वैश्थानिक चेत अनि कविताको रूप

विज्ञापन

काव्यवृत्त – १०

कविताको संरचनागत ढाँचा फेरिँदा कविताको वाह्यरूप मात्र फेरिँदैन, तर त्यो रूपान्तरणले कविताको भित्री तत्वहरू पनि प्रभावित बन्छन् र तिनमा पनि अनपेक्षित रूपान्तरण आएको हुन्छ । विषयवस्तु र रूप ( कथ्य र कथन )-माझ हुने एकापसको अक्षुण्णताको कारण त्यस्तो भएको हुन्छ । कुनै यौटा कवितामा, अर्थात् कुनै पनि सृजनात्मक थोकमा, कथ्य-कथनमाझ रहने अक्षुण्णता सम्बन्धित सर्जकको सृजनात्मक सोच (चेत)-बाट प्रकट भएको हुन्छ ।


मनप्रसाद सुब्बा


    

     कुनै यौटा छन्दमुक्त कविता (फ्री भर्स)-लाई अर्को भाषामा अनुवाद गर्दा अनुवादकले शास्त्रीय छन्दमा अनुवाद गरिदिँदा कस्तो हुन्छ ? यो प्रश्नको उत्तरमा ती तेलुगु कविको हताश अनुहार मेरो आँखामा आउँछ जसको फ्री भर्सलाई एक छन्दभक्त शास्त्रीय अनुवादकले हिन्दीमा त्यसरी अनुवाद गरिदिएका थिए । प्रसङ्ग हो ई. २०००, भोपालमा अल इन्डिया रेडियो’द्वारा आयोजित भारतीय सर्वभाषा कवि सम्मेलनको पूर्वसन्ध्याको । अनुवादकको निज ग्रहणशीलता, कालीक चेतना, सौन्दर्य-बोध आदि कुराको प्रभाव प्रत्यक्ष-परोक्ष उसको अनुवादमा पर्छ नै । त्यसैले, यौटै पुस्तकको अनुवाद अनुवादकपिच्छे फरक हुन्छ । ओकिउयामा ग्वाइनको गीतान्जली अनुवाद र रेमिका थापाको गीतान्जली अनुवाद हेर्दा मात्र पनि यो कुरो प्रष्ट हुन्छ । गीतान्जलीका कवि स्वयंले बङ्गलादेखि अङ्ग्रेजी अनुवाद गर्दा मूलको रूप मात्र होइन तर अभिव्यन्जना नै भिन्नै बज्ने गरी प्रभावित भएको कुरा आलोचकहरूले बहसमा ल्याएका छन् । यसो हुनुको पछि तर अरू नै मनोवैज्ञानिक कारण पनि छन् । यहाँ कुरा तर कविताको अनुवादबारे होइन, कविताको रूपबारे केही भन्न खोजिएको छ ।      

     कविताको संरचनागत ढाँचा फेरिँदा कविताको वाह्यरूप मात्र फेरिँदैन, तर त्यो रूपान्तरणले कविताको भित्री तत्वहरू पनि प्रभावित बन्छन् र तिनमा पनि अनपेक्षित रूपान्तरण आएको हुन्छ । विषयवस्तु र रूप ( कथ्य र कथन )-माझ हुने एकापसको अक्षुण्णताको कारण त्यस्तो भएको हुन्छ । कुनै यौटा कवितामा, अर्थात् कुनै पनि सृजनात्मक थोकमा, कथ्य-कथनमाझ रहने अक्षुण्णता सम्बन्धित सर्जकको सृजनात्मक सोच (चेत)-बाट प्रकट भएको हुन्छ । अनुभूति तथा विचारले अभिव्यक्तिको विशेष रूप प्राप्त गर्छ सर्जकको अन्तश्चेतबाट। सर्जकले कथ्यलाई जुन किसिमले अनुभूत वा ग्रहण (पर्सिव) गरेको छ त्यै अनुरूप उसको अभिव्यक्तिको रूप निर्देशित वा निर्धारित भएको हुन्छ । त्यसै र त यौटै विषयवस्तुमाथिको काव्यिक अभिव्यक्ति कविपिच्छे भिन्दै हुन्छ । तर यौटै समयको समय-चेतले डोर्याइएका सर्जकहरूमा त्यो समसामयिकताको साझा स्वर पनि प्रतिध्वनित भएको थाह गर्न सकिन्छ ।  

     विषयवस्तु अनुभूत गर्ने तथा त्यसको प्रभाव ग्रहण गर्ने प्रक्रियामा एकलो समयचेतले मात्र सर्जक-संवेदन निर्देशित हुँदैन । त्यससित सूक्ष्म तौरले जडित हुन्छ कविको सांस्कृतिक चेतना पनि । कुनै व्यक्तिमा यो सांस्कृतिक चेतना वैयक्तिक मात्र नभएर त्यसभन्दा अझ प्रभावकारी सामष्टिक (कलेक्टिव्) पनि हुन्छ जसभित्र, कार्ल युङ्गका अनुसार, युगौंदेखि सामष्टिक अवचेतन ( कलेक्टिव अन्कन्सस् )-को रूपमा सञ्चित रहेको हुन्छ त्यो साझा सांस्कृतिक चेतना । अनि व्यक्तिको जीवनमा समकालीन समयचेत र सामष्टिक अवचेतन प्रत्यक्ष-परोक्ष सेन्ट्रीफ्युगल र सेन्ट्रीपिटल फोर्सको रूपमा क्रियाशील रहेको हुन्छ । अघिल्लोले बृहत्तर आयाममा फैलिन खोज्छ भने पछिल्लो चाहिँ निज सांस्कृतिक मूलमा स्व-पहिचानसित उभिन खोज्छ । हामी पछिल्लोमा मात्र अडिग रहेर अघिल्लोबाट अछुत् रहन सक्तैनौं, न त बृहत्तर वैश्विक चेतनामा निज सांस्कृतिक चेतनालाई हराइपठाउन नै चाहन्छौं । त्यसैले, जसरी विकेन्द्रिक शक्ति ( सेन्ट्रीफ्युगल फोर्स ) र स्वकेन्द्रिक शक्ति ( सेन्ट्रीपिटल फोर्स )-को सन्तुलित मध्यमा यौटा ग्रह-पिण्ड आफ्नै धुरीमा साथै केन्द्रिय नक्षत्र ( सूर्य )-को वरिपरि परिक्रमा गरिरहेको छ, उसरी नै यौटा व्यक्तिले, यौटा जातिले, यौटा राष्ट्रले पनि वैश्विक र स्थानिक दुवै शक्तिका माझमा गतिशील भइरहनलाई ‘वैश्थानिक’ बन्नै पर्छ । वैश्थानिकतामा नै स्व-कक्षीय (Rotating) साथै परिक्रमीय (Orbital) गति प्राप्त हुन्छ । यो वैज्ञानिक सत्य हो । यस किसिमको काव्यिक अभीष्टलाई अघि सार्दै ई. २००८-मै किनाराका आवाजहरू-को सन्दर्भमा-मा उक्त द्विचर शक्ति (बाइनरी फोर्स)-को प्रसङ्गसहित यो संयोजित शब्द ( Portmanteau word ) ‘वैश्थानिक’-को परिचय राखिसकिएको हो ।     

     अब यो वैश्थानिक चेतको काव्य-रूप कस्तो हुनुपर्ने हो भन्नेबारे पनि किनारीय प्रस्तावनामै भनिसकिएको छ । यहाँ प्रासङ्गिकतामा तीबारे केही कुरा गर्दै रहल कुरा अघि बढाउनु उचित हुनेछ। आधुनिकतावादी विशिष्ट काव्य संरचनाबाट हटेर प्रस्तावनामा प्रथमतः कविताको कथ्यलाई बिना अलङ्कार सोझै र अनौपचारिक ढङ्गमा जैविक सौन्दर्य प्रस्तुत गर्नु समसामयिक कविताले उठाएको जिम्मेवारी मानिएको छ । यस्तो स्वाभाविक सौन्दर्य जुन यसै हेर्दा देखिंदैन पनि, तर नियालेर हेरे त्यसको अकृत्रिम स्वभावमै सौन्दर्य भेटिन्छ । यस्तो जैविक स्वाभाविकताको सिर्जनामा बिम्बात्मक भाषा होइन तर अभिधात्मक भाषा नै वैश्थानिक सौन्दर्यचेतको निमित्त बढी उपयुक्त हुने ठानियो र त्यो ठनाइ आज पनि उत्तिकै दह्रो उभिराखेको छ यद्यपि कथ्यको विषयवस्तु जुनसुकै किन नहोस् । अनौपचारिकता, तात्क्षणिकता, व्यङ्ग्यिकता, अवक्रता (डिरेक्टनेस्) आदि अभिधात्मक कविताका आन्तरिक रूपगत तत्वहरूसित कवितामा कला निर्वाह गर्नसक्नु आजको काव्यिक आवश्यकता हो भने कविताको सहज ग्राह्यतामै कलालाई जीवन्त राख्नसक्नु आजको काव्यिक चुनौती । यो क्षण-प्रतिक्षणको बंचाइलाई प्रभाव पार्ने परिवेशबाट प्राप्त तीब्र अनुभूतिको नाङ्गो अभिव्यक्ति नै आजको कविताको शक्ति हो । विशिष्टतावादी मत – ‘कविता केवल एक मुट्ठी पाठकको निमित्त’-लाई नकार्दै, सृजनात्मक सर्वसमावेशी सोचलाई सर्वोपरी राखेर भन्छौं – कविता आम पाठकको निमित्त समेत आकर्षक अनि प्रबुद्ध पाठकलाई पनि त्यो उत्तिकै रूचिकर होस् । र यस प्रकारको सृजनकार्य सहज अवश्य छैन ।          

    000

     अब अघि थाल्नीमा उठाइएको कविताको संरचनागत रूपको प्रसङ्ग लिऊँ । उहिले कविता भन्नासाथ चटक्क मिलेको लयात्मक चार पङ्क्ति, दुइ पङ्क्ति, छ: पङ्क्तिमा बद्ध रूप आँखाअघि आइहाल्थ्यो । कविताले त्यो शास्त्रीय रूपलाई छोडेर मुक्त भएको धेरै लामो समय बितिसक्यो । आज कविता भन्नासाथ नियमित लयान्वितीले नछेकिएका लामा – छोटा – मझौला पङ्क्तिहरू एकमाथि अर्को ठाडो बसेर उभिएको यौटा रूप आँखामा आउँछ । ‘यसरी पहिल्यै आँखामा आइहाल्ने, अब रूढ जस्तै बनिसकेको यो कविताको पूर्वाग्रही रूपबाट पनि मुक्ति पाउने युक्ति के छ, सोचौं’ भनेर यौटा प्रस्ताव ई. २००८ मै अघि सारिएको थियो । त्यसो त कवितामा पङ्क्तिहरू छोटा-मझौला-लामा राखिनुको विशेष उद्देश्य हुन्छ सोदाहरण बताएका थियौं । र त्यो उद्देश्य विशेषतः चाक्षुष, ध्वन्यात्मक, चैत्रिक आदि किसिमको हुन्छ । तर यस किसिमको उद्देश्यमूलक पङ्क्ति निर्माणबाटै पनि मुक्त हुन खोजेर पङ्क्तिहरू जताभावी भाँचेर काव्यिक औपचारिकतालाई नै भाँच्ने युक्ति पनि गरिन्छ ।   

     कविताको यो पछिल्लो रूपबाट मुक्त हुन खोजेर केही कविले सपाट गद्य रुपका कविता ( प्रोज पोएम ) लेखेका छन् । नेपालीमा धेरै अघि बालकृष्ण समले महाकाव्य ‘चिसो चुल्हो’-का केही अंशमा यस्तो गद्यिक रूपको प्रभावोत्पादक कविता दिए । बुंख्याचाहरूको देशमा (ई. १९८३)-भित्र ‘यौटा पुरानो जहाजभित्र’ अनि किनाराका आवाज-मा ‘मेरो देश अनि म’ त्यस्तै प्रोज पोएम हुन् । आत्माले शरीर खोजे जस्तो कविताले रूप खोज्दै हिंडिरहेको छ । तर यो पनि सत्य हो कि कविहरूले कवितालाई विशेष संरचनागत रूपको बन्धनबाट मुक्त गर्न जति नै प्रयोगात्मक अपारम्परिक रूपमा कवितालाई उभ्याउन खोजे तापनि त्यसको सीमितता छ । छिचोलेर भन्नुपर्दा, शाब्दिक माध्यम नै कवितालाई तगारो छ । शब्दहरूको मोलेक्युलबिना कविता अवतरित हुने देह नै कहाँ ? यो नितान्त अव्यावहारिक कुरो हो । तर व्यावहारिकतामा सबै कुरा सीमित भएर खुम्चिन्छ । र हाम्रा प्रयोगात्मक खेलहरू यही सीमितताभित्रै हुन्छन् । त्यसो भए यस्ता खेल किन खेलिरहने त ? यथार्थमा, कवितामा अन्तर्निहीत जुन अदृश्य रूप हुन्छ, कविले खेल्ने असीमित स्पेस त्यहाँ पाउँछ । त्यै अदृश्य स्पेसमा कविले जसरी खेल्छ त्यसको प्रतिबिम्बन हो कविताको कलेवरीय रूप ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया