विमल गुरुङको नियति : बाघको मुखबाट फुत्केर ब्वाँसोको मुखमा

विज्ञापन

ममता व्यानर्जीको पोलिटिकल आर्किटेककोरुपमा काम गरिरहेको यो टिमसित विमल खेमाको भेट भएको यदि साँचो हो भने पनि विमलको पहाड फिर्ती सजिलो छैन। विमलसितै एउटै उपाय छ, कि त न्यायपालिकामाथि भरोसा गरेर धैर्य गर्नु कि त ममता व्यानर्जीलाई आत्म बेच्नु। जुन आत्मको कारण विमल जिउँदो छन्, त्यही बेचेर फर्किएको विमलको घर फिर्तीबाट खतरा कसलाई? जो आफैको निम्ति आफै खतरा हो।

मनोज बोगटी

त्यतिखेर सुनिन्थ्यो, ‘आप्पा फर्किँदैछन् रे, पहाडको लागि गतिलो केही ल्याउँदैछन् रे।’ आप्पा तर फर्किएनन्। तर आप्पालाई यस्तो मिथ बनाइयो कि अधिकांश जनतालाई लाग्थ्यो, साँच्ची आप्पा फर्किन्छन् र डुब्दै गरेको पहाडको नैय्या पार गर्छन्। जसले पहाडलाई डुबायो उसैबाट नैय्या पार हुन्छ भन्ने जुन विश्वास हो, त्यो बनाइयो। किन बनाइयो? त्यता नजाऔं।

तर यथार्थ त त्यही हो, कि आप्पा फर्किएनन्। र आप्पाको च्याप्टर यसरी बन्द भयो, कि त्यसलाई केलाउने सामर्थ्य कुनै फटिचरसित छैन।

त्यतिखेर सुनिन्थ्यो छत्रे सुब्बा फर्किन्छन् रे। फर्किएर गोर्खाल्याण्डको आन्दोलनलाई नेतृत्व गर्छन् रे।

मैले छत्रे सुब्बालाई सोधें, ‘तपाईँमाथि जनताको विश्वास छ, के आन्दोलनलाई नेतृत्व गर्नुहुन्छ?’

उनले जवाब दिएनन्। भने, ‘हेरौं जनताको विश्वास कत्तिको बलियो रहेछ। पहिले त्यो टेस्ट गर्छु। अब भावनामा बगेर म राजनीति गर्दिन।’

हल्ला चल्यो। छत्र सुब्बाले पार्टी गठन गर्ने। पत्रकार, पुलिस, खुफिया सबै तन्त्र उनको घरआँगनमा पुगेका छन्। म पनि त्यहीँ छु। सुब्बाले ‘पार्टी गठन र आन्दोलनको रुपरेखा सार्वजनिक गर्छु’ भनेको त्यो दिन सारा जनताको आँखा उनको उनुहारतिर थियो।

ठिक यतिखेर उनले सुनाए, ‘मलाई समर्थन गर्छु भन्नेहरू सबका सब ढोंगी निस्किए। आजदेखि म राजनीतिबाटै सन्यास लिँदैछु।’

हेर्नुस् त, हिजोसम्म सारा जनताले आशा गरेको नेताको अवस्था। यसैले अन्धो बनेर नेतामाथि आशा गर्नु हुदैन। उसका पनि आफ्ना बाध्यताहरू हुन्छन्। सत्ताको चाप हुन्छ। जीवनको माया हुन्छ।

(जसरी अहिले विमल गुरुङको अवस्था छ।)

त्यसपछि छत्र सुब्बाको च्याप्टर पनि क्लोज भयो।

छत्रे सुब्बा अहिले मन्दिरमा भजन गाउँछन्। उनले जीवनलाई अर्कैदिशा फर्काए। खुसी छन्।

अहिले फेरि सुनिँदैछ, ‘विमल गुरुङ फर्किन्छन् रे।’ हल्ला सुन्ने वित्तिकै विश्लेषकहरू भन्दैछन्, ‘विमलको आगमन ककसको निम्ति खतराको सङ्केत?’

जुन बाटो भएर विमल गुरुङ आउने हल्ला चलिरहेको छ, के त्यही बाटो आए विमल कसैको निम्ति पनि खतरा हुनसक्छन्? कि त्यो बाटोबाट आउँदा विमल आफै खतरामा पर्छन्? यही चुरोबाट बुझ्न अनिवार्य लागेको छ।

000

बीपी बजगाईँ भन्छन्, ‘हाम्रा आन्दोलनहरू रणनीतिपूर्ण भएनन्। कसैले उचाल्दा उचालिएर भावानात्मकरुपले आन्दोलनहरू भए, त्यसैले सारा अन्तरविरोधहरूको निर्माण भए। रणनीतिहिन आन्दोलनको नतिजा सँधै दुखद हुन्छन्।’

(ठिक यही भाषा र वाक्य 2017 मा विनय तामाङ र अनित थापाको पनि थियो। उनीहरूले भनेको कुरा अहिले साँचो साबित हुँदैछ।

यदि विनय तामाङ र अनित थापालाई झुटो साबित गर्ने हो भने स्थायी राजनैतिक समाधान गर्नुपर्छ। जबसम्म यो समाधान हुँदैन, विनय-अनितको कुरा सत्य साबित बन्छ।)

बङ्गाल सरकार बङ्गविभाजनको विरोधमा कुनै पनि हद जानसक्छ। ममता व्यानर्जीको त्यही ‘हद’-को प्रत्यक्ष उदाहरण हो विमल गुरुङहरूको निर्वासन। केन्द्रले चाहेको भए व्यानर्जीको त्यो ‘हद’-लाई केही मिनिमाइज गर्न सक्थ्यो। विमल गुरुङ दिल्लीमा लुकिबस्नै पर्दैनथ्यो। तर विमलको मुद्दा नै यस्तो छ, जसलाई केन्द्र र राज्य दुवैले सम्बोधन गर्नै कठिन छ।

कठिन यसकारण छ, कि गोर्खाजस्ता अल्पसंख्यक देशका थुम्काथुम्कमा छन्। सबैको लागि छुट्टै राज्य बनाउन थालियो भने देश भताभुङ्गै हुनसक्छ। यसै पनि ‘किन चाँही छुट्टै राज्य गोर्खाल्याण्ड?’-भन्नेबारे माग्नेले चित्तबुझ्दो तरिकाले बुझाएकै छैन।

साँच्ची नै गोर्खाहरूको चिह्नारीको निम्ति छुट्टै गोर्खाल्याण्ड राज्य चाहिएको हो? कि देशको सुरक्षाको सवालमा चिकननेक क्षेत्र बाँध्न? आखिर गोर्खाल्याण्ड राज्य चाहिएको नै किन?

दिनेलाई चित्तबुझ्दो तरिकाले बताउने क्षमता नै नबोकेका खलासीलाई गाडी जिम्मा लाउने मुर्खता केन्द्रले गर्नै सक्दैन। यसैले जसले मुद्दा बोकेको छ, उसको क्षमता नै संदिग्ध छ। संदिग्ध क्षमता बोकेको एक सामान्य नेताको बचाउमा केन्द्रले केही गर्नै सक्तैन। त्यसैले 2017 मा दार्जिलिङबारे केन्द्र सरकार मौन बस्यो। सांसद मौन बसे। भाजपा मौन बस्यो।

ममता व्यानर्जी बोले र एक्सनमा उत्रिए, यसैले उसको आलोचना तीब्र भयो। केन्द्र बोलेन तर व्यानर्जीलाई केन्द्रिय फोर्स पठाएर सहयोग गऱ्यो, त्यो कुटनीति कसैले बुझेनन् र केन्द्रमाथि उत्ति आपत्ति जन्मिएन।

राज्य र केन्द्रको मिलिभगतमै विमललाई पहाडबाट खेदाइयो। राज्य सत्ताले खेदायो, केन्द्रसत्ताले शरण दियो। मिलिभगत भनेको यही हो। साँच्चीनै मलिभगत थिएन भने विमललाई दिल्लीको कुनै चेपबाट पनि खोतलेर राज्य प्रशासनले निकाल्थ्यो। तर त्यसो भएन।

विमललाई युएपिए लाग्दैगर्दा पनि घटनाका प्रत्यक्षदर्शी बनेको केन्द्रले रोक्का लगाउन सक्थ्यो। तर आफ्नै आँखा ठुङ्गने साँपको संरक्षण किन गरोस् त केन्द्रले?

विमलको मन राख्न भाजपाले दिल्लीमा शरण दियो। कमसेकम विमलको ज्यान बँचेको छ। विमल त्यति संदिग्घ हुनु हो भने दिल्लीमा जहाँ लुकेका छन्, त्यहीँबाट बङ्गाल प्रशासनले कठालोमा समातेर पक्रन अहिले पनि सक्छ। तर निर्वासित विमल राज्यको लागि उति खतरै होइन। ममतालाई पहाड शान्त चाहिएको हो, त्यो छँदैछ। फेरि अशान्ति गर्न खोज्यो कि युएपिए मुद्दा छँदैछ। विमलको विजोक छ।

जगजाहेर छ, ममता व्यानर्जी दार्जिलिङमा शान्ति चहान्छन्। बङ्गभङ्गबारे कुनै पनि गतिविधि उनलाई असह्य छ। व्यानर्जीसित लड्न सक्ने रणनीतिको निर्माण नभएसम्म यो स्थति युगयुगसम्म जिउँदो रहनेछ।

000

2021 को चुनाउ छेउमा छ। भाजपाको सपना हो बङ्गालमा सरकार बनाउनु। बिपि बजगाईँ भन्छन्, ‘छुट्टै राज्य गोर्खाल्याण्ड भन्यो भने बङ्गालको चुनाउमा असर गर्छ। त्यसैले छुट्टै राज्य गोर्खाल्याण्डलाई कुटनैतिक नाम दिइएको हो-स्थायी राजनैतिक समाधान।’

बजगाईँको कुरामा विश्वास गऱ्यौं भने थाहा लाग्छ, कि भाजपा बङ्गाल विभाजन गर्ने छुट्टै राज्य गोर्खाल्याण्डको नामैसमेत उच्चारण गर्न सक्दैन। जुन दलले आफ्नो सपनाको निम्ति, स्वार्थको निम्ति छुट्टै राज्य गोर्खाल्याण्डको नामै पनि उच्चारण गर्न सक्दैन, उसले छुट्टै राज्य गोर्खाल्याण्ड गठन गर्ने सम्भावना कति रहन्छ त?

त्यही कुरा बुझेपछि बजगाईँले विमल दलबाट राजिनामा दिए। तर गोर्खाल्याण्डको मुद्दालाई भड्खालोमा हाल्न उनको योगदान पनि उत्तिकै छ। भाजपाको कुटनीतिक भाषा ‘स्थायी राजनैतिक समाधान’ छुट्टै गोर्खाल्याण्ड राज्य होइन रहेछ भन्ने जनतामा जवाबदेही हुनुपर्ने डर सबैलाई हुन्छ। यो स्वाभाविक कुरा पनि हो। बजगाईँमा पनि त्यो भयो।

बजगाईँले तर अहिलेसम्म पनि वास्तविकता पर्दाफास नगरेर धोका दिनेहरूको संरक्षण नै गरिरहेका छन्। हुनैसक्छ, उनका अनेकौं बाध्यता होलान् तर जनताले उनीबाट वास्तविक कुरा जान्न चाहन्छ। जो उनले नबताई आफै विस्तारै फर्दाफास हुँदैछ। पर्दाफास त आफै हुँदै जान्छ नि, जति नै ढाकछोप गरिए पनि, तर बजगाईँजस्तो क्याटालिस्टबाट चिरफारको आशा साँच्नु त्यति गलत  पनि होइन।

सोच्दा लाग्छ, धेरै नेताहरूको दोकानै बन्द हुने पर्दाफास गरेर रिस्क किन लिइरहनु र? वास्तविकता जे हो त्यो आफै सामुन्ने आउँछ। जसरी अहिले आइरहेको छ।

भाजपाले संकल्पपत्रमा दुइवटा गोर्खाको मुद्दा हालेको छ। सबैलाई थाहा छ, त्यो मुद्दाको सामाधान गर्ने ‘मिति’ हालेको छैन। भाजपाले ‘2021 को चुनाउ अघि समाधान गर्छौं’-भनेको छैन। भाजपाले जब आफ्नो फाइदा हुने बाटो देख्छ, तब संकल्पपत्रको मुद्दालाई सम्बोधन गर्ने हो। अहिलेसम्म भाजपाले जति पनि ऐतिहासिक मुद्दालाई समाधान गरेको छ, त्यसको पछिल्तिर दल र सरकारलाई फाइदा पुग्ने हजारौं-लाखौं कारणहरू छन्। तीमध्ये राममन्दिर सबैभन्दा शिर्ष फाइदाकारी समाधान हो।

तर गठबन्धनका दलहरूको रट शुरु भयो, ‘2021 को चुनाउभन्दा पहिले नै हाम्रो मुद्दाको समाधान गरियोस्।’ यही कुरा त जब भाजपाले मेनिफेस्टोमा मुद्दा हाल्दैथ्यो, त्यतिबेला नै गर्नुपर्ने होइन र? किन भने दलहरूलाई थाहा थियो, गोर्खाल्याण्ड राज्यको कुटनैतिक नाम पिपिएस भनेको बङ्गाल विभाजन गर्ने मुद्दा हो। यो मुद्दाले ढिलोछिटो बङ्गालमा असर गर्छ नै। तर त्यतिखेर दलहरूले भाजपाको कुटनैतिक भाषाको अन्तर्य केलाएन।

केलाएन कि सौदाबाजी गऱ्यो?

निरज जिम्बाको ‘सबैले आफ्नो एजेण्डामा गठबन्धन सम्झौता गरेको हो’  भन्ने फर्दाफासले उत्पन्न गरेको शङ्का जिउँदै छ।

भाजपा त आफ्नो लाइनमा छँदैछ, तर जब दलहरूलाई आफ्नो गल्ती अनुभव हुँदैगयो, आत्तिन थाल्यो।

जबदेखि ‘यदि 2021 को चुनाउ अघि गोर्खाको दुइवटा मुद्दाको समाधान भएन भने कहिल्यै समाधान हुँदैन’ भन्ने कुरा यी दलहरूलाई थाहा भयो, तबदेखि यी दलहरूले भाजपामाथि खोचे थापिरहेको छ, ‘2021 भन्दा अघि समाधान गर वा कुनै प्रतिश्रुति देउ।’

जब कि गोर्खाल्याण्डको नामले मात्र चुनाउमा असर गर्छ भनेर गोर्खाल्याण्डको कुटनैतिक नाम स्थायी राजनैतिक समाधान बनायो, उसले 2021 को चुनाउअघि बङ्गालको चुनाउमा असर गर्ने मुद्दाको समाधान गर्न सक्छ? प्रतिश्रुति दिन सक्छ?

पहिलेबाटै बङ्गालको चुनाउलाई असर नगर्न गोर्खाल्याण्डको कुटनैतिक नाम स्थायी राजनैतिक समाधानमा सहमति गरिसकेको छ, यसरी सहमति गर्नेले फेरि 2021 को चुनाउ अघि नै छुट्टै राज्य गोर्खाल्याण्ड राज्यको गठनबारे प्रतिश्रुति देउ भन्नु त सहमतिमाथि सरासरी अविश्वास गर्नु होइन र? सहमतिमाथि धोका होइन र?

सहमति भइसकेको कुरामा भाजपा अडिग छ, यसैले उ 2021 को चुनाउ अघि केही गर्नै सक्तैन। सहमति भइसकेको कुरामा अडिग नरहेर फेरि गठबन्धनका दलहरूले बङ्गालको चुनाउ अघि नै मुद्दाको छिनाफाना माग्नुको अर्थ के हो?

अहिले आएर ‘भाजपासित हाम्रो महभङ्ग भयो’ भन्नुको अर्थ के हो?

अर्थ हो, जनतालाई सरासर धोका दिनु।

भाजपाले समाधानको मिति तोकेको छैन, गठबन्धनका दलहरूले मिति तोक्दैछ। गठबन्धन गर्दा नै ‘2021 को चुनाउको अघि समाधान हुनुपर्छ’ भनेर सहमति भएको थियो र? त्यो सहमतिअनुसार भाजपाले कुनै पहल गरेन? र अहिले यी दलहरूको मोहभङ्ग भयो भाजपासित?

आफ्नो रणनैतिक कमजोरीको कारण मुद्दालाई चोट पार्नु सबैभन्दा ठूलो धोका हो। मोहभङ्गको बहानामा यता क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीजस्ता दल भोली जवाबदेही हुनुपर्ने डरले तीनचार प्लाकार्ड बोकेर सडकमा नौटङ्की गरिरहेको छ, उता विमल गुरुङ तृणमूल कङ्ग्रेसको घोडा छडेर दसैंमा घर फर्किन्छु भन्दैछन्।

ममता व्यानर्जीले विमल गुरुङको मुखमा मौला बाँधेर, हातमा साङ्गलो बाँधेर, खुट्टा भाँचेर, दिमागमा काँटी ठोकेर पठाउँदैन त? यस्ता निरिह आगमनको हर्षबढाईको अर्थ के?

000

2021 को चुनाउ अघि भाजपाले विमल गुरुङलाई दार्जिलिङ पठाउन सक्तैन। विमल गुरुङको बाध्यता छ, छुट्टै राज्य गोर्खाल्याण्डको आवाज उठाउनु। किन भने विमल जिउँदो छन् भने यही मुद्दाको कारण छन्। कमसेकम ‘विमलले ममता व्यानर्जीअघि घुँडा त टेकेनन्’-भन्ने नाराले जिउँदो छ। यी दुवै कारण र नारा खोसियो भने विमल मुर्दासरह बन्छन्। यसलाई जिउँदो मुर्दा भनिन्छ। र पहाडलाई जिउँदो मुर्दाको खाँचो छैन। पहाडमा अलरेडी लाखौं जिउँदा मुर्दाहरू छन्।

विमललाई सानुतिनु मुद्दा लागेको होइन। उनलाई राष्ट्रघात गरेको मुद्दा छ। युएपिए मुद्दा भनेको कट्टर राष्ट्रवादीहरूले सहन नसक्ने मुद्दा हो। भाजपा यसै पनि कट्टर हिन्दू राष्ट्रवादी पार्टी हो। युएपिए मुद्दा लागेको दार्जिलिङजस्तो चेपको एउटा सामान्य राजनैतिक दलको नेताको बचाउमा भाजपाजस्तो महत्वाकंक्षी पार्टी कसरी आउन सक्छ? आयो भने संसारको अर्को आश्चर्य हो।

न त विमल कङ्गना रनावतजस्तो देशका सेलिब्रिटी हुन् र वाई वा जेड क्याटागोरीको सुरक्षा दिइन सकिन्छ। दार्जिलिङबाट हेर्दा विमल जति ठूलो देखिन्छ, दिल्लीबाट त के बङ्गालबाटै हेर्दा पनि भुसुना देखिन्छ।

तृणमूल र भाजपाको लागि विमल चुनावी गोटी मात्र हुन्। कठपुतली मात्र। यसैले पाइक परेको बेला ममताले नचाइन्। नाचे विमल। पाइक परेको बेला भाजपाले नचायो। नाचे विमल। अब पाइक परेन भने?

त्यसैको डर, छटपट्टि र शङ्काले पिरोलिएका विमलबारे विभिन्न अफवाह फैलिनु स्वाभाविक हो। विमललाई थाहा छ, सत्तालाई पाइक त्यतिखेर मात्र पर्छ, जब उसलाई आफ्नो स्वार्थ बोकाउन सहज बन्छ।

गधाले स्वार्थ बोक्न आनाकानी गऱ्यो कि सत्तालाई पाइक पर्दैन। हो, त्यही पाइक नपरेकोले र सत्ता स्वार्थको भारी बोक्न आनाकानी गर्ने गधा बनेकैले विमल गुरुङ यो सङ्कटमा छन्।

प्रशान्त किशोर दार्जिलिङको अध्ययन गरेर बसेका कुटनीतिज्ञ हुन्। पिके टिमले दार्जिलिङका लुते नेता र यहाँको राजनैतिक अवहवा इन्चिटेपले नापिसकेको छ। र पिके टिम बिहारपछि बङ्गाल चुनाउको डिजाइनमा छ।

ममता व्यानर्जीको पोलिटिकल आर्किटेककोरुपमा काम गरिरहेको यो टिमसित विमल खेमाको भेट भएको यदि साँचो हो भने पनि विमलको पहाड फिर्ती सजिलो छैन। विमलसितै एउटै उपाय छ, कि त न्यायपालिकामाथि भरोसा गरेर धैर्य गर्नु कि त ममता व्यानर्जीलाई आत्म बेच्नु। जुन आत्मको कारण विमल जिउँदो छन्, त्यही बेचेर फर्किएको विमलको घर फिर्तीबाट खतरा कसलाई? जो आफैको निम्ति आफै खतरा हो।

000

कानूनको बाटो भएर आउने कि आफूलाई बिक्री गरेर आउने, यो दुइवटै निर्णय विमलको अन्तिम उपाय हो। 2021 को चुनाउपछि विमलको महत्व न त भाजपालाई हुनेछ, न त तृणमूललाई।

भाजपालाई विमललाई पहाड फर्काउन अहिले पाइक परेको छैन। विमल जो छन्, विधानसभा चुनाउको बेला छटपट्टिरहेका छन्। अलैंची पाक्ने बेला व्यापारीहरू चल्मलाएजस्तै।

ममता व्यानर्जीको निम्ति विमल अशान्तिको घर हुन्। विनय तामाङ र अनित थापाले जुन शान्ति बनाइराखेको ममतालाई लाग्छ, त्यो भत्काएर टाउको दुखाउने रिस्क लेला त?

विमललाई विस्तारै दिल्लीमा बसिरहनु पनि गाह्रो बन्दै गइरहेको छ, घर फिर्ती गरिहाल्न पनि गाह्रो छ। विमल जतै लम्के पनि खाडल छ। र यो खाडल उनको कठपुतली हुने व्यक्तित्वकै कारण बनिएको हो।

एउटा चिनियाँ उखान छ, बाघको मुखबाट फुत्केर ब्वाँसोको मुखमा पर्नु। विमलको नियति यही उखान हो।

चलो, तृणमूल काङ्ग्रेसको कठपुतली बन्दाबन्दा वाक्कै लागेर भाजपाको कठपुतली बनेर यतिञ्जेल बाँचिएकै छ, फेरि अर्कोपल्ट तृणमूलकै कठपुतली बन्दा के जान्छ?

छत्र सुब्बा पनि बाँचेकै छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया