विकुवा पत्रकार, आलोचना, गद्दारी र चुनावी ब्रोकरहरूको खेल

विज्ञापन

लोपसाङ लामा : फाइल फोटो

आलोचना

हिजो ममताको कारण भूमिगत हुनु परेको पूर्णसिंह योद्धाहरू अब भाजपाको कारण उतै नबिलाउन्, उनीहरू घर फर्किउन्। हिजो पनि ममताको कुटनीति नबुझेरै विमल गुरुङ फँसेका हुन्, भोलि पनि भाजपाको कुटनीति नबुझेरै नफँसुन्। यति भन्दा गद्दार, बिकुवा होइन्छ भने यही हुन आजीवन मञ्जुर छ।


मनोज बोगटी


मैले गोर्खाको मुद्दामा भाजपा इमान्दार छैन पनि भन्न सक्थें। त्यो मैले गरेको मनगढन्ते कुरा हुँदैन थियो। किन भने दुइ सांसद दिइसक्दा पनि भाजपामा त्यो इमान्दारिता देखिएको थिएन। सबैलाई थाहा छ, भाजपालाई जबसम्म ‘पोलिटिकल बेनिफिट’ हुँदैन, तबसम्म उसले कुनै पनि समस्याको समाधान गर्ने चासो राख्दैन। दार्जिलिङ पहाडको मुद्दाबाट भाजपालाई कुनै ‘पोलिटिकल बेनिफिट’ छैन।

दार्जिलिङ पहाडले जसवन्त सिंह र एसएस अहलुवालियालाई छुट्टै राज्य गोर्खाल्याण्डको लागि ‘म्यान्डेट’ दिइसकेकै हो। अब भाजपाले त्यसलाई कदर र सदर दुवै गर्नुपर्थ्यो। गरेन। भाजपाले गोर्खाको मुद्दालाई गम्भीरतासित लिनुपर्छ र यसलाई समाधान गर्नुपर्छ भन्ने दवाब नै अनुभव गरेन। पहाडका दलहरूले पनि दवाब दिएन।

यद्यपि, ‘भाजपाले गर्छ कि गर्छ कि गर्छ कि भन्ने मनोविज्ञान’ बँचाएकै छ। ‘गर्छ कि गर्छ कि गर्छ कि’- भन्ने त्यसलाई लाग्छ, जो आशबहादुरहरू हुन्। राजनीतिको मेरुदण्ड भनेको इथिक्स, लजिक र रिस्क हो। पोलिटिकल इथिक्स जनतामा पुग्दा लजिक बोकेर पुग्छ। लजिक जबसम्म जनतामा पस्दैन तबसम्म विश्वास पैदा हुँदैन। जनतामा पुगेको ‘लजिक’-ले कतिको विश्वास पैदा गऱ्यो, त्यसको रिजल्ट पर्खिनु बढो रिस्की कुरा हो।

के हो त इथिक्स, लजिक र रिस्क?

तपाईँले बाँझो खन्नुभयो, बिउ लगाउनु भयो, पानी हाल्नु भयो र त्यसपछि तपाईँलाई ‘उम्रिन्छ कि उम्रिन्छ कि उम्रिन्छ कि’ भन्ने लाग्यो। तपाईँको इथिक्स बाँझो खन्नु, बिउ लगाउनु, पानी हाल्नु हो। लजिक चाँही  ‘उम्रिन्छ कि उम्रिन्छ कि उम्रिन्छ कि’ लाग्नु हो।

बाँझो पनि खन्नु भयो, पानी पनि हाल्नु भयो बीउ पनि लगाउनु भयो, तर बीउ स्वस्थ्य छ कि छैन भनेर जाँच्नु भएन तरै पनि उम्रिन्छ कि उम्रिन्छ कि उम्रिन्छ कि भन्ने लागिबस्यो। बीउ स्वस्थ छैन भने नउम्रिने चान्स बढ्ता हुन्छ, रिस्क त्यही हो।

अघिल्लो लोकसभा चुनाउमा मैले भनें, ‘तृणमूल कङ्ग्रेस भनेको ढुङ्गा हो, त्यहाँ जति नै बिउ छर उम्रिँदैन। भाजपा भनेको बाँझो जमिन हो,खन्न जानियो भने, बिउ लगाउन जानियो भने, पानी हाल्न जानियो भने बीउ उम्रन्छ।’

मेरो यो भनाई त्यतिखेर नेताहरूको लागि पोलिटिकल एन्थम नै बनेको थियो। आजका विधायक निरज जिम्बाले त त्यसलाई हिन्दी, बङ्गला, अङ्ग्रेजीमासमेत उल्था गर्दै लोकलदेखि राष्ट्रीय मिडियासम्ममा गाएका थिए। उनीहरूले मेरो भनाईलाई पोलिटिकल एन्थम बनाएर गाउँदै गर्दा उनीहरूको विपक्षका दल र समर्थकहरूले मलाई भन्दै थिए, ‘विकुवा पत्रकार। भाजपा र विमलको पैसा खाएर पत्रकार पनि कार्यकर्ताजस्तो बोल्दैछ।’

अहिले म मेरो ‘तृणमूल कङ्ग्रेस भनेको ढुङ्गा हो, त्यहाँ जति नै बिउ छर उम्रिँदैन। भाजपा भनेको बाँझो जमिन हो,खन्न जानियो भने, बिउ लगाउन जानियो भने, पानी हाल्न जानियो भने बीउ उम्रन्छ’ भन्ने वाक्यलाई पोलिटिकल एन्थम र चुनावी नारा बनाउनेहरूलाई सोद्धैछु, ‘त्यो बाँझो बारी किन नखनेको? बारी बाँझै छ त। भाजपाले बाँझो खनिदिन्छ भन्ने आशामा बस्छौ कि तिमेरु आफै खन्छौ? भाजपाको आशामा बस्छौ र बाँझोबारीमा काँटा हानेनौ भने तिमेरु मर्नेछौ र जाति र मुद्दालाई पनि मार्नेछौ।’

अहिले चुनाउ जित्ने दलहरूले मलाई भन्दैछन्, ‘विकुवा पत्रकार। तृणमूल र विनय-अनितको पैसा खाएर पत्रकार पनि कार्यकर्ताजस्तो बोल्दैछ।’

000

इथिक्स, लजिक र रिस्क यी तीनै कुरा नहुनेहरूले लगाउने भनेकै यही लाञ्चना त हो। त्यसले मलाई के फरक पर्छ र? जो जो पनि इथिक्स, लजिक र रिस्कसहित राजनीतिमा छैनन् उनीहरू डराउँछन्। आफ्नो सत्ता र वर्चस्व बँचाइराख्न आफ्ना आलोचकहरूलाई मार्नु भनेकै बैमान मानसिकता हो। यसैले मैले ‘काफरे अमेरिका’-लेखेको हुँ। अमेरिका त शक्तिपिठको मेटाफर हो। जो मजदूरको टिपिनमा डढेको रोटी देख्दा पनि डराउँछ, छोरीले केशमा लगाएको क्लिपलाई चियो गरिरहेको क्यामेरा देख्छ, आफ्नै छोरीको भित्री लुगासमेत छाम्छ। कतै सुनसानमा कुक्कुर भुक्यो भने पनि सुत्न सक्दैन।  

गठबन्धनका दल, विमल खेमा र अन्धोसमर्थकहरू मेरा प्रश्नहरूले डराउनु स्वाभाविक हो।

उनीहरू मेरा प्रश्नहरूले अहिले असाध्य डराइरहेका छन्। यसैले भन्दैछन् ‘विकुवा पत्रकार। तृणमूल र विनय अनितको पैसा खाएर पत्रकार पनि कार्यकर्ताजस्तो बोल्दैछ।’

यही कुरा हिजो अर्कैले भन्दैथियो, आज उनीहरूले भन्दैछन्। भोलि अर्कोले भन्नेछन्। उनीहरूले यसो भन्छन् भनेर म प्रश्न गर्न छोडिदिउँ त? मैले पनि उनीहरूलेजस्तै सोच्नु हो भने उनीहरू र ममा के फरक रह्यो र? म वैमान बन्न सक्तिन।

त्यसैले म बारम्बार भन्नेगर्छु, ‘कुनै पनि पार्टीको कार्यकर्ता भएर होइन, जनता भएर सोच्नुहोला, हेर्नुहोला, बुझ्नुहोला।’ जोजो कुनै पनि दलका कार्यकर्ता छन्, उनीहरूलाई मेरा प्रश्नहरूले असाध्यै पोल्छन्। त्यसको रिस ममाथि ‘गाली’ र ‘लाञ्छना’-हरूबाट प्रकट गर्छन्। मेरो प्रार्थना छ, उनीहरूले मलाई असाध्यै गाली गरुन्, सकेको जति जम्मै लाञ्छना लगाउन्, अवसादमा जानबाट बच्ने यो उटा थेरापी पनि हो।

लड्दा हतियार साथमा हुनुपर्छ। यदि कोही कसैसित पनि साँच्ची नै लड्छन् भने हतियार बोकेर लड्नुहोला, तथ्य, प्रमाण, तर्क, लजिक, इथिक्स र रिस्क सबै बोकेर लड्नुहोला, म यति अनुरोध सबैसित गर्न चाहन्छु।

000

गोरामुमोको अन्तको समयदेखि नै म राजनैतिक आलोचना लेख्दै, बोल्दै आइरहेको छु। केही दैनिक पत्रिकाका फ्रन्टपेजमा मेरो राजनैतिक आलोचना, विश्लेषण र समिक्षाका स्तम्भ थिए। त्यही स्तम्भबाट मैले राजनैतिक आलोचनाका धार तिखारेको हुँ।

कुनै पनि नेताको जनमुखी र मुद्दामुखी मुद्दालाई सकारेको पनि छु, जनविरोधी र मुद्दा विरोधीहरूमाथि कठोर आलोचना पनि गरेको छु।

सुबास घिसिङ, विमल गुरुङ, आरबी राई, हर्कबहादुर छेत्री, विनय तामाङ, अनित थापा, निरज जिम्बा, राजु विष्ट, ममता व्यानर्जी कोही पनि यस्ता छैनन्, जसको मैले आलोचना नगरेको होस्। यो मेरो धर्म हो।

ट्याटु खोपेका मुस्टन्डेहरू पठाएर मेरो कठालोमा समातेर दावा पाखरिनले घरमा पुऱ्याए। पाखरिनले मेरो आवाज दबाउन ‘तँलाई कालेबुङमा बस्ने मन छ कि छैन?’ भने। विमल गुरुङले च्यानल बन्द गरिदिए। टाउन हलको कोठामा थुनेर सकेकोजति सबै धम्की दिए। विनय कालमा घरैमा पुलिस आयो र सरकारको विरोधमा नलेख्न भन्दै थर्काए। डा. हर्कबहादुर छेत्रीका श्रीमति कार्यालयमा नै आइपुगिन् र हर्कबहादुर छेत्रीलाई आरोप लगाएको भन्दै रिसाइन्। आरबी राईलाई कार्लमार्स बेचेको भन्नसाथ धारावाहिक लेख लेखेर समर्थकहरूले मलाई व्यक्तिगतरुपमा गर्नसम्मको आक्रमण गरे।  निरज जिम्बाले त मलाई डोकोमा बोकेको मिम्सने बनाए। आलोचनाले जो जो रन्थनिए सबैले ममाथि गर्न सक्ने सबै आक्रमण गरे। अहिले पनि गरिरहेकै छन्।

यस्ता हजारौं घटनाहरू छन्, जो मैले प्रश्न सोधेकै कारण मेरो आवाज दबाउनलाई गरिएका छन्। यद्यपि मेरो सम्बन्ध अझसम्म विमल गुरुङसित पनि राम्रै छ, रोशन गिरीसित पनि राम्रै छ। आरबी राईसित पनि राम्रै छ। निरज जिम्बासित पनि राम्रै छ। हर्कबहादुर छेत्रीसित पनि राम्रै छ। राजु विष्टसित पनि राम्रै छ। विनय तामाङसित पनि राम्रै छ। अनित थापासित पनि राम्रै छ।

एक पत्रकार र नेताबीच हुनुपर्ने सम्बन्ध र दुरी कायमै छ। पत्रकार र नेताबीचका सम्बन्धहरू कहिले कुटनैतिक हुन्छन्, बौद्धिक हुन्छन्, रणनैतिक हुन्छन्। पत्रकारको प्रश्नको सामना गर्न नसक्ने नेतृत्व हुनै सक्दैनन्। नेताको आरोप, लाञ्छना, दवाब सामना गर्न नसक्ने पत्रकार हुनै सक्दैनन्।

सिके श्रेष्ठ बारम्बार भन्छन्, ‘कसले के भन्यो, ‘त्यो’ हेर। ‘कसले’ भन्यो त्यो नहेर।’ स्वस्थ समाजले विचार पछ्याउने हो व्यक्ति होइन। बौद्धिक समाजले विचार अङ्गिकार गर्ने हो व्यक्ति होइन। यस्तो गर्न नसक्ने समाज स्वस्थ पनि होइन बौद्धिक पनि।

000

प्रश्न हो, बाँझो बारीको। जसवन्त सिंह, एसएस अहलुवालियाको बेला गोर्खाका मुद्दा ‘सहानुभितिपूर्वक’ हेरिने ठाउँमा थियो। राजु विष्टको पालोमा त्यो अब समस्याको समाधान गर्छु भनेर गरेको ‘सङ्कल्प-पत्र’-मा पुग्यो। ‘सहनुभूतिपूर्वक’-देखि ‘सङ्कल्प’-सम्म आइपुग्दा मुद्दाले राष्ट्रीय पहिचान प्राप्त मात्र गरेन, अब समाधान हुने ठाउँमा पुग्यो। सङ्कल्प भनेको कसमजस्तो हो।

‘छुट्टै राज्य गोर्खाल्याण्ड (स्थायी राजनैतिक समाधान) म गठन गर्नेछु’-भनेर भाजपाले कसम खाइसकेको छ। त्यो कसम पुरा गर्ने बाटो एउटै मात्र हो- केन्द्रले सदनमा छुट्टै राज्य गोर्खाल्याण्डको विधेयक ल्याउनु।

मुद्दालाई यहाँसम्म कसैले पुऱ्याएका हुन् भने उनी विमल गुरुङ नै हुन्। यसैले विमल गुरुङमाथि मेरो सम्मान बढेको छ। विश्वास बढेको छ। भरोसा छ बढेको छ। जे पनि गर्न सक्छ भने विमल गुरुङले सक्छन्। तर विमल गुरुङले जे जे गर्नु सक्ने हो, त्यो त्यो गरेको देखिएन भने त्यो सम्मान, भरोसा र विश्वास बाँच्छ त?

अब स्थिति यस्तो बन्यो, विमल गुरुङले आफ्नो इमान्दारिता रणनीतिहरूबाट, कुटनीतिहरूबाट प्रकट गर्नुपर्छ। राजनीतिलाई केलाउँदै जाँदा विमल गुरुङलाई रणनीतिहिन, कुटनीतिहिन र केवल भाजपाको कठपुतलीकोरुपमा देख्न थालियो भने अब सबैभन्दा ठूलो गद्दारी हुनेछ। दार्जिलिङको चुनाउ र सिटको समिकरण मिलाउने खेताला धेर र मुद्दाका योद्धा कम देखियो भने प्रश्न उठ्न थाल्छ नै।

‘पूर्णसिंह गोर्खा’-हरूलाई थाहा  छ, आधा घन्टा त उनीहरूकै सामु मैले विमल गुरुङको अघि बसेर विमल गुरुङकै आलोचना गरेको हुँ। समयानुकुल राजनीतिको वुनोट र सम्भावनाहरूबारे परामर्श दिएको हुँ। त्यतिखेर मैले विमल गुरुङलाई सर्काएर फुर्काएर लोलोपोतो गरिनँ। भोलिको राजनीतिको लागि हिजोको विमल काम लाग्दैन भनेर मुखैमा भनिदिएको हुँ। भोलिको राजनीतिको लागि आजको समयचेतना बुझ्ने विमल बनेर आए मात्र केही हुनसक्ने परामर्श दिएको हुँ।

कसैले पनि आलोचना गर्दैछ भने त्यसले सम्बोधन गरेको ‘इथिक्स, लजिक र रिस्क’-लाई केलाउनुपर्छ। प्रश्नहरूको सामना गर्नुपर्छ। आलोचकहरूले, विश्लेषकहरूले देखाइरहेको ‘दोष’-माथि मन्थन गरेर रणनीति बनाउनुपर्छ। ‘दोष’-लुकाउन सोसल मिडियामा म-बारे साधारण मानिसहरूलाई बिनातथ्य, बिना प्रमाण, बिना लजिक, बिना इथिक्स अफवाह फैलाउनुको साटो, समयले मागिरहेको रणनीतितिर जानुपर्छ।

योद्धाहरूप्रति दया नलागोस्। गर्व लागोस्।

000

भाजपाले खाएको कसम पुरा गर्ने गर्ने बेला र बाटो कुन कुन हो त?

बेला हो- 2021 को चुनाउ अघि नै।

बाटो हो- छुट्टै राज्य गोर्खाल्याण्डको सरकारी बील।

विमल खेमा मोर्चा, गोरामुमो, क्रामाकपाहरूले ‘2021 भन्दा अघि भाजपाले सङ्कल्प पूरा गरेको हुनुपर्छ’ भन्दै आइरहेका छन्। किन 2021 भन्दा अघि नै?

2021 भन्दा अघि नै सङ्कल्प पूरा गर्नुपर्छ भन्नुको अर्थ हो-  2021 भन्दा पछि भाजपाले सरकार बनायो भने पनि भाजपाले नै छुट्टै राज्य गोर्खाल्याण्ड गठन गर्न सक्तैन भनेर स्वीकार्नु। भाजपाले सरकार बनाएन भने पनि छुट्टै राज्य गोर्खाल्याण्ड गठन गर्न सक्तैन भनेर स्वीकार्नु। 2021 भन्दा अघि केही गर्ने सम्भावना नदेखाएकोले नै क्रामाकपाले भाजपासित हाम्रो मोहभङ्ग भयो भनेको हो। विमल गुरुङहरूको पनि मोहभङ्ग भइसकेको छ। गोरामुमोको पनि मोहभङ्ग भइसकेको छ। मोहबङ्ग हुनु स्वाभाविक हो। गरिदिन्छ भनेर आशा गरेर बस्दाबस्दाबस्दा गरिदिएन भने मोहभङ्ग हुने हो।

मोहभङ्ग हुनु भनेको भाजपामाथि अविश्वास पैदा हुनु हो। ‘भाजपाले नगर्ने रैछ है’-भनेर जनतालाई सतर्क गराउनु हो। बुझाउनु हो।

यो त आशामा बस्दा मोहभङ्ग भएको हो नि।

दवाब दिँदा पनि नगर्नेरहेछ भनेर मोहभङ्ग भएको हो त?

दवाब नै नदिई कसरी मोहभङ्ग हुन्छ?  खै लजिक?

मलाई त यी दलहरूले भनिरहेको ‘मोहभङ्ग’ शब्द आफ्नो कमजोरी लुकाउन शुरु गरिएको प्रोपोगान्डा नै लाग्छ। किन भने भाजपाको आशा गर्दा केही हुँदैन भनेर सबैलाई थाहा छ। नेताहरूलाई मात्रै कसरी थाहा नभएको हो त? कि थाहा भएर पनि नभएकोजस्तो नाटक गरेको हो? यस्तो नाटकै गर्नुपर्ने कारण चाँही के हो त?

शङ्का उठ्छ, निरज जिम्बाले भनेको ‘सबै दलहरूले आआफ्नो एजेण्डामा भाजपासित गठबन्धन गरेको हो’ भन्ने वाक्यले सङ्केत गरेको ‘आफ्नो एजेण्डा’-को कारण नै भाजपामा दवाब बनाउन नसकेको हो त? यदि यस्तो हो भने र यो महागद्दारी हो। यदि यस्तो होइन भने किन सबै दल मिलेर 2021 अघि छुट्टै राज्य गोर्खाल्याण्ड गठन गर्न राष्ट्रीय दवाब बनाउन चासो नराखेको हो त?

(अञ्जनी शर्माहरू, मुनिश तामाङहरूले पनि मेरो एउटा बहसमा सबै स्टेक होल्डरहरूलाई लिएर गोर्खाल्याण्डको सङ्घर्ष गर्न कमिटी बनाउने भन्थे, उनीहरू पनि किन चुपचाप हँ?)

साधरण जनता, सचेत, बौद्धिकहरूले बुझ्नुपर्छ, छुट्टै राज्य गोर्खाल्याण्डको लागि जिटिए बाधा नै होइन। भाजपासित आआफ्नो एजेण्डामा गठबन्धन सम्झौता गरेको कारण भाजपामा दवाब बनाउनै नसक्ने भएपछि जनताले कठघरामा उभ्याउँछ भन्ने डरले ‘जिटिएलाई गोर्खाल्याण्डको बाधा हो’ भनेको हो भने यिनीहरू गद्दार, विकुवा र मुद्दा र जाति विरोधी हुन्।

आलोचकले विमल गुरुङलाई गाली गरेका होइनन। बरु आलोचना गरेर माया पो गरेका हुन्। ताकी भोलि विमलको अस्तित्व भाजपाले निमिट्यान्न नपारोस्। किन भने मुद्दा विमलले बोकेका छन्। मुद्दा बोक्नेलाई नै नष्ट गरियो भने मुद्दा नै नष्ट हुन्छ। आलोचकले त भाजपाको नियतमा शङ्का गरेको हो। जतैबाट हेर्दा पनि भाजपा गोर्खाको मुद्दामा इमान्दार छैन। दिल्लीमा शरण दियो, पालेर राख्यो भन्दैमा विमल गुरुङले मुद्दालाई बली चढाउने हक छैन। त्यसैले बारम्बार आलोचना गरेर ‘सही बाटो हिँड, तिमेरलाई गलत बाटो हिँडाएर तिमेरलाई नष्ट गर्ने खेल हुँदैछ, बेलैमा सतर्क बन, आफू पनि बाँच मुद्दा पनि बँचाउ’ भनिएको हो नि। मुद्दासितै उनेरलाई नै बँचाउन दस्तावेज, राजनीति, कुटनीतिहरूको अध्ययन गरेर सतर्क गराउने चाँही विनय-अनितको पैसामा बिकेको हुन्छ?

बिक्यो भन्ने आरोप त आफ्नो कमजोरी लुकाउने मेलो मात्र हो भनेर सबैलाई थाहा छ।

(जिटिए न त विमलको विर्ता थियो, न त अनितको विर्ता हो। जिटिएमा आउने पैसा ममता व्यानर्जीले दयामाया गरेर दिएको होइन, दार्जिलिङ पहाडकै राजस्वको पैसा हो। हाम्रै पैसा हो। हाम्रै पैसाबाट युवा लेखकहरूलाई प्रोत्साहन गर्न, युवा कविहरूको कविताको मोटो गातावाला स्तरीय पुस्तक छाप्नु अपराध हो त? केन्द्रको कुनै पनि अनुदानबाट, राज्यको कुनै पनि अनुदानबाट, जिटिएको कुनै अनुदानबाट कुनै पनि कार्यक्रम गर्न सकिन्छ। यसरी कार्यक्रम गरिने वित्तिकै त्यसरी कार्यक्रम गर्नेहरू बिकुवा हुन्छन् त, यो कस्तो लजिक हो?

म त भन्छु, जिटिएमा आएको पैसा साहित्य, पत्रकारिता, कला, सङ्गीत, खेल सबैमा भरपुरसित प्रयोग गरिनुपर्छ। किन भने त्यो कुनै नेताको गोजीको पैसा होइन, हाम्रै राजस्वबाट आएको पैसा हो। आलोचना गर्ने समय, परिस्थिति हुन्छ। हिजो जुन जुन समय र परिस्थिति थियो, मुद्दालाई केन्द्रमा राखेर सबै दलमाथि व्यापक आलोचना गरेको छु, भोलि पनि गर्नेछु।)

000

विमल गुरुङहरू जिटिएतिर फर्किनु बन्द गर्नुपर्छ। उनेरको मुद्दा जिटिए नै होइन। सङ्कल्पपत्रमा पुगिसकेको मुद्दाको समाधान गर्न जिटिए खारेज गर्नुपर्दैन। जिटिए कुनै अड्को नै होइन। लाटासिधा जनताले पनि बुझिसकेको छ, अब भाजपाले गोर्खाल्याण्डको विधेयक ल्याउनुपर्छ। जिटिए कुनै बाधा नै होइन।

बाँझोबारी खन्नु भनेको भाजपालाई दवाब दिनु हो। गोर्खाल्याण्डप्रेमी बौद्धिक, स्टेक होल्डरहरूको एउटा गोर्खाल्याण्ड सङ्घर्ष समिति बनाउनुपर्छ। ढिलो भइसक्यो। अब पनि ढिलो गऱ्यो भने मुद्दा बोक्नेहरूकै अस्तित्वमा खतरामा पर्छ। हामीलाई लागेको लोभ भनेको समय हो। समय हातमा छ, त्यसैले त्यसको प्रयोग गरियोस् भनेको हो।

यसो त सुबास घिसिङले मुद्दा ड्रप नै गरेका हुन्। तर भयो त ड्रुप? उठ्यो त फेरि मुद्दा। घिसिङ नष्ट भए तर मुद्दा उठ्यो नै। विमल नष्ट भयो भने पनि मुद्दा त उठ्छ नै। समय लाग्न सक्छ। यसो त अघि पनि 20 वर्ष समय लागेकै हो। विमल यसरी सकिनुहुन्न। विमलसित शीघ्र नै 2021 भन्दा अघि सङ्कल्प पुरा गर्न भाजपालाई दवाब दिनुमात्र उपाय छ। सही समयमा उपायलाई प्रयोग गरिएन भने विमलको अस्तित्व नै खतरामा छ।

मुद्दालाई बँचाउन विमलको राजनीतिमा इथिक्स, लजिक र रिस्क देखिनुपर्छ। यति जम्मै स्पेस हुँदा हुँदै पनि, उपाय हुँदाहुँदै पनि, समय हुँदाहुँदै पनि विमलले सबै स्टेक होल्डरलाई साथमा लिएर भाजपामा दवाब बनाएन भने बुझिन्छ, विमल मुद्दा बेचेर आफू मात्र बाँचिरहेका हुन्। यसो गर्नु मुद्दा र जातिका लागि गद्दार हुन्।

यदि विमल गुरुङहरू गद्दार होइनन र यदि विनय तामाङ, अनित थापा गद्दार हुन् भने गद्दारहरूलाई जवाब दिने कामतिर लाग्नुपर्छ। विनय-अनितहरूको गद्दारीको जवाब दिने एउटै मात्र उपाय छ, त्यो हो छुट्टै राज्य गोर्खाल्याण्डको गठन। वा स्थायी राजनैतिक समाधानको गठन।

दिनुपर्ने जवाबको लागि तयारी नगरेर, रणनीति नबनाएर, भाजपामा दवाब बनाउनतिर उर्जा खर्च नगरेर मात्थिलो नेतादेखि पूर्णसिंह गोर्खाहरूसमेत विनय-अनितकै आलोचना गर्नु भनेको के हो?

लाटालाई पनि थाहा छ, विनय-अनितहरू केही पनि होइनन्। उनीहरू राज्यसित मिलेर विकासको एजेन्डामा काम गर्नेहरू हुन्। उनीहरूको भविष्य भाजपाको गोर्खाल्याण्डको विधेयकमा छ। विनय-अनित सक्नु हो भने र उनीहरूको गद्दारीको जवाब फर्काउनु हो भने भाजपालाई 2021 भन्दा अघि नै छुट्टै राज्य गोर्खाल्याण्डको विधेयक ल्याएर छुट्टै राज्य गठन गर्न लगाउनु पर्दैन? गर्ने काममा जिरो छ, नगर्ने काममा हिरो बनेर के साबित गर्न खोजेका हुन् त विमल गुरुङहरूले?

तर विमलले सोचेकोजस्तो भाजपाले सोचेको छ के त? भाजपाले छुट्टै राज्य गोर्खाल्याण्ड गठन नै गर्न सक्तैन भने भाजपाबाटै विमललाई खतरा छ। तर यदि स्थायी राजनैतिक समाधान चाँही छुट्टै राज्य होइन र यो जिटिए-3 हो भने पहाडमा विनय-अनित थापाले सत्य प्रमाणित हुनेछन्।  विमललाई जति पनि खतरा छ, अब त्यो भाजपाकै कारण छ।

यसैले यो खतराबाट बाँच्नु हो भने असल साथीहरू साथमा लिएर काम शुरु गरिहाल्नुपर्छ भन्नु चाँही विनय-अनितको पक्षको कुरा हो?

भाजपाको आलोचनातिर, भाजपामा दवाब बनाउनतिर, भाजपामाथि प्रश्न खडा गर्नतिर नलागेर हर कोही पनि विनय-अनित थापातिरै फर्किएर कराइरहेका छन्। को हुन् विनय-अनित? गोर्खाल्याण्डका बाधक?

विनय-अनितहरू गोर्खाल्याण्डका बाधक नै होइनन। उनीहरूसित भाजपालाई गोर्खाल्याण्डको बील ल्याउन रोक्ने क्षमता नै छैन। ममता व्यानर्जी पनि होइनन् गोर्खाल्याण्डका बाधक। ममता र दिलिप घोषहरू त एउटै हुन्, जो चहाँदैनन् छुट्टै राज्य होस्। केन्द्रले छुट्टै राज्य गोर्खाल्याण्डको विधेयक ल्यायो भने त्यसलाई कसले रोक्न सक्छ?

आजको ममता र भोलिका दिलिप घोषहरू हुन्। उनीहरूले जति नै बाधा दिउन्, तर केन्द्रले चाहेको खण्डमा जे पनि हुनसक्छ।

तर आज नै गोर्खाल्याण्डको मुद्दामाथिको वार्तालाई जिटिएको वार्तामा डाइभर्ट गर्ने राज्य भाजपाको क्षमता हो भने, आज नै राज्यको भाजपासित केन्द्रको भाजपाले शिर झुकाउँछ भने विमललाई कसरी भोलि सजिलो छ त?

आजको ममता व्यानर्जी भोलिको दिलिप घोषहरू नै सावित हुन्छ नि होइन र? आज ममताले आन्दोलन बिथोल्यो, भोलि दिलिप घोषले बिथोल्ने रहेछन् नि होइन?

त्यसैले ममता व्यानर्जी, दिलिप घोषहरूभन्दा पनि माथिबाट खेल्न सक्ने बौद्धिकहरू चाहिएन त विमल गुरुङहरूलाई? लोपसाङ लामा र कल्याण देवानजस्ता झुर मानिसलाई विमलहरूको बौद्धिक मान्नु हो भने त स्पष्ट छ, यी सब मुद्दा बेचेर जीविका चलाउने मेलो हो।

जम्मू-कश्मिरका पुलिस डिएसपी देवेन्द्र सिंहलाई पनि विमल गुरुङलाई जस्तै युएपिएको मुद्दा लागेको हो। सिंहको सोझै आतङ्कवादीहरूसित सम्बन्ध भएको आरोप थियो। त्यस्तो मान्छे त बेलमा मुक्त छन्। भाजपाले चाह्यो भने गर्न सक्तोरहेछ त।

धेरै भूमिगतहरू घर फर्किसकेका छन्। न्यायिक प्रणालीबाटै उनीहरू घर फर्किने हो। यसको लागि सर्टकट छैन। भाजपा बङ्गालमा आउँला र मामिला रफादफा होला भन्नु आशबहादुर हुनु मात्र हो। भाजपा नै सरकारमा आयो भने पनि बङ्गाल विभाजन चाहनेहरूको मुद्दा रफादफा गर्दैन। भाजपाले त्यही मुद्दा लागेको देवेन्द्र सिंहको मुद्दा रफादफा गर्न सक्यो भने  

फेरि किन विमल गुरुङको लागि गरिरहेको छैन?

विमल गुरुङलाई मुद्दा दबाउन पुलिसले लगाएको सोमोटो मुद्दा न हो। भाजपाले चाह्यो भने चुट्कीमा गर्न सक्ने हो, किन गरिरहेको छैन त? नगर्नुको कारण के हो त?

भाजपाले विमल गुरुङहरूको लागि धेरै गर्न सक्छ, तर केही पनि गरेनन्। किन भने विमल गुरुङ दार्जिलिङ र वरिपरिका विधानसभा र लोकसभा चुनाउको लागि भोट जिताउने ब्रोकर मात्र हुन्।

विमल गुरुङसित मुद्दा रहिँञ्जेल र विमल गुरुङको गद्दारी सार्वजनिक नभइञ्जेलसम्म पो जनतालाई मुद्दा देखाएर चुनाउको ब्रोकर भइबस्ने क्षमता होला, तर त्यो कहिलेसम्म? यसपल्ट पनि तराई, डुवर्स र पहाडको सिटको लागि जनभावना निर्माण गर्न जिटिएको बैठक गरिँदैछ। तर यसपल्ट सबैलाई थाहा छ कि जिटिए कुनै फ्याक्टर नै होइन र केवल भाजपाले विधेयक ल्याएर राज्य गठन गर्नु मात्र बाँचेको बाटो हो।

त्यसो नगरी अब कुनै विकल्प छैन विमलसित। त्यसैले अहिले नै बौद्धिक राजनीति र चाल नचले भोलि नचल्ने दुवानी बन्ने विमलजस्तो एउटा जिल्लाको सामान्य मानिसलाई सक्न भाजपाको लागि कुनै ठूलो काम होइन।

सम्बन्धित पक्षले पत्रकारहरूको आलोचनाले सङ्केत गरेको कुरातिर विमर्श गरुन्, भाजपाले गद्दार र ब्रोकर दुवै बनाएर फाइदा लिने हो, भाजपाबाट फाइदा लिने अहिले नै बाटो खोजुन्। हिजो ममताको कारण भूमिगत हुनु परेको पूर्णसिंह योद्धाहरू अब भाजपाको कारण उतै नबिलाउन्, उनीहरू घर फर्किउन्। हिजो पनि ममताको कुटनीति नबुझेरै विमल गुरुङ फँसेका हुन्, भोलि पनि भाजपाको कुटनीति नबुझेरै नफँसुन्।

यति भन्दा गद्दार, बिकुवा होइन्छ भने यही हुन आजीवन मञ्जुर छ।

 

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया