विमल गुरुङ अर्थात गोर्खाका महागद्दार, महादलाल

विज्ञापन

भाग-1/आलोचना

विनय-र अनितलाई गद्दार नबनाइएको भए, चुनाउ जित्न सकिन्नथ्यो। सबैले ठानेका थिए, विनय-अनित गद्दार हुन्। सबैले ठानेको थियो, विमल झुक्दै नझुक्ने पहाडका छोरा हुन्, मुद्दा प्रेमी हुन्, जाति प्रेमी हुन्।सोचेको थियो होइन त? त्यही विमल गुरुङ 21 अक्टोबर ममताको शरणमा पुगे। त्यसो हो भने गद्दार र दलाल को साबित भए?


मनोज बोगटी


पहिलो कुरा

विधानसभा चुनाउसित गोर्खाका मूलमुद्दा छुट्टै राज्य गोर्खाल्याण्डको दुरदुरसम्म पनि कुनै सम्बन्ध छैन। विधानसभा चुनाउमा पहाडको कुनै दलले जित्दा पनि हुन्छ, कुनै दलले हार्दा पनि हुन्छ। पश्चिम बङ्गाल राज्य जसले बनाओस्, छुट्टै राज्यको सन्दर्भमा दार्जिलिङ, तराई डुवर्सका गोर्खालाई कुनै मतलब छैन।

सिधासिधी यो विकाससित सम्बन्धित चुनाउ हो। पहाडका तीन विधानसभा सिटको लडाईँको निष्कर्ष विधानसभामा जानु र त्यहाँ पहाडको विकाससित सम्बन्धित मुद्दा उठाउनु नै निस्किन्छ। जो पनि बङ्गालको विधानसभामा जान चाहन्छन् र पहाडको विकास गर्न चाहन्छन्, उनीहरूले दिलोज्यानले चुनाउ लड्दा हुन्छ।

राष्ट्रीय दलहरूको आचरण हुन्छ, पकेटपकेटका सानासाना दलहरूलाई मिचेर आफू हाबी हुने। विधानसभा र लोकसभा दुवै चुनाउमा क्षेत्रीय दलको शक्ति मिच्ने काम भइसकेको छ। त्यसको श्रेय विमल गुरुङलाई नै जान्छ।  क्षेत्रीय दल र क्षेत्रीय आकांक्षालाई दबाउने रणनीति शुरु भइसकेको छ। चाहे तृणमूल होस् वा भाजपा अथवा काङ्ग्रेस, यस्ता दलहरूलाई घरभित्र पस्नै नदिने र आफ्नो राज्यको विधानपालिकामा घुस्नको लागि विधानसभा चुनाउलाई प्रयोग गर्न सकिन्छ।

क्षेत्रीय दल र क्षेत्रीय एस्पिरेसन जोगाउन पहाडका जुनै दल पनि विधानसभा चुनाउ लडे भयो। खेताला गर्न मन लाग्ने नेताहरूले तृणमूल र भाजपाको खेताला गर्दा पनि भयो।

जो पनि लडुन्, तर विधानसभा चुनाउ विकासकै लागि लड्ने हो।

अँ, जसले छुट्टै राज्यको लागि विधानसभा चुनाउ लड्छु भन्छ, उ महादलाल हो। महागद्दार हो। गोर्खा भोटको महा व्यापारी हो।

दोस्रो कुरा

राज्यमा जसले पनि सरकार बनाओस्, त्यो गोर्खाल्याण्डको दुश्मन नै हुन्छ। गोर्खाल्याण्ड विरोधी नै हुन्छ। हिजो कङ्ग्रेस पनि गोर्खाल्याण्ड विरोधी थियो, माकपा पनि गोर्खाल्याण्ड विरोधी थियो, तृणमूल पनि गोर्खाल्याण्ड विरोधी थियो, भाजपा पनि हुनेछ।

गोर्खाल्याण्डलाई उनीहरू बङ्गाल विभाजनकारी मुद्दाकोरुपमा प्रचार गर्छन्। विधानसभा चुनाउमा छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दा झिक्नु भनेको बङ्गालको चुनाउमा असर गराउनु हो। जुन मुद्दाको यो चुनाउसित कुनै सम्बन्ध नै छैन, त्यो चुनाउमा छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दा जोड्ने काम भोटका दलालहरूले गर्ने हो।  यसै पनि विधानसभा चुनाउ छुट्टै राज्य गोर्खाल्याण्डको लागि लडिने चुनाउ होइन। यसैले 2021 को चुनाउसित छुट्टै राज्य गोर्खाल्याण्डको कुनै सम्बन्ध छैन। न त पश्चिम बङ्गाल सरकारले छुट्टै राज्य गोर्खाल्याण्ड गठन गर्ने हो।

जसले पनि पश्चिम बङ्गाल राज्यको विरोध गर्छ, उ मुद्दा प्रेमी होइन। उ जाति प्रेमी पनि होइन। उ विकास विरोधी हो। राज्य सरकारसितको सम्बन्ध विकासकै लागि बनाइने हो। राज्य सरकारसित मिल्यो भने विकास हुन्छ, मिलेन भने हुँदैन। पश्चिम बङ्गालसित छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दाको कुनै सम्बन्ध नै छैन।

यदि कसैले पनि राज्य सरकारसित झगडा गर्दैछ भने बुझ्नुपर्छ, त्यो झगडा मुद्दाको लागि होइन पैसाको लागि हो। चौकीको लागि हो। आफ्नो वर्चस्वको लागि हो।

यदि कसैले पनि राज्य सरकारसित मित्रता गाँस्दैछ भने बुझ्नुपर्छ, त्यो मित्रता मुद्दाको लागि होइन पैसाको लागि हो। चौकीको लागि हो।

तेस्रो कुरा

छुट्टै राज्य गोर्खाल्याण्डको लागि कसैले केही गर्न सक्छ भने त्यो केन्द्र सरकार मात्र हो। त्यही भएरै 15 वर्षदेखि पहाड, तराई र डुवर्सका जनताले केन्द्रमा सरकार रहेको दललाई आफ्नो आकांक्षाको म्यान्डेटकोरुपमा मत दियो। त्यसको दुइटा कारण छ, एउटा-हाम्रो मुद्दालाई केन्द्रले समाधान गरुन् भन्ने आकांक्षा, अर्को-त्यसको लागि जुन दलको सरकार छ, त्यही दलको उम्मेदवारले भारीमतले जितुन् भन्ने सोच।

पहाड, तराई र डुवर्सले भाजपामाथि त्यही कारणले  सपना बोकाएको हो। र सपना बोकाउनको निम्ति सबैभन्दा धेर भरोसालाग्दा एकै नेताको धेरै योगदान थियो, उ हो-विमल गुरुङ।

ती नै विमल गुरुङ 21 अक्टोबरको दिन समस्त गोर्खाको निम्ति महागद्दार निस्किदिए। समस्त गोर्खाको निम्ति महादलाल निस्किदिए। समस्त गोर्खाको निम्ति भोटको व्यापारी निस्किएदिए।

2007 देखि विमल गुरुङ मुद्दा प्रेमी, जाति प्रेमी, योद्धा, सबैको प्यारो र विश्वासिलो नेता थिए, 2020 देखि उनै विमल गुरुङ महागद्दार, महादलाल, महा भोटव्यापारी, जाति विरोधी र मुद्दा विरोधी बनेका छन्।

कसरी त? कारण यस्तो छ-

गद्दार विनय, दलाल अनित

2017 को आन्दोलनको कुनै डिजाइन् थिएन। आन्दोलनलाई ग्रान्ड डिजाइनले निर्देशन गर्छ। ममता व्यानर्जीले हेपेर बङ्गला भाषा लाद्न खोजिन्। त्यसको विरोध पहाडका पार्टीहरूले होइन जनताले गरेका हुन्। जनता सडकमा आफै उत्रिएपछि त्यो भीडलाई राजनैतिक गोटी बनाउन विमलहरु मैदान उत्रिएका हुन्। मैदान त उत्रिए तर रणनीति बिनै। जति नै तर्क राखुन्, सत्य यति मात्र हो।

सडकमा उत्रँदा रणनीति नभएकैले रणनीति बनाउन जिएमसीसी बनाइएको थियो। जिएमसीसीको काम रणनीति बनाउनु थियो। तर जिएमसीसीमा गोर्खा जनमुक्ति मोर्चा नै हाबी भयो। सबैको दुइदुइ सदस्य कमिटीमा हुँदा मोर्चाका एकदर्जन सदस्य थियो। जिएमसीसीको जुनै पनि बैठकमा जिएमसीसीको अध्यक्षले गर्नुपर्ने पत्रकार सम्मेलन मोर्चाले गऱ्यो।

किन त?

विमलहरूलाई डर थियो, कुनै अर्को दलले भीडलाई आफ्नो पक्षमा पार्न नसकोस्। त्यसको लागि चाहिएको कुरा हस्तक्षेप नै हो। हस्तक्षेप गऱ्यो, रणनीति बनिएन। रणनीति नै नबनिएपछि सबै दलले हिंसालाई निरन्तर गर्ने कि रोक्ने भन्नेबारे चिन्ता गर्न थाले। विमलले केन्द्रिय गृहमन्त्रीको निर्देशमा बन्द स्थगित गरे, मन घिसिङहरूले ममता व्यानर्जीलाई पत्र लेखे। जसको विरुद्ध लडिरहेको थियो, उसले क्याविनेट बैठक दार्जीलिङमा गरेर हिंसालाई प्रोत्साहित गऱ्यो।

केन्द्र चाहन्थ्यो, ममता व्यानर्जीलाई देशमा कसरी निचा देखाउन सकिन्छ, कसरी गोर्खाजस्तो अल्पसंख्यकलाई भाषिकरुपले दमन गरिरहेकी छन्, त्यो देखाउनु थियो। यसको पार्श्वमा बङ्गालमा आफ्नो वर्चस्व बनाउनु नै थियो। बङ्गालमा ममतालाई बदनाम गरेर चुनाउमा असर पार्न भाजपाले पहाडको भीडलाई प्रयोग गऱ्यो। गोटी थियो-विमल। कठपुतली थियो-विमल।

ममताले भाजपाको रणनीति विमलको अनुहारमा देख्ने वित्तिकै राज्यको क्षमता प्रयोग गरिन्। क्याविनेट बैठक बोलाइन् र हिंसाको लागि उस्काइन्। त्यसपछि केन्द्रिय बल मागिन्। बङ्गाल पुलिस मिसाइन् र दबाइन्।

भएको यत्ति हो।

जसको आडमा विमलले ममतालाई चिढाए, त्यो केन्द्र नै थियो। भाजपा नै थियो। जगजाहेर छ, त्यसबेला केन्द्रले रमिता हेऱ्यो। भाजपाले रमिता हेऱ्यो। त्यो रमिताले स्पष्ट पाऱ्यो कि भाजपा गोर्खाको बर्वादी हेर्न चाहन्छ, आवादी होइन।

रणनीति पनि छैन। भाजपा र केन्द्रको रमिता छ। ममताको क्रुरता बढेको बढेकै छ। यस्तोमा हुनुपर्ने के थियो त?

स्पष्ट छ, जिएमसीसीले आन्दोलन र भिडलाई सम्हाल्नु पर्थ्यो। तर विमल गुरुङहरूले जिएमसीसीलाई कुँजे बनाउँदै लग्यो। पहिले त बैठकमा नै हस्तक्षेप गऱ्यो। मोर्चा नै हाबी बन्यो। जिएमसीसीलाई क्षमता नै दिइएन। त्यसपछि जिएमसीसीमा रहेका गैरराजनैतिक सङ्गठनहरूलाई फुत्तफुत्त झिक्यो र मिल्कायो।

कसैले सोधेनन्, किन गैरराजनैतिक सङ्गठनहरूलाई झिकेको हो? जब कि जिएमसीसीलाई त देशभरिका सङ्घसंस्थाका प्रतिनिधिहरू हालेर अझ बलियो बनाउनुपर्थ्यो। स्टेक होल्डरहरुको बलियो टिम हुनुपर्थ्यो। तर गरेन। त्यही भएर त जिएसएसएसले कल्याण देवानलाई दिल्लीमा हरिबिजोक पाऱ्यो।

जोजो बलियो दल छ, ती दलहरूले पनि विमलहरुको बैमानीको विरोध नै गरेन। विमल भाजपा र केन्द्रको कठपुतली थिए, विमलका कठपुतली थिए पहाडका दलहरू। जब कि विमलहरूको हस्तक्षेपलाई न्यून गर्न सकिन्थ्यो। देशभरिका स्टेक होल्डरहरू बहुसंख्यक बनेर विमललाई अल्पसंख्यक बनाउन सकिन्थ्यो र आन्दोलनको कमान रणनीतिकरुपले अघि बढाउन सकिन्थ्यो। तर विमलको अघि सबै दल निरिह देखापरे। आरबी राईजस्ता बलिया नेताले बौद्धिक रणनीति बनाउन सकेनन्, जबकि पर्याप्त मात्रामा स्पेस थियो।

हुनुपर्ने केही केही केही भएन। ममता व्यानर्जीले गोरामुमोको पत्र पाउने वित्तिकै आन्दोलित दलहरूको नारी छामिन्। ममताले चाल पाइन्, पहाडको नेताहरू कमजोर बनिसके। गोरामुमोले मनमा सुबास घिसिङलाई विमल गुरुङले पारेको बिजोक बोकेकै थियो। जिएमसिसीमा हस्तक्षेप गर्न लगाउने विमल, आफै पनि नबनाउने अरुलाई पनि रणनीति बनाउन नदिने पनि विमल, केन्द्रसित सम्बन्ध राख्ने पनि विमल। सबै मिलाएर हेर्दा पहाडमा हिंसा मात्रै चलिरहने भयो, आन्दोलन त नबढ्ने भयो।

गोरामुमोलाई लाग्यो, हिंसा रोकेन भने पहाड सबै क्षेत्रबाट तहसनहस बन्छ। भाजपाको गोटी बनेर ममतालाई बदनाम गराउने चलखेल गर्ने विमल गुरुङ ममता व्यानर्जीको आँखाको धुलो थियो। त्यो धुलो अनेकौं मुद्दा थोपेर ममताले निकालिन्। विमललाई मर्न डर थियो। भाग्यो।

(तीनवर्षदेखि सबैले भन्थे विमल जङ्गलमा छन्। भर्खरै विमलले त्यसको जवाब दिए। भनें, म त दिल्ली र बेङ्गलोरमै थिएँ। भाजपाको शरणमा थिए। भाजपाले शरण नदिएको भए ममताले देशद्रोही, गैरकानूनी मुद्दा लागेको विमललाई दिल्लीबाटै उठाउन पनि सक्थिन्। चुनाउमा त्यसले गर्ने असर र भाजपाले बनाउने मुद्दाको डरैले विमलहरूको दिल्ली र बेङ्गलोरको घर ठेगानासमेत थाहा हुँदाहुँदै पनि केही गरिनन्।)

घिसिङलाई पहाडबाट खेदाउने र गोर्खाल्याण्डको नाममा जिटिए थाप्ने विमल गुरुङलाई खेदाउन गोरामुमोको निम्ति ममता व्यानर्जीलाई लेखेको त्यही पत्र गतिलो हतियार भयो।

त्यसपछि वार्ता बोलाइयो। विमल आफैले केन्द्रिय गृहमन्त्रीको अपिलमा बन्द स्थगित गर्नु, क्रामाकपाजस्तो दलले भीडलाई बौद्धिक रणनीति दिन नसक्नु, गोरामुमोले राज्य सरकारलाई पत्र लेख्नुले के सन्देश दियो त?

सन्देश दियो-  आन्दोलन थेग्न अब सकिन्न, अब अघि बढ्न सकिन्न।

आन्दोलन अघि नबढ्ने भइसकेपछि, स्थगित गर्ने भइसकेपछि, राज्यसित मिल्ने पत्र पुगिसकेपछि हुनुपर्ने के थियो त?

गर्नुपर्ने बाटो त सम्झौता मात्र रह्यो। सम्झौता गरे बाँचिने नत्र मरिने स्थिति कसले बनायो त?

पहाडकै पार्टीहरूको रणनीतिहिनताले। सबैभन्दा ठूलो दोष कसैको थियो भने पहाडकै दलहरूको थियो। किन भने ममताले त्यही दलहरूको कमजोरीको फाइदा लिइन्।

विमलजस्ता भाजपाका कठपुतलीलाई सबक सिकाउने ममतासित कुन बाटो थियो त?

विनय तामाङ र अनित थापा।

पहाडका सारा दल शान्ति चाहन्थे। त्यही शान्तिको निम्ति विनय-अनितको लागि ममता र ममताको लागि विनय-अनित नै उपयुक्त सहारा थियो। र सम्झौता भयो।

आफ्नो कमजोरी अर्कोलाई आरोप लगाएर लुकाइने हो। विनय-अनितले सम्झौता गर्ने वित्तिकै रणनीति बनाउन नसक्ने आफ्नो कमजोरी, नेतृत्व गर्न नसक्ने आफ्नो कमजोरी,  विनय-अनितलाई दलाल र गद्दार करार गरेर सबै दलले लुकाए। सबै दलको एउटै नारा बन्यो, विनय-अनित दलाल। विनय-अनित गद्दार।  दिल्लीका जिएसएसएसजस्ता संस्थाहरूले त्यो नारालाई स्थापित गर्न सोसल मिडियालाई भरपुर प्रयोग गरे।

एउटा दलको दुइ नेता भूमिगत बने। त्यही दलको दुइ नेताले सम्झौता गरे। के पहाडमा भूमिगत हुने र सम्झौता गर्ने त्यो एउटा दलबाहेक अरु दलको अस्तित्व थिएन र?

एउटा दलको दुइ नेता भूमिगत बन्दा र त्यही दलको दुइ नेताले सम्झौता गर्दा अरु दलले आन्दोलनलाई काँध दिनुपर्ने होइन र? दियो कसैले काँध?
दिएन। किन दिएन त?

किन भने आन्दोलन निरन्तर भयो भने हिंसा बढेर जानेछ, हानी गोर्खालाई हुनेछ र नाफा सत्तालाई मात्र हुनेछ। यदि यसरी उनीहरूले सोचेका थियो भने यो सोचले त पहाड शान्ति हुनुपर्छ भन्ने कामना नै राखेको थियो नि होइन र?

सबैले चाहेको पहाड शान्ति विनय-अनितले राज्यसित सम्झौता गरेर गरिदिए। रणनीति बनाएर अघि बढ्न नसक्ने आफ्नो कमजोरी लुकाउन सबै दलले विनय-अनितलाई दलाल र गद्दारको नारामा लेपेटेर राजनीति खेले।

2019 को चुनाउ ती सबै दल र सङ्घ संस्थाले  ‘विनय-अनितलाई दलाल र गद्दार’ भनेरै जित्यो। विनय-अनित दलाल र गद्दार बनाइएकैले नै उनीहरूले चुनाउ जिते। विनय-अनितलाई दलाल र गद्दार बनाइएकैले विमल गुरुङ जातिप्रेमी र मुद्दा प्रेमी बने। विनय-अनितलाई दलाल र गद्दार बनाइएकैले गठबन्धनका दलहरूले विधानसभा र लोकसभा चुनाउ जिते। विनय-अनितलाई दलाल र गद्दार बनाइएकैले भाजपाले मेनिफेस्टोमा दुइवटा मुद्दा लगाए र चुनाउमा जनताको मन जित्यो। एकातिर विनय-अनितमाथि दलाल र गद्दारको नारा, अर्कोतिर भाजपाको मेनिफेस्टोमा गोर्खाका दुइ मुद्दा, साइलेन्ट भोटरहरूले दलाल र गद्दार बनाइएका विनय-अनितलाई सबक सिकाउन र स्थायी राजनैतिक समाधान र 11 जातले जनजातिको मर्यादाको आशामा चुनाउ जिताए पठाए।

विनय-र अनितलाई गद्दार नबनाइएको भए, चुनाउ जित्न सकिन्नथ्यो। सबैले ठानेका थिए, विनय-अनित गद्दार हुन्। सबैले ठानेको थियो, विमल झुक्दै नझुक्ने पहाडका छोरा हुन्, मुद्दा प्रेमी हुन्, जाति प्रेमी हुन्।

सोचेको थियो होइन त?

त्यही विमल गुरुङ 21 अक्टोबर ममताको शरणमा पुगे।

त्यसो हो भने गद्दार र दलाल को साबित भए?


क्रमश :

 

 

 

 

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया