विमल गुरुङ चाँडै पहाड फर्किनु पर्छ र पहाडको राजनीतिमा भाग लिनुपर्छ

विज्ञापन

इन्टेलेजेन्सिया/दृष्टिकोण

जीएनएलएफ आफ्नो पुरानै भ्रम फैलाउने राजनीति गर्न तर्फ नै फर्केर गएको छ। तिनीहरूले छैटौं अनुसूचीको मागलाई भित्राउन चोरी छिपी काम गर्दैछन्। सिपिआरएमकोमा आन्दोलनलाई नेतृत्व दिने चाहिएको संसाधन छैन। उनीहरूको साथमा जनता छैनन्। जति पनि उनीहरूको साथमा छन नाम कै लागि मात्र छन्। बीजेपी आफ्नो सङ्कल्प पत्रमा हालेको आफ्नो वचनप्रति गम्भीर भए जस्तो लाग्दैन। गोर्खाल्याण्डको माग विमल गुरूङमा मात्र निहित छ। यदि मागलाई जीवन्त राख्नु हो भने उनी पहाड आउनु पर्छ अनि यहाँको राजनीतिमा भाग लिनु पर्छ।


विनु सुन्दास


(विनु सुन्दास विमल खेमा मोर्चाका इन्टेलेजेन्सिया हुन्। दार्जिलिङ क्रोनिकल्समा आएको उनको अङ्ग्रेजी लेखको नेपाली रुपान्तरण यहाँ राखेका छौं। विमल खेमा मोर्चाले मौजुदा राजनीतिबारे कसरी हेरिरहेको छ, उनीहरूको भावी रणनीति के कस्तो छ, त्यसलाई बुझ्न यो लेखले सहयोग पुऱ्याउनेछ-खबरम्यागजिन डेस्क)

२०१७-को अक्टोबर महिनामा राज्य तन्त्रको शिकार हुनदेखि बाँच्न, विमल गुरूङ अनि हजारको संख्यामा युवा युवतीहरू दार्जीलिङ छोडेर भागे। २०२०-को यही महिना पुरा चार वर्ष हुँदैछ। आज यी गोर्खाल्याण्डका सुपुत्रहरूको अनुपस्थितिमा दार्जीलिङको राजनैतिक परिवेशमाथि मनन गर्नु महत्वपूर्ण छ। जीजेएम क्याडरहरूको निर्गमनले अन्य राजनैतिक एक्टरहरूको निम्ति राजनीति गर्ने राजनैतिक स्पेस बनाइदियो। परन्तु यी एक्टरहरूले विमल गुरूङले छोडेर गएको राजनैतिक स्पेसको सदुपयोग अनि गोर्खाल्याण्डको मुद्दालाई अघि बढाउनुको सट्टा आफ्नै राजनैतिक एजेण्डालाई अघि बढाए।

जीएनएलएफले छैटौं अनुसूचीलाई फेरि पनि सार्वजनिक डिस्कोर्समा ल्याए। तर उनीहरूको आफ्नै भलाईको निम्ति उनीहरूले याद गरेको असल कि छैंटौं अनुसूचीलाई पहाडले २००६-०७ मा नै अस्वीकार गरेको थियो। वास्तवमा यही मागको कारण  जीएनएलएफको राजनैतिक अस्तित्व पहाडको राजनैतिक स्पेसबाट नै नेस्तनाबुद झण्डै भएको हो।

जसले जीटीए चलाउँदैछन्, उनीहरू भन्छन् कि २०२१-को चुनावमा उनीहरू गोर्खाल्याण्ड मुद्दा लिएर चुनाव लड्ने छैनन्।

यसर्थ, कहाँ अनि कसरी गोर्खाल्याण्डको माग गडबड भएर गयो? कसले गोर्खाल्याण्ड मागको आवाज दिइरहेको छ? वर्तमान पहाड, तराई अनि डुवर्समा गोर्खाल्याण्ड मागको आवाज दिने अनि मुद्दाको समर्थन गर्ने केवल जनता हुन, कुनै राजनैतिक दल अनि सङ्घ संस्था होइनन्। शत्रुता अनि भय सृजना गरिएको परिवेशमा पनि छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दालाई आवाज बुलन्द गर्नेहरू केवल जीजेएमका नेताहरू अनि क्याडरहरू मात्र हुन।

अब प्रश्न उठ्छ – के जीजेएमका विमल गुरूङ अनि फरार भएका अनेकौं युवाहरूको उपस्थिति अथवा अनुपस्थिति गोर्खाल्याण्ड मागको सहयोगी/ सहवर्ती हुन्? समय आएको छ हामी सोचौं, मनन गरौं अनि चिन्तनशील बनौं। गोर्खाल्याण्ड मागको आवाज दिनेहरूको आवाज नै प्रणालीबद्द तरिकाले चुप गराइएको छ।  हाम्रै समाजको एक निर्दिष्ट जमातको सहायता लिएर। ती मानिसहरू जो आज पनि हाम्रो लक्ष्यमाथि आस्था राख्छन् उनीहरूको अस्तित्वको सम्पूर्ण क्षेत्रबाट नै खिल्ली उडाइन्छ अनि पुलिसको अतिक्रमणको शिकार पनि बन्छन्। हाम्रो क्षेत्रको नयाँ सामान्यता भनेको धम्की अनि खतरा नै हो।

जीएनएलएफ आफ्नो पुरानै भ्रम फैलाउने राजनीति गर्न तर्फ नै फर्केर गएका छन्। तिनीहरूले छैटौं अनुसूचीको मागलाई भित्राउन चोरी छिपी काम गर्दैछन्। तिनीहरूले गोर्खाल्याण्डको मागलाई अघि लैजानु सक्ने थियो तर तिनीहरू पुरानो राजनैतिक द्वेषको हिसाबकिताब मिलाउनतिर लागेका छन्। यहाँसम्म कि उनीहरूको एक नेताले भने कि विमल गुरूङलाई पहाडमा छिर्न दिने छैन। यही हो पहाडको राजनैतिक स्थिति हामी सबैले देख्दै गरेको। यदि तिनीहरूले जनताको आकांक्षाले भरिएको आवाजलाई बुलन्द गराएको भए तिनीहरूले विगत दिनमा गरेको कुकर्मलाई  सायाद माफ दिने थियो अनि तिनीहरू जीजेएमको विकल्प भएर उभिने थियो ( उनीहरूको कुकर्म: गोर्खाल्याण्डको मागलाई पूर्ण रूपले ड्रप गर्नु)। तर तिनीहरूको राजनैतिक नीतिको न्यूनता चाँडै देखियो जब तिनीहरूको एक नेताले भने कि पिएचडी त कदम्तालाको गल्ली गल्लीहरूमा पाइन्छन्। यो बयानले उसलाई नेता होइन मूर्ख देखायो।

सिपिआरएम इमान्दार देखिएता पनि ( आशा राख्छु यिनीहरू साँच्चै इमान्दार छन) उनीहरूकोमा आन्दोलनलाई नेतृत्व दिने चाहिएको संसाधन छैन। उनीहरूको साथमा जनता छैनन्। जति पनि उनीहरूको साथमा छन नाम कै लागि मात्र छन्।

अर्कोतर्फ बीजेपीले जीजेएमसँग प्रतिबद्ध गरेर आफ्नो सङ्कल्प पत्रमा हालेको आफ्नो वचनप्रति गम्भीर भए जस्तो लाग्दैन। आजसम्मको उनीहरूको कुनै पनि पहलले दार्जीलिङ पहाड, तराई अनि डुवर्सका मानिसको लामो समयसम्म थाँतीमा रहेको मुद्दालाई संवेदनशील भएर हेर विचार गरेको इङ्गित गर्दैन। नत्र भने भाजपाका दार्जीलिङ जिल्लाका अध्यक्षले आगामी चुनावमा दार्जीलिङ पहाडका तीन वटा विधानसभा सिटमा आफ्नो उम्मेदवार खडा गर्छु भन्ने थिएनन्। के हामी गोर्खाल्याण्डलाई हराउने कगारमा उभिएका छौं? यदि होइन भने कसले यसको माग गर्दैछ अनि लड्दैछ?

यो परिस्थितिले अब अर्को प्रश्न जन्माउँछ। के हामी विमल गुरूङ्ग पहाड फर्केको चाहन्छौ? स्थानीय मिडियाले आफ्नो तरिकाले विमल गुरूङलाई बर्खास्त गरी सक्यो। तिनीहरूले आफ्नो निर्णय दिइसके। उनीहरू केवल संस्कारको उत्पन्न (Cultural reproduction) गर्ने काममा लागेका छन्। कसैले पनि यी पत्रकारहरूबाट निष्पक्षताको आशा राख्दैनन्। जुन किसिमले उनीहरू समाचार सङ्कलन गर्छन् उनीहरू निष्पक्ष हुनै सक्दैनन्। उनीहरूको हालत यस्तो भएको छ कि सत्य अनि निष्पक्ष समाचार भनेर समाचारको विश्लेषण अनि सम्प्रेषण आफ्नै तरिकाले गर्छन्।

गोर्खाल्याण्डको माग, मेरो कुरामा सहमत हुनुहुन्छ या हुनुहुन्न, म सोच्छु कि विमल गुरूङ्गमा मात्र निहित छ। यदि मागलाई जीवन्त राख्नु हो भने ( माग पाइन्छ नै भन्ने कुनै ग्यारेन्टी छैन) उनी पहाड आउनु पर्छ अनि यहाँको राजनीतिमा भाग लिनु पर्छ। आज पनि अधिकांश मानिसहरू उनको समर्थक छन्। जति जना पनि विस्थापित छन् उनीहरूले धेरै त्याग गरेका छन्। कतिले आफ्नो आमा बाबुको चितामा आगोसम्म लगाउन पाएनन्। धेरैले आफ्नो आमा, बाबा, दाज्यू भाई अनि दिदी बहिनीहरू बिरामी हुँदा भेट्न पनि पाएका छैनन्।

उनीहरूले आफ्नो परिवारसँग बस्ने मौकासम्म पाएका छैनन। उनीहरूको जे जति थियो राज्यले कुड्की गरिसक्यो। अब अझ उनीहरू आन्दोलन अनि मागप्रति प्रतिबद्ध छु भनेर कहिलेसम्म आफैलाई स्थापित गर्नु पर्ने? उनीहरूले आफ्नो घर फर्केर आफ्नो प्रियजनसँग समय बिताउने अनि यहाँ राजनीति गर्नु पाउनु पर्छ।

मानिसहरूले उनीहरूको त्यागको कदर गर्नु पर्छ अनि उनीहरूको आगमनको स्वागत जनाएर हाम्रो आन्दोलनलाई पुनः जीवित राख्नु पर्छ। विमल गुरूङको अनुपस्थिति अनि आन्दोलनलाई अघि बढाउने अन्य दलमा कुनै तन्त्र नभएको कारण विमल गुरूङ गोर्खाल्याण्डको प्रतीक भएका छन्। उनी चाँडै पहाड फर्किनु पर्छ अनि लाखौं गोर्खाहरूको आशा अनि आकांक्षालाई जीवित राख्नु पर्छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया