गोजमुमो तृणमूलको भावी गठबन्धन सम्बन्धमा सोध्दा ‘नो कमेन्ट’ मात्र किन?

विज्ञापन

– बी० पी० बजगाईं

यस पोस्टमा चित्रमा दिइएको समाचार पत्र बङ्गला दैनिक उत्तरबंग संवादको हो अनि यो २७ सितम्बर २०२० को ताजा समाचार पत्र हो| गोर्खा राजनीति बारम्बार बेचिंदै आएको छ अनि जनता जहिल्यै भावनात्मक शिकार बनेर शहीद बनिरहेका छन्| मैले यस लामो समाचारको केवल पहिलो परिच्छेद मात्रै अनुवाद गरेर यहाँ राखेको छु, किनभने हाम्रो राजनीतिमा फेरिपनि ग्रहण यही पहिलो परिच्छेदले लगाएको छ| बङ्गला समाचारको पहिलो परिच्छेदमा यस्तो लेखिएको छ – “अब भाजपामा भरोसा रहेन, त्यसैले पहाड फर्किने तयारी गर्न बिमल गुरुङहरु तृणमूल कङ्ग्रेसको शरणमा गएका छन्|

यसरी शीर्ष स्थानीय नेताहरु आवश्यकता परे तृणमूल कङ्ग्रेसको झण्डा लिनसम्म पनि राजी भएका छन्| सुन्दा अचम्म लागे तापनि गुरुङ वाहिनीको पक्षबाट यस्तै प्रस्ताव तृणमूल हाईकमाण्डमा पुगेको छ| यस्तो की विमलले बिना शर्तमा यो सन्धिको प्रस्ताव दिएका छन्| टीम पीकेको परामर्श अनुसार भोटको अंशमा सुविधा पाउनको निम्ती बिमलहरुसँग हात मिलाउन तृणमूललाई कुनै आपत्ति छैन| उनीहरूको शर्त एउटा मात्रै छ, त्यो के हो भने तृणमूलसँग हात मिलाउन सबै मामिलाहरुमा अदालतबाट जमानत लिएर आएको हुनुपर्दछ| तर के राज्यको सम्मति बिना बिमलहरुले अदालतबाट सबै मामिलाहरुमा जमानत पाउनेछन्? राजनीतिक विज्ञहरुको मत अनुसार राज्य सरकार अनि शासक दल तृणमूलले चाह्यो भने विमलहरुले जमानत पाउन फ्री स्पेस दिन सक्नेछन्| यस विषयलाई लिएर मोर्चा शिविर दोस्रो व्यक्ति रोशन गिरीसँग सम्पर्क गर्दा उनले मात्र ‘नो कमेन्ट’ भने|

”यस्तो समाचार छापिएको लगत्तै आज बिमल गुरुङका समर्थक तथा विस्थापित भाई पुरण राइले लेख्छन, “हुनसक्छ ममताले बिमल गुरुङलाई प्रस्ताव पठाउन सक्छन् । बिमल गुरुङ ले पनि अहिले यसलाई नकार्न सक्दैनन् किनकि अहिले बिमल गुरुङ जुन मोडमा उभिएका छन् कि त भाजपाको मद्दत लिनुपर्छ कि त तृणमूलको । अब भाजपाले आजसम्म वरको सिन्का पर सारेको देखिएको छैन । आज बिमल गुरुङको जिम्मेवारी भनेको सम्पुर्ण भुमिगत अथवा विस्थापित परिवारलाई घर फर्काई पठाउन पनि हो।“ उहाँले कुनै अज्ञात वौद्धिक व्यक्तिको हवाला दिँदै अझै लेख्छन, “यतिकैमा बसेर केहि लगेर मात्रै जान्छु भन्नु भनेको जस्तो महामुर्ख केहि हुन्न…”मैले राजिनामा दिँदा भनेको थिएँ, मैले जाति र माटोको निम्ति काम गर्ने अवसर नपाएकोले जाति र माटोको निम्ति काम गर्न दलगत राजनीतिबाट बाहिर आएको हो| मलाई धेरै लान्छना लगाइयो| मेरो राजिनामा पछि शंका गरियो| अहिले शंका गर्नेको संख्या कम भए तापनि अहिले पनि मलाई माटो विरोधी भन्नेहरू छैनन् भनेर भन्दिनँ|

मलाई राजिनामा दिँदा दोष दिने तमाम दोषी चश्माहरूलाई म प्रश्न गर्न चाहन्छु, यो माथिको समाचार सन्दर्भमा तपाईंहरूको किन मौन हुनुहुन्छ?म कसैलाई शंका गर्दिनँ, यद्धपी केहि प्रश्नहरू यहाँ गर्न चाहन्छु|

१. यदि यो समाचार सत्य होइन भने श्री बिमल गुरुङ ज्युले ‘उत्तरबंग संवाद’ समाचार पत्र माथि झट्टै मानहानीको मुद्दा लगाएको हुनुपर्दछ| यस्तै एउटा समाचार केहि महिना अघि ‘गोर्खा ध्वनि’ -ले छाप्दा पार्टीले केवल लिगल नोटिस मात्र पठायो, तर अहिलेसम्म अदालती नोटिस पठाउन सकेन| यस्तो अवस्थामा गोर्खा ध्वनीको समाचार सही थियो भनेर अनुमान लगाउन सक्ने स्पेस हामीसँग छ| यसैले उत्तरबंग संवादको समाचार झुटो हो भने केवल अधिवक्ताकोबाट मात्र होइन, अदालतबाट नोटिस पठाउन सक्नुपर्छ, नत्र यो समाचारलाई सत्य मानिलिनुपर्ने अवस्था आउँछ|

२. यदि यो समाचार सत्य हो भने गोर्खा जनमुक्ति मोर्चाले शहीद जन्माउने आन्दोलन किन गरयो? नवयुवाहरूलाई विस्थापित बनाउने आन्दोलन किन गरयो? यदि बंगालसँग मिलेर नै आउनु हो भने सत्ता त छँदै थियो, जनतालाई भोकै ‘भोक हड्ताल’ -मा राख्ने आन्दोलन किन गरयो?

३. बिमल समर्थक पुरण राई अनुसार भाजपाले आजसम्म वरको सिन्का पर सारेको देखिएको छैन भनेर भन्ने हो भने पहाडमा भाजपा ल्याउने काम जनताले होइन, गोजमुमोले गरेको हो| कुन आधारमा पार्टीले जनतालाई भाजपाको पक्षमा भोट हाल्न लगाएको थियो? यदि यो गलती हो भने अब फेरी यस्तो गल्ति पहाडको राजनीतिमा कति पटक दोहोरयाउनु?

४. यदि बंगालसँग नै मिल्नु छ भने जनतालाई किन गोर्खाल्यान्डको सपना देखाइन्छ? सिधै विकासको अथवा अन्य कुनै मुद्दामा पहाड, तराई अनि डुवर्समा राजनीति किन नगरेको?

५. भर्खरै मात्र भाजपा राज्य महासचिव सायन्तन बसुले “स्थानीय राजनैतिक समाधान हुने तर राज्य विभाजन हुँदैन” भनेर वयान दिएको २७ सितम्बर २०२० -को हिमालय दर्पणमा छापिएको छ| गोर्खाल्याण्डको नाममा राजनीति गर्ने दलहरूले यसको विरोध गर्नु किन सकेनन्? साथै भर्खरै राष्ट्रिय प्रवक्ता बनेका राजु बिष्टले यस वक्तव्य सम्बन्धमा गोर्खा समाजमा स्पष्टिकरण किन दिएनन्? गठबन्धनकाहरूले यसबारे राजु ज्युसँग सम्पर्क गरे कि गरेनन्? यदि उत्तरबंग संवादकोको २७ सितम्बर २०२० को समाचार सत्य होइन भने सायन्तन बसुको टिप्पणीलाई खण्डन गरिनुपर्थ्यो कि पर्दैन थियो?

६. गोर्खाल्याण्डको आन्दोलन एक मुट्ठी मानिसहरूको निम्ति हो कि भारतभरी छरिएर बसेका जातिको निम्ति हो?

७. समाचारमा पार्टी महासचिव रोशन गिरीलाई सम्पर्क गरेको कुरा छापिएको छ| यदि यो कुरा गलत थियो भने उनले यो कुरा झुटो हो भनेर उनलाई सोध्ने पत्रकारलाई किन भनेनन्? किन ‘नो कमेन्ट’ मात्र भनेर आफुलाई पन्साए? मलाई अनुमान छ, मेरो यस पोस्ट पछि मेरो विरुद्धमा धेरै कुरा बुनिन्छन् अनि लेखिन्छन्| म त्यसको सुर्ता गर्दिनँ| जबसम्म हाम्रो राजनीतिमा गोर्खाहीत सर्वोपरी हुँदैन| तबसम्म म चुप बस्ने छैन|

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया