भाजपाले ‘स्थायी राजनैतिक समाधान’ को  समाधान किन गर्दैन ? : आठ लक्षणहरू

विज्ञापन

विचार

जनता, राजनैतिक दल, समर्थकलाई थाहा छ, गोर्खाल्याण्ड हामीले सोचेको जस्तो चाँडो हुने सम्भावना छैन। तरै पनि गोर्खाल्याण्ड भन्दा सजिलो भावनामा बगाउने मुद्दा सायदै पहाडले पाएको छ। यही भावना अहिलेलाई मृगतृष्णा भए पनि सबैलाई मीठो लाग्छ। विकाशको मुद्दा जुन पहाडलाई अति खाँचो छ, यो विकास गोर्खाल्याण्ड विरुद्धको मुद्दा बन्छ अहिले पहाडमा। जुन कुरा पहाडमा हुनसक्छ त्यसैको हामी विरोध गर्छौ अनि जुन मृगतृष्णा बनेर हामीलाई कृतिम आनन्द दिइरहन्छ त्यसैको पछि लाग्छौं।


ज्योति कुमार मुखिया, खरसाङ


 भाजपाको केन्द्र सरकारले स्थायी राजनैतिक समाधान, २०२१ को बङ्गाल चुनाव अघि समाधान गर्छन् भनेर आशा राख्नु अनि भाजपामा अझ विश्वास गर्नुले यो प्रमाणित गर्नु हो कि गोर्खा अझ पनि लाटो नै छ। कि त हामी भेडा हौं या त हामीले राजनैतिक वातावरणको अध्ययन नै गर्दैनौं। राजनैतिक गतिविधि, अन्य राजनैतिक दलको रणनीति, चलखेलको विश्लेषण नै गर्दैनौं। हामी सोझा त पक्कै छौं तर मूर्ख त नबनौं न।

अब सोध्नु हुन्छ होला- किन गर्दैन?

सर्वविदित तर्क, भाजपा बङ्गालको भोट बिगार्नु चाहँदैन, बङ्गालमा जो आए पनि बङ्गाल विभाजन हुनु दिँदैन त छँदैछ। समाधान हुँदैनको केही लक्षणहरू हेरौं।

पहिलो लक्षण

स्थायी राजनैतिक समाधान अथवा पिपिएस के हो स्पष्ट नपारिनु। जुन कुरा स्पष्ट छैन हामीले के आशा गर्नु अनि भन्नु कि हामी यो पाउँदैछौ भनेर। पिपिएस कुनै प्रयोगशालामा वैज्ञानिकले गर्दै गरेको रासायनिक प्रयोग त होइन नै। न त कुनै खोज हो। कि भाजपा अनि गठबन्धनले पहाडको जनतालाई युरेका भनेर कराएको हेर्न चाहन्छ?

दोस्रो लक्षण

 भाजपाले आफ्नो सङ्कल्प पत्रमा हालेको ” स्थायी राजनैतिक समाधान” साँच्चै गर्न चाहने भए यति बेलासम्म यसको प्रक्रिया आधा बाटो पुगिसकेको हुने थियो। अहिलेसम्म सचिव स्तरकै बैठक बोलाइएको देख्दा नै थाहा लाग्छ। सङ्कल्प पत्रमा मुद्दा पस्नु भनेको हामीले मुद्दा भाजपालाई जिम्मा दिइसकेको, बेचिसकेको हो।  भाजपाले के हाम्रो मुद्दा किनेर आफ्नो बनाएको हो? लिजमा नै भए पनि। अब भाजपाले इन्भ्वाइस पठाएर प्रोडक्ट पठाउनु पर्ने होइन र?

तेस्रो लक्षण

जतिबेला सङ्कल्प पत्रमा गोर्खाल्याण्ड शब्दलाई नै हटाएर स्थायी राजनैतिक समाधानको नयाँ नामकरण गऱ्यो त्यो बेला बङ्गाल भाजपालाई पनि गोर्खाको मुद्दाबारे जानकारी दिइएको हो। अहिले बङ्गाल भाजपा किन गोर्खाल्याण्ड शब्द सुन्ने बित्तिकै आतिन्छ?

चौथो लक्षण

२०१९ को लोकसभा चुनावमा उठेर, भाजपालाई चुनाव जिताएर फेरि सुतेको पिपिएस अहिले कसरी बङ्गाल चुनाव अघि गोर्खाल्याण्ड भएर उठ्यो? यदि पिपिएस भनेको गोर्खाल्याण्ड हो भने, जुन गठबन्धनले भन्दैछ, किन भाजपाभित्र नै यो मुद्दा विषय विभिन्नता? किन विरोध हुँदैछ?

पाँचौं लक्षण

यदि पिपिएस समाधान हुने हो भने तृणमूलको राजनैतिक गतिविधि अनि हाम्रो पहाडलाई हेर्ने नजर नै परिवर्तित भइसक्नु पर्ने हो। अझसम्म बङ्गालको तृणमूल सरकारले पहाडलाई माया नै देखाउँदैछन्।

छैंटौं लक्षण

गोर्खाल्याण्ड राजनैतिक मुद्दा हो। यदि संवैधानिक प्रक्रिया मार्फत गोर्खाल्याण्ड बनाइनु हो भने,  गोर्खाल्याण्ड बनाइनु अनि नबनिनुमा ब्युरोक्रेसीको अहम भूमिका हुन्छ। गुप्तचर विभागले अहम भूमिका खेल्छ। राष्ट्रिय मिडियाले उत्कृष्ट भूमिका खेल्छ। सम्पूर्ण पक्ष निष्क्रिय छ।

सातौं लक्षण

भाजपालाई बङ्गाल छिराउने नै विमल गुरुङ हुन्। भाजपाको कारण नै विमल गुरुङ अनि कम्पनी अहिलेसम्म सुरक्षित छन्। भाजपाले विमल गुरुङलाई दृश्यमा नराखी, यदि गोर्खाल्याण्ड दिन्छ नै भने, गोर्खाल्याण्डको पहल नै गर्दैन। अहिलेसम्म विमल गुरुङ आफ्नो ज्यान जोगाउनुमा नै व्यस्त छन्। भाजपालाई पनि विमल गुरुङमाथि लागेको युएपीएको मुद्दा वरदान नै भएको छ। भाजपाले न त विमल गुरुङलाई पहाडमा फर्काएर ल्याउनु चाहन्छ न त पिपिएसको मुद्दामाथि काम नै गर्न चाहन्छ।

आठौं लक्षण

बङ्गाल चुनाव आउनु अब छ महिनाजस्तो छ। राजनैतिक दललाई मुद्दा भन्दा पनि प्यारो भोट हो। कसरी जनताको भोट आफ्नो थैलीमा भर्नु, यही हो सबै राजनैतिक दलको ठूलो मुद्दा। बिहार चुनावको प्रचार प्रसार जोड तोडले चल्दैछ। त्यहाँको राजनीति अहिले  धर्मको राजनीति नभएर, मुद्दाको राजनीति नभएर जातको राजनीतिले हावी गरेको छ। मुद्दा भन्दा जात ठूलो। जात अनि धर्म भावनात्मक मुद्दा हुन्।

भारतमा चुनाव विकास अनि जातीय उत्थानको मुद्दा लिएर लडेको वास्तवमा नै छैन। भन्नु त विकाशको निम्ति, जातिको , क्षेत्रको विकास भनेर नै  चुनाव प्रचार अनि लडेको देखिन्छ। वास्तवमा राजनीति धर्मको हुन्छ, जात को हुन्छ, टुक्राउ अनि राज गरको हुन्छ। राजनीति भावनामाथि गरिन्छ। जनताले यही भावनामा आएर नै भोट दिन्छन्।

त्यसरी नै पहाडको राजनीतिमा पनि यही भावना हाल्ने प्रयास शुरु भएको छ। पहाड धर्म अनि जातमा कहिले विभाजित भएन। पहाड विभाजित भए त नेतृत्वलाई लिएर, पार्टीलाई लिएर। अहिलेसम्म पहाडलाई एक गराउने भावनात्मक मुद्दा भनेको नै गोर्खाल्याण्ड हो।

जनता, राजनैतिक दल, समर्थकलाई थाहा छ, गोर्खाल्याण्ड हामीले सोचेको जस्तो चाँडो हुने सम्भावना छैन। तरै पनि गोर्खाल्याण्ड भन्दा सजिलो भावनामा बगाउने मुद्दा सायदै पहाडले पाएको छ। यही भावना अहिलेलाई मृगतृष्णा भए पनि सबैलाई मीठो लाग्छ। विकाशको मुद्दा जुन पहाडलाई अति खाँचो छ, यो विकास गोर्खाल्याण्ड विरुद्धको मुद्दा बन्छ अहिले पहाडमा। जुन कुरा पहाडमा हुनसक्छ त्यसैको हामी विरोध गर्छौ अनि जुन मृगतृष्णा बनेर हामीलाई कृतिम आनन्द दिइरहन्छ त्यसैको पछि लाग्छौं। याद होला नी सीता हरण कसरी भएको थियो। लक्ष्मणको ध्यान के ले हटाएर सीताको हरण भएको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया