पहाडको शिक्षा बनाम गोर्खे बिकास,रोजगार र पर्यटन

विज्ञापन

विचार

अहिले कोराना प्रकोपले गर्दा धेरै प्रवासी मजदूरहरू आफ्नो थलो फर्किआएका छन्। कुरा रोजगारको उठिरहेछ। रोजगारको कुरामा पनि विकासको त्यस्तै कमिसनवाला नै मोडेल छ भने अर्को तिर सकारात्मक सोँचमात्र छ। यता गर उता गर पहाडलाई पर्यटन क्षेत्रमा विकास गर्नु पर्छ, पर्यटक स्थलहरू दाम्मी बनाउनु पर्छ, पहाड त्यसै पनि प्राकृतिक रूपमा सुन्दर, पर्यटकहरू ल्याउनु पर्छ र रोजगारको सृजना हुन्छ भन्ने भनाइ सबैकोमा छ। हुन पनि पर्यटनले धेरैको छाक टरेको पनि छ। तर के छाक टर्नु मात्र समाधन हो र?


कमल भुजेल


            पहाड भन्नाले डाँड़ा-काँड़ा जहाँ गोर्खाहरूको संख्या बेसि “जस्तो” छ, पहिले केही समतल पनि मिसिएको भएता पनि, ब्रोकरीको घट्नाक्रममा दार्जीलिङ मोड, सुकुना हुँदै कोविडको समयसम्ममा रोहिनी गेटदेखिको उकालोको ठाँउ। अन्य राज्य हेर्नु हो भने सिक्किम अनि यो बाहेक अरू ठाँउमा गोर्खाहरूको बसोबास भएता पनि धाक फुकाएर “स्व:”-को जगेडा गर्नु नसकेको स्थिति छ २०२० सम्म।

            दार्जीलिङ पहाडमा धेरै पार्टीहरू आए गए, कोही अझसम्म पनि बाँचिरहेका छन् नामको लागि मात्र भए पनि। पहाडमा पार्टी गरेर नै धेरैको घर-संसार चलिरहेको छ, पुस्तैनीको व्यवसाय पनि बनाएका छन् धेरैले त झनै। तथापि कोही-कोही भने इमानको कमाईमा जीवन धान्नेहरू पनि भेटिन्छ नै।

            पहाडलाई ऐंठन पार्ने सपना नै हो “छुट्टै राज्य-गोर्खाल्यण्ड” र कौशल नभएका ब्रोकरहरूको मागिखाने भाँडा पनि हो “गोर्खाल्याण्ड”। गोर्खाल्याण्डको खाँचो धेरै अर्थमा भएता पनि गोर्खाको बासभूमि र पहिचान नै मूख्य हो। “बङ्गाल हाम्रो चिहान हो” भनेर नारा लगाउनु पनि बङ्गालले गरेको दमनको प्रतिक्रिया हुन्। बङ्गालले हामीलाई केही पनि दिनु वा गर्नु सक्दैन भनिसकेर पनि राजनैतिक अपरिपक्वता र स्वाभिमानले नपुंसक बनेका नेतृत्वहरूले गोर्खाहरूको भविष्य बङ्गालकै हात सुम्परहेकाछन् दशकौंदेखि।

            गोर्खाल्याण्डको मुद्दालाई फत्ते गर्नु नसकेर गोर्खाल्याण्डलाई विकासको नाममा साट्दैछन्। फत्ते गर्नु नसक्नुमा नेतृत्वले ठीकसँग होमवार्क गरेकै छैन, नेतृत्वमा इमान्दारिता नै छैन, एउटा मुद्दासित प्रतिबद्ध भएर बस्न नै सक्दैनन्, सङ्कल्प बिना नै आन्दोलनको नारा रटिराखेका छन्। गोर्खाल्याण्डको बाटो मोडेर अब विकास-विकासको नाराले थर्काइरहेछन् पहाड, सबै राजनैतिक दलहरूले।

के हुन् त विकास? यिनीहरूको भाषामा।

विकास भनेको सिधा कुरामा भन्नु हो भने कन्ट्र्याक्ट हो। झोडा-नाला, बाटो-घाटो, कम्युनिटी हल, मतलब सिमेन्ट बालुवा लाग्ने संरचनाहरू। झोडा-नालाकोहरूको त डी०पी०आर० मात्र बनिन्छ, अरू बनिँदैन। अलकत्रे बाटो हो भने माटो माथि कालो रङ मात्र पोतेर छोडिदिन्छन्। कुकुर हच्केर उफ्रिँदा पनि खाल्डो हुन्छ, माछाको कुवा बनिन्छ वा धानै पनि रोप्छन् कतिले त।

इञ्जिनियरहरू त झन् साइन गर्नु मात्र हुन्छ, पढेको टेक्निकल नलेज जति भाउजुको दोकानमा सेन्तेरेम लिँदा ब्लफ दिनु मात्र हुन्छ। सय दिने काम धरि ठिकामा गर्न थालिसके। धेरै खटिखटी पढेर पब्लिक सर्विस एक्जाम पास गरेर बनेका अफिसरहरू पनि अनपढ झैं स्किम पास गर्ने हस्ताक्षर ठोक्ने स्ट्याम्प मात्र बनिरहेका छन्। देख्दा पूर्णरूपमा नियम-कानून लागु भएको जस्तो देखेता पनि केवल लुम्रे-झुम्रेलाई मात्र छुँदो रहेछ ल एण्ड अर्डर पनि पहाडमा। घोटाला बेसी भयो भनेर डाइरेक्ट फण्ड ट्रान्स्फर गर्न खातामा सिधै पैसा हाले पनि व्याङ्कबाट नै पैसा भने ठिकादारकोमा नै पुगिहाल्छ। बिकास यस्तै छ अहिले पहाडमा।

किन चाहियो विकास?

जेनुइन कारण धेरै भएता पनि जेनुइनली कसैले गर्दैनन् विकासको कुरा। विकासको परिणति, त्यसले गर्ने लाभ-हानी हेर्दैनन् तर कमिसन भने ठीक हुनु पर्छ, त्यो विकासको सुचिमा आइहाल्छ। जुन कुरामा कमिसन नै हुँदैन त्यो कुनै लिस्टमा नै आउँदैन न त कतै चर्चा नै हुन्छ। व्यक्तिगत विकास गर्नुको लागि समाजको काँधमा चढेर विकासको नारा फिट्छन विकासवादीहरू।

खास चाहिएको विकास अर्कै हुन्छ तर गरिने विकास अर्कै हुन्छ।

कसले दिन्छ विकास?

कुनै पनि ठाँउको विकास गर्नु हो भने ठूलो राशि आवण्टन गरेको हुनु पर्छ। विकास गर्ने पैसा कताबाट आँउछ भन्दा, पहाडमा विकास गर्नेहरूले बङ्गाल सरकारले दिएको, बङ्गालले विकास गरिदिएको भन्छन् कि त केन्द्रले भन्छन्। तर पहाडमा आउने पैसा पहाड कै जनताबाट उठाएको कर (ट्याक्स), पर्यटनबाट भएको नाफा, बिजुली बत्तीबाट भएको नाफा, चिया उद्योग, सिन्कोना, जङ्गल, ढुङ्गा-माटो, बालुवा अझ अन्य प्राकृतिक सम्पदाहरूबाट उठेको राजस्वहरूबाट नै गर्ने हो।

यो एउटा जिम्मेवार सरकारको दायित्व हो। हामीबाट उठेको राजस्वबाट केही अंशमात्र हाम्रो विकासमा खर्च हुन्छ उब्रेको जतिले उल्टा राज्यलाई नै अझ थप आर्थिक सहायता पुग्छ। तर हाम्रो विकास अर्काले गरिदियो भनेर खुट्टा ढोग्छन् विकास-पन्थीहरू। नून् खाए पछि गुण तिर्नुपर्छ भनेर तर्क दिन्छन्। विकास त  हाम्रो अधिकार हो, कसैले दिने भीख होइन। पहिले आफ्नो घरको आम्दानी हेर्नु, सम्पत्ति जाँच्नु अनि पो अर्काको ऋण लिनु त।

हाम्रोहरू आफ्नो खेत आफै जोत्न अल्छी मान्छन् अनि आफ्नो खेत अर्कालाई अधियाँमा दिएर आफू फेरि खेतला बनेर काम गर्छन्। फसल पनि राम्रै उमार्छ तर काटेर लाने अर्कै हुन्छ र गुण गाउँदै बस्छ, “मेरो खेतमा फसल दाम्मी भयो” भन्दै।

पहाडे विकासको मोडेल

अहिले कोराना प्रकोपले गर्दा धेरै प्रवासी मजदूरहरू आफ्नो थलो फर्किआएका छन्। कुरा रोजगारको उठिरहेछ। रोजगारको कुरामा पनि विकासको त्यस्तै कमिसनवाला नै मोडेल छ भने अर्को तिर सकारात्मक सोँचमात्र छ। यता गर उता गर पहाडलाई पर्यटन क्षेत्रमा विकास गर्नु पर्छ, पर्यटक स्थलहरू दाम्मी बनाउनु पर्छ, पहाड त्यसै पनि प्राकृतिक रूपमा सुन्दर, पर्यटकहरू ल्याउनु पर्छ र रोजगारको सृजना हुन्छ भन्ने भनाइ सबैकोमा छ। हुन पनि पर्यटनले धेरैको छाक टरेको पनि छ।

तर के छाक टर्नु मात्र समाधन हो र?

विकासको मोडेलको रूपमा धेरैले सिक्किमलाई देखाउने पनि गरेका छन्। सिक्किम पनि पर्यटन व्यवसायमा अघि नै देखिन्छ देखिनु त। तर के यो पर्यटनको मोडेलले पहाडको विकास होला त?

पर्यटन बनाम स्थायी रोजगार र विकास

विकासबारे धेरै गहकिलो परभाषा दिएर लामै चर्चा पछि गरौंला, यद्यपि अहिले विकासको मोडेलबारे चर्चा गरौं। सिक्किम देख्दा त धेरै विकसित देखिन्छ तर यथार्थमा भने त्यस्तो छैन। कोविडको टेस्टिङ ल्याबसम्म थिएन। टेस्टिङ ल्याब ढिलो बनिँदा एस०डी०एफ०ले निन्दा गरेकोमा वर्तमान एस०के०एम० सरकारको जवाब के थियो भने, “एस०डी०एफ०ले 25 वर्षमा स्कूलको ल्याब त ढङ्गले बनाएन कुरा गर्छ”।

सिक्किममा भनेको जस्तो आफ्नै मेडिकल कलेज वा हस्पतालसम्म छैन। सुत्केरी मर्छ कि बाँच्छ टुङ्गो छैन। पवन चाम्लिङ स्वयं डाक्टरेट बने तर राज्यको एउटा एजुकेसन बोर्डसम्म गठन गर्न सकेनन्। सिक्किमले केन्द्रीय विश्वविद्यालय पनि पाए तर अहिलेसम्म किरायमा चलिरहनु परेको छ। आफ्नै राज्यमा पनि ठाँउ पाएनन्। यस्ता धेरै जटिलताहरू झेल्नु परिरहेको छ नयाँ सरकारले। अझ आत्महत्याको सिलसिला निरन्तर चलिरहेकै छ। बेरोजगारीले बिथोलिरहेको छ। हुन त सिक्किममा पनि गोर्खा नै छन् सत्तामा। सिमानाको रेखाले मात्र छुट्ट्याएको छ। व्यवहार त एकै किसिमको छ। दार्जीलिङ पहाड प्रत्यक्षरूपमा बङ्गालको अधिनमा छ यिनीहरू अप्रत्यक्ष तरिकाले आफ्नै राज्य भएर पनि धेरैकुराहरूमा अरू माथि नै भर पर्नु पर्ने स्थिति छ।

सिक्किमले विकास गरेको जस्तो देखेता पनि सिक्किम कै जनताले पाउनसक्ने त्यस्तो दीर्घकालिक विकास भएको छैन। अघिको सरकारले पर्यटनलाई विकास गर्न धेरै ठाँउहरूलाई पर्यटकीय स्थल बनाए। ठूला-ठूला मूर्तिहरूको निर्माण गरे तर यस्तो विकासले स्थानीय मानिसहरूले जिविका चलाएको जस्तो देखिन्छ। होटेल-रेष्टुराहरू खोलेर, गाडी कुदाएर रोजगार सृष्टि भएको दिखिन्छ देखिनु त। तर के यति मात्र हो विकास? यस प्रकारको विकासले हानी पनि त निकै भएको छ र धेरै लामो समयको निम्ति भएको छ।

भूत-पूर्व सरकारले मूर्तिहरू स्थापना गरेर वा पर्यटन स्थलहरू बनाएर डाक्टरेट (Dr.)  होइन ड्राइभर (dr.) मात्र जन्माए। चालक भएर गाडी कुदाउनु पनि सम्मानको कुरा नै हो तर यस्ता बाहिरबाट सुन्दर देखिने पर्यटनको विकासमा मात्र नलागेर पहिले राज्यमा आफ्नो एजुकेसन बोर्ड बानएको भए, विश्वविद्यालय निर्माण गरेर शोधार्थीहरू जन्माएको भए, सिक्किमको लागि सिक्किम कै मानव संसाधन निर्माण गरेका भए आजको दिनमा गाडी हाँक्ने ड्राइभर दाजुहरूले नै सिक्किमको हरेक काम हाँकिरहेका हुनेथिए। बाहिरबाट विशेषज्ञहरू आयत गर्नु नै पर्ने थिएन। राज्यको जनता साक्षर मात्र बनाएर हुँदैन, कौशल पनि हुनुपर्दछ।

यद्यपि पर्यटनको विकास हुनुपर्दछ तर हाम्रै मान्छे मालिक बनेको हुनपर्छ। यस व्यवसायमा जुन सिक्किम वा दार्जीलिङ दुवै ठाँउमा मालिक बाहिरकाहरू नै छन्। बाहिरकाहरूले कमाउछन् जान्छन्। हामी हाम्रै भूमीमा कामरोको जीवन जिउन बाध्य बन्छौं। सिक्किम-दार्जीलिङको खटिखानेको कथा-व्यथा एउटै छ तर एउटा सिमानाको रेखाले फरक बनाइदिन्छ।

यसरी दार्जीलिङले पनि सिक्किमको गुनगान गर्दै हुबहु त्यही पर्यटनको विकास मोडेल अप्नाइरहेको छ। गाँउ-गाँउमा होम-स्टेहरू खोलेर रोजगार सृजना भएको जस्तो भान त हुन्छ तर यथार्थमा यी सबैको मालिक हाम्रो यहिको रैथानेहरू भने हुँदैन। बाहिरकाहरू आउँछन् अनि यहीँका रैथानेहरूलाई कमारो बनाएर राख्छन्।

            पहाडमा शिक्षाको विकास कसैले पनि गर्दैनन् तर हामीले केही त गर्दैछौं भनेर देखाउनका लागि यस्ता पर्यटनका विकासहरू देखाइदिन्छन्। तर यसो गर्नाले बेकारी बनेका केटाहरू गाडी कुदाउनु, ड्रप एण्ड पिकअपमा नै जिन्दगी बिताउने बनाइदिन्छन् भने अधकल्चे पढेका केटीहरू यी होटेल-रेष्टुराहरूमा “मे आइ हेल्प यु” वा बाहिरको पर्यटक होस् वा लोकल धनी मान्छेको अघि नाचेर कमाइखाने बनिनु पर्छ।

            यस्तो विकासले जातिको उत्थान कसरी हुने? कुनै पनि राजनैतिक पार्टीकोमा जातिको उत्थान हुने विकासको मोडेल नै छैन। बाटो-नाला-झोडाहरू त कुनै पनि सरकारले गर्दिन भन्दा पनि गर्नु पर्ने बुनियादी कुराहरू हुन्। जुनै सरकारले पनि गर्छ अनि गर्नु नै पर्छ।

            पहाड संसाधनहरूको खानी हो, प्राकृतिक सम्पदाहरूको स्रोत हो। यहाँ नेचुरल AC छ। प्राकृतिक रूपमा पनि धेरै कुरा गर्न सकिन्छ। कुनै पनि पार्टीले इकोनोमिष्टहरू राखेर योजना बनाउनु पर्ने हो। तर अलिकति टाठे-बाट्ठेहरूको कुराले नै पार्टीका सबैलाई पेलिहाल्छन्। कुन सही हो कुन गलत हो थाहा पनि हुँदैन धेरैलाई।

            जबसम्म पहाडमा नेताले नियुक्ति दिन बन्द गर्दैन, एम्प्लोइमेन्ट एक्स्चेञ्ज चालु भएर योग्यता अनुसार काम पाउदैन तबसम्म कुनै पनि विभागमा कौशल कर्मचारी हुँदैन। झण्डाले जन्माएको रोजगार पार्टीको हावा बहुञ्जेल मात्र हो। सबै दुइ नम्बरी गरेर काम पाउनेहरूले समाजलाई नै दुइ नम्बरी बनाइदिनेछन्। र सबैभन्दा जोखिममा पहाडको “शिक्षा-व्यवस्था” छ। शिक्षक पनि सठीक प्रवेश परीक्षा (Regional S.S.C.) सम्म पास गरेको योग्य हुनु पऱ्यो। अहिले पहाडमा सबैभन्दा बदनाम नै शिक्षक बनिरहेका छन्। आफूले पढाउने(काम गर्ने) स्कूलमा आफ्नो नानी पढाउने आँट धरी नभएकाहरूले शिक्षाको खेती गरिरहेछु भन्छन्। D.I. र  S.I.-हरूको काम के हो? हो? पहाडमा। Headmaster Manual नपढेकाहरू पनि स्कूलको प्रमूख भएर बसेका छन्। पहाडमा खै पूर्णरूपमा प्रधानाध्यापक धरी छैनन्।

            जुन जगहमा शिक्षा नै कमजोर छ, नानीहरूले आफ्नो शिक्षा पुर्ण गर्न नै पाउँदैनन्। आफ्नो कौशलतालाई निखार्नु नै पाउँदैनन् भने त्यस जगहमा रोजगार कसरी हुन्छ?

पहाडमा गोर्खाल्याण्डको आन्दोलन धेरै भयो, अब शिक्षाको आन्दोलन हुनु पर्छ। शिक्षित जमातले गरेको आन्दोलनले मात्र सबै कुरोलाई टुङगोमा पऱ्याउने छ तर शिक्षित भन्दैमा डाक्टरेट भएर बिक्री हुने शिक्षित पनि हुनु भएन। शिक्षित पनि धेरै किसिमका हुन्छन्। जोगिनु पर्छ।

            यसपाली त झनै कलेजमा धेरैको भर्ना नै हुन सकेन, कारण सिट नै पुगेन। हुन पनि दार्जीलिङमा कलेजहरू नै पो कति छ र? शिक्षाको खेत मानिने ठाँउमा कलेजहरू नै छैनन्। भएकाहरूमा पनि पढाइ ठीकसँगले नै हुँदैन। पहाडमा तल फेददेखि टुप्पोसम्म नै शिक्षा सखाप छ। देख्दा खेरी विद्यार्थी टाइ-सुट लगाएर त स्कूल-कलेज जान्छन् नि तर पढाइ भने त्यो स्तरको नै हुँदैन, चाहे त्यो स्कूल होस् वा कलेज। औकात नै नपुगी टाइ-सुट लगाइदिएर यसको मर्यादा पालन गर्नु पर्छ भन्ने सोच धरि हुँदैन। हुन पनि जाति उत्थानको ठूलो कुरा हाँक्नेहरूले पनि बिहेमा औकात बिना नै टाइ-सुट लगाएका देखेकै छौं। आफ्नो संस्कृतिलाई बन्दकी राखेर आधुनिक हुन खोज्छौं हामी अन्धाधुनमा।

            पिम्पलै-पिम्पलले ढाकेको अनुहारलाई किरिम पोतेर चिल्लो गाला देखाएको जस्तो छ पहाडको शिक्षा अनि विकास। चिटिक्क परेको युनिफर्ममा खाली खोपडीको कम्बिनेसन्।

            तसर्थ गोर्खा संसारको कुनै पनि ठाँउमा बसेको किन नहोस् तर सञ्चोले बसेको छैन। गोर्खा साच्चै नै पछाडिएको जाति हो। यस जातिको साँचो अर्थमा उत्थान गर्नु हो भने सही शिक्षाले मात्र गर्नेछ। गोर्खाको पनि मानव संसाधन-श्रोतहरू दु:ख गरेर भए पनि तयार गर्नुपर्छ, चाहे त्यो दार्जीलिङमा होस् वा सिक्किममा वा संसारको अन्य कुनै जगहमा। सिक्किम र दार्जीलिङका गोर्खाहरूको हातमा भने सत्ता छ र यस सत्ताको उपयोग गरेर गर्नु सक्ने काम गरेको राम्रो। सिमानाले अलग देखाउन सक्ला तर भावनाले त संसार भरि कै गोर्खाहरूलाई बाँधेर राखेकै छ।

            गोर्खा शिक्षित हुनुपर्छ तर स्वभीमानी पनि हुनुपर्छ। स्वभिमान बिनाको शिक्षा झण्डा समात्नु मात्र हुनेछ। शिक्षित अनि नबेचिँने गोर्खाले मात्र गोर्खा जातिको हितमा काम गर्ने छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया