हामी वार्तामा जान्छौं, त्यहीँ गएर विरोध जनाउँछौं- रोशन गिरी

विज्ञापन

कालेबुङ, 6 अक्टोबर

केन्द्रिय गृहमन्त्रालयको केन्द्रराज्य विभागले 3 अक्टोबर सूचना जारी गरेर ‘गोर्खाल्याण्ड रिजन’ सम्बन्धित विषयमा गरिने भनिएको वार्ता 5 अक्टोबर सोही विभागले अर्को सूचना निकालेर वार्ताको विषय परिवर्तन गरेपछि राजनैतिक शिविरमा हलचल मच्चिएको छ।

केही महिनाअघि पनि सोही विभागले यस्तै सूचना निकालेर राज्य र गोर्खा जनमुक्ति मोर्चालाई वार्तामा बोलाएको थियो। तर वार्ताको विषय ‘जिटिए समिक्षा’ –लेखिएकोले गोर्खा जनमुक्ति मोर्चा (विमल)-का महासचिव रोशन गिरीले जिटिए सम्बन्धित वार्तामा आफूहरू नजाने घोषणा गरेका थिए।

यसपल्ट शुरुमा ‘गोर्खाल्याण्ड रिजन’ भनेर पछिबाट संशोधन गरी वार्ता ‘जिटिए’-बारे हुने गृहमन्त्रालयले सूचना जारी गरे पनि गोर्खा जनमुक्ति मोर्चा (विमल) वार्तामा जाने नै भएको रोशन गिरीले बताएका छन्।

‘5 अक्टोबरको जुन सूचना आयो, त्यो किन आयो, हामीलाई थाहा छैन,’ रोशन गिरीले खबरम्यागजिनसित वाट्सएप कलमा कुराकानी गर्दै भने, ‘हामीले यसबारे केन्द्रिय गृहमन्त्रालयको केन्द्रराज्य विभागमा सोधिखोजी पनि गऱ्यौं तर कोही पनि बोल्न मानेनन्।’

गिरीले वार्ताको विषय परिवर्तन भएकोमा आफूहरूलाई कुनै जानकारी नभएको स्पष्ट पारेका छन्।

‘विषय परिवर्तन गरे पनि हामी वार्तामा जान्छौं,’ गिरीले भने, ‘किन यस्तो गरिएको हो, त्यसको विरोध वार्तामा नै गएर गर्नेछौं। विरोध जनाउनकै लागि पनि हामी वार्तामा जानेछौं।’

वार्तामा मोर्चालाई प्रतिनिधित्व गरेर को जाने हुन्, त्यसबारे सल्लाह चलिरहेको पनि गिरीले बताएका छन्।

‘अहिले सरसल्लाह चलिरहेको छ, नाम पक्कापक्की भइसकेको छैन,’ गिरीले भनेका छन्।

यता राज्य सरकार सूत्रबाट प्राप्त जानकारी आएअनुसार पश्चिम बङ्गाल सरकारका प्रतिनिधिहरू वार्तामा जाने छैनन्। 3 अक्टोबरको सूचना सार्वजनिकभए लगत्तै राज्य सरकारपक्षबाट वार्तामा नबस्ने बताईएको थियो। ‘अहिले पनि राज्य सरकारको अडान त्यही छ,’ सूत्रले भनेको छ।

यता वार्ताको विषय फेरिएसँगै क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीले वार्तामा नजाने घोषणा गरेको छ। वार्ताको लागि रोशन गिरीले क्रामाकपाका अध्यक्ष आरबी राईलाई बोलइए पनि क्रामाकपाले किशोर प्रधान र शेखर छेत्रीलाई वार्तामा पठाउने भएको थियो।

‘बैठकको एजेन्डा नै परिवर्तनगरी जिटिए बनाइएपछि क्रामाकपा वार्तामा जाने सवाल नै उठ्दैन,’ क्रामाकपा महासचिव गोविन छेत्रीले भनेका छन्।

छेत्रीले ‘गोर्खाल्याण्ड रिजन’-बाट विषयलाई ‘जिटिए’-मा झारेर भाजपाले गोर्खालाई कति मूर्ख ठान्दोरहेछ भन्ने कुरा पनि प्रमाणित भएको बताएका छन्।

यता गोरामुमोका कुनै पनि नेताले फोन उठाएका छैनन्। रोशन गिरीले भने क्रामाकपा र गोरामुमो दुवै वार्तामा नआउने आफूहरूलाई जानकारी आइसकेको बताएका छन्। यद्यपि, गोरामुमोले अहिलेसम्म आधिकारिकरुपमा वार्तामा जाने-नजाने भन्नेबारे मुख खोलेको छैन।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया