विश्वविद्यालयहरूले केवल डिग्रीधारी नभएर संवेदनशील साथै नैतिक मानव तयार पार्नुपर्नेछ : उपराष्ट्रपति  नायडु

????????????????????????????????????

“तेज गतिमा बद्ली रहेको विश्वमा संवेदनशील सोचका साथै नयाँ परिस्थिति अनुरूप स्वयंलाई ढाल्ने क्षमता हुनुपर्दछ। यसका लागि सक्रिय बन्नका साथै भविष्यको पूर्वानुमान गरी चुनौतीहरूको सामना गर्न सधैं तयार रहनुपर्दछ


नयाँ दिल्ली, 26 नोभेम्बर । भारतका उपराष्ट्रपति वेङ्कैय्या नायडुले आज विश्वविद्यालयहरूका साथै शिक्षावेत्ताहरूलाई हाम्रो शिक्षा प्रणालीको पुनर्मूल्याङ्कन गरी त्यसलाई अरू बढी मूल्य आधारित, सर्वव्यापी तथा सम्पूर्ण बनाउन आह्वान जनाए।
आइसीएफएआइ विश्वविद्यालय, सिक्किमको 13 औं ई-दीक्षान्त समारोहलाई भिडियो कन्फरेन्सको माध्यमद्वारा सम्बोधित गर्दै शिक्षावेत्ताहरूले हाम्रो सर्वव्यापी वैदिक शिक्षाबाट प्रेरणा लिँदै नयाँ शिक्षा नीतिको परिकल्पनालाई बुझ्न पनि अपील गरे।
गुरुदेव रविन्द्रनाथ ठाकुरलाई उद्घृत गर्दै उपराष्ट्रपतिले मूल्यबिनाको शिक्षा कुनै शिक्षा नहुने ठहर गरे। “शिक्षण संस्थान तथा विश्वविद्यालयहरूले केवल डिग्रीधारी नभएर सम्पूर्ण साथै करुणामय मानव तयार पार्नुपर्ने अपेक्षा गरिन्छ” भन्दै मोटो तनखाको होडको कारण यस पक्षलाई प्रायः अदेखा गर्ने गरिएकोमा उनले चिन्ता व्यक्त गरे।

जलवायु परिवर्तनको उदाहरण दिँदै उपराष्ट्रपति नायडुले यस चुनौतीलाई सम्बोधित गर्ने सर्वव्यापी समाधानको खोजी अन्तर्गत प्रकृतिको सम्मान गर्ने मूल्य आधारित शिक्षा पनि सामेल गर्न आवश्यक रहेको उनले बताए। नयाँ रक्षा प्रणाली विकसित गर्नका साथै चरम जलवायुले अघि ल्याएका चुनौतीहरूलाई सम्बोधित गर्न अभिनव समाधानको खोजी गर्न हाम्रा अभियन्ता तथा प्राविधिज्ञहरूलाई समर्थ बनाउन आवश्यक रहेको कुरामाथि पनि उनले जोड दिए। प्रकृतिको क्रोधको सामु कुनै पनि मानव हस्तक्षेपले काम नगर्ने भए तापनि प्रभावलाई कम्ति पार्ने दिशामा काम गर्नुपर्ने उनले आशय व्यक्त गरे।

हाम्रो प्राचीन प्रणालीमा सधैं मूल्य-मान्यतालाई प्रश्रय दिने गरिएको प्रकाश पार्दै वेद अनि उपनिषद्हरूले स्वयं, परिवार, समाज अनि प्रकृतिप्रतिको कर्तव्यबोध गराउने उपराष्ट्रपतिले उल्लेख गरे। प्रकृतिसँग मिलेर बस्न हामीलाई सिकाइएको छ, उनले बल दिँदै भने।
मानव जीवनमा प्रकृति र संस्कृतिको महत्त्वमाथि जोड दिँदै उपराष्ट्रपतिले विद्यार्थीहरूलाई प्रकृतिबाट सिक्दै हाम्रो प्राचीन संस्कृतिमा अन्तरनिहित मूल्य-मान्यता अनुपालन गर्न आह्वान जनाए।
गुरुकुल प्रणालीको सराहना गर्दै उपराष्ट्रपतिले हाम्रो प्राचीनकालमा शिक्षा सबै पक्षबाट सम्पूर्ण रहेको र यसैले त्यसताका हामीलाई विश्वगुरुको सम्मान प्राप्त भएको उल्लेख गरे।

नयाँ शिक्षा नीतिले पनि तिनै कुराहरूमाथि बल दिँदै भारतलाई पुनः एकपटक विश्वगुरु बनाउन परिलक्षित रहेको पनि उनले बताए।
नयाँ शिक्षा नीतिमा निर्दिष्ट प्रावधानहरू रेखाङ्कित गर्दै यसमा पृथक पहललाई प्रतिस्थापित गर्दै एकिकृत पहलमाथि बल दिने कोशिश गरिएको उपराष्ट्रपतिले बताए। नयाँ शिक्षा नीतिलाई “अत्यावश्यक सुधार” बताउँदै यसले बहुआयामिक विधिमाथि ध्यान केन्द्रित गर्दै शोध अनि नियामक तन्त्रलाई पुनर्विन्यास गर्ने कोशिश गरिएकोमा उनले सराहना गरे।
प्रविधिसँग सहकार्यका साथ मूल्य आधारित शिक्षा समयको माग रहेको उल्लेख गर्दै हामीलाई नवीनतम प्रविधिसँग तालमेल राख्नसक्ने तथा समझदार अनि संवेदनशील विशेषज्ञहरूको आवश्यकता रहेको उपराष्ट्रपतिले आशय व्यक्त गरे।

जीवनको मूल्यमा आधारित शिक्षाले दीर्घकालीन साथै समृद्ध जीविका सुनिश्चित गर्नसक्ने कुरामाथि बल दिँदै त्यस्ता मूल्य-मान्यता भएका मानिसहरूसँग जीवनको चुनौतीहरूको सामना गर्ने क्षमताका साथै उच्च भावनात्मक बौद्धिकता हुने उल्लेख गरे।
यसका साथै विद्यार्थीहरूलाई आत्मविश्वासी बन्नका साथै सकारात्मक सोच राख्न र स्पष्ट लक्ष्य तय गरी इमान्दारी, अनुशासन र समर्पणको भावनाका साथ त्यसलाई हासिल गर्न काम गर्नुपर्ने उपराष्ट्रपतिले आह्वान जनाए। “तेज गतिमा बद्ली रहेको विश्वमा संवेदनशील सोचका साथै नयाँ परिस्थिति अनुरूप स्वयंलाई ढाल्ने क्षमता हुनुपर्दछ। यसका लागि सक्रिय बन्नका साथै भविष्यको पूर्वानुमान गरी चुनौतीहरूको सामना गर्न सधैं तयार रहनुपर्दछ”, उनले भने।

वास्तविक विश्वका चुनौतीहरूको प्रभावी तरिकाले सामना गर्नसक्ने विद्यार्थीहरू तयार पार्नुपर्ने विश्वविद्यालयहरूलाई आह्वान जनाउँ उपराष्ट्रपतिले राष्ट्रमाथि अकस्मात आइपरेको कोभिड-19 महामारीको उदाहरण दिए। “यस महामारीबाट हामीले पाठ सिक्नुपर्नेछ भने विशेषज्ञहरूले भविष्यमा यस्ता चुनौतीपूर्ण सङ्कटको सामना गर्नसक्ने समाधान मिलेर खोज्नुपर्नेछ,” उनले भने।
कोभिड महामारी हामीसामु सबैभन्दा ठूलो सङ्कट रहेको उल्लेख गर्दै यसलाई सङ्कटको रूपमा नहेरेर हाम्रो प्राविधिक क्षमतालाई अरू विकसित गर्ने अवसरको रूपमा लिनुपर्ने उनले बताए। “रोजगारदाता बन्न चाहनेहरूको निम्ति भारतभन्दा उत्तम अनि अनुकूल ठाउँ अरू कहीं हुनसक्दैन कारण हामीले अहिले प्रधानमन्त्रीको आत्मनिर्भर भारतको परिकल्पनालाई साकार तुल्याउने पहल गरिरहेका छौं,” उनले भने।

विद्यार्थीहरूलाई देशहित सर्वोपरी राख्नुपर्ने आह्वान जनाउँदै उपराष्ट्रपतिले राष्ट्रको विकासमा विभिन्न तरिकाले अडचन बन्ने सामाजिक साथै अन्य कुरीतिहरूको अन्त्य गर्न अग्रपङ्क्तिमा खडा भएर काम गर्न पनि आह्वान जनाए। यसका साथै आइसीएफएआइ समूहका संस्थापक स्वर्गीय एनजे यासावीको सराहना गर्दै आज यस विश्वविद्यालयले यस भेकका विद्यार्थीहरूलाई उच्च गुणस्तरको शिक्षा प्रदान गरिरहेको बताए।

ई-दीक्षान्त समारोहको यस अवसरमा सिक्किमका राज्यपाल गङ्गा प्रसाद, मुख्यमन्त्री प्रेमसिंह तामाङ, शिक्षा मन्त्री कुङ्गानिमा लेप्चा, संसद सदस्य अच्यूत सामन्त, गुरुदेव श्रीश्री रविशङ्करजी, सिक्किम सरकारका मुख्य सचिव एससी गुप्त, आइसीएफएआइ विश्वविद्यालय, सिक्किमका कूलपति डा. आरपी कौशिक, उपकूलपति डा. जगन्नाथ पटनायकका साथमा विद्यार्थी, अभिभावक अनि शिक्षकहरू पनि उपस्थित थिए। (पीआइबी)

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन