विमल-विनयको वर्चस्वको लडाईँमा जनतालाई बाछाको मिचाइमा पार्नु हुन्न

विज्ञापन

दृष्टिकोण

केन्द्र र राज्यले गोर्खा र गोर्खा नेताहरूलाई धेरै प्रयोग गऱ्यो। अब गोर्खा नेताहरूले पनि गरौं। लोकसभा चुनाउमा मुद्दाको निम्ति जसरी नेता र जनता लडे, विधानसभा चुनाउमा विकासको निम्ति पनि उसरी नै लडौं। पहाडमा अब दुइवटा हाँगामा कुटनैतिक राजनीति हुनुपर्छ। एउटा हाँगाले विकास गर्नुपर्छ र संरचना निर्माण गर्दै लानुपर्छ, अर्को हाँगाले भाजपामा दवाब बनाउँदै लगेर मुद्दा फत्ते गर्नुपर्छ। सबै नेता चौकीकै लागि झम्टिनुहुन्न।


मनोज बोगटी


अनित थापा भन्छन्, ‘मलाई गोर्खाल्याण्ड कसरी हुन्छ, त्यो थाहा छैन्। चौकीमा बसेर गोर्खाल्याण्ड ल्याउँछु भन्नु जनतालाई ढाँट्नु हो। म ढाँटेर राजनीति गर्न चाहन्न। मुद्दा देखाएर जनतालाई धेरै नेताले ढाँटे, म ढाँट्न चाहन्न। म ढाँट नेताहरूले मुद्दाको नाममा गरेको आन्दोलनले थिलथिलो पारेको पहाडको अर्थनीति राज्य सरकारसित मिलेरै फर्काउन चाहन्छु। म विकास गर्न चाहन्छु।’

विमल गुरुङ भन्छन्, ‘भाजपाले धोका दियो, त्यसको जवाब भाजपालाई हराएर दिन्छु। मेरो मुद्दा गोर्खाल्याण्ड नै हो। म 2021 मा बङ्गालमा मुख्यमन्त्री बनेको हेर्न चाहन्छु।’

राजु विष्ट भन्छन्, ‘भाजपा गोर्खाका मुद्दामा प्रतिबद्ध छ। धेरै पुराना मुद्दा पनि भाजपाले समाधान गरेको छ। गोर्खाको मुद्दा पनि समाधान गर्छ। यसको निम्ति धैर्य गर्नुपर्छ। विमल गुरुङ टिएमसीसित मिल्नु गोर्खाको यही मुद्दालाई तिलाञ्जली दिनु हो। मुद्दा र गोर्खा दुवैको विरोधी ममता व्यानर्जीलाई जनताले यसपल्ट पनि भोट दिने छैनन्। विधानसभा चुनाउ अघि गोर्खाको मुद्दामा भाजपाले ठूलो घोषणा गर्नेछ। म अब जिटिएलाई गाली गर्नेछैन।’

आरबी राई भन्छन्, ‘भूमिगतहरू फर्किनुपर्छ। उनीहरू कानूनकै बाटो भएर आउन्। गर्नुपर्छ भने आत्म समर्पण गरुन्। न्यायापालिका बाटै आउन्। जसरी राज्य सरकारले उनीहरूलाई विस्थापित गरेको छ, त्यसरी नै सम्मानसित उनीहरूलाई पुनर्वास गराउनुपर्छ।’

अजय एडवर्ड भन्छन्, ‘2021 भन्दा अघि भाजपाले केही नगरे हामी पनि अर्कै बाटो जान सक्छौं। जनतालाई हामीले जुन सपना देखाएका छौं त्यो हामी पुरा गरेरै छोड्छौं।’

अहिले विभिन्न दलहरूबाट यस्तै विभिन्न वयानहरू आइरहेको छ। सबै वयानको अन्तर्यमा उनीहरूको राजनीति छ, राजनैतिक चरित्र छ।  जनताले सबैको वयानलाई जोडेर हेरिरहेकै होलान्।

000

यस्तोमा विमल गुरुङ र विनय तामाङहरुबीच चलिरहेको वर्चस्वको द्वन्द्वमा अहिले सबैको आँखा छ। बुझ्नुपर्ने कुरा के हो भने ठिक विधानसभा चुनाउको अघि यो एउटै दलबीचको द्वन्द्व अघि ल्याइएको छ। सत्ताले यो एउटा दलबीच पहाडमा वर्चस्वको राजनीति शुरु गरेको छ।  विमल गुरुङ र विनय तामाङ अहिले त्यही वर्चस्वको भीडन्तमा छन्। उनीहरूको यो लडाईँ उनीहरूको आफ्नै लडाईँ होइन, सत्ताले डिजाइन गरेको लडाईँ हो।

ममतासित भेट्नसाथ विमल गुरुङ विनय तामाङहरूप्रति नरम छन्। ममतासित भेट्नसाथ विनय तामाङ विमल गुरुङहरूको नाम लिन मादैनन्। अनित थापा धोका राज्य र केन्द्रले होइन आफ्नैहरूले दिइरहेको बताउँदै हिँडिरहेका छन्।

यी सबैको केन्द्रमा वर्चस्वकै लडाईँ छ। राजनीतिमा सबै सम्भव छ, हिजो विमल गुरुङ र विनय तामाङ एउटै दलमा थियो, भोलि पनि हुनसक्छ। वान र टु हराउन सक्छ र गोर्खा जनमुक्ति मोर्चा मात्र बन्न सक्छ। दुइ दलका नेता र समर्थकहरुबीचको इगो सत्ता नै निर्माण गरेको हो, सत्ताले नै निमिट्यान्न पार्न सक्छ। यी दुइ दलका नेता र समर्थकहरूको चुरिफुरिको मालिक ममता व्यानर्जी नै हुन्। ममता व्यानर्जीले व्याटरी हालेपछि सोसल मिडियामा यी दुवै दलका समर्थकहरू चुरिफुरि गरिरहेका छन्। ममताले व्याटरी झिक्ने वित्तिकै उनीहरूको चुरिफुरि झ्याप।

यस्ता समर्थकहरूले बुझ्नु पऱ्यो, उनीहरूले चाहेर केही हुँदैन। राज्य सत्ता जे चाहन्छ, त्यही हुन्छ। र त्यही भइरहेको पनि छ।

000

ममता व्यानर्जीले पहाडको विकास र शान्तिको निम्ति विनय तामाङहरूलाई प्रयोग गरिरहेकी छन्। अब 2021 को चुनाउमा तराई डुवर्सको सिटको निम्ति विमल गुरुङलाई प्रयोग गरिरहेकी छन्। जुन दिनसम्म यी नेताहरूबाट ममतालाई फाइदा छ, यी नेताहरूको भविष्य छ।

पहाडमा कुनै पनि नेताले आफ्नो डिजाइनमा राजनीति नै गरेका छैनन्।

अहिले चलिरहेको विनय तामाङ र विमल गुरुङको द्वन्द्व पहाडमा वर्चस्व बनाउने उनीहरूको दलीय एजेन्डा मात्र हो। उनीहरूको यो एजेन्डा उनीहरूकै दलका समर्थकहरूको चासोको विषय हुनसक्छ, जनताको चासोको विषय होइन।

विनय तामाङ र उनका समर्थकहरू पहाडमा विमल गुरुङलाई निषेध गरेर आफ्नो लयमा राजनीति र विकास गर्न चाहन्छन्। विमल गुरुङ र उनका समर्थकहरू पनि यही गर्न चाहन्छन्। विमल-विनय दुवैको अहिले चलिरहेको राजनीति चौकीको वरिपरि नै घुमेको छ।

विनय तामाङहरूसित शान्ति र विकासको एजेन्डा छ।

विमल गुरुङहरूसित प्रतिशोधको।

चाहे त्यो विनय तामाङहरुसितको प्रतिशोध होस् वा भाजपासितको। यी दुइमा कुन एजेन्डा सही हो, जनता त्यसैमा आकर्षित बन्लान्।

पहाडका दलहरू कि त केन्द्रको आशिर्वाद, कि त राज्यको आशिर्वाद बोकेरै राजनीति गरिरहेका छन्। केन्द्र र राज्यको आशिर्वाद नपाउनेहरू चाँही कित केन्द्रको आशिर्वाद पाउने कि त राज्यको आशिर्वाद पाउने पार्टीको खेताला गरिरहेका छन्।

हिजोसम्म विमल गुरुङलाई केन्द्रको आशिर्वाद थियो। भाजपाले स्थायी राजनैतिक समाधान र 11 जातलाई जनजाति बनाउने मुद्दा मेनिफेस्टोमा हालेर विमलको मुद्दालाई राष्ट्रीयस्वरुप दिइसकेको थियो। मुद्दा ठाउँमा पुगेकै थियो। फत्ते गर्न रणनीति बनाउनु पर्थ्यो। देशभरिका बौद्धिकहरुको कमिटी बनाएर भाजपालाई चेप्दैचेप्दै ल्याउनुपर्थ्यो।

यसै पनि भाजपाले 2021 भन्दा अघि समाधान गर्छु भनेर मुद्दा मेनिफेस्टोमा हालेको होइन। पक्कै हो, जबसम्म पाइक पर्दैन तबसम्म भाजपाले मुद्दाको छिनोफानो गर्दैन। पाइक पार्न विमलहरुको रणनीति बनिनुपर्थ्यो। विमलसित त्यो क्षमता नै देखिएन।

केन्द्रको आशिर्वादले राजनीति गरिरहेको विमल गुरुङले 2021 सम्म केही नहुने देखेपछि भाजपालाई पहाड तराईमा हराउने भन्दै ममता व्यानर्जीसित हात मिलाए। यो विमलको नीजि स्वार्थ हो, यो जनताको स्वार्थ होइन। जनताले मुद्दा बोकाएर पठाएको हो विमललाई, बेचबिखन गरेर घर फर्किन होइन।

तर हिजोसम्म जनताको मुद्दा बोकेर हिरो बनिरहेको विमल गुरुङ अचानक ममतासित हात मिलाएर जनताका भिलेन बनिदिए। हिजोसम्म विमलले मुद्दा बोकेको थियो र नै जनताले विश्वास गरेका हुन्। अब ममता अघि मुद्दा नै बिसाएपछि विश्वास गर्नुको तुक नै छैन। विमलको साख सकियो।

000

तर उनका खेतालाहरूलाई त्यसले बिझ्दै बिझेन। किन भने उनीहरू आफ्नै शक्तिमा केही गर्नै सक्दैनन्। उनीहरूको काम खेताला जानु हो, बस।

तरै पनि यतिखेर क्रामाकपा र गोरामुमो, यी दुइ दलसित ठूलो राजनैतिक स्पेस छ।

आरबी राईलाई विधानसभा चुनाउसित केही लिनुदिनु छैन। किन भने बङ्गालमा जुनै दल आए पनि गोर्खाका मूल मुद्दाको विरोधी नै बन्ने हो। उनी आफै पनि माकपामा हुँदा माकपाले गोर्खाल्याण्डको आन्दोलन दबाउन देखाएको क्रुरताले भत्किएका हुन्। त्यसैले क्रामाकपा गठन गरेका हुन्। उनले बङ्गालका कङ्ग्रेस, माकपा, तृणमूल सबैको सरकार देखेकै छन्।

बङ्गालमा जो पनि आवोस्, उनीहरू छुट्टै राज्य चाहँदैनन्। यसैले छुट्टै राज्यकै विरोधी शक्तिपिठ निर्माण गर्ने वा राज्य सरकार गठन गर्ने विधानसभा चुनाउमा टाउको दुखाउनुको साटो राईजस्ता बौद्धिकले भाजपामाथि दवाब बनाउने ठूलो रणनीति निर्माणमा लागिपर्नु पर्ने हो।

तत्कालै भाजपासित बैठक गर्नुपर्ने हो। राष्ट्रीयस्तरको गोर्खाल्याण्ड निर्माण सङ्घर्ष समिति बनाएर काम थाल्नुपर्ने हो। उनले भनेको खण्डमा देशभरिका बौद्धिक, नेता, व्युरोक्राट, विभिन्न कला क्षेत्रका सेलिब्रिटी, कानूनबिद्, संसाधनविद् एउटै मञ्चमा आउन सक्छन्। र यही नै उनले गर्नुपर्ने अहिलेको कर्तव्य पनि हो।

तर उनीहरू त विमल-विनयको वर्चस्वको द्वन्द्वमा पहाडलाई होम्न दिइरहेका छन्।

आरबी राईहरूलाई थाहा छ, कुनै पनि द्वन्द्व वा हिंसा सही होइन। चाहे त्यो अब हुने विमल-विनयबीचको होस् वा राज्यसित होस् वा केन्द्रसित होस्। राजनीतिमा भइरहेका चुकहरूबाट, विचलनहरूबाट, विश्रृङ्खलताहरूबाट जनतालाई जोगाउने काम आरबी राईहरू कै हो।

तर अफसोस् उनीहरू आफ्नो कर्तव्यबाट भागिरहेका छन् र राज्य सत्ताले निर्माण गरेको द्वन्द्वमा पहाडलाई होमिरहेका छन्।

गोरामुमोले पनि यही गर्नुपर्ने हो तर गोरामुमोसित गतिला नेतृत्व नै देखिँदैन। अजय एडवर्ड फाउन्डेसनमा व्यस्त छन्। फाउन्डेसनको मेरुदण्डमा उभिएर गोरामुमोको भाषा यति धेरै बोलिरहेका छन्, कि लाग्छ उनी नै गोरामुमोका अध्यक्ष हुन्। यत्रो ठूलो थुलपुथुलमा मन घिसिङ सिनमा नै छैनन्।

गोरामुमो इमान्दार हुनु हो भने विनय तामाङहरूले वर्चस्व देखाउने भीड जुटाउँदै गर्दा उसले भाजपासित गठबन्धनमा रहेका बाँकी दलहरूको बैठक बोलाएर मुद्दाको रणनीति बनाइरहेको हुनुपर्ने हो। राजु विष्टले विमलको कारण बनाउन नसकेको स्टेयरिङ कमिटी बनाउनुपर्ने हो। विमलको धोकालाई भाजपामाथि दवाब बनाउने हतियार बनाउँदै गरेको हुनुपर्ने हो।

राजु विष्टसित बाँकी रहेका दलहरूको बैठक गरिहाल्नुपर्ने हो र वास्ताविकता बुझेर आगामी रणनीति निर्माण गर्नुपर्ने हो। तर उनीहरू पनि विमल-विनयको वर्चस्वको द्वन्द्वमा पहाडलाई होम्न दिइरहेका छन्।

झुक्किनु हुँदैन, विमल-विनयको वर्चस्वको द्वन्द्व, विधानसभा चुनाउ र गोर्खाका मुद्दा अलगअलग मुद्दा हुन्। विमल-विनयको वर्चस्वको द्वन्द्व पहाडको सत्तामा बस्ने एजेन्डा मात्रै हो। विधानसभा चुनाउ भनेको पहाडको विकाससित सम्बन्धित चुनाउ हो। गोर्खाका मुद्दासित विधानसभा चुनाउ र विमल-विनयको वर्चस्वको द्वन्द्वसित कुनै सरोकार नै छैन।

विकास गर्ने पक्ष चुनाउमा होमिनैपर्छ, तर मुद्दाको निम्ति प्रतिबद्ध दलहरू मुद्दा कै निम्ति अघि बढ्नुपर्छ। तर उनीहरू पनि विमल-विनयको वर्चस्वको द्वन्द्वलाई विधानसभा चुनाउको लागि नै प्रयोग गरिरहेका छन्। हिजो पनि पहाडका जनताले यी नेताहरूकै कारण भाजपा र तृणमूलको द्वन्द्वमा फँसेर आफ्नो सर्वस्व गुमाउन पऱ्यो।

2017 को आन्दोलन भाजपा र तृणमूलबीचकै द्वन्द्व थियो। जसमा पहाडलाई होम्यो। भाजपाले रमिता हेऱ्यो तृणमूलले आन्दोलनकारी खेद्यो। यी ठूला दलको पाइलामुनी पार्ने हाम्रै नेताहरू हुन्।

नेता यी दुई दलका गोटी बनेपछि यी गोटीले पनि जनतालाई गोटी नै बनाउने हो। अहिले पनि बनाइरहेको छ। अब पनि विमल-विनयको वर्चस्वको लडाईँमा जनतालाई बाछाको मिचाइमा पार्नु हुन्न। बाँकी रहेका दलहरूले जनतालाई यो वर्चस्वको द्वन्द्वबाट बाहिर निकालेर मुद्दाको निम्ति अघि बढ्नुपर्छ।

केन्द्र र राज्यले गोर्खा र गोर्खा नेताहरूलाई धेरै प्रयोग गऱ्यो। अब गोर्खा नेताहरूले पनि गरौं। लोकसभा चुनाउमा मुद्दाको निम्ति जसरी नेता र जनता लडे, विधानसभा चुनाउमा विकासको निम्ति पनि उसरी नै लडौं। पहाडमा अब दुइवटा हाँगामा कुटनैतिक राजनीति हुनुपर्छ। एउटा हाँगाले विकास गर्नुपर्छ र संरचना निर्माण गर्दै लानुपर्छ, अर्को हाँगाले भाजपामा दवाब बनाउँदै लगेर मुद्दा फत्ते गर्नुपर्छ।

सबै नेता चौकीकै लागि झम्टिनुहुन्न।

याद राख्नुपर्छ, ममता व्यानर्जीलाई अब मुद्दा दबाइरहने आवश्यकता छैन। किन भने मुद्दा भाजपाको हातमा छ। यतिखेर आवश्यकता छ भने गोर्खा नेताहरूले भाजपालाई रणनीतिले बाँधेर मुद्दा फत्ते गर्ने म्याकानिज्मको आवश्यकता छ। यतिखेर आवश्यकता छ भने तृणमूल सरकारलाई कुटनीतिले बाँधेर पहाडमा धेरैभन्दा धेरै विकास गर्ने म्याकानिज्मको आवश्यकता छ।

मुद्दापन्थीहरूले विधानसभा चुनाउमा जति नै उर्जा खर्चिउन्, प्राप्ति शुन्य छ। भाजपामा दवाब बनाउन ती सबै उर्जा खर्चियो भने प्राप्तिको ठूलो सम्भावना छ।

जता सम्भावना छ, अबको राजनीति त्यतै जानुपर्छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया