विमल रणनीतिको पार्श्व

विचार

आजको जिटिए प्रशासनमाथि विमल गुरूङले गरेका सबै प्रश्न जायज हुनसक्छन्। तर के विमल गुरूङसँग यी तमाम मामिलाहरूमाथि प्रश्न गर्ने नैतिक अधिकार छ के? प्रश्न गम्भीर छ। भट्टीपसलको चौकीमा बसेको एक शिक्षकले हातमा रक्सीको गिलास समातेर छेउमा उभिएको आफ्नो विद्यार्थीलाई ‘रक्सी खानु राम्रो होइन’ भनेर उपदेश दिएजस्तो भएन र? दार्जिलिङका सचेत नागरिकले उनको कार्यकालको मार्क-सिट हेरेर उनीमाथि सन्देह गर्ने ठाउँ पर्याप्त छ।


लेखनाथ छेत्री


 

आधिकारिक रिपोर्ट अनुसार गान्धी मैदान सिलिगुडीमा भेला भएका पहाड, तराई अनि डुवर्सका करिब बिस हजार विमलप्रेमीहरूको निम्ति ६ दिसम्बर एक विशेष दिन थियो। साँढे तीन वर्षसम्म भूमिगत जीवन बिताइसकेर मुख्य वक्ताको रूपमा जनसभामा सहभागी हुन कलकत्ताबाट रेल यात्रा गरेर निस्किएका विमल गुरुङले रेलको ढिलाइले गर्दा समयमा आफ्नो उपस्थिति दिन सकेनन्। तर भेला भएका उपस्थित जनसमुहको उत्साह अनि धैर्य साँच्चै हेर्नलायक थियो।

लगभग बेलुकीको चार बज्न लाग्दा विमल मञ्चमा चढे। ‘विमल गुरूङ जिन्दावाद’-को व्यापक नाराबाजीले गान्धी मैदान एकाएक गुञ्जायमान भयो। झण्डा फहराइए। गीत बजाइयो। समर्थकहरू खुशीले नाचे। साँढे तीन वर्षपछि आफूले राजा मानेका नेता पुनः सिलिगुडी आइपुगेको त्यो क्षण भावुकताले व्यप्त थियो। कतिले आफ्नो आँसु थाम्न सकेनन्। घरमै बसेर सभाको सोझो प्रसारण हेरिरहेको मलाई भने विमलको आगमनमा बजाइएको गीतले उनैलाई एक गतिलो झटारो कसिरहेको आभास भइरहेको थियो:

जसलाई बनायौं अगुवा

भगुवा ऊ भइदियो,

जाति र माटोसितै

विकुवा ऊ भइदियो।

शायद ढिला भइसकेको बुझेर, उनले आफ्नो समर्थकहरूलाई धेरै पर्खाएनन्। अथवा हुनसक्छ तीन वर्षको उकुसमुकुस पोख्नको लागि उनी व्याकूल थिए। मञ्चमा चढेपछि सास नबिसाइ उनले आफ्नो भाषण शुरू गरे। टिपिकल विमल स्टाइलको लगभग सोह्र मिनटको भाषण उनको भावी रणनीतिको नाडी छाम्ने ठाउँ हो भन्ने लाग्यो। त्यसैले उनको रणनीति केलाउन म गान्धी मैदानको उनको भाषणको सेरोफेरोमा बसेर आफ्नो विश्लेषण राख्छु।

पहिले त भाषणमा उनले उठाएका दुइवटा मुख्य कुराहरूको लागि उनको सराहना गर्नैपर्छ।

‘अब विमल गुरूङको राजनीति गर्ने तरिका फरक हुनेछ। अब झगडा गरेर हुँदैन,’ उनले भने।

पक्का हो, हातमा डन्ठा बोकेर आफ्ना समर्थकहरूलाई पुलिसमाथि पत्थरबाजी गर्न लाउने काम अब कदापि गरिनु हुँदैन। आन्दोलनको नाममा तमाम सरकारी दफ्तरतिर आगो झोस्ने काम असल होइन। सरकारी सम्पत्ति नष्ट गर्नुले हामीलाई केही हासिल गराउँदैन। यसो गर्नाले पुलिसको बन्दुकबाट छुटेको गोलीले निर्दोष मान्छेको ज्यान जान्छ। आफ्नै कार्यकर्तामाथि सरकारबाट अनेक मुद्दा थोपिन्छ अनि उनीहरू विस्थापित हुन वाध्य बन्छन्। ढिलै सही, उनले यसलाई बोध गरेको भान हुन्छ, जो सहरानीय छ।

दोस्रो कुरा, उनी आफ्नो भाषणमा भाजपामाथि जमेर वर्षिए। यहाँसम्म कि दिलीप घोष, कैलाश विजवर्गीया अनि राजु विष्टलाई ‘महाहरामखोर’- सम्म भने। मलाई लाग्यो, भाजपामाथिको उनको रोष बिल्कुल जायज कुरा हो। लोकसभाको तीनवटा कार्यकालसम्म पहाडले भाजपामाथि आफ्नो मत जाहेर गरिरह्यो। तर भाजपाले जनताको यस विपुल मतको सम्मान गर्न सकेन। उल्टै सन् २०१४ मा यहाँबाट सुरेन्द्र सिंह अहलुवालियालाई जिताएर पठाएपछि बङ्गालको सत्ता ताकेर भाजपाले आफ्नो महत्वाकांशी छवि स्पष्ट गऱ्यो।

सन् २०१७ को आन्दोलनमा नैतिक समर्थन दिन छोडेर उल्टै भाजपा सरकारले ममताको अपीललाई खुल्ला हातले स्वीकार गर्दै क्षेत्रमा व्यापक सुरक्षाकर्मी तैनात गर्ने तुच्छ काम गऱ्यो। आज सिलिगुडीको हिंसामा मरेको एकजना कार्यकर्ताको लागि क्यान्डल मार्च निकाल्ने भाजपा हाम्रो तेह्रजना मान्छेलाई बङ्गाल पुलिसले खुलेआम गोली ठोकेर बर्बर हत्या गर्दा पनि मौनता साधेँर रमिता हेरिरह्यो।

१०५ दिनसम्म चलेको आन्दोलनमा अहलुवालिया आफ्नो निर्वाचन क्षेत्रको स्थिति बुझ्नसम्म आएनन्। निखोज रहेको भन्दै केही विमल समर्थकले दार्जिलिङको सदर थानामा उनीविरूद्ध प्राथमिकीसम्म दर्ता गर्ने अवस्था आयो।

अन्तमा ‘पन्द्रह दिनभित्र गोर्खाल्याण्डको लागि त्रिपक्षिय वार्ता डाक्छौं’ भन्ने त्यतिबेलाका गृहमन्त्री राजनाथ सिंहको आश्वासनलाई विश्वास गरेर एक सय पाँच दिनसम्म चलेको हड्ताल उठाउन वाध्य भए विमल तर वार्ताको लागि बोलाइएन।

जहाँसम्म विमल गुरूङ स्वयंको कुरा छ, व्यक्तिगत रूपमा उनैको पनि भाजपाले कहिले भलो चिताएन। आन्दोलनपछि विस्थापित भएका उनी लगायत अन्य आन्दोलनकारीहरूको घर वापसी गर्नमा भाजपाले कुनै पहल गरेन। उल्टै भाजपाले विमल गुरूङलाई आज आफ्नो पतनको संहारमा ल्याएर उभ्याइदियो।

यहाँका वौद्धिक अनि कतिपय राजनैतिक विश्लेषकहरूले शुरूदेखिकै भाजपाको नियतमाथि सन्देह भने नगरेका होइनन्। सन् २०१४ को आम चुनावमा अहलुवालिया मुद्दाको निम्ति योग्य उम्मेद्वार होइनन् भनेर उनीहरूले जिकिर गरेका थिए। आफ्नो कुरा ठिकसँग राख्नको लागि भूमिपुत्र नैं सही रहने उनीहरूको मत थियो। भूमिपुत्रलाई चुनावमा उठाएर केन्द्रमा भाजपालाई सघाउने विकल्प उनीसँग थियो तर विमलले बौद्धिक जमातमाथि उम्मेद्वारको रूपमा आफ्नो विश्वास जताउन सकेनन्।

अहलुवालियाको लागि चुनाव प्रचार गरिरहेका त्यतिबेलाका स्टडी फोरमका प्रवीण गुरूङले यस्तो मत राख्ने जमातलाई दार्जिलिङको विराट जनसभामा ‘महेन्द्र पी. लामाका भाडाका विश्लेषक’-को संज्ञासम्म दिन भ्याए। जबकि त्यसताक चुनावको स्वतन्त्र उम्मेद्वार महेन्द्र पी. लामा एक अवसरवादी हुन् भनेर पनि विश्लेषकहरूले जिकिर नगरेका होइनन्।

आज आएर कहीँ न कहीँ यो कुरा सत्य साबित भइछाड्यो। ढिलै सही, विमलले भाजपाको असली नियत बुझे। म लगायत भाजपामाथि शुरूदेखि अविश्वास प्रकट गर्ने जमातको पक्षबाट उनलाई बधाई।

तर भाजपामाथि विश्वास गरेर भोट खसाल्ने जनताको निम्ति यहाँ एउटा कुरा गरिराख्न जरूरी महसूस भयो। व्यापक भोटसँग भाजपालाई जिताइसकेपछि विमलमोर्चा लगायत गोरामुमो, क्रामाकपाजस्ता भाजपाका घटक दलले कहिल्यै पहाडको स्थायी राजनैतिक समाधानको लागि केन्द्र सरकारमाथि दबाव सृजना गर्ने रणनीति तयार पार्न सकेनन्। भाजपाजस्तो विस्तारवादी पार्टीको लागि उनीहरू हलका भइदिएको सत्य अकाट्य हो।

वाध्यतावश, हिजअस्तिसम्म राजु विष्टको हरेक फेसबुक पोस्ट अनि अनलाइन अन्तर्वातातिर व्यापक लाइक, कमेन्ट अनि सेयर वर्षाउने भक्तहरू आज उनलाई गाली बक्न परिरहेको छ। 

000

गान्धी मैदानको भाषणमा विमलले एउटा स्पष्ट झुट पनि बोले। मलाई लाग्यो, त्यसबारे कुरा गरिराख्न जरूरी छ।

‘स्थायी राजनैतिक समाधानको लागि मैले ममतासँग बात गरिसकेको छु।’ उनले भने।

जबकि दुइ दिन अगाडिको एक बङ्ला च्यानलको अन्तर्वातामा उनले भनेका थिए, ‘हालसम्म ममतासँग मेरो बात भएको छैन, उनको केही नेताहरूको सम्पर्कमा छु।’

यी दुइ बयान विरोधाभासपूर्ण अनि जनतालाई गुमराह गर्ने किसिमका छन्। साँच्चै उनले यस विषयमा ममतासँग बात गरिसकेका छन् भने पनि यो मेरो नजरमा विश्वसनीय भने होइन। किनकि स्थायी राजनैतिक समाधान केन्द्रको विषय हो, राज्यको होइन।

राज्यले गर्ने स्थायी राजनैतिक समाधान बङ्गालभित्रकै व्यवस्था हो, केन्द्रले गर्ने समाधान बङ्गालदेखि छुट्टिने व्यवस्था हो भनेर नेताहरूले नै बताइसकेका हुन्।

यसपछि विमलले उनको आजको प्रतिद्वन्दी बिनय-अनिततिर जमेर आफ्नो निशाना साधे। तर बिनय-अनिततिर उनले साधेको निशाना भाजपालाई जति तिख्खर भने मलाई लागेन। यो मेरो व्यक्तिगत विचार हो। यसमाथि फरक मत पनि हुनसक्छ। तर कहीँ न कहीँ भोलि गएर केवल ममताको एक इशारामा यिनीहरूसँगै काम गर्ने स्पेस बनाइराख्नुपर्छ भन्ने लागेर हो कि?

मात्र केही महिनाअगाडिसम्म विमलसँग बिनय-अनितलाई अँठ्याउने एउटा दह्रो हतियार थियो, बिनय-अनितमाथिको गद्दारीको ट्याग। बिनय-अनितलाई गद्दारको ट्याग भिराएर एक इमान्दार अनि खाँट्टी गोर्खा नेताको रूपमा आफ्नो छवि बनाउने काम विमलको लागि बेहद सहज अनि असरदार साबित भइरहेको थियो।

तर आज स्थिति अलग छ। उनी बङ्गाल सरकारतिर शरणागत छन्। भाजपालाई जवाब दिन आउँदो विधानसभा चुनावमा ममता व्यानर्जीलाई ‘व्याकूल’ (विपूल?) मतले जिताउने आफ्नो अडान स्पष्ट गरिसकेका छन्। यतिबेला के बिनय-अनितमाथिको गद्दारीको ट्यागले जनताबाट पहिलेजति विश्वसनीयता हासिल गर्ला? सन्देह छ।

त्यसो त विमलको राजनैतिक जरा गाड्ने मलिलो ठाउँ भनेको जनताको गोर्खाल्याण्डमाथिको भावना हो। यसैलाई आधार गरेर उनले पहाडमा आफ्नो राजनैतिक जग बसाले। जनताको गोर्खाल्याण्डमाथिको यही भावना उनको लागि कति कारगर साबित भइदियो भने उनले विधानसभा अनि म्यूनिसिप्यालिटीको चुनावमा पनि गोर्खाल्याण्डको नाममा जनता अगाडि भोट मागे, जबकि यी चुनाव केवल विकासका लागि हुन्। तर विगतमा सफल भएर देखाइदिए पनि।

तर त्यतिबेला ममता व्यानर्जी उनको सबैभन्दा कट्टर दुश्मन थिइन्। दुश्मन हुनुको फाइदा त्यतिबेला उनलाई थियो। तर आज उनको मसिहा छिन्। अहिले उनी ममतातिर यति उदार चरित्र देखाउँछन् कि केही हफ्ता अगाडि जी २४ घण्टा बङ्गला च्यानलको एक्सक्लुजिभ अन्तर्वातामा ‘ गोर्खाल्याण्ड आन्दोलनकालको पुलिसी दमनलाई तपाईँ आजको स्थितिमा कसरी हेर्नुहुन्छ?’ भनेर सोधिएको प्रश्नको सिधासिधा जवाब उनीसँग थिएन। अन्तर्वाता हेरिरहँदा आजको स्थितिमा यो उनको सबभन्दा खतरनाक मजबूरी हो भन्ने लागिरह्यो।

000

आजको राजनीति मूलत दुइवटा कुरामा चल्छ। पहिलो हो, आफ्नो दलले हासिल गरेको उपलब्धिहरूबारे प्रचार गरेर जनताको विश्वास जित्ने। दोस्रो, विपक्षी दलको खोइरो खनेर आफ्नो छवि निर्माण गर्ने।

अन्य विकल्प न्यून भइसकेपछि आफ्नो गुमेको राजनैतिक जमीन हासिल गर्न विमलले दोस्रो बाटो रोजिसकेको उनको गान्धी मैदानको भाषणले केही हदसम्म स्पष्ट गर्छ। तर आफ्नो विपक्षी दलको खोट देखाउने यो दोस्रो बाटो एक कुशल रणनीति होइन भन्न सकिन्न। यति हो, आफूले निशाना साँधेको विपक्षी दलले पर्याप्त मात्रामा गलतीहरू गरेको हुनपर्छ।

सन् २०१४ को आम चुनाव यसको दह्रो नमूना हो। आफ्नो कोर आइडियोलोजीको रूपमा उग्र हिन्दुत्ववाद त थियो नैं तर मध्यमवर्गीय जनतालाई रिझाउन सत्तर सालको काङ्ग्रेस सरकारको चुक देखाएर भाजपा सरकार सत्तामा आयो।

विमलले आजको जिटिए प्रशानसनमाथि त्यसदिन केही गम्भीर आरोप लगाए। जनताको लागि आएको पैसा हिनामिना हुनुहुँदैन। विमलले उठाएको प्रश्नको स्पष्ट जवाब बिनय-अनितको आजको प्रशासनले दिन पर्छ। यो बिल्कुल जायज कुरा हो।

आफू व्यवस्थाको चौकीमा बसेपछि भ्रष्टाचारमा लिप्त हुनु दार्जिलिङमा घिसिङकालदेखिकै परम्परा हो। यसबाट विनय-अनित अछुत छन् भन्न चाहिँ सकिन्न। किनकि यहाँ सत्तासिन दलको राजनीति सिन्डिकेट, पर्सन्टेज अनि कमिशनमा चम्कन्छ। यहाँ कुरा कसले कति काममा लगायो अनि कति गोजीमा हाल्यो भन्ने मात्र हो। भोलिको दिन विना कुनै राजनैतिक दवाब अडिट गरिए जनतामा यसको सत्य आउला नैं। तर सम्भावना न्यून छ।

जहाँसम्म अवैध शिक्षक नियुक्तिको सवाल छ, यो प्रथा पनि दार्जिलिङमा नयाँ भने होइन। दागोपापदेखि जिटिएसम्म उचित मापदण्ड अनुसार शिक्षकहरूको नियुक्ति गर्ने यी दुवै व्यवस्थामा एक स्वतन्त्र निकाय नहुनु यसको मूल कारण हो।

विनय-अनितको प्रशानसनकालमा जिटिएमा भएको अवैध शिक्षक नियुक्तिबारे सन् २०१७-२०१८ को नियुक्तिमा गुनासो स्पष्ट देखिएको हो। ‘कहिले स्कूलमा देखा नपरेकाहरूले समेत नियुक्ति पाए’ भन्ने ठाउँ-ठाउँबाट आएको गुनासो सङ्ग्रह गरेर त्यतिबेला खबरम्यागजिन अनि दार्जिलिङ क्रोनिकल्सले यसलाई सतहमा ल्याउने मुहिम पनि चलाइसकेको हो। केही आम नागरिक बाहेक त्यतिबला विमलमोर्चा लगायत अन्य राजनैतिक दलहरूले चुप्पी साँध्न ठीक सम्झे।

कुनै पनि दलको अन्धोभक्तहरूले आफ्नो नेताले लिएको हरेक अडानलाई अनेक तुजुक लगाएर सही साबित गरिछाड्छन्। तर सचेत जनताले प्रश्न गर्ने प्रतिपक्षको नेताको ट्र्याक रेकर्ड त आवश्य हेर्छन्।

विडम्बना के छ भने आफूले बिनय-अनितमाथि लगाएको आरोपबाट विमल गुरूङ स्वयं अछुतो छैनन्। पाँच सालसम्म आफू जिटिएको चौकीमा बस्दा देख्ने लायक काम उनले के गरे? विमल गुरूङ स्वयंको लागि यो प्रश्न भारी भइरहे जस्तो महसुस हुन्छ। आफूले पाँच सालसम्म गरेको काममा उनी आफैलाई विश्वास नभएको कुरा यहाँ साबित हुन्छ।

किनकि आफ्नो पाँच सालको जिटिए कार्यकालमा साँच्चै इमान्दार हिसाबले आफूले देखाउन लायक काम गरेको भए आफ्नो गुमेको राजनैतिक जमिन हासिल गर्न बिनय-अनितको खोइरो खनिरहन होइन, तर आफ्नो उपलब्धिहरू औंला भाँची भाँची गन्ती गराएर जनतालाई विश्वासमा ल्याउन सक्थे।

जहाँसम्म शिक्षक धाँधलीको कुरा छ, विमलको जिटिएकालमा दार्जिलिङमा वर्षौंदेखि चलिआएको अवैध नियुक्तिको मामिला सुल्झन सक्थ्यो। रोशन गिरीजस्ता पढेका व्यक्तिसँग जिटिएको शिक्षा विभाग थियो। उनले त्यतिबेला रिजनल एसएससी लागू गराएर यो परम्पराको अन्त गरिदिन सक्थे। तर उनीहरूले पनि आफ्नो राजनैतिक रोटी सेक्नको लागि यसलाई प्रयोग गरिरहे।

विमलको समयमा पनि अवैध शिक्षक नियुक्ति हुँदै नभएको कुरा होइन। आज विनय-अनितको दोष देखाएर उनले आफ्नो पाप कदापि पखाल्न सक्दैनन्। प्राइमेरी शिक्षकदेखि हाइ स्कूलको प्यारा-शिक्षक नियुक्तिसम्म उनको समयमा अनेक धाँधली भएको कुरा स्पष्ट छ। उनको यही धाँधलीको कारण कतिपय विशुद्ध स्वयंसेवी शिक्षक नियुक्तिबाट बञ्चित रहे। यसको उदाहरण मसँगै सहकार्य गर्ने एक शिक्षक छन् जसले लगभग सत्रह सालको स्वयंसेवा गरेपछि बितेको साल मात्र नियुक्ति पाए।

आफ्नो श्रीमती आशा गुरूङलाई जिटिएको सभासदको टिकट दिलाएर परिवारवादको एक चरम उदाहरण त विमल गुरूङ स्वयंले पेश गरिसकेकै छन्।

आजको जिटिए प्रशासनमाथि विमल गुरूङले गरेका सबै प्रश्न जायज हुनसक्छन्। तर के विमल गुरूङसँग यी तमाम मामिलाहरूमाथि प्रश्न गर्ने नैतिक अधिकार छ के? प्रश्न गम्भीर छ। भट्टीपसलको चौकीमा बसेको एक शिक्षकले हातमा रक्सीको गिलास समातेर छेउमा उभिएको आफ्नो विद्यार्थीलाई ‘रक्सी खानु राम्रो होइन’ भनेर उपदेश दिएजस्तो भएन र?

दार्जिलिङका सचेत नागरिकले उनको कार्यकालको मार्क-सिट हेरेर उनीमाथि सन्देह गर्ने ठाउँ पर्याप्त छ।

000

यो कुरा अकाट्य हो कि आज विनय-अनितको समर्थनमा जाने जनता एक समय उनको आफ्नो थिए। व्यापक जनता विनय-अनिततिर खस्किसक्दा पनि विमलमा आज एक किसिमको आत्मविश्वास छ। विमलको यो आत्मविश्वासको जड सन् २०१९ को आम चुनावको परिणाम हो।

भाजपालाई सन् २०१९ को आम चुनाव जिताउन विमल गुरूङको विस्थापित जीवन एक कारक तत्व थियो। यसको सानो उदाहरण यहाँ पेश गर्न सान्दर्भिक लाग्यो।

सन् २०१३ को गोर्खाल्याण्ड आन्दोलन जिटिएको चौकीमा पुगेर तुहिएपछि उनको नियतमाथि लगातार सन्देह गर्ने कम आम नागरिकमध्ये एक म पनि हूँ। कुनै राजनैतिक दलको झण्डा नसमाती एक स्वतन्त्र नागरिकको हैसियतले म लगातार उनको चूक केलाएर आलोचना गरिरहेको थिएँ।

तर सन् २०१७ को आन्दोलनको बेला राज्यको दमनको कारण विस्थापित बनेका विमलमाथि मजस्तो उनको कट्टर आलोचकको मनमा पनि एक किसिमको सहानुभूति थियो। यद्यपि मैले २०१९ को आम चुनावमा कुनै पनि दलको पक्षमा मत नखसाल्ने निर्णय लिएँ। हज्जार जनताले यही सहानुभूतिको आडमा आफ्नो मत खसाले।

तर त्यतिबेलाको आम चुनावमा विमलको विस्थापित जीवनप्रतिको सहानुभूतिभन्दा अर्को दुइवटा फ्याक्टर हावी भयो। विनय-अनितको गद्दारी यसमा पहिलो तत्व थियो। दोस्रो थियो, राज्यको दमनको कारण जनताको मनमा उब्जिएको एन्टी-बङ्गाल सेन्टिमेन्ट। यही एन्टी-बङ्गाल सेन्टिमेन्ट आजसम्म पहाडका लाखौं साइलेन्ट भोटरमा व्यप्त छ भन्ने कुरा नकार्न सकिँदैन।

आन्दोलनकालबाट उम्रिएको यही एन्टी-बङ्गाल सेन्टिमेन्टको बिजलाई विमल स्वयंले मलजल गरे अनि चुनावमा यसको फल खाए। ममता सरकारसँग मिलिसकेपछि यही एन्टी-बङ्गाल सेन्टिमेन्ट भोलि विमलको लागि भारी पर्न सक्छ।

000

आज पहाडमा एक अजिब किसिमको राजनैतिक माहौल छ।  फेसबुकमा कुनै पनि दलमाथि टिप्पणी गऱ्यो कि त्यसलाई एक स्वास्थ आलोचनाको रूपमा स्वीकार नगरेर दलका भक्त उनीहरूको जनसभाको भीडको तस्वीर तल्तिर अपलोड गरिदिन्छन् अनि ढुक्क महसूस गर्छन्। अझ चित्त नबुझे स्वतन्त्र विचार राख्ने नागरिक, विश्लेषक अनि पत्रकारमाथि पेड लेखक, पार्टीको प्रचारक, दलाल, चमचा आदिको ट्याग लगाइदिन्छन्।

विमल गुरूङसँग आज पनि एउटा भीड छ। त्यो देखिसक्यौं। सके त्यतिकै अथवा त्योभन्दा ठूलो भीड भोलि बिनय-अनितले पनि जुटाइएर देखाइदेलान्।

तर याद राख्नुहोस्, कुनै पनि दललाई चुनावी अखाडामा जिताउनको लागि जनसभाको भीड पर्याप्त हुँदैन। चुनावमा सबभन्दा ठूलो फ्याक्टर ती साइलेन्ट भोटर हुन् जो फेसबुकमा आएर कमेन्ट लेख्दैनन् अथवा जनसभामा सामेल हुँदैनन्। चुपचाप स्थितिमाथि निगरानी राख्छन् अनि चुनावको बेला भोट खसाल्छन्।

सन् २०१९-को चुनावको बेला भीड बिनय-अनितसँग थियो। तर त्यही साइलेन्ट भोटरले बिनय-अनितलाई मुतौड जवाब दिए।

आफैले मलजल गरेको एन्टी बङ्गाल सेन्टिमेन्टको कारण भोलि त्यही साइलेन्ट भोटरले बङ्गालसँग मिलेर आफ्नो वापसीको लागि राजनैतिक दाउ खेल्ने बिमललाई जवाब दिँदैनन् भन्न सकिन्न।   

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन