धेरै दिनदेखि हामी यही विषयमा लागिपरेका थियौं-लोप्साङ लामा

विज्ञापन

कालेबुङ, 4 अक्टोबर

विमल खेमा मोर्चाको कार्यकारी अध्यक्ष लोप्साङ लामाले गोर्खाल्याण्ड क्षेत्रको सम्बन्धित विषयमा सचिवस्तरीय त्रिपक्षीय वार्ता बोलाउन आफूहरू धेरैदिनदेखि लागिपरेको बताएका छन्।

लोप्साङअनुसार धेरैदिनदेखि लागि परेर गोर्खाल्याण्ड क्षेत्रको सम्बन्धित विषयमा सचिवस्तरीय त्रिपक्षीय वार्ता बोलाउन लगाइएको हो। पत्रमा ‘गोर्खाल्याण्ड क्षेत्रको सम्बन्धित विषय’ भनिए पनि लामाले भारत सरकारको गृह मन्त्रालय अधिनस्थ केन्द्र – राज्य सम्बन्धित विभागद्वारा ‘गोर्खाल्याण्डट विषयमा सभा डाकिएको बताएका छन्।

वार्तामा आफ्नो दललाई निम्तो भएकोमा आभार पनि प्रकट गरिएको छ। ‘धेरै दिनदेखि हामी यही विषयमा लागिपरेका थियौं र आज गृह मन्त्रालयले स्पष्ट रुपमा ‘गोर्खाल्याण्ड’ सम्बन्धी वार्ता डाकेकोमा हाम्रो आजसम्मको लगन र निरन्तर गरेको परिश्रम खेरो नगएको अनुभूति भएको छ’,लामाले भनेका छन्।

पत्रमा ‘गोर्खाल्याण्ड’ भन्ने शब्द छ। यसले शंसय उत्पन्न गरेको छ। ‘गोर्खाल्याण्ड’ शब्द मात्र उल्लेख भए पनि लामाले त्यसलाई आफूहरूले स्थायी राजनैतिक समाधान नै बुझेकोसमेत उल्लेख गरेका छन्।

‘भारत सरकारको गृह मन्त्रालयले आज प्रेषित गरेको पत्रमा गोर्खाल्याण्डको निम्ति डाकिएको सभा भनेर उल्लेख गरेकोले गोर्खा जनमुक्ति मोर्चाको स्थायी राजनैतिक समाधान गोर्खाल्याण्ड नै हो भन्ने कुरामा केन्द्र सरकार पनि अवगत रहेको स्पष्ट भएको छ,’ लामाले भनेका छन्।

उनले शीघ्र नै दार्जीलिङ पहाड, तराई र डुवर्स लगायत भारत अनि विश्वभरि छरिएर बसेका गोर्खाहरुले न्याय पाउने कुरामा आफू विश्वस्त रहेको पनि जनाएका छन्।

‘हामीलाई भारत देशको निम्ति गोर्खा जातिले बारम्बार दिएको योगदानको उचित मूल्याङ्कन हुने समय नजिक आएको आभास भएको छ,’ लामाले भनेका छन्, ‘सांसद राजु बिष्टलाई पनि धन्यवाद छ। उनले बारम्बार गोर्खाहरुको स्थायी राजनैतिक समाधान विषयमा संसदमा साथै धेरै केन्द्रिय मन्त्रिहरुलाई भेटेर कुरा उठाएका हुन्।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया