सिक्किमको चुनौतीपूर्ण अवस्थामा गुणात्मक नेतृत्व दिने अब्बल क्षमता पवन चामलिङसित मात्र छः एमके सुब्बा

विज्ञापन

एसडीएफको युवा प्रकोष्ठको राज्यस्तरयी सभा सम्पन्न

“सरकार गठन गरेको १५ महिना बित्दासम्म पनि जनतालाई बुनियादि सुविधा दिन एसकेएम सरकार विफल भएको छ। त्यति मात्र नभएर कोभिड-१९ -को महामारीको चपेटमा आर्थिक सङ्‌कट झेलिरहेका जनतालाई ८ महिनासम्ममा पनि राहत दिन नसक्नु एसेकेम सरकारको नेतृत्वको ठूलो कमजोरी हो। चुनाउ घोषणा-पत्रमा दिएका वचनहरू आजसम्म निभाउन पूर्ण रूपले विफल भएको छ। सिक्किमको पुराना कानूनलाई सुरक्षा गर्ने मुख्य मुद्दा बनाएर भोट हत्याउने एसकेएम सरकारले आज आफ्नो स्वार्थका निम्ति सम्झौता गरेर ३७१ एफ-लाई पूर्ण रूपले डाइल्यूट गरेको छ। योभन्दा ठूलो जनविरोधी काम अरू कुनै हुनसक्दैन। महामारीको चपेटमा एसकेएम सरकार जनताको काम गर्नुको सट्टामा पार्टी विस्तार काममा व्यस्त छ। यो सिक्किमेली जनादेशको ठूलो अपमान हो।”

गान्तोक, 16 अक्टोबर। सिक्किमको प्रमुख विपक्षी दल सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ)को  बाईपासस्थित पार्टी मुख्यालयको प्रेक्षागृहमा सामाजिक दुरीलाई पालन गर्दै एसडीएफ पार्टी युवा प्रकोष्ठको राज्यस्तरीय सभा सम्पन्न गरियो। पार्टीका युवा प्रभारी तथा प्रमुख प्रवक्ता एम.के. सुब्बाको अध्यक्षतामा सम्पन्न आजको सभामा उपाध्यक्ष बी.बी. राई, प्रशासन उपाध्यक्ष आर.डी. भोटिया तथा अन्य पदाधीकारीहरूलगायत चारै जिल्लाका युवा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। एसडीएफका महासचिव पूर्व जिल्ला कार्यकारिणी  काल्जाङ ग्याछो शेर्पाले बैठकबारे प्रेस बयान जारी गर्दै विस्तृत जानकारी दिएको छ।

 

प्रेस बयानमा भनिएको छ गत २०१९ -को आम चुनाउपछि पहिलोपटक सम्पन्न युवा प्रकोष्ठको यस सभाको मूल उद्देश्य एसडीएफ पार्टी-सङ्‌गठन विस्तार रहेको थियो। पार्टी-सङ्‌गठनलाई युवाहरूको सुझाउअनुसार नयाँ दिशा र आयाममा अघि बढ़ाउनका निम्ति पार्टीका सबै तहका युवा कार्यकर्ताहरूलाई सक्रिय तुल्याउने तथा जिल्लादेखि समष्टि हुँदै ब्लक स्तरसम्मका हरेक युवाहरूसँग सम्पर्क बढ़ाउनका निम्ति सभाहरूको आयोजन गर्ने निर्णय पनि आजको सभामा भएको छ।

यसबाहेक दक्षिण कोरियामा पोस्ट डक्टरल गर्दै गरेकी लोअर आरिथाङकी डा. स्मृति गुरूङले चालिस लाखसम्मको लगातमा २००० कोभिड टेस्टिङ किट सिक्किमलाई दानस्वरूप प्रदान गरेकीमा आजको सभाले उनीप्रति आभार व्यक्त गर्दै धन्यवाद प्रस्ताव पनि पारित गरेको बताइएको छ।

सभाध्यक्षको आसनबाट सम्बोधन गर्ने क्रममा एसडीएफ पार्टी युवामुखी पार्टी भएकोले युवा कार्यकर्ताहरूले अझ सक्रिय र उदाहरणीय भूमिका निभाएर युवा नेतृत्व बन्ने अवसरलाई सदुपयोग गर्नुपर्ने साथै युवा कार्यकर्ताहरूलाई पार्टीको नीति-सिद्धान्त र जनमुखी कार्यक्रमबारे अवगत गराउँदै पार्टीमा काम गर्न प्रोत्साहित तुल्याउन सबै एकजुट बन्नुपर्ने पार्टी अध्यक्ष पवन चामलिङको सन्देशलाई युवा प्रभारी एम.के. सुब्बाले सबैभन्दा पहिले आजको सभामा साझा गरे।

उनले आफ्नो सम्बोधनमा एसडीएफ पार्टी इतिहास निर्माण गर्ने ऎतिहासिक पार्टी रहेको अनि एकजना टेस्टेड र ट्रस्टेड नेता पवन चामलिङको नेतृत्व रहेको सशक्त पार्टी हो भनेर युवा कार्यकर्ताहरूलाई एसडीएफ पार्टीको महत्त्वमाथि प्रकाश पार्नुभयो। यसका साथै सिक्किमको वर्तमान चुनौतीपूर्ण अवस्थामा गुणात्मक नेतृत्व दिने अब्बल क्षमता केवल नेता पवन चामलिङमा मात्र रहेको पनि बताए।

 

युवाहरूले सिक्किमको गुणात्मक विकास र ऎतिहासिक प्रतिफलहरूलाई हेरेर सैद्धान्तिक रूपमा एसडीएफ पार्टीलाई समर्थन दिने आग्रह गर्नका साथै राज्यको सबै वर्गका युवाहरूका आवाजलाई च्यानलाइज गर्नु आजको सबैभन्दा ठूलो चुनौती रहेको र यस चुनौतीको सामना गर्नका निम्ति एसडीएफ पार्टीका युवाहरू सैद्धान्तिक र वैचारिक तौरमा एकजुट बनिदिने अपील पनि गरे।

उहाँले अझ भन्नु भयो, “राज्यको जियो-पोलिटिकल परिस्थितिमा एसकेएम पार्टीको कमजोर, दिशाहीन र गैर-जिम्मेवार क्रियाकलापका कारण सिक्किम र सिक्किमेली जनताको हक, अधिकार र सुरक्षा अहिले कठघरामा छ। सिक्किमसित सम्बन्धित अनेकौं मुख्य मुद्दा, विद्यार्थीदेखि आम जनतासम्मले झेल्न परिरहेका समस्याहरूको समाधान गर्न एसकेएम सरकार कोशौं टाढ़ा रहेको छ। आर्थिक विपन्नताले दिन प्रतिदिन सिक्किमेली आम जनतालाई गिजोलिरहेको छ। जनताको यसपालिको दशैंसम्म पनि अन्धकार हुनेभएको छ। एसकेएम सरकार झुटो वाचा र कसमले बनेको सरकार हो। सरकार गठन गरेको १५ महिना बित्दासम्म झुटा वाचाहरूमा नै जनतालाई अल्मलाइरहेको छ।”

यसरी नै युवा प्रभारी एम.के. सुब्बाले सभामा उपस्थित युवा वर्गलाई वर्तमान सरकारको कमी-कमजोरी र विफलताको सत्यतालाई उजागर पार्दै भने, “सरकार गठन गरेको १५ महिना बित्दासम्म पनि जनतालाई बुनियादि सुविधा दिन एसकेएम सरकार विफल भएको छ। त्यति मात्र नभएर कोभिड-१९ -को महामारीको चपेटमा आर्थिक सङ्‌कट झेलिरहेका जनतालाई ८ महिनासम्ममा पनि राहत दिन नसक्नु एसेकेम सरकारको नेतृत्वको ठूलो कमजोरी हो। चुनाउ घोषणा-पत्रमा दिएका वचनहरू आजसम्म निभाउन पूर्ण रूपले विफल भएको छ। सिक्किमको पुराना कानूनलाई सुरक्षा गर्ने मुख्य मुद्दा बनाएर भोट हत्याउने एसकेएम सरकारले आज आफ्नो स्वार्थका निम्ति सम्झौता गरेर ३७१ एफ-लाई पूर्ण रूपले डाइल्यूट गरेको छ। योभन्दा ठूलो जनविरोधी काम अरू कुनै हुनसक्दैन। महामारीको चपेटमा एसकेएम सरकार जनताको काम गर्नुको सट्टामा पार्टी विस्तार काममा व्यस्त छ। यो सिक्किमेली जनादेशको ठूलो अपमान हो।”

आजको सभामा सोशल मीडिया महासचिव बराप नामग्येल भोटिया, पूर्व जिल्ला कार्यकारिणी समिति उपाध्यक्ष एल.एम. भट्टराईलगायत चारै जिल्लाका प्रतिनिधि युवा कार्यकर्ताहरूले पनि सम्बोधन गरेका थिए। रेसब गुरूङद्वारा सञ्चालित आजको सभामा स्वागत भाषण संयुक्ता राईले अनि धन्यवाद ज्ञापन साङ्‌गे छोपेल भोटियाले राखे। अन्य युवाहरूले पनि आ-आफ्ना सुझाउ राखेका थिए भनि प्रेस बयानमा बताइएको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया