सम्पादकीय :: गोरामुमो पनि विमलकै बाटोमा

विमल गुरुङको सबैभन्दा ठूलो भूल हो, कसैलाई नसमेट्नु। र एक्लै केन्द्रिय मन्त्रीहरूलाई भेट्नु। मुद्दा ओटग्नु र अरु सबैको बाटो छेक्नु।

तीनवर्षसम्म विमलले कसैलाई केही काम गर्नै दिएनन्। विमल गुरुङहरूले नै भने, पाँचहजार भूमिगतहरू फर्काइनेछ। जनताले विश्वास गरे। तर सांसद राजु विष्ट र तत्कालीन मोर्चाका प्रवक्ता बीपी बजगाईँले भूमिगतहरूको सूची माग्दा विमलले नै दिएनन्।

भूमिगतहरूलाई ससम्मान फर्काउन सर्वोच्च न्यायालयमा मुद्दा हाल्न सकिन्थ्यो। सर्वोच्च न्यायालयले मुद्दाको जाँच गर्थ्यो। साँच्चै भूमिगतहरूले देशद्रोहको काम गरेको हो कि आफ्नो चिन्हारी स्थापनाको निम्ति आन्दोलन?

जब कुनै जातिको अस्तित्व र चिह्नारी नै खतरामा पर्छ, तब ती जातिले त्यसको प्रतिवाद गर्न लोकतान्त्रिक देशमा पाउँछ कि पाउँदैन?

जब सबै बाटो थुनिन्छ, न्यायको लागि तब लोकतान्त्रिक देशका नागरिकलाई न्यायालयकै बाटो  हिँड्नुपर्छ।

अहिले विमल गुरुङ भूमिगतहरूलाई प्रयोग गरेर घर फर्किने कोसिसमा छन्। तर दुःखको कुरा भूमिगतहरू घर फर्किने क्रममा त होलान्, तर टाउकोमा मुद्दा बोकेरै। भूमिगतहरूले टाउकोमा बोकेको मुद्दा झुण्डाइएको मुङ्ग्रोजस्तो हो। जब सरकारको नियत बिग्रन्छ, भूमिगतहरूलाई त्यही मुङग्रोले ठोक्ने हो। आजीवन आत्मग्लानी बोकेर फर्किरहेछन् भूमिगतहरू।

विमल गुरुङले भूमिगतहरूलाई घर त फर्काउँलान् तर स्वाभिमान बेचेर। गोर्खाहरूले गरेको छुट्टै राज्यको आन्दोलन स्वाभिमान बेच्न गरिएको होइन बरु त्यही स्वाभिमान जोगाउन गरिएको हो। तर विडम्बना हेर्नुहोस्, भूमिगतहरू फेरि पनि विमलकै कठपुतली बनिरहेका छन्। भूमिगतहरू विमलकै गधा बनिरहेका छन्।

न्यायालयमा उनीहरूको मुद्दा चलिरहेकै छ। जसरी अहिलेसम्म पनि 86 मा मुद्दा लागेका गोरामुमोका आनदोलनकारीहरूले मुद्दा खेपिरहेका छन्, विमलले स्वाभिमान बिक्री गरेर घर फर्किरहेका भूमिगतहरू पनि आजीवन मुद्दा बोकेरै घरमा बस्न पर्दैन भन्न सकिन्न।

सांसद राजु विष्ट र बीपी बजगाईँले सर्वोच्च न्यायालयमा मुद्दा दर्ता गर्न मागेको भूमिगतहरूको सूची किन विमल गुरुङले दिन मानेनन्? विमल गुरुङलाई यस्तो प्रश्न कसैले गरेकै छैन।

प्रश्न त ‘तीनवर्ष जङ्गलमा बसेर घर फर्किँदा कस्तो अनुभूति भइरहेको छ?’-पो सोधिँदैछ। जङ्गलमा बसेको भए पो अनुभूति तिक्त हुन्थ्यो र त्यो अनुभूति सुन्दा जनताको आँखा रसिन्थ्यो।

उत्तर सुनेर जनताले त जोक पो गरिरहेका छन्।

वास्तविकता एउटै छ, विमल गुरुङ आफ्नो स्वार्थको निम्ति भूमिगतहरूसमेतलाई दुरुपयोग गरिरहेका छन्। यो विमलको नयाँ बानी होइन। वास्तवमा भूमिगतहरूलाई स्वाभिमानसहित घर फर्काउन सकिन्थ्यो, तर त्यो पनि विमल गुरुङले नै सूची नदिएर रोके।

दिल्लीका अञ्जनी शर्माहरू, मुनिस तामाङहरू सबैले राष्ट्रीय स्टेकहोल्डर्स लिएर कमिटी बनाउने बारम्बार प्रयास गरेकै हुन्। तर त्यो पनि विमलले नै रोके। भाजपासित भएको सम्झौता र सुझबुझको लय बिग्रिने र राष्ट्रीय कमिटीले श्रेय लिने बुझेपछि विमलले सबै सम्भावनाको बाटो थुन्दै आए।

भर्खरै पत्रकारले स्टेयरिङ कमिटीबारे प्रश्न गरे। विमल गुरुङलाई स्टेयरिङ कमिटी कुन चराको नाम हो, त्यही थाहा थिएन। पत्रकारले भूमिका बाँधेर सोधेपछि विमलले भने, ‘स्टेयरिङ कमिटी मैले नै डिनाई गरेको हुँ किन भने मलाई अरु कुनै दलको भरोसा र विश्वास लाग्दैन।’

चुनाउ जिताउन भोट माग्न सबै दललाई प्रयोग गर्ने, त्यतिबेला भरोसा र विश्वास पनि लाग्ने, तर जब केन्द्रमा दवाब बनाउन राष्ट्रीय कमिटी चाहियो तब कमिटीमा बस्ने दलहरूकै अविश्वास गर्ने यो विमलको मुद्दा ओगट्ने र सबै सम्भावनाको बाटो थुन्ने नीजि स्वार्थ मात्र होइन त?

मुद्दाको स्वार्थमा सबैलाई लिएर काम गर्नैपर्छ। अहिलेसम्म केन्द्रमा सबै नीजि दल टुप्लुक्क पुगेकोले केन्द्र आफै कन्फ्युज छ, त्यति सानो पहाडबाट यतिधेरै ज्ञापन र नेता पुगिसक्यो कि केन्द्रले कसलाई विश्वास गर्ने कसलाई नगर्ने?

जनताले आशा गरेको थियो, 2019 को चुनाउको जितपछि घटक दलहरूले एउटा राष्ट्रीयस्तरको स्टेयरिङ कमिटी बनाउनेछ। र यसैले केन्द्र सरकारमा दवाब बनाउनेछ।

राजु विष्टको निम्ति भोट माग्दा उनीहरूले जनतामा यही प्रतिबद्धता राखेको थियो। जसवन्त सिंह र एसएस अहलुवालियालाई जिताएर पठाएपछि गोर्खाल्याण्डपन्थी विचार बोक्ने सबैलाई लागेको थियो, अब जिताएर पठाएर मात्र हुँदैन। बौद्धिकहरूको ठूलो समिति लिएर दवाब पनि बनाउनुपर्छ। तर विमलले न त अरु दलको विश्वास गरे न त बौद्धिकहरूको।

‘बुद्धिजीविहरू विधानसभाको टिकटको निम्ति मात्र आउँछन्,’ जसलाई कुटनीति, रणनीति, दाउपेज र राजनीति नै थाहा छैन उसको बुद्धिजीविलाई हेर्ने दृष्टिकोण यति घटिया छ।

विमल आफै चाँही गोर्खाल्याण्ड विरोधी ममता व्यानर्जीसित मिलेर फेरि जिटिएकै चौकी ताकिरहेका छन्। जिटिएतिर फर्किन विमललाई बुद्धिजीविहरू बाधा हुन्, त्यसैले विमललाई बुद्धिजीवि मन परेन। सर्वोच्च न्यायालयले भूमिगतहरूलाई ससम्मान घर फर्कायो भने विमल कसलाई गधा बनाएर जिटिएमा फर्किने त? अञ्जनी शर्मा, मुनिस तामाङहरूले राष्ट्रीय स्टेक होल्डर्सको टिम बोकेर दवाब बनायो र केन्द्रले उनीहरूलाई विश्वास गरिदियो भने विमललाई आफ्नो पत्तासाफ हुने डर थिएन त? स्टोयरिङ कमिटी मुद्दा र भाजपा दुवैमा हावी भइदियो भने विमलको साख खत्तम भएन त? यही डरले विमल सबै सम्भावनालाई छेकेर जिटिएतिर फर्किने र गोर्खाल्याण्ड विरोधी शक्तिसित मिलेर सँधैको लागि छुट्टै राज्य गोर्खाल्याण्डको  सम्भावना मास्ने प्रक्रियामा छन्।

गोरामुमोले पनि अहिले त्यही बाटोमा हिँड्न शुरु गऱ्यो।

गोरामुमो प्रतिनिधिहरू दिल्लीमा छन्। स्थायी राजनैतिक समाधान र 11 जातलाई जनजातिको मुद्दाबाहेक पहाडको अरु मुद्दामाथि केन्द्रिय गृहमन्त्री अमित शाहसित कुराकानी गर्ने मन घिसिङले प्रेसलाई जनाइराखेका छन्।

विमलले पनि यसरी नै अमित शाहलगायत केन्द्रका नेता र मन्त्रीहरूलाई भेट्थे। दार्जिलिङजस्तो संवेदनशील क्षेत्रको मुद्दा बोकेर पहाडका दर्जनौं पार्टीहरूमध्ये गोरामुमो मात्र किन दिल्ली जान्छ? भाजपासित गठबन्धनमा रहेका सबै दलका प्रतिनिधि लगायत बौद्धिकहरुको समूह समेटिएको टोली लिएर किन गोरामुमो अमित शाहलाई भेट्न जाँदैन?

एक्लै एक्लै जति नै पार्टीले भेटे पनि केन्द्रले गोर्खाको मुद्दालाई सुनवाई गर्ने छैन। एक्लै बोलाउनु र एक्लै जानु भनेको कुठपुतली र खेताला बन्ने टेन्डेन्सी हो। चरित्र हो। खेताला बनाउन सत्ताले एक्लै बोलाउँछ र केही शक्ति देखाएर, केही सपना देखाएर पठाउँछ, त्यसले त्यो पार्टीलाई नाफा होला तर जाति र मुद्दालाई नाफा हुँदैन, बरु घाटा हुन्छ।

गोरामुमो दिल्ली एक्लै कुदेर साबित गऱ्यो विमल पछि गोरामुमो फेरि जाति, मुद्दा र भूमिलाई घात गर्ने सत्ताको डिजाइनमा फँस्यो। गोरामुमोले आफ्नो स्वार्थको निम्ति मुद्दा, जाति र भूमिलाई बलि चढाउने स्पेस विमललेजस्तो केन्द्रलाई दिनु हुँदैन।

दार्जिलिङका जनताको सपनाको व्यापार गर्ने चरित्र विमलपछि गोरामुमोले देखाउन शुरु गऱ्यो। गोरामुमोलाई थाहा हुनुपर्छ, गोर्खाको मुद्दा गोरामुमो एक्लै कुद्ने मुद्दा होइन, राष्ट्रीय गोर्खा बौद्धिकहरू कुद्ने मुद्दा हो।

छैटौं अनुसूचीको बेला पनि गोरामुमो एक्लै कुदेको हो। त्यसको नतिजा सुष्मा स्वाराजको स्ट्याण्डिङ कमिटीको रिपोर्टमा चेप्टिएको छ।

जुन रिपोर्टले भनेको छ, ‘जबसम्म सर्वसम्मति बन्दैन तबसम्म छैटौं अनुसूचीको मुद्दा थाँतीमा राखिन्छ।’

गोरामुमोको इमान्दारिता त्यही सर्वसम्मति बनाउने पहलतिर झल्किने हो। जुन गर्नुपर्ने काम हो, गोरामुमोले त्यसको लिक छोडेर नगर्नुपर्ने कामको लिकमा पाइला राखिसक्यो। यो जुन एक्लै कुद्न गोरामुमोले शुरु गरेको छ,, त्यो बाटो विमलले पहिलेबाटै हिँडेको बाटो हो। जसको नजिता अहिले सार्वजनिक छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन