सारा नौटङ्कीहरूको विपक्षमा

विज्ञापन

आलोचना/ भाग-1


भाजपा बङ्गभङ्गको पक्षमा छैन। आरजीआईले 11 जातको मुद्दालाई खारेज गरिसकेको छ। यति त स्पष्टै छ। त्यसो हो भने के अब दुइचार प्लाकार्ड बोकेर प्रदर्शन गर्दैमा सब ठिक हुन्छ? देशभरिका स्टेक होल्डरहरूको कमिटी बनाएर भाजपाका केन्द्रिय मन्त्रीहरूसित बैठक नगरी दिल्लीबाट विमल गुरुङ फर्किँने सुनिँदैछ। भाजपाका वरिष्ट नेताहरूसित गोर्खाल्याण्डको मुद्दाबारे चर्काचर्की बहस भएकै छैन। राजु विष्टको भरमा बस्ने तर उनको हातसम्म बलियो बनाउन नसक्ने दलहरूमाथि प्रश्न गर्नु दलाली गर्नु हो त? यदि हो भने यो दलाली आजीवन स्वीकार्य छ, तर हरेक नोटङ्कीहरूको विपक्षमा उभिन छोडिने छैन।


मनोज बोगटी


सांसद राजु विष्टले सदनमा धेरै कुरा उठाए। एक सांसदले गर्नुपर्ने सबै जिम्मेवारी पूरा गरे। तर दार्जिलिङको मुद्दाको सवालमा त्यो पर्याप्त छैन र हुने छैन। दार्जिलिङ लोकसभा क्षेत्र यस्तो क्षेत्र हो, जहाँ पर्याप्त समस्याहरू हुन्। सांसदले सबै समस्यालाई सम्बोधन गर्नैपर्छ। तर त्यसबाहेक पनि जुन मूल मुद्दाको सवाल छ, यसलाई लिएर सांसद विष्टले संसदीय मात्र हुनु पर्याप्त छैन।

मुख्य कुरा त राजु विष्ट पहिले भाजपाका हुन् कि गोर्खाका? यही प्रश्न उठ्छ।

यदि उनी पहिले भाजपाका हुन् भने उनी भाजपाबाटै निर्देशित हुनैपर्ने बाध्यता उनीसित छ। उनलाई एकसाथ भाजपा र गोर्खाका हुनुपर्ने बाध्यता छ। यो दार्जिलिङको मुद्दाको सवालको कुरा हो। तर दार्जिलिङलाई चाहिएको प्रतिनिधि पहिले गोर्खाका, त्यसपछि दलका हुन्। विष्टको सवालमा त्यो सम्भव छैन।

यसैले उनीमाथि मैले धेरै प्रश्न गरिसकेको छु। सांसद विष्ट हरेक प्रश्न बुझ्छन्। मेरा प्रश्नहरूलाई कुटनैतिक जवाब पनि दिन्छन्।  उनले भन्ने गरेका छन्, ‘म मेरो बुँताले सक्ने सबै गर्छु, यो मेरो बचन हो।’

उनले आफ्नो बचन इमान्दारसित निर्वाह गरे, गरिरहेकै छन्।

जब जब पनि मैले सांसद विष्टलाई सोधें, ‘यति नै पर्याप्त हो त?’ हरेक बहसको कार्यक्रममा उनले त्यसको जवाब दिए र भने, ‘मेरो हात पनि बलियो पार्नु पऱ्यो। साथीहरूले मेरो हात बलियो पार्ने काम गर्नुपर्छ।’

(अन्तरवार्ता होस् वा बहस, सांसद विष्टसित मैले गरेको कुराकानी खोतलेर हेर्नु भो भने तपाईँहरूले उनले बारम्बार गरेका यी आग्रह पाउनुहुनेछ)

सांसदको हात बलियो पार्नु भनेको के हो त?

यसको अर्थ हो, दलहरूले भाजपमाथि निरन्तर दवाब बनाउनु। दवाब बनाउने शैली चाहे जे जस्तै होस्, चाहे प्लाकार्ड बोकेर (डम्बरचौकमा 12/13 जना उभ्याएर क्रामाकपाले प्लाकार्ड बोकेर प्रदर्शन गरेजस्तो) प्रदर्शन होस्, वा सबै दलका धर्ना प्रदर्शन। कुनै पनि यस्तो कार्यक्रम, जसले सांसदलाई हरेक संसद सत्रमा दवाब बनोस्। यस्तो देखियोस् कि सांसदमाथि चाप छ। भाजपामाथि प्रश्न उठ्न थालेको छ।

त्यही चापलाई, उठ्न थालेको प्रश्नलाई देखाएर सांसद विष्टले पनि पार्टीमाथि दवाब बनाउन सकोस्। सांसदले बारम्बार भने पनि कसैले उनको हात बलियो बनाउने काम गरेन।

किन गरेन?

गठबन्धनका दलहरूसित यसको जवाब के छ त?

000

मैले भाजपाका असंवेदनशीलतालाई लिएर बारम्बार प्रश्न उठाएँ। खोजखबरमा व्ल्याक एड वाइटमा होस् वा लाइभ बहसमा होस्। न्युजभ्युजमा होस् वा पोइन्ट टु पोइन्टमा होस्। खबरम्यागजिनको समाचार विश्लेषणमा होस् वा आलोचनात्मक लेखमा होस्।

लोकसबाभा चुनाउको बेला मैले भनेको थिएँ, ‘तृणमूल काङ्ग्रेस भनेको ढुङ्गा हो, त्यहाँ जति नै बिउ छरे पनि उम्रिँदैन। भाजपा भने बाँझोबारी हो, जहाँ खनजोत गर्न सकियो भने बिउ उम्रिने सम्भावना छ।’

किन भने ममता व्यानर्जी स्पष्ट छन्, उनी बङ्गाल विभाजन चहाँदैनन्। यसैले छुट्टै राज्य गोर्खाल्याण्डलाई दबाउन चाहन्छन्। तर प्रधानमन्त्री नरेन्द्र मोदीले ‘गोर्खाको सपना मेरो सपना हो’ भनेका छन्। गोर्खाका दुइ मूलभूत एजेन्डालाई मेनिफेस्टोमा हालेका छन्। अर्थात मेरो बुझाई हो, भाजपा बाँझोबारी हो, त्यहाँ खनजोत गर्नैको लागि दार्जिलिङका (गोर्खाल्याण्डका) स्टेक होल्डर दलहरूले सांसद राजु विष्टलाई जिताएका हुन्।

मैले ‘तृणमूललाई ढुङ्गा र भाजपालाई बाँझोबारी’ भन्ने वित्तिकै ममाथि केही दलका समर्थकहरूले चरम आलोचनासमेत गरे। कतिले त किताबै पनि निकाले। किताबमा मेरो विचार विरुद्ध लामै आलोचनात्मक लेख पनि राखे। सोसल साइट, पोर्टलहरूसित उत्तिकै बहस र आलोचना चल्यो।

जसको चेतना जुन स्तरसम्म हुन्छ, उसले त्यसैको बलमा आलोचनात्मक बन्ने हो। यो मेरै सवालमा पनि लागू हुने कुरा हो। पत्रकारको हैसियतले राजनीतिबारे बनेको आम सामाजिक मनोविज्ञानदेखि माथि उठेर बोल्ने वित्तिकै विभिन्न सवाल उठ्नु स्वाभाविक पनि हो।

तर यथार्थ त्यही हो, कि सांसद राजु विष्टलगायत गठबन्धनका दलहरूको जिम्मेवारी भनेकै त्यो बाँझोबारी खन्नु हो।

खन्यो त?

यही प्रश्न गर्ने वित्तिकै अहिले विमल खेमा, गोरामुमो, क्रामाकपाजस्ता दलका आइटीसेलले म विरुद्ध अनेकौं प्रचारप्रसार गरिरहेको छ। उनीहरूलाई लाग्छ, उनीहरूविरुद्ध प्रश्न उठाउनु भनेको मैले कुनै अमुक दलको दलाली गर्नु हो।

प्रश्न उठाउनेमाथि यो खाले दृष्टिकोण राख्नेहरूको वैचारिकता र बौद्धिकता कति हो त्यो त कुनै अर्को बौद्धिक र विचार गर्नेले बुझ्ने कुरा हो। राजनीतिलाई हेर्ने आम सामाजिक मनोविज्ञान भोगिरहेकाहरूको स्तरबाट यदि कुनै दल र नेतृत्वले प्रश्न गर्नेमाथि दलाल गरेको देख्छ भने बुझ्नुपर्छ, उ कति पानीमा छ।

000

सांसद विष्टका जिम्मेवारीमाथि मलगायत केही मिडियाका साथीहरूले निरन्तर प्रश्न उठाएपछि एउटा घटना भयो।  विष्टले दलीय स्वतन्त्रताको बहानामा जनतामाथि दिएको प्रतिबद्धता र जनताको विश्वास विथोल्नेगरी गतिविधि गरिरहेका दलहरूलाई एउटै मञ्चमा ल्याउने प्रयास गरे।

भनियो, ‘अब हामीले सबै मनमुटाउ त्याग्यौं। अब स्टेयरिङ कमिटी बनिनेछ।’

तर मनमुटाउ त्यही पत्रकार सम्मेलनमा पनि स्पष्ट देखियो। विधायक निरज जिम्बा र सांसद राजु विष्टले स्पष्ट पारे, स्टेयरिङ कमिटी बनाउनको निम्ति जजसलाई नाम मागिएको थियो, ती मध्ये विमल खेमा र गोरामुमोले नाम दिएन।

किन दिएन त नाम?

चुनाउ सकेर विष्ट र जिम्बाले जित्ने वित्तिकै गठबन्धनका दलहरूले स्टेयरिङ कमिटी बनाउनुपर्ने हो। त्यो कमिटीमा केवल दार्जिलिङको होइन, देशभरिका छुट्टै राज्य गोर्खाल्याण्डका स्टेक होल्डरहरू हुनु पर्ने हो। जुन कमिटीले शुरुकै संसद सत्रदेखि नै सांसद र भाजपामा चाप बनाउने रणनीति बनाउनु पर्ने हो।

यो भनेको बाँझो बारी फुटाउने कोदालो हान्नुजस्तै हो। जब सांसद र भाजपाले कुनै चाप अनुभव नै गरेन भने मुद्दाको बील सदनमा ल्याउनुपर्ने बाध्यता कसरी बन्छ?

सांसद विष्टले सार्वजनिकरुपले ‘मेरो हात बलियो पार’ भनिरहँदा गठबन्धनका दलहरू एकार्कामा जुझिरहेका थिए। विमल खेमा भन्थ्यो, ‘भाजपासित हाम्रो मात्र गठबन्धन् हो। विमल नै गोर्खाका सबैभन्दा ठूलो नेता हो।’ मन घिसिङ भन्थे, ‘छैटौं असूचीभन्दा मुनिको कुनै पनि व्यवस्था मादैनौं।’

जब मुद्दा नै गोर्खाल्याण्ड राज्यको हो भने यी जम्मै अडानहरूको अर्थ के त? यी वयानबाजीले नै स्पष्ट पाऱ्यो कि गठबन्धनका दलहरू आआफ्नो एजेन्डामा भाजपासित गठबन्धनमा छन्। (विधायक निरज जिम्बाले रिसको झोकमा यही यथार्थ ओकेले पनि।) गठबन्धनका दलहरू नै इमान्दार छैनन्। प्रतिबद्ध छैनन्। रणनीतिसित छैनन्। योजनासित छैनन्। छन् भने केवल भाजपाको आशामा छन्।

आशा गर्नु त रणनीति होइन। हरेक पार्टीको आफ्नै कुटनीति हुन्छ, आशा गर्नु त कुटनीति होइन। आशै आशमा निराश भएर, धोका पाउने निश्चित बनेर यदि कुनै पनि दल आफ्नो बचाउमा लाग्छ भने प्रश्न गर्नु नि नगर्नु?

प्रश्न उठ्छ, जब चाप बनाउन स्टेरिङ कमिटी बनिनुपर्ने थियो र रणनीति बनाउनुपर्ने थियो, तब दलहरूले किन आफ्नो एजेन्डा बोकेर हिँड्यो? किन बनेन कमिटी? किन बनेन रणनीति?

किन स्टेरिङ कमिटीको लागि विमल गुरुङ र मन घिसिङ दुवैले दिएन प्रतिनिधिको नाम?

के यसरी प्रश्न गर्नु कुनै पनि दलको दलाली गर्नु हो त?

(के क्रामाकपाका किशोर प्रधान र अरुण घतानीहरू पनि दलाल हुन त?)

000

दुइदिन अघि म डम्बरचौकमा थिएँ। कुनै साथीले भन्यो, ‘क्रामाकपाले पोष्टरिङ गर्ने रे।’ मैले ती साथीलाई भनें, ‘क्रामाकपाको क्षमता भनेको त्यति मात्र हो, राम्रै हो त पोष्टरिङ गर्नु।’

तर क्रामाकपाका नेताहरू यसपल्ट पोष्टरिङ गर्न होइन आधाघन्टा दुइदर्जन समर्थकसित प्लाकार्ड बोकेर प्रदर्शन गर्न डम्बरचौकमा उभिएका थिए। भीडमा सवाल जवाब भयो। मैले ती नै प्रश्न गरें जुन सान्दर्भिक थियो। यसै पनि प्रश्न गर्ने पत्रकारहरूको खडेरी छ। आधाघन्टा भनिएको प्रदर्शन 10/15 मिनटमा नै सकियो। मैले सोधेको थिएँ, जहाँ, जसरी र जैले चाप दिनुपर्ने हो, त्यो नगरेर नोटङ्कीजस्तो प्रदर्शन किन?

कमरेड किशोर प्रधान प्रश्नले आत्तिए। त्यसपछि जवाब दिन अरुण घतानी अघि सरे। किशोर प्रधानको जवाब थियो, ‘प्रदर्शन नगरेर गोर्खाल्याण्ड विरोधीहरूको लागि फ्रि जोन छोड्नुपर्ने हो त पहाडलाई?’

मेरो सवाल फ्रिजोन छोड्नु नछोड्नुसित सम्बन्धित थिएन। मेरो प्रश्नको आशय सिधा थियो, किन बनेन स्टेयरिङ कमिटी? किन बनेन सांसद र भाजपालाई चाप दिने रणनीति? किन तीनतीनवटा सेसन समाप्त भइञ्जेल गठबन्धनका दलहरूले चाप दिएन? ‘भाजपा संवेदनशील छैन भनेर बौद्धिकहरूले बारम्बार सचेत गराउँदै रणनीति बनाएर अघि बढ नत्र पछि धोका हुन्छ’ भनिरहँदा किन कानमा तेल हालेर बस्यो गठबन्धन? किन अहिले सारा सम्भावनाका ढोकाहरू बन्द भइसकेपछि कुनै प्रभाव नै नपर्ने प्रदर्शन?

तर यसको जवाब दिनको साटो अहिले सोसल मिडियामा मविरुद्ध लामो सवालजवाबबीचको एउटा वाक्य निकालेर क्रामाकपा धरिले मिम्स बनाइरहेको छ। कोही कमरेड फोटो अल्बमै हालिरहेका छन्। 2017 देखि अहिलेसम्म क्रामाकपाले के गऱ्यो के गरेन जग जाहेर छ, फोटो एल्बम हालेर देखाइरहनै पर्दैन। थाहा छैन, कमरेडहरूको यो कस्तो बौद्धिक दरिद्रता हो?

के अब धोका भइसकेको सबै थाहा भइसकेपछि क्रामाकपाले पनि पार्टी बचाउको नौटङ्की गरिरहेको हो? नत्र स्टेरिङ कमिटीको लागि विमल गुरुङ र मन घिसिङलाई नाम दिन किन प्रदर्शन गरेन? राजु विष्टले बारम्बार ‘मेरो हात बलियो पार’ भनिरहँदा भाजपालाई कठघरामा उभ्याउने गठबन्धनको सामुहिक कार्यक्रम किन गरेन? गोरामुमो छैटौं अनुसूची र गोरामुमोले दिल्लीमा अलगअलग गतिविधि गर्दा भित्रीय कुराको पर्दाफास किन गरेन? क्रामाकपासित त्यस्तो कुन बाध्यता छ, जसले उसलाई खास काम गर्नदेखि रोक्छ?

के किशोर प्रधान र अरुण घतानीहरू पनि दलाली गरिरहेका छन्? प्रश्न गर्नेलाई दलाल देख्नेहरू आफ्नो दलालीको पोल खुल्ने डरले यति निकृष्ट आक्रमक बनिरहेका हुन्?

अहिले क्रामाकपाका नेतादेखि लिएर समर्थकहरूसम्म मैले प्रश्न गरेकोमा रिसाएर मलाई नराम्रो देखाउन सोसल मिडियामा अनेकौं गतिविधि गरिरहेका छन्। एउटा कम्युनिष्ट दलको यो राजनैतिक पपुलिज्मले स्पष्ट पाऱ्यो उ कुन हदकोक्षमता बोकेर मैदानमा छ।

यद्यपि, गोरमुमो, विमल खेमा, विनय खेमा, भाजपा, तृणमूल, क्रामाकपा हुँदैहुँदै यस्ता धेरै दलहरूमाथि मेरा प्रश्नहरू उठिरहेकै छन्। र उठिरहने नै छ।

000

अहिले विमल गुरुङपक्षबाट पनि आउँदैछ, भाजपासित उनीहरूको मोहभङ्ग भयो रे। तृणमूल कङ्ग्रेससित झुकेर पहाड छिर्ने रे।  यता क्रामाकपाले पनि भाजपासित मोहभङ्ग बनेकै नारा बोकेको छ। गोरामुमोको निरज जिम्बासमेतले यही नारा भट्याइरहेका छन्। के संसद सत्रहरू सबै सकिएपछि, भाजपाले 2021 को चुनाउ अघि कुनै पनि मुद्दाको छिनाफाना नगर्ने स्पष्ट भइसकेपछि अहिले आएर ‘मोहभङ्ग भो’ भन्दा भइहाल्छ त? भाजपालाई दवाब बनाउने कुन यस्तो बलियो कार्यक्रम भयो, जसलाई भाजपाले वेबास्ता गरेको होस् र मोहभङ्ग भयो त? भाजपासित त आफ्नो एजेन्डा छँदैछ। उ स्पष्ट छ, जब कुनै फाइदाकारी बेला आउँछ, तब उसले दार्जिलिङका मुद्दालाई सम्बोधन गर्ने हो। भाजपा आफ्नो रणनीतिमा स्पष्ट छ, गठबन्धनका दलहरू किन अन्योलतामा?

2021 को चुनाउभन्दा अघि नै दुइ मुद्दाको छिनाफाना गर्नको लागि भाजपाले कहाँ र कैले, कसरी दवाब अनुभव गऱ्यो त?

अहिलेसम्म यी दुइदर्जन प्लाकार्ड बोक्ने क्रामाकपाका कमरेडहरु लगायत, स्टेकहोल्डर गठबन्धका दलहरू ‘भाजपाले गर्छ’ भनेर आशे बनेर बस्नु नै उनीहरूको कमजोरी होइन त?

15 वर्षदेखि भाजपाको नियत पहाडले देख्दै आएको हो। जबसम्म उसलाई बलियोसित चाप बन्दैन तबसम्म उ केही गर्ने पक्षमा नै छैन। यसै पनि भाजपाले बङ्गालको धेरै आसन बिगार्न दार्जीलिङको तीन विधानसभा र एक लोकसभा आसनको बचाउ गर्ने मुद्दा बोक्ने कतै सम्भावना थिएन। के यो कुरा कमरेडहरूलाई थाहा थिएन र?

कमरेडहरूको बौद्धिकताको पेच यति ढिला किन?

यो जुन मौका थियो, त्यो भाजपालाई चाप दिने, त्यही मौका गुमाउनु यी दलको कमजोरी होइन त? यही कमजोरीको जगमा उभेर कुनै पत्रकारले प्रश्न गर्नसाथ उ दलाल हुन्छ?

000

भाजपा बङ्गभङ्गको पक्षमा छैन। आरजीआईले 11 जातको मुद्दालाई खारेज गरिसकेको छ। यति त स्पष्टै छ। त्यसो हो भने के अब दुइचार प्लाकार्ड बोकेर प्रदर्शन गर्दैमा सब ठिक हुन्छ? देशभरिका स्टेक होल्डरहरूको कमिटी बनाएर भाजपाका केन्द्रिय मन्त्रीहरूसित बैठक नगरी दिल्लीबाट विमल गुरुङ फर्किँने सुनिँदैछ। भाजपाका वरिष्ट नेताहरूसित गोर्खाल्याण्डको मुद्दाबारे चर्काचर्की बहस भएकै छैन। राजु विष्टको भरमा बस्ने तर उनको हातसम्म बलियो बनाउन नसक्ने दलहरूमाथि प्रश्न गर्नु दलाली गर्नु हो त? यदि हो भने यो दलाली आजीवन स्वीकार्य छ, तर हरेक नोटङ्कीहरूको विपक्षमा उभिन छोडिने छैन।

सरोकारवाला दलहरू 2021 को चुनाउको माहौल बनाउन गतिविधिमा सक्रिय बन्ने कि बजेट सत्रमा मुद्दा छिराउने रणनीतिमा लाग्ने?

मर्ने बेला मुखमा औषधि चेप्दैमा यी सारा प्रश्नहरूबाट कुनै पनि दल पनि पर रहन सक्तैन।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया