विमल गुरुङको घर फिर्ती र सस्पेन्स

विज्ञापन

दृष्टिकोण

असली खेल पहाडमा बिमल गुरूङको आगमन पश्चात शुरू हुनेछ । अध्यक्ष गुरूङको वापसी विपक्षी खेमाको निम्ति खतराको घण्टी हो भने वर्तमान गठबन्धन पक्षको निम्ति पनि शुभ सङ्केत भने होइन । कहीँ न कहीँ यो कुरासँग उनीहरू अवगत छन् कि बिमल गुरूङ भनेको एकजना व्यक्ति होइन एउटा सिङ्गो पार्टी हो यो बाहेक आफू सम्पन्न भए पश्चात् ‘अल पार्टी च्याप्टर क्लोज’ बिमल गुरूङ्गको पुरानो डायलग हो ।

बबिता मादेन

राजनीतिको खेलामा दुश्मन मित्र हुन सक्छन्, मित्र दुश्मन हुन सक्छन्।  आजको दुई कट्टर विरोधी  भोलि चौकीको साझेदार भए त्यो अचम्मको कुरै होइन अनि यसको निम्ति कुनै निश्चित समय र स्थान हुँदैन, उसुल हो यो राजनीतिको।

सोसल मिडियामा बिमल गुरूङको घर फिर्तीको खबरले पहाडको राजनैतिक माहौलमा एकाएक उफान आएको छ । राज्यमा विधानसभा चुनाउ, चुनावी चलखेल शुरू अनि यस्तोमा कुनै भाइरल खबर, जनताको निम्ति चासोको विषय नहुने कुरै आएन । सोसयल मिडियाको हल्ला र उत्तरबङ्ग संवादको खबरलाई त उड्न्ते खबर मान्न पनि सकिन्थ्यो तर खुदै बिमल गुरूङको अडियो बाहिरिएपछि शङ्कामा यथार्थको मिश्रण पाइन्छ।

सस्पेन्स् यसकारण पनि बनिरहेको छ कि सम्बन्धित विषयमा बिमलपन्थीको विरोधी खेमाबाट अहिलेसम्म कुनै प्रतिक्रिया व्यक्त गरिएको छैन। के अब बिमल गुरूङहरूको बाटो क्लियर हुने छाँटकाँट बुझेरै विपक्षी खेमा मौन बसेका हुन त?

लगभग तीन वर्षको भूमिगत जीवन काटिसकेर, यसैबीच भाजपाको सांसदलाई विपुल मतले चुनाउ जिताएर पनि गोजमुमोको (बिमलपन्थी) पहाड फर्किने बाटो बनिन सकेन। आफुले बनाइदिएको बाटो हिँडेर सहयोगी दलहरू निक्कै माथि उक्लिँदै गइरहेको तर आफ्नो निम्ति भने अझै भिरालो ठाउँ छोडिएको आभास त केही अघिदेखि भइरहेकै हो । भाजपा र गठबन्धनमाथि जुन भरोसा राखेका थिए त्यो आशा अनुरूप हुन सकेन । भरोसाहरू एक-एक गर्दै थन्को लागेपछि आशाहरू धराशय सम्मुख पुग्दै थियो । जहाँ सम्भावनाहरू विलीन देखिदोँ छ। त्यहीँ विरोधी खेमाले पहाडमा आफ्नो प्रभुत्व बलियो बनाउँदै लगिरहेको प्रत्यक्ष छ ।

जनता भनेको मानेको पत्तामा अडिएको पानीको थोपा सरह हो, जता गह्रौं उतै सरौँ। यस्तो प्रवृति केवल पहाडका जनतामा मात्र होइन प्रतिकुल-अनुकुल परिस्थितिले सृजना गरेको राजनितिकै एक अभिन्न पाटो हो यो । बिमल गुरूङ मुद्दाको निम्ति भूमिगत छन्, केवल यो हिसाबले मात्र जनताले उनलाई सम्झिरहने कुरै आएन । राजनीतिमा जो मैदानमा छ उ नै खेलाडी हो । आस्थामा बसेको आकृति कुन बेला सम्झनाबाट पनि अस्ताउने हुन पत्तै हुँदैन ।

विमल गुरूङको अर्को ठूलो समस्या हो आफुसँगै भूमिगत बनेका युवाहरू। मजबुरीले मानिसलाई के गराउँदैन भनेर यहाँ उल्लेख गरिरहन जरूरी छैन । विनयपन्थीमा सामेल भई कानुनी पन्जाबाट मुक्त भएर घर फर्किएकाहरू आज सामान्य जीवन बाँचिरहेका छन् ।

यस्तै बेला संयोग यस्तो बन्यो कि राज्य विधानसभा चुनाउ सङ्घारमा परिदियो, जुन कुरा पार्टीको निम्ति एउटा अवसर भन्दा कम होइन यदि यहाँ खेल्न जाने चाल आफुतिर पल्टाउन सकिनेछ भन्ने कुरालाई बिमलपन्थी नेतृत्वहरूले चिन्तन मनन त गरेकै हुनुपर्छ ।

UAPA अर्थात Unlawful Activities Prevention Act आतङ्कवादी अनि देशको अखण्डता र सम्प्रभुतालाई खतरा पुऱ्याउने गतिविधि रोक्न बनाइएका कानुन, जस अन्तर्गत आरोपीले जमानत पाउने सम्भावना शून्य प्रायः हुन्छ। बिना कानुनी क्लिनचिट विमल गुरूङ पहाड आइपुग्न गाह्रो मात्र होइन असम्भव पनि हो तथापि असम्भवलाई सम्भव बनाउने अचुक मन्त्र सत्तासँग हुन्छ ।

यदि उत्तरबङ्ग संवादको खबर सही हो भने राज्यका अन्य समाचार पत्रहरूमा यो खबर किन छापिएन जबकी उक्त खबर कुनै पनि समाचार पत्रको निम्ति दमदार हेडलाइन हुन सक्थ्यो । यदि गलत हो भने मोर्चा खेमाबाट कुनै आपत्ति किन जताइएन?

उत्तरबङ्ग संवाद विशेष नर्थ बङ्गल अनि डुवर्ससम्म सर्कुलेट हुने समाचार पत्र हो अनि वर्तमानमा डुवर्स क्षेत्रमै मोर्चाको सङ्गठन विस्तार जोडतोडले चलिरहेको छ यस्तोमा यो समाचार पत्रको खबर स्थितिमा अन्योलता कायम राख्न बनाइएको कडी पो हो कि भन्ने शङ्का पनि उठ्नै सक्छ । कतै नाङ्गलो ठटाएरै हात्ती तर्साउनु खोजेको त होइन ?

गोजमुमो र भाजपाको सम्बन्धले निक्कै लामो समय पार गरिसकेको छ। एकार्काको आवश्यकता कहाँ कहिले र कसरी पर्दैछ आपस्तले बुझेका छन् । पछिल्लो केही समय यता भाजपा केन्द्रिय मन्त्रीहरूसँग मोर्चा नेतृत्वहरू लगातार सम्पर्कमा छन् । सांसद राजु विष्टले पनि आफुमाथि बिमल गुरूङको उपकार रहेको कुरा दोहोऱ्याउदै आइरहेको छ । भाजपाको नजिक बसेर टाढाको टिएमसीसँग हात मिलाउनु सक्छ, यो चाडै पत्यार नलाग्ने कुरा हो । अर्को कुरा, विधानसभा चुनाउ 2021 मा बङ्गालमा तृणमुल नै सत्तामा आउँछ भन्ने छैन यदि सत्तामा नआए तृणमुलसँग हात मिलाउनुको दाउ उल्टा पर्नु सक्छ, कमसेकम आजको दिनमा बिमलखेमा यति ठूलो चुनौती मोल्ने अवस्थामा छैन ।

हाल पहाडमा तीनवटा विधानसभा आसनहरू छन्, यो छोडेर हेऱ्यौं भने राज्यको बाह्रदेखि पन्द्रवटा विधानसभा क्षेत्रमा गोर्खा मतदाताहरूको संख्या बाक्लै छ। यसैले यहाँ महत्व केवल तीन विधायकको मात्र नभएर कतिपय विधायक दिन सक्ने मतदाताहरूको पनि उत्तिकै हुन्छ। बङ्गाल जित्नु प्रधानमन्त्री मोदीको ड्रीम प्रोजेक्ट हो यो सपना पूरा गर्न भाजपालाई एक-एक विधायक बहुमूल्य पर्नै सक्छ । भाजपाको संज्ञानमा यति कुरा अवश्यै आइसकेको छ कि यदि गोर्खा भोट हत्याउनु हो भने बिमल गुरूङलाई साथमा राख्नु जरूरी हुन्छ । बङ्गाल चुनाउ अघि बङ्गाली भोटर्स्सामु भाजपा मुस्किलमा पर्नु सक्ने गोर्खाल्यान्डतर्फबाट हो, बिमल गुरूङहरूको मुद्दा समाधानबाट होइन । राजनीति चल्ने भनेकै लेनदेनको आधारमा हो । भलै राज्यमा टिएमसीको शासन होस् तर भाजपसँग तुरूपको एक्का छ भाजपाले आफ्नो प्लेकार्ड फ्याँके मोर्चा नेतृत्वहरूमाथिको कानुनी जञ्जाल क्षणभरमा छुमन्तर हुन सक्छ।

बिमल गुरूङ पहाड आइपुग्ने दुईवटा बाटो छ, त्यो हो दिल्ली अनि कोलकाता । दिल्लीदेखि आए जनताको नजरमा उनी हिरो हुनेछन्, कोलकाता भएर आए बाध्यताको नाम दिएर सहानुभूति राख्ने जमातको पनि कमि हुनेछैन। यो राजनीतिको बाटो हो जहाँबाट नेता हिँड्छ जनताको कदम आफैआफ लम्किनु स्वभाविक बन्छ । राजनीतिमा कुनै पार्टी जनताप्रति जवाबदेही हुनै पर्छ भन्ने हुँदैन उनीहरू आफ्नो निर्णयमा स्वतन्त्र हुन्छन् । बङ्गाल सरकारसँग हात मिलाएरै राजनैतिक मुहानमा जमिरहनु कुनै नौलो कुरा होइन यो भन्दा अघि पनि पहाडको राजनैतिक दल र नेतृत्वहरू आफ्नो स्वार्थहितको निम्ति बङ्गालसँग मिल्दै आइरहेकै हो। तर, कुनै पनि पार्टी होस् अथवा नेता यो कुरा ढाँट्न मिल्दैन, जाति र माटोको निम्ति राज्यसँग कहिल्यै मिलिँदैन, राज्यसँग मिल्नु केवल अनि केवल पार्टी र स्यमको हितको निम्ति हो यति स्विकार्नु सक्ने इमानदारिता त राख्नै पर्छ ।

बाटो चाहे कुनै पनि किन नआउन, असली खेल पहाडमा बिमल गुरूङको आगमन पश्चात शुरू हुनेछ । अध्यक्ष गुरूङको वापसी विपक्षी खेमाको निम्ति खतराको घण्टी हो भने वर्तमान गठबन्धन पक्षको निम्ति पनि शुभ सङ्केत भने होइन । कहीँ न कहीँ यो कुरासँग उनीहरू अवगत छन् कि बिमल गुरूङ भनेको एकजना व्यक्ति होइन एउटा सिङ्गो पार्टी हो यो बाहेक आफू सम्पन्न भए पश्चात् ‘अल पार्टी च्याप्टर क्लोज’ बिमल गुरूङ्गको पुरानो डायलग हो ।

जे होस, आउने दिनमा पहाडको राजनिति रोमाञ्चक मोडमा पुग्नुको साथ साथै यसले धेरै थोक खुलाउने पूरा पूरा सम्भावना छ । अर्को कुरा, अब राजनितिको केन्द्रविन्दु मुद्दाबाट हटेर अरूतिरै केन्द्रित हुनेछ अर्थात बङ्गाल विधानसभा चुनाउ अघि पहाड स्थायी समाधानको दिशातर्फ छैन भनेर स्पष्ट बुझ्दा हुन्छ ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया