन्छ। नयाँ राष्ट्रवादलाई उनी ‘एक जङ्गगली, अराजक रूप’ मान्छन्। त्यो रुपको निर्माणमा वैश्वीकरण, हिंसा अनि असमानताको विशेष योगदान छ।

उनको तर्कले के जोर दिन्छन् भने समकालीन राष्ट्रवाद ग्लोबलाइजेशनको सोझो प्रतिक्रिया हो। त्यसैले कतिवटा विचारधाराहरू सुधारवादी देखिन्छन्। उनी नयाँ राष्ट्रवादको अन्तर्यमा अनेकौं शक्तिसहितका प्रोपोगान्डाहरू लुकेको मान्छन्।

उनीअनुसार राष्ट्रवादले काल्पनिक अतितको अपील गर्छ। सबै सम्भावित सकारात्मक सुधारहरूसहित। वर्तमानका ‘परिवर्तनहरू’-लाई त्यही मानकमा हेर्नुपर्ने उनको तर्क छ। कलडोर के स्वीकार्छन् भने राष्ट्रवाद तत्काल भविष्य विध्वंशका सम्भावना होइन।

कलडोरको किताब ‘डिसअर्मिङ युरोप’-का सम्पादक दान स्मिथले पनि भनेका छन्, ‘वैश्वीकरणले राष्ट्र-राज्यमा फाटो ल्याएको छैन, बरु, पारम्परिक आर्थिक अनि सैन्य मानसिकताले यसको चरित्रमा परिवर्तन ल्याएको छ। बरु यसको प्रभाव सामाजिक अनि सांस्कृतिक क्षेत्रदेखि लिएर, बाहिरी सम्प्रभुतादेखि लिएर आन्तरिक घरेलू नियन्त्रणासम्म रहेको छ।

तर कलडोर भने स्मिथको तर्क मान्दैनन्। उनी बाहिरी सम्प्रभुतामा कमी आएको तर युद्ध भने घट्दै गइरहेको मान्छन्। ग्लोबलाइजेशनले युद्धको पुरानो परिभाषालाई समेत भत्काएको र युद्धले नयाँ नयाँ अनुहार लिएर आएको मान्छन्। यसको प्रभाव राष्ट्रवादसमेतमा छर्लङ्ग गरी देखिने तर्क राख्दै यस्तो राष्ट्रवादलाई उनी ‘तमाशा राष्ट्रवाद’ भन्छन्।

तमाशा राष्ट्रवादले केवल ‘निष्क्रिय भागीदारी’-को आवश्यकता देखाउँछ। यो ‘नयाँ राष्ट्रवाद’ -देखि अलग छ।  यसका चरित्रहरू असुरक्षा अनि हिंसाले निर्माण गर्छ।  यो एक अलग राष्ट्रवाद हो, जसमा मुख्यरुपले धार्मिक कट्टरवाद फस्टाउँछ। यो राष्ट्रवादको आग्रह हो, धार्मिक सिद्धान्तलाई सबैले कठोरतापूर्वक पालन गरोस् र त्यसलाई अप्नाओस्।

विश्वका धेरै भागमा यो खाले राष्ट्रवादको पुनरुत्थान भइसकेको छ। यसले तीब्र  असुरक्षा बोध फस्टाउँछ। यसले अचानक र नाटकीय परिवर्तन ल्याउँछ। कलडोर र दान स्मिथ दुवैले यो खाले राष्ट्रवादले व्यक्ति विशेषको विचारधाराहरूमा ‘भेदभाव’ बढाउने बताउँछन्। वर्तमान राष्ट्रवादी आदर्श 21 औं शताब्दीको उत्पादन हो। जसले 21 औं शताब्दीको राजनीतिमा एक महत्वपूर्ण भूमिका खेल्छ।

भारतमा राष्ट्रवादी विचार अनि यसको प्रचारप्रसारमा कट्टरपन्थी हिन्दुहरूको ठूलो योगदान छ। बाल गङ्गाधर तिलकले गणेश पूजा, शिवाजी महोत्सव र गङ्गामा डुबल्की लगाउने प्रथालाई लोकप्रिय बनाए। तर यो ‘गणेश पूजा’ र ‘शिवाजी महोत्सव’ केवल हिन्दु हितको निम्ति थिएन।  तर यसको उपयोग नेताहरूले राजनीतिक फाइदाको लागि गरे। पूजा, महोत्सव र गङ्गालाई राष्ट्रवादी मोहर दिए। यसको संरक्षण राष्ट्रको संरक्षणकोरुपमा व्याख्या गरियो। हिन्दुत्वलाई राष्ट्रवादको भरुवा रङ दलेर राजनीतिको होली खोल्न थालियो।।

पाठ्यक्रमदेखि विद्यार्थी सङ्गठनसम्म यही रङका राष्ट्रवाद चुलियो। ‘धर्म’ नै राष्ट्रवादको मानक बनाइयो।  1919 सम्म मुसलमानहरूलाई काङ्ग्रेसले असली राष्ट्रवाददेखि धेरै टाढा राख्यो। मुस्लिम अर्थात राष्ट्रविरोधी, हिन्दू अर्थात राष्ट्रवादी विचारको टुसा काङ्ग्रेसकै पालाबाट पलाएको हो।  शुरूको दशकमा काङ्ग्रेसमा केवल 8-9% सदस्य मुस्लिम थिए।

राष्ट्रवादी हुनु अर्थात कट्टर हिन्दू हुनुजस्तो भयो। विस्तारै यो धारणा जीवनको प्रमुख हिस्सा बन्दै गयो। यसले  गैर-धार्मिक अनि गैर-आध्यात्मिक क्षेत्रहरूमासमेत विस्तारै घुसपैठ शुरू गऱ्यो।

कट्टर हिन्दू राष्ट्रवादले पाकिस्तानमा घरैमा घुसेर गोली ठोक्दा महोत्सव गर्नुपर्ने स्थिति जनाएको छ। सिमानालाई यही कट्टर हिन्दू राष्ट्रवादी धारणाले घेरो लगाइएको छ। दङ्गा, झगडामा हिन्दू-मुस्लिम डिस्कोर्स बनेको छ। यी सबैले ‘पपुलर पोलिटिक्स’-को नयाँ भाष्य निर्माण गरेको छ।

2014 पछि भारतीय जनता पार्टी (बिजेपी)ले यही राष्ट्रवादलाई राजनीतिक हतियार बनायो। यसले सबैभन्दा पहिले काङ्ग्रेसको धरातल नष्ट गऱ्यो। काङ्ग्रेस यसरी हाऱ्यो कि फेरि उठ्ने बाटो भेट्नै मुस्किल छ। यही राष्ट्रवादले वाम मोर्चाहरूको पतन गऱ्यो।  राज्य स्तरीय दलहरूको अस्तित्व सङ्कटमा पाऱ्यो। क्षेत्रीयपन भन्ने धारणामाथि यसले जोडसित प्रहार गऱ्यो।

मिडिया, सोसल मिडियालाई कट्टर हिन्दु राष्ट्रवादको प्रवक्ता बनाइयो। विस्तारै भाजपाले जाति अनि वर्गलाई केन्द्रित गर्दै हिन्दुराष्ट्र बनाउने ‘पपुलर’ भावनालाई  भोटिङ ब्लोअर बनाइरहेछ।

विभिन्न अनुसन्धनहरूको किटान छ, भाजपाले चुनाव भन्दा पहिला हिंसालाई सबै भन्दा ठूलो राजनीतिक हतियार मान्छ।  येल विश्वविद्यालयका शोधार्थीद्वारा गरिएको एक अध्ययनअनुसार भाजपाले चुनाव भन्दा पहिले गरेको एक हिंसाले आफ्नो भोट शेयरमा 0.8 प्रतिशतको वृद्धि पायो।  दङ्गाले प्रेरित मतदाताहरूको ध्रुविकरण भयो। यसले काङ्ग्रेसलाई नोक्सान पुऱ्यायो। अक्सफोर्ड विश्वविद्यालयका दुई शोधार्थीद्वारा गरिएको अध्ययनअनुसार अल्पसंख्यक समुदायको बिरोधमा हिंसा अनि सोही हिंसालाई राष्ट्रवादको उपाधी दिएर भाजपालाई चुनाव जित्न सजिलो भएको हो।

गोर्खाहरूको सवालमा भाजपाको हिन्दु राष्ट्रवादजस्तै  ‘गोर्खाल्यान्ड’ पनि एक ‘पपुलर’ भावना हो। यसले विशेष भूगोलका मानिसहरूलाई ‘चिन्हारी’-को हावाला दिएर भाषा र संस्कृति संरक्षणको नाममा एकजुट गराउँछ। जाति र चिन्हारी यो भावनाको नारा हो।

अब भाजपाको पपुलर पोलिटिक्सको कारण क्षेत्रीय भावना कुँजे बन्दैछ। ‘गोर्खाल्याण्ड’-लाई ‘पपुलर पोलिटिक्स’ बनाएर क्षेत्रीय राजनीति र भावना मास्ने पहल शुरु भइसकेको छ।

बुझ्नुपर्ने कुरा के हो भने क्षेत्रीय दलले मात्र क्षेत्रीय मुद्दालाई ध्यान दिन सक्छ। राष्ट्रिय दलले लोकप्रिय भावनामाथि राजनीति मात्र गर्छ।

अब राजनीति बुझेर मात्र हुँदैन, यो पपुलर पोलिटिक्सको चरित्रसमेत बुझ्नुपर्ने हुन्छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया