लेखनाथ र म

विज्ञापन

   मेरो साथी

सायद कवित्वलाई बाँच्दै भोग्दै, भोग्दै बाँच्दै गरेको छ लेखनाथले यसरी।  लिखत कविता वा साहित्य त कवि अनि लेखकका अभिव्यक्तिएका थोक वा प्रकटीकरण मात्र हुन् तर उभित्र सृजनाका छालहरू उर्लँदा उभित्रको बनावटीविहीन अलिखित भावतरङ्ग कस्तो होला सायद यसैलाई नै जोखिरहेको हुन्छु होला सायद म लेखनाथसँग हुँदा।


विनोद प्रधान


कवि लेखनाथ छेत्री भन्छन् धेरैले।

लेखनाथ मात्रै भन्छन् कति।

मिलन पनि भन्छन् थोरैले।

मार्टिन स्कसर्सको कुनै पनि फिल्मको कुनै म्याच्युर्ड पात्रको सम्भावित एक चरित्र उ। आजको वेगमा भोलिको परिकल्पनालाई मथिङ्गल-मैथुन गरिरहने उसलाई सायद म एक उत्तेजित भोयर्रिस्ट्ले झैं हेरिरहन्छु। चेत स्तरमा हबहू नहुनसक्छ तर अचेत स्तरमा हरेक पुरूष केही प्रतिशत होमोसेक्स्वेल हुन्छ कि? यतिबेला सायद म फ्रायड्बाट प्रभावित नहुँला तर लैङ्गिक भेदभावको पीडाबाट पनि टाडो छुइनँ।

मभन्दा उ चार पाँच सालको कान्छो होला। तर व्यवहार, आनी-बानी, जीवन शैलीमा धेरै पाको उ मभन्दा।

सानो टाउकोमा धुस्रो कपाल साइड पार्टिङ्ग गरिएको। खपटे अनुहार। अलि लाम्चिलो। केही कालो वर्णको। बोल्दै खिसिक्क हाँस्दा कताकता चोइटिएको जस्तो लाग्ने अघिल्लो दाँतको देब्रेपट्टिको त्यो साससम्म छिर्ने सानो फाँका। गुप्त रहस्य वा अरू थोक केही नै लतपतिएको हल्का बदामी रङ्गको उसका आँखाका रानीहरू। तिखोसँग कुँदिएको ज-लाइनमा कमुलो किसिमको झुस्झुस् टिनेजर दाह्री। खैरो निलो शर्ट बाहिर निकालेर लगाइएको पीस प्यान्ट्, खुट्टामा च्यार्च्यार् गर्ने स्यान्डल।

प्रथम भेटमा उ यस्तै थियो।

स्पेस र टाइमले चेप्टिएको खगोलमा साघुँरिएको जीवन यन्त्रणाका कविताहरूले झुँईझुँई बनाउँछ उसले बिजनबारी टिन्टिन कम्प्लेक्समा। करिब तीन दर्जनजति मस्तिष्कहरू साहित्य बुझ्नु वा बुझाउनुको प्रलोभनमा एकाग्रित छन्, छेकबारविहिन छन्, सुसुप्त छन् तरै पनि जागृत छन्। कुनै खाद्य भोग्दा त्यसको रस जिब्रोको टुप्पोबाट फैलिँदै फैलिँदै सम्पूर्ण शरीरमा रक्तसञ्चालन भई घोलिँदै घोलिँदै एउटा उर्जामा परिणत हुन्छ त्यसरी नै साहित्य भोग्दा अन्तरचेतको कुनै थोकबाट फैलिँदै फैलिँदै चेतनामा घोलिँदै घोलिँदै एउटा उर्जामा परिणत हुन्छ होला। त्यसैमा हुन्छ काल, जगत अनि जीवन। उ माइकअघि उभेर कविता सुनाउँछ। सायद दिमागको अर्बिटमा संवेदनाका ग्रहहरू स्वनिर्धारित दिशातर्फ जाँदैछन्, आँउदैछन्। आजभन्दा सयौं वर्षअघि अन्त कतै जन्मेको भए सायद उ कवि नै हुने थियो, आज भन्दा सयौं वर्षपछि अन्त कतै जन्मेको भए पनि उ कवि नै हुने थियो। समय र काललाई छिचोलेर जन्मिएको भए उ के हुने थियो? कुनै कस्मिक एनर्जी? कुनै अवर्णित भौतिक धातु? कि के? सायद यो बेग्लै कुरा हुने थियो।

“दा अब एउटा सङ्ग्रह निकाल्छु चाँडै।” उसको दुईटै आँखामुनि सिङ्गो शताब्दीको विरोधाभास भासिएझैं काला काला भासिएको दाग के त्योॽ

प्रथम भेटमा उ यस्तै थियो।

000

दा मार्केजको वान हन्ड्रेड यर्स अफ् सलिट्युट जुलुम रैछ नि। एकसय वर्षको एकान्तवास एकै सासमा सुनायो उसले एकदिन।

तपाईंकोमा नेरूदाको सङ्ग्रहहरू छ भने मलाई पनि दिनस् न। अर्को एकदिन उ मलाई पाब्लो नेरूदाका कलमका ढुक्ढुकीहरू मागिरहेथ्यो। उसको कलम अब अझै जोडसँग धड्कने हो कि? उसको बौद्धिक अनि सृजनशील गहनताको मापदन्ड जोख्ने उसले पढ्दै गरेका किताबहरू, बुन्दैगरेका विचारहरू, लेख्दैगरेको समयबाहेक अरू के नै पो छ र मसँग। मैले यही कुराहरू सोचें हूँला कि त्यसबेला।

त्यो मूभी चै पक्का हेर्नस् है, त्यसको स्टोरीटेलिङ्ग यस्तो दाम्मी छ कि….।” फेरि अर्को एकदिन उभित्र चलचित्र अनि आख्यानप्रति अति गम्भिर मोहले जरा गाडिसकेको थाहा पाउँछु म। सायद उसलाई अब कुनै चक्लेटी हिरोले कुनै जिरो फिगर हिरोइनसँग यथार्थभन्दा पर सरेर मेलोड्रामेटिक् संवाद र डान्स् गरेको हेर्न अति बोरिङ लाग्दो हो। अब हिरो भन्ने कन्सेप्ट अलि आउटडेटेट भयो, अब त एन्टी-हिरोहरू टाइपकास्टको सट्टा उभिएका छन्। कल्ट, सब कल्ट र प्यारेलल सिनेमा रूचाउने दर्शक अनि सिनेकर्मीहरूलाई स्पेस बनिएको छ। उसले पनि आफैले बाँचिरहेको कालखण्डभित्रका भौगोलिक, आर्थिक, राजनैतिक, सामाजिक, शैक्षिक, एस्थेटिक विपन्नताले ग्रसित भएर आफैलाई एन्टी हिरो ठान्दो हो।

अर्को एउटा कविता सङ्ग्रह निकाल्दैछु, केही लेखिदिनुहुन्छ

मैले त्यस सङ्ग्रहको लागि लेखेको आधाकल्चो लेख कहिले पूरा गरिनँ।                                                     

म त अनुवाद गर्दैछु नि, अब निस्किनु आँटेको छ किताब मैले अनुवाद गरेको। कालेबुङ्को एउटा भेटमा सुनाउँछ उसले।

दा मेरो उपन्यास लगभग रेड्डी भयो। तपाईंलाई मेल गरिदिएको छु। एकपल्ट पढेर प्रतिक्रिया दिनस् है। धेरै समयपछिको फोन संवादमा उसने भन्यो। म हतार हतार मेल खोल्छु अनि त्यही रातमा नै फर्लङ्गै पढिसिध्याउँछु उपन्यासको ड्राफ्ट्। बिहानै फोन गरेर उसलाई मेरो प्रतिक्रिया दिन्छु।

त्यसपछिका भेटहरूमा उ यस्तै हुँदैहुँदै गयो।

000

अँ अघि मैले भन्दै थिएँ कि उ इतिहासको यस्तो कालखण्डमा जन्मियो अनि भूगोलको यस्तो ठाउँमा बाँच्दैछ कि उसले भोगेको परिस्थिति र व्यवस्थाले उसले आफ्नै किसिमको जीवन दर्शन र सौन्दर्यचेत बनाउँदैछ।

उसको घर रेलिङ्ग हो।

लगभग २० किलोमिटर पारी नेपाल छ, लगभग २० किलोमिटर वारी सिक्किम छ। र बीचमा आञ्चलिक ओस्मोसिस् अनि ऐतिहासिक मेटामोर्फोसिस्को खिचातानीमाझ फैलिएको छ लेखनाथको गाउँ रेलिङ्ग। पुराने लिम्बुहरू त्यस ठाउँलाई लरिङ्ग पनि भन्छन् जसको लिन्बु अर्थ हुन्छ “ला”- जून, “रिङ्ग”- प्रकाश, उज्यालो। यस टोपोनिम् (भौगोलिक नामकरन) -सँग सम्बन्धित किम्वदन्तीहरू धेरै उम्रिएको छ जनजिब्रोमा।

यो त्यही रेलिङ्ग हो जो १८५० मा अङ्ग्रेजले सिक्किमे राजाका एक एजेन्ट छेबू लामालाई पट्टामा दिएको दार्जिलिङ जिल्लाको उत्तर पश्चिमी भूभाग अन्तर्गत पर्दछ। सिक्किमबाट अङ्ग्रेजले गाभेको यो त्यस ११५ स्वेर माइल जमिनको अंश हो जो वार्षिक २० रूपियाँको बहालमा ३ वर्षको निम्ति छेबू लामाले पाएका थिए। यस पट्टालाई समय समयमा परवर्ती नवीकरण गरिन्थ्यो अनि १८६२-मा छेबू लामाले अङ्ग्रेज सरकारलाई आफ्नो सेवा अनि वफादारीलाई ध्यानमा राख्दै यस क्षेत्रलाई नोमिनल बहालमा स्थायित्व गरियोस् भनी निवेदन गरेको थियो। यस्तै भूसम्पतिको ओस्मोसिस् र मेटामोर्फोसिसको उपज अनि प्रणालीमा जन्मिएका हुन्- लेखनाथ।

कता कताबाट चोइटिँदै, कता कताबाट भङ्गालिँदै एकसमयको रेलिङ्ग इस्टेटमा उभेर, बाँचेर अनि केरेर टालटुल गरिएको पुर्ख्योली अतीत लेखनाथलाई हुबहु आफ्नै वर्तमानजस्तो लाग्दो हो कि त्यसैले त उ देशबहादुर कवितामा लेख्छ-

अहिले हराएको बाउ बाजेको सम्झनामा

ऐनामा आफ्नै अनुहार हेरिबस्छ

गट्ठे देशबहादुर

वास्तावमा लेखनाथ नै त हुन् देशबहादुर। उजस्तै ऐतिहासिक घाउपेच अनि राजनैतिक, सामाजिक, आर्थिक, भौगोलिक दाउपेचले डामिएका छाती सुम्सुमाइरहेकाहरू जम्मै देशबहादुर हुन्। लेखनाथलाई थाहा छ कि देश भनेको बेनेडिक्ट् एन्डर्सनहरूजस्ताले परिभाषित गरेको काल्पनिक राजनैतिक समूह मात्रै पनि त होइन।

000

 त्यही रेलिङ्गस्थित लेखनाथको घरमा पुग्छौं हामी।

सानो आँगन जसको ढीप तलबाट उठेको थियो दुईतल्ले घर। भुईँतला ढुङ्गा अनि माटोको। माथिल्लो तला आँगनको ढीपनेर काठ अनि च्यादरको। यहाँदेखि पच्चीस फुटजतिको दुरिमा छ अलग्गै भान्साघर। भान्साघरभित्र भित्तातिर पारेर माटोको चुला जसको मुखमा ठोसिएको एकदुईटा चिरूवा दाउरा। चुलाको ठिक्क माथि धुँवाको मोसो पोतिएको कालो दाउरा राख्ने भार, जहाँनेर छ मोसो कै आवरणमा चोयाको झक् र डालो। यसै भान्साघरदेखि केही पर दाहिने दिशामा छ बाख्राको खोर।

“एता भित्रै आउँनुहोस् न तपाईँहरू।” उसले हामीलाई काठकोठा भएको घरतिर हाल्यो।

लामो काटको बेञ्चीमा बसेकोलाई चिनाउँदै भन्यो उसले-

“हाम्रो बाबा है।”

हत्केला ठ्याप्पै जोडेर नमस्ते गर्‍यौं।

उनले पनि नमस्ते गर्दै भन्नु भयो-

“तपाईँहरू यसरी हाम्रोमा आइदिनु भयो धेरै धेरै धन्यवाद छ है तपाईँहरूलाई।”

डाइबेटिक उहाँ धेरै समय थला परेर भर्खर भर्खर मात्रै तङ्ग्रिनु भएको रहेछ। टाउकोमा ढाका टोपी। टोपीले ढाक्न नसकेको कान माथिमाथिको भागतिर सेतिँदै गएको एक पाको जीवन अध्याय। सिकुटे अनुहारमा मोटो देखिने कालो सेतोको मिश्रणमा उनको जुङ्गे शैली।

ख्वाक् ख्वाक् खोके उनी तीन चार पटकजति। टिल्पिलिएका आँखाहरूले हामीतर्फ हेर्दै खिसिक्क हाँसे उनी। हाँसोको भावतटमा फैलिएका ती ओठहरू कता कता लेखनाथको झैँ लाग्ने।

एकक्षणपछि उ आफ्नो आमालाई चिनाउँछ।

“आमाले तपाईँहरू सबैजनालाई चिन्नुहुन्छ नि।” भन्छ उ।

“म फेसबुकबाट तपाईँहरूको कविता सुनाउँछु आमालाई। फोटो देखाउँछु।”

आमा चैं हाँस्छिन् मात्रै।

धेरैबेरसम्म त्यहाँ बात गरिरहँदा काँसाको टिलिक्क थाल बटुकाहरू सजिन्छन् हाम्रा अघिल्तिर। हार्दिकता पस्किहालियो ती थाल बटुकाहरूमा। धानको चामलको मगमग् बास्ना, खारिलो घिउको तिलस्मी गन्ध त्यो। परिकारहरूबाट बहँदै, बरालिँदै कोठाभित्रको हावामा बेह्रिँदै, बेह्रिँदै मिस्सिएको बाफिलो गन्धले भोकलाई दोब्बर बढाईदियो।

लेखनाथले अघिल्तिर उभेर बोल्यो-

“यो सबै चीजहरू चैं हामीले आफै फलाएको है… चामल, दाल, सब्जी।… नून र तेल मात्र चैं किनेको।”

त्यसपछि हरहर्ती भोकको खाडललाई पुर्ने चेष्टा गर्‍यौं हामीले प्रत्येक गाँससँगै।

असले आफ्नो दिदी पनि चिनाउँछ।

उसले निक्कै अघि भनेको कुरा याद आयो-

“मेरो दिदीले त मेरो लागि ठूलो त्याग गरेको छ…”

“कसरी?” भन्छु म।

“घरमा पैसाको अलि दुखै थियो। घरको सबै छोर्छोरीलाई पढाउन हम्मेहम्मे पर्ने आमा बाबुलाई। त्यसैले मैले अक्षर चिनोस् र अझ धेर पढोस् भनेर दिदीले आफ्नो पढाई नै छोडिदिई।”

उसको दिदी हाँसिरहेकी थिई भर्खरै बाख्राको टाटनाअघि एक डोको घाँस राखेर।

फर्किने बेला म उसको घर उँधोतिर हेर्छु। खेतका गह्राहरू खाताखात पल्टिएको छ। स्वाँ गरेर छोटा रङ्गीत सुस्ताइरहेछ। खोलाको ठीक वल्लो बगरबाट अहम कि दरिद्रताजस्तो अग्लिँदै अग्लिँदै उठेको छ मीम चिया कमान। आधुनिक सभ्यताको दानवजस्तै लाग्ने चिया गाछका बीचबीचमा ठिङ्गरिङ्गै उभिएका छन् हाइपरटेन्शनका टावरहरू।

“यो टावर यहाँ खडा गर्दाको एउटा घटना सुन्नोस् न।” लेखनाथ भन्छ।

“कस्तो घटना?” उत्सुकतावश सोध्छु म।

“यो टावर उठाउने अनि बनाउने मजदूरहरू सबै तल मधेसकाहरू हुन्छन्। बिचराहरू यहाँ कुन कन्डिसन् र एग्रिमेन्टमा काम गर्नु आउँछ होला।”

म सुनिबस्छु चुपचाप।

उ भनिरहेको छ, “एकपल्ट त्यो पाखामा टावरको काम धमाधम हुँदै थियो। एकजाना मजदूर त निक्कै माथि चढिहाल्यो। डोरी या अरू कुनै किसिमको सुरक्षा सामाग्री बिनै चढ्यो उ। यसरी चढ्नु पनि एउटा मेसो नै हुनु पर्ने रहेछ।”

त्यसरी चढ्नु अद्भूत आशिर्वाद हो कि अद्भूत श्राप? सोचेछु मैले।

उसको वर्णन जारी छ, “सत्तर अस्सी फीट जति माथि पुग्छ उ। हात अनि खुट्टा सिपालु ढङ्गले चल्दैछ। अलिक माथि पुग्दा के भो कुन्नि, हात जिप्टियो कि खुट्टा, उसको शरीर खस्यो भुईँतिर। हावामा अडिएन त्यो शरीर।”

“अन्त…” आत्तिएको स्वरमा सोधेछु।

“त्यसपछि त झन खतरा नि…”

“के??” कस्तो बित्यासको उत्सुकता मेरो।

“तल चैं चियाका बोटहरू…त्यसमाथि नै खस्यो होला।” मेरो अनुमान सुनाउँछु।

उ गम्भीर भएर भन्छ, “भर्खरै कलम काटेका चियाका बोटहरू थियो। तिखो तिखो। त्यसैमाथि ख्वाम्मै सिउरियो। घोप्टो परेर छाती मै।”

“च: च:” चुक्चुकाएँ मात्रै।

“हल्ला खल्ला केही भएन। अरू काम गर्ने मजदूरहरू कराएनन् पनि गुहार पनि लगाएनन्। बरू चार पाँचजना बोरा बोकेर आयो। गुटमुटाएर लगि पनि हाल्यो।“

“यता वरिपरिकोले त चाल त के गन्ध पनि पाएन यो कुराको।” अन्तमा थप्यो उसैले।

म पारीको टावरलाई एकटक हेरिरहन्छु।

000

कालेबुङमा एउटा साहित्यिक कार्यक्रममा सहभागी भई बेलुकी अबेरसम्म एउटा रेष्ट्रोबारमा गिलास ठोक्काउँदै बस्यौँ हामी। टेबलमा टाँस्सिसकेका आफूहरूलाई झमक्कै अँध्यारो हुँदा मात्रै बलैले अनि करैले उक्काउन सफल भयौँ, लगभग तीन घण्टाको बाटो दार्जिलिङ पुग्नलाई। हामी चार पाँचजना थियौं गाडीभित्र झिनझिन् अवस्थामा। लेखनाथ मेरो छेवैको सीटमा बसेको छ।

टिस्टा पूल नाघेर अलिमाथि पुग्दा अघिल्लो सीटबाट अमृत दाज्युले गाडी रोक्ने आह्वान गर्नुभयो। उनलाई दिसा जानु थिएछ। अँध्यारोमा हुतिँदै बतिँदै म पनि निस्कन्छु। सडक तल्तिर सुकेका पत्करमा लर्बरिएका पाइलाहरूको सन्तुलन कायम राख्न खोज्छु। दुवै हातहरूले ऊन्यु र अरू झारहरू मुठ्याउदै मठार्दै बाँकी सन्तुलनलाई क्षतिग्रस्त नबनाउने मनसाय बनाउँछु। झापडभन्दा कम वेगमा सिरेटोले अनुहार चुट्यो। अब त डगमगाउदिनँ होलाजस्तो लाग्दा बिस्तारै प्यान्टको जिप खोल्छु।

भुईँको सुकेका पातहरूमा धरररररर आवाज खस्छ।

“अरे दा!!!” सतर्क गराउने आवाजमा लेखनाथ पछिबाट करायो।

उतिर फर्कँदा उसले त्यही लयमा भन्यो, “त्यहाँ तल त भगवानको मन्दिर पो छ त…”

अलिअलि हल्लिएको, अलिअलि धुम्मिएको देख्ने अवस्थामा थिएँ म। यसो तल हेर्छु, झण्डाको छायाजस्तै वस्तु फर्फरिँदै थियो। त्यसको ठिक्क माथि त्रिकोणीय छानामा चन्द्राकारको गजुरजस्तो केही मेरो मातले हल्लाउँदै थियो।

म उतिर नफर्की त्यो कालो फर्फरिँदै गरेको छायालाई हेरेर बोलिपठाउँछु-

“अरे भाइ!!!… भगवान त चारैतिर छ नि!!!”

र चारैतिरको सङ्केतमा दाहिनेतर्फबाट देब्रेपट्टिसम्म मुन्टो घुमाइदिन्छु।

परबाट उसको कालो आकृतिले निक्कैबेर हेऱ्यो मलाई।

मैले प्यान्टको जिप लगाउँदै गर्दा उ जोडसँग खितखित् हाँस्यो अनि भन्यो-

“हैट् यो दा ले पनि खतरा दियो।”

000

 काठमाडौंमा एउटा होटलको कोठाभित्र कवि मनोज बोगटी, निमा शेर्पा, प्रदीप लोहागुण, लेखनाथ र म थियौं भारतबाट। नेपालका स्वप्नील स्मृति, दुतेन्द्र चाम्लिङ्ग, विमला तुम्खेवा अनि अन्यहरू पनि थिए । गफ गर्दै थियौं। केहीबेरपछि मनोज दाज्यु र स्वप्नील स्मृतिको निक्कै चर्काचर्की बहस शुरू भयो। बहसले झन् बिराट रूप लिन्छ। अब सबैको ध्यान यी दुवै कविहरूलाई साम्य बनाउनेतर्फ हुन्छ। म छक्क परेर हेरिरहन्छु कारण कविता- साहित्य सम्बन्धी यस्तो किसिमको बहस मैले कहिल्यै देखेको थिइनँ। लेखनाथ पनि उसरी नै हेरिरहेछ।

खाना खानेबेलामा पनि त्यो बहस साम्य भएन। दुवैजनालाई छुट्याउन गाह्रो पर्‍यो हामी सबैलाई। मनोज दाज्युलाई हामी जसोतसो कोठाभित्र हाल्छौं।

 अब कोठाभित्र गम्भीर मुद्रामा लेखनाथ आफ्नो कञ्चट छाम्छ। उदेक नजरले राम्ररी मनोज दाज्युलाई हेर्छ। नजिकैको टेबलबाट गिलास उठाउछ जसको पिँधमा अलिकति तरल पदार्थ छ। त्यो पिँधको तरलता उसले स्वाट्टै पार्छ। देब्रे हातको बूढी औला अनि अरू चार औलाहरूबीच निधार छ उसको। भित्रबाट सिटी बजेकोजस्तो लामो सास तान्छ। अनि भन्छ-

“यो बोगटी चै के भा’को।”

भोलीपल्टको साँझ त्यही कोठाभित्र मनोज बोगटी अनि स्वप्नील स्मृति दुवै एक अर्कालाई अङ्गालो हालेर गीत गाउँदै गरेका हुन्छन्। यो दृश्यलाई लेखनाथ केही सेकेण्डलाई घोत्लेर हेर्छ। त्यसपछि ओठमा हल्का हाँसो फैलाउँदै भन्छ-

“यो बोगटी चै के भा’को… .हे हे हे …..”

000

बिहानको साढे दुई बजे अँध्यारोमा टर्च् लाइटको प्रकाशमा हामी तीनजना गान्धी रोड तेर्सो हिँड्दैछौ- लेखनाथ, फुर्तेञ्जी अनि म।

हामीलाई टाइगर हिल जानु थियो।

 लक्ष्मीप्रसाद देवकोटा पनि दार्जिलिङ आँउदा टाइगर हिल घुमेका थिए। “बाघे चूली” शिर्षक राखेर कविता पनि लेखे उनले। देवकोटालाई जुन सुर्योदयले मोहित बनाएको थियो, सायद हामी पनि त्यही झाँकीलाई आत्मसात गर्न गइरहेका थियौं।

पदचापको आवाजबाहेक वरिपरि चकन्न छ। चकमन्नता आँखीझ्याल पनि त हो। चकमन्नतामा अरू बेलाभन्दा संसार अझ बढी खुल्ला देखिन्छ। चकमन्नतामा नै आफू हुनुको बोध आफैले हेरिन्छ।

घ्यार् घ्यार् गर्दै तीन चारवटा गाडीहरू टुरिस्ट बोकेर हाम्रो नजिक आएर उकालो लागे।

ती गाडीहरूलाई एकटक हेर्दै लेखनाथले भन्छ-

“आम्मामामा… हेर्नु नि दार्जिलिङमा गाडीको गाडी पैसा आ’को।”

सिञ्चेल पोखरी देखिने घुम्तीमा हामी एकक्षण रोकिन्छौं।

“यो दुईवटा पोखरीको पानीले बचाइँराखेको छ दार्जिलिङ शहरको यत्रो जनसंख्यालाई।” फुर्तेञ्जीले सुनायो।

“यो पोखरीमा त मान्छेहरू आएर सुसाइड पनि गर्छ नि,” लेखनाथले थप्छ।

लेखनाथ फुर्तेञ्जीपट्टि फर्केर भन्छ-

“गुरू! सुसाइड गर्छु नै भनेर अठोट गरेपछि त्यो मान्छेलाई डर चैं लाग्दैन रहेछ। डरभन्दा बढी उसलाई पीरले पिरोल्दो रहेछ। नत्र त बिहानै झिसमिसेमा अथवा चौपट अँध्यारोमा यत्रो ठूलो जङ्गलको बाटो हिँडेर यहाँ आएर कसरी सुसाइड गर्नु?”

उसले दिएको यो आत्महत्याको मनोविज्ञानले मेरो मनलाई झननन बनाइरह्यो।

“आत्मदाहको तरल स्मृतिलाई छातीमा खिलेर आत्मदाह कै पानीले तिर्खा मेट्छ यो दार्जिलिङ्ग शहरवासीले।” मभित्र कुन्नि को बोल्यो त्यसबेला।

सिञ्चेल धाम पस्नुभन्दा केही तल छ तिब्बती शैलीमा बनाइएको ठूलो गेट। देब्रेतर्फ हेर्दा मधुरो जूनेली ओढेर मस्त निधाइरहेको थियो दार्जिलिङ शहर। शहरको पछिल्तिर सेतो लाशजस्तो पल्टिएको थियो कञ्चनजङ्घा। आँखैले चीरहरण हुनुको बेमज्जामा बाध्यतावश दिनहुँ यसरी बिक्री हुन्छ त्यो फ्रोजन कञ्चनजङ्घा।

“यसलाई बेच्दै खान्छ हाम्रो मान्छेहरू चैं।” दुईजानामा कुन्नि को बोलेजस्तो लाग्यो मलाई।

म भने सम्झिरहन्छु कि मान्छे केही न केही बेचिनै रहन्छ यस संसारमा। मसँग भने के छ त्यस्तो बेच्न मिल्ने? लेखनाथसँग के छ त त्यस्तो? फुर्तेञ्जीसँग के छ त त्यस्तो?

लेखनाथले धेरैपछि टाइगरहिल भन्ने कविता नै सुनायो मलाई, जसको एक ठाउँमा उसले लेखेको थियो-

बजारको झर्को हल्लादेखि तर्सिएर भागेको एकान्त

अचेल यतातिर बरालिन आउँछ

….. ….

टाडा शहरतिर हेरेर सोंचिबस्छ

कि मान्छेदेखि कति टाडा भइसकेछ जङ्गल

अथवा जङ्गलबाट कति टाढा भइसकेछ मान्छे।

अतितको हाँगामा पिङ्ग झैं मच्चिँदै आयो फेरि उही प्रश्न एकपल्ट- के छ त उ अनि मसँग त्यस्तो बेच्नलाई? सायद यही कवितामा वर्णन गरिएको एकान्त नै पो होला है हामीले बेच्ने भनेको त। चाउरिएर दश मुजा परेको संसर्गमैत्रिक नलाग्ले त्यो एकान्त जहाँबाट बाहिरिएपछि हामी आफ्नो आत्मीयताभन्दा बढी आफू नै अरूको आदत भइदिन्छौं, मजबूरी भइदिन्छौँ, समय कटनी भइदिन्छौँ। आफू पनि भइदिन्छौं र अरूलाई पनि बनाइदिन्छौं।

000

एक दिन लेखनाथ र म ओरियन्टको ओह्रालो लाग्दै थियौं। साँघुरो बाटोमा भीड कति भने हिँड्ने कष्ट नै गर्नु नपर्ने, पछाडीकाहरूले घचेटिदिएर नै अघि बढाइदिने। बाटोको छेउ-छेउमा सेकेण्ड ह्याण्ड लुगाहरूको थाक जसलाई छान्न अनि टिप्न असंख्य हातहरूको थाक।

स्टार सेलूनको गोलाइबाट भीड केही पात्लिन्छ। त्यही पात्लिँदै गइरहेको भीडबाट एक परिचित भलाद्मी हाम्रै दिशातर्फ आउँदै थिए। मझौला कदको, बलियो किसिमको देखिने जीउडाल, क्लिन् सेभ्ड अनुहार, तानमा बुनेको झोला कुमबाट छड्के भिरेको। उनी हाम्रो नजिक आइसक्दा हाम्रा हातहरू नमस्कारको मुद्रामा जोडिसकेका हुन्छन्।

“नमस्ते सर।” झण्डै सँगसँगै सम्बोधन गर्छौं दुवैजनाले उनलाई।

उनले प्रत्युत्तरमा आफ्नो दाहिने हात अभिवादनमा उठाउँछन् तर निरन्तर हिँडिनै रहन्छन्। उचालिएको दाहिने हातसँगै दाहिनेतर्फ नै घुमाउँछन् उनले आफ्नो टाउको अनि हिँड्दैहिँड्दै नै भन्छन्-

“तपाईँहरूको हस्तक्षेप हेर्दैछु है।”

उनले पछि घुमेर हेरेनन् पनि।

लेखनाथले उनलाई फर्केर हेरूँला जस्तो गऱ्यो तर हेरेन।

केही कदम हिँडेर उसले मलाई शङ्कालु भावमा भन्यो-

“दा!!! हेर्दैछु है पो भन्यो त उसले। यो चै स्टेटमेन्ट हो कि धम्की हौ।”

र हाँस्यौं, “हे हे हे हे…” 

000

एकाडेमिक रूपले लेखनाथ विज्ञानको छात्र हुन्। वनस्पति, जीव जगतमा पनि उतिकै अभिरूची उसलाई। उ साहित्यप्रति किन तानियो? सोचिरहन्छु कहिले। पहेंलिएका धानको सिलाभित्र सेता सेता रहस्यमय दानाहरू, अथवा शिरीषका पातविहिन अग्ला अग्ला रूखहरूको जैविक अनुकूलता, बाटोको भित्ताभरि बनमारो र तितापातीको  अनुत्तरित प्रश्न अनि प्रश्नहीन उत्तरका गन्धहरू- यस्तै थोकहरूले चाख बढायो होला उसलाई विज्ञानलाई कोट्याउदै कोट्याउदै कविता उत्खनन् गर्नु। अनि यो खेतको आलीमा पछारिएका बाल्यकालका घाउहरू र छरपस्टिएका अन्तर पीडाका दानाहरू- ती सबैलाई बटुल्नलाई पो उ साहित्यिक बन्यो कि? अथवा, बाख्राको टाटनामा उसको आमाले घाँसिलो स्नेह बाँड्दा र चार जूवा घाम बितिसक्दा,  उसको बाबुले एउटा जूवामा गोरूले फन्को लगाएको दाईँसँगै एक छाकको लागि घामको धेरै फन्को मार्दा अलि ढिलो सर्ने त्यो  घरभित्रको पृथ्वीलाई चल्मलाउनलाई पो उ साहित्यिक बन्यो कि?

यदाकदा उसलाई सम्झिँदा आँखाको कालो खापाभित्र पोतिएको हुन्छ उसको बतासेको त्यो सानो कोठा। ओछ्यानको छेउमा टेबल, टेबलमा अटेसमटेस किताब अनि कागजहरूको थाक जसले थिचिराखेका छन् केही दबाईका सिसीहरू, ट्याब्लेटका फाइलहरू। साँझपख उ त्यही काठामा स्कूले फुच्चाफुच्चीहरू वरिपरि राखेर गणित सिकाइरहेको हुन्थ्यो। अनि राती सिकिस्त स्वरमा भन्थ्यो-

“जहिले पनि रातमा चै साह्रै टाउको दुख्छ। माफ गर्नुहोस् है अब म बोल्न नसक्ने अवस्थामा छु।”

सिसीको दबाई अनि फाइलको ट्याब्लेट् कपको मनतातो पानीसँग घुटुक्क निल्थ्यो। अनि ओछ्यानमा ओछ्याएको फूलैफूल प्रिन्टेट च्यादरमा काँडाले बिझेसरि कुचुक्क गुजुल्टिन्थ्यो।

फेरि अर्को दृश्य झल्यास्सै ओइरिन्छ- लेखनाथ, फुर्तेञ्जी अनि म सन्दकपू र फालूटको घनघोर जङ्गलै जङ्ल तीन चार दिनसम्म यात्रा गरेको। गिलासभरिको मधुरो गुलाबी गुराँसको रसले पहाडकै हल्लिएको, भुँई नै नाँचिदिएको, बतासले सुसेली बजाएको, बाँसघारीका एकथान बाँसहरू जुल्फी हल्लाउँदै मद्होस भएको।

सायद कवित्वलाई बाँच्दै भोग्दै, भोग्दै बाँच्दै गरेको छ लेखनाथले यसरी।  लिखत कविता वा साहित्य त कवि अनि लेखकका अभिव्यक्तिएका थोक वा प्रकटीकरण मात्र हुन् तर उभित्र सृजनाका छालहरू उर्लँदा उभित्रको बनावटीविहीन अलिखित भावतरङ्ग कस्तो होला सायद यसैलाई नै जोखिरहेको हुन्छु होला सायद म लेखनाथसँग हुँदा।

  एन्टी-एपिलग् 

प्रिय लेखनाथ, 

कुशल अनि सञ्चो छौ भनेर सोध्नु सायद तिम्रो अन्तरमनको अन्तरमुखि घाउलाई खिसी गर्नुजस्तो हुन्छ होला। 

तिमी र म त संसारको अरबौं आममान्छेको प्रतिरूप हौं।  हाम्रा सपनाहरू दुर्गम गाउँका रैथानेहरू हुन् जससम्म पुग्दा विपनाको चोला उठिसकेको हुन्छ। हामीले आज लेख्दै गरेका साहित्य के को निम्ति हो? समाजको? व्यक्तिगत अहमको? चिरञ्जिवी हुन लागिको? कि यो दुई चार दिनको फोस्रो चर्चा मात्र हो? 

प्रिय भाई! मलाई अचेल यस्तो लाग्न थालेको छ कि विविधताको पर्खालमा एक युग बाँच्नु भनेको हजार युगको सङ्घर्ष न हो। एकरूपताको आशामा बाँच्नु भनेको हजार युगको भ्रम न हो। कल्पनाको सर्पले डसेको निलाम्मे यथार्थ तिम्रो पनि छ, मेरो पनि छ। हामी त ऐठनलाई नै सपना ठान्ने तिलस्म ठाँउका पात्रहरू हौं। मलाई लाग्छ कि अझै पनि हरेक रात एउटा बिसञ्चो व्यवस्था तिम्रो ओछ्यानमा पल्टिरहन्छ र एउटा अचल चाहानाको भ्रूण भएर भकभके उज्यालोमा नै कचेल्टिन्छ। मलाई त तिम्रो मानसिक र शारिरिक  शुष्कतामा डब्दै डब्दै नलेख मरिएका ती हजार कविता, आख्यान अनि उपकथाहरूलाई भोग्न मन छ। म अझै सुम्सुमिनु चाहान्छु, कुतकुतिनु चाहन्छु तिम्रो नाङ्गो संवेदनाको आवेगले, जसद्वरा मेरो कुमारीत्व भङ्ग होस्। विचार र कलात्मकताको नवन, निर्मल, निराकार बीज कुरेर प्रतिक्षारत छु एउटा यौनिक तिर्खा बोकेर। 

अहिलेलाई अधरै छु, अतृप्त छु, अपूर्ण छु। 

 

                                                                                                                                                                                         उही तिम्रो ऐठनको,                                                                                          

                                                                                                                                                                                                    विनोद दा

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया