पहाडको शिक्षा व्यवस्था कसरी राम्रो बनाउने?

शिक्षा सिरिज-1

यो शिक्षा सुधारको पहिलो कदम अहिलेका शिक्षकहरूबाट नै हुनु पर्छ। यो कदम कसैले पैसा दिएर गरिने हुनुहुँदैन। प्रायोजित हुनु भएन। शिक्षा सुधार गर्छु भन्नेहरूको स्वाभीमान अडिग हुनुपर्छ। नोटसित भोक साट्ने हुनु भएन। कुनै एउटा दलको समर्थक बएर होइन, स्वतन्त्र भएर गर्पर्छ। शिक्षित हुनुपऱ्यो।


कमल भुजेल


पहाडको शिक्षा विषय अगावै केही लेखहरूमा यसका समस्याहरूको चर्चा गरिसकेको छु। समस्या धेरै छन् र कति प्रत्यक्ष देखिन्छन् भने कति देखिहाल्दैनन्। बाहिरबाट निकै राम्रो देखिएता पनि पहाडमा शिक्षाको अवस्था निकै नै खस्किसकेको छ। शिक्षाको अवस्था यस्तो भइसकेको छ कि, बुनियादि शिक्षाले उच्च शिक्षा प्राप्त गर्न सक्ने योग्य धरी बन्न दिँदैन वा झिना-मिनाले अलि उच्च शिक्षा प्राप्त गरिहाले भने पनि समाजलाई योगदान नै दिन सक्दैनन्। पढी-लेखी डिग्री कमाएर पनि रोजगारको निम्ति योग्य नै हुँदैनन्। यसरी पहाडको शिक्षामा कमीहरू धेरै भएता पनि यसलाई सुधार्नुको सट्टा अझ यसैलाई बाहिरबाट मेकअप गरेर राम्रो देखाउन खोजिरहेका छन् शिक्षा व्यवस्थाका ठेकेदारहरू।

हाम्रो शिक्षा व्यवस्था भताभुङ्ग छ। सम्हाली नसक्नु छ। यसलाई सुधार्नुको लागि कता न कताबाट मेलो त समात्नु नै पर्छ। शिक्षालाई सुधार्ने क्रममा धेरै नै प्रश्नहरू उठ्न सक्छन्। सङ्कल्प के हो भने मनमा जसलाई यो कुराले बिझ्छ, कदम चाल्नु नै पर्छ।

 कसले सुधार्ने त पहाडको शिक्षा ?

 पहाडको शिक्षा कसले सुधार्ने भन्दा पनि पहाडको शिक्षा कसले सुधार्दैन वा सुधार गर्नुमा वाधा गर्छ ? भनेर पहिले बुझ्नु पर्छ।

१) पहाडको चौकी ताकेर शासन गर्न खोज्ने दल

 २) शिक्षाको नाममा व्यवसाय गर्ने झुण्ड

३) केही सामाजिक सम्मान पाएर सबै जान्दछु भन्ने भ्रम पालेका बुद्धिजीविहरू

 ४) ठूल्ठूला शैक्षिक डिग्रीहरू थुपारेर सम्बर्द्धनामा खदामात्र थाप्नेहरू

 ५) पहाडेलाई कमारो बनाएर दरवान, ड्राइवर, कुल्लीमात्र बनाउन पल्केका मालिकहरू

 ६) औकातबिना नै भाई-भतिजावाद वा घुसको आडमा बनेका शिक्षकहरू

७) कलिला नेपाली केटीहरूलाई नचाएर पैसा कमाउनेहरू र यस्तै धेरैहरू जसलाई पहाडेले पढ्दा घाटा हुन्छ, कसैले पनि हामी पढेको चाहँदैनन्। र अन्तिममा हाम्रो मुटुको ढुकढुकी “गोर्खाल्याण्ड”-को विरोध गर्ने सरकार चाहे केन्द्र होस् वा राज्य, दुवैले चाहँदैन। यसरी यी केन्द्र वा राज्यले दिएको व्यवस्था थापेर चलाउने हाम्रै गोर्खेले पनि शिक्षाको विकास गर्नु त के, सुधार गर्दा पनि झनै वाधा बनेर पो आउने गर्दछ।

नपढेको मान्छेको ज्याला कम्ती हुन्छ र नै हामीलाई बेसी पढ्नदेखि रोकिदिन्छ। हामीलाई सस्तोमा किन-बेच गर्छन्। हामीलाई भत्काउन हम्रो शिक्षालाई कमजोर पार्ने गर्छन्। तसर्थ हामीले भत्किएको शिक्षा व्यवस्थालाई सुधार्नु हो भने सिधै शिक्षा सुधार्नु पट्टि मात्र लागेर हुँदैन। यी माथि उल्लेखित वाधाहरूसित पनि लड्दै अघि बढ्नुपर्छ।

हामीले बुझिहाल्यौ कि यी माथिका उल्लेखितहरूबाट कुनै पनि हालतमा शिक्षाले निकास पाउँदैन। राज्य सरकार, केन्द्र सरकार होस् वा हाम्रै पहाडे स्थानीय सरकार, कसैले पनि शिक्षाको निम्ति काम गर्दैन। बरू तहस-नहस पार्ने काम गर्छ, जुन अहिले हामी सबैले भोगिराखेका छौँ। हामीलाई हेपेर शासन गर्ने सबै भन्दा उचित ढाल हो यो नीति।

मनमा शङ्का उब्जन नै सक्छ कि शिक्षाको सुधार सरकारले नगरेर कसले गर्छ भनी। निश्चय नै! हो सरकारले गर्नु पर्ने नै हो तर गर्दैन। जबसम्म पहाडमा गोर्खा जनताको सरकार (गोर्खाल्याण्ड भनौ) हुँदैन गोर्खाको निकास अरू कुनै सरकारले गर्दैन। तब त शिक्षा बिगार्नेहरूको जत्था निकै ठूलो नै छ र यिनीहरूमा एकता पनि छ साथै सङ्गठित पनि छन्।

नमन गर्नु नै पर्छ ती साँच्चैका इमान्दार शिक्षकहरूलाई जसले यस्तो विकट परिस्थितिमा पनि शिक्षकको गरीमालाई बचाँइराखेका छन्। शिक्षाको अस्तित्वलाई जोगाइराखेका छन्। हुन त सुनको जलप दलेर धेरै नै शिक्षकको भेषमा सिटी-गोल्ड सरह खिया लाग्ने टीनहरू पनि छन् जसले शिक्षा व्यवस्थालाई नै खिया लगाएर मक्काउने काम गरिराखे कै छन्। यिनीहरूलाई पनि यसो मट्टीलेलमा डुबाएर खिया फ्याक्न सके अर्को उपलब्धी हुनेछ शिक्षा सुधारमा।

शिक्षाका स्टेकहोल्डरहरू

शिक्षा बृहत विषय हो। स्कूलमा पढाउने शिक्षकको मात्र दायित्व होइन शिक्षालाई अग्रिम पंक्तिमा लगेर जाने। यो सामूहिक प्रयास हुनुपर्छ तब मात्र हाम्रो जातिको सामुहिक विकास हुन्छ नभए अहिलेसम्म चलेर आएको छानी-छानी विकास हुन्छ। कसैको भतिजको, कसैको बुहरीको हो यस्तै को-कोहरूको। सामुहिकतामा अघि बढ्यौं भने मात्र कौशलता, इलमको कदर हुन्छ, नभए पैसाकै राज चल्छ।

हाम्रो समाजमा अहिले विभिन्न सङ्घ-संस्थाहरू छन्। विभिन्न तप्कामा मान्छेहरू छन्। सबै जना कतै न कतै संलग्न छन्। यसरी प्रत्येक तप्काबाट नै शिक्षाको निम्ति सुधार कार्य शुरू हुनु पर्छ। तर समस्याहरू धेरै नै छ यहाँ पनि।

यी तप्कामा को-को कसरी पर्छ? कसैलाई थाहा छैन।

तप्काको कुरा बुझियो भने पनि पाइला कसरी चाल्ने? थाहा छैन।

शिक्षाको उद्भव र पतनको रूपरेखा तयार पारेको योजना नै छैन।

यसरी हामीले पहिले के बुझ्नु पर्छ भने  शिक्षा सुधार कसैले गर्छ भने, ती हुन् नागरिक समाज। हाम्रो जातिको सन्दर्भमा। सरकारको तलब खाएर शिक्षाको सुधार हुँदैन। ढोंग मात्र हुन्छ। स्वेच्छा सङ्गठित भएर भोक सहनु सक्ने तर पैसामा बिक्री नहुने जमातले मात्र सही अर्थमा शिक्षाको सुधार गर्न सक्छन्।

यसरी शिक्षालाई सुधार्ने जिम्मेवारी सबैले नै लिन पर्छ। हरेक तप्काको जिम्मेवारी फरक-फरक नै हुन्छ। सबैले एकै प्रकारले गर्नु पर्छ भन्ने पनि हुँदैन।

हामीमा दु:खका कुराहरू धेरै नै छन्। कारण हामीमा हुनुपर्ने कुराहरू केही पनि छैन। अभाव नै अभाव छ सबैतिर।

विवेकानन्द, विद्यासागर, राधाकृष्णन जस्ता विभूतिहरू त हाम्रो समाजले पाएनन् नै तर यिनीहरूलाई पछ्याउनेहरू धरी पनि पाइएन। शिक्षालाई लिएर गहनतासाथ कुरा गर्नेहरू समेत हामीमाझ छैनन्।

यो शिक्षा सुधारको पहिलो कदम अहिलेका शिक्षकहरूबाट नै हुनु पर्छ। यो कदम कसैले पैसा दिएर गरिने हुनुहुँदैन। प्रायोजित हुनु भएन। शिक्षा सुधार गर्छु भन्नेहरूको स्वाभीमान अडिग हुनुपर्छ। नोटसित भोक साट्ने हुनु भएन। कुनै एउटा दलको समर्थक बएर होइन, स्वतन्त्र भएर गर्पर्छ। शिक्षित हुनुपऱ्यो।

शिक्षकहरूको भूमिका

पहाडमा शिक्षकहरूले नै पहिले कदम उठाउनु पर्छ। हुन त पहाडका शिक्षकहरू एकदमै लुते छन्। यिनीहरू जन्मजात लुते भने होइनन् तर ब्लेड लाग्ने छ भनेर खसी छिनाउन खोजेर पनि त हुँदैन। आफ्नो  क्षमताको सही प्रयोग गर्नु जान्नुपर्छ र गर्नु सक्नु पनि पर्छ।

शिक्षकहरू आफैले पहिले आफ्नो स्वाभिमान फर्काउने काम गर्नुपर्छ। स्वाभिमानी शिक्षकले मात्र सही शिक्षा दिन सक्छन्। पहाडको इतिहासमा शिक्षकहरूको कुनै एउटा दिगो र स्वतन्त्र सङ्गठन समेत छैन। पार्टीसितै यिनीहरूको सङ्गठनहरू पनि फेरिन्छन्। र मागहरू पनि। पहाडको शिक्षक सङ्गठनले कहिले पनि शिक्षा नीति वा शिक्षाको विषयमा आन्दोलन नै गरेका छैनन्। त्यसैले शिक्षकहरूकोमा कमीहरू धेरै नै छन् तर पनि हामीले शिक्षाको सुधार यी शिक्षकहरूबाट नै गर्नुपर्छ। पर्फेक्ट कोही पनि हुँदैन। पहाडमा शिक्षकहरू कसै खाँटी सुन छन् त कसै सिटी-गोल्ड। खाँटी सुन त सुन नै भइहाल्यो, गहना नै हो तर सिटी-गोल्डको पनि आफ्नै महत्व हुन्छ। यसरी आफ्नो महत्व बुझेर सबैले आ-आफ्नो जिम्मेवारी बहन गर्नुपर्छ, आफूले सक्ने काम गर्नु नै पर्छ। कर्तव्यदेखि भाग्नु भएन।

गर्नु पर्ने कामहरू धेरै नै छन् तर शुरूमा नै सबै भार एकैचोटी लिएर चाप दिइहाल्न भने मिल्दैन। तसर्थ हाम्रो शिक्षकहरूले शिक्षाको सुधार गर्नु भनेको आफूले आफैलाई पनि सुधार्ने मौका पाउनु हो। गल्तीले शिक्षा पेसामा पसेकाहरूले पनि शिक्षण पेसालाई पेसाको रूपमा मात्र नलिएर जीवन शैली बनाउने प्रयास गर्नु पर्छ। जीवन धान्ने साधन नै शिक्षण पेसा बनिसके पछि आफ्नो पेसासित इमान्दार पनि त बन्नु नै पऱ्यो। वर्क एथिक्सले पनि त त्यस्तै भन्छ।

के गर्न सकिन्छ त?

शुरूमा पहाडका शिक्षकहरूले गर्नु पर्ने र गर्नु सक्ने पहल के-के हुन् भने,

पहाडमा कमसेकम डेड-सय जस्तो सरकारी स्कूलहरू छन्। ती स्कूलमा पढाउने प्रत्येक विषयका शिक्षकहरूले (Subject Teacher) आफ्नो विषयको संस्था (समूह) बनाउन सकिन्छ। यसरी विषय आधारित संस्था (समूह पनि भन्न मिल्छ) बनायो भने पहाडका सबै ठाँउबाट शिक्षकहरू एकै जगहमा आएर जोडिन सक्छन्। यसलाई यसरी बुझौ, पहिले त यस प्रकारको संस्था वा समूह कुनै पार्टीहरूको अधिनमा हुने कुरा आएन र यस्ता संस्था बनाउनको लागि उद्देश्यहरू तय गर्नु पर्छ।

पहाडका स्कूलहरूमा विशेष पढाइने विषयहरू हुन-

१.नेपाली, २) अङ्ग्रेजी, ३) गणित, ४) भूगोल, ५) इतिहास, ६) जीव विज्ञान, ७) भौतिकी, ८) रसायन ९) अर्थशास्त्र, १०) राजनीतिशास्त्र, ११) कम्प्युटर, १२) वाणिज्य, १३) सांख्यिकी, १४) समाजशास्त्र –र केही अन्यहरू।

यसरी प्रत्येक विषयका शिक्षकहरूले अध्ययन समूह बनाए पछि एउटा संस्थाको रूपमा काम गर्न सकिन्छ। यसो गर्नाले पछि गएर यी समूहहरूबाट नै  गोर्खा इतिहास समाज (Gorkha History Society), गोर्खा भुगोल समाज (Gorkha Geographical Society), गोर्खा विज्ञान समाज (Gorkha Academy of Science), गोर्खा गणित समाज (Gorkha Mathematical Society) हरू गरेर सबै क्षेत्रमा पकड बनाउन सकिन्छ।

यसरी प्रत्येक फिल्डको आ-आफ्नो संस्था बनाएर प्रत्येक विषयलाई अप्डेट राख्न सकिन्छ। यसका फाइदाहरू धेरै छन् तर यसलाई गर्नुपर्छ भनेर अघि आउनु मात्र पनि ठूलो चुनौति नै हो। यस्तो संस्थामा कसैले केही पाउदैन र जहाँ आफूले बेसी दिनुपर्छ त्यहाँ मानिसलाई टिक्न गाह्रो नै पर्छ। यस्तो कार्य चुनौतिपूर्ण हुन्छ तर समाजलाई उक्लाउने बाटो भने यस्तै नै हो।

पहाडमा कलेजहरू त नमूनाको रूपमा मात्र भएकोले हाम्रो मान्छेहरू जसले उच्च शिक्षा प्राप्त गरेर स्रोत व्यक्तिहरूको रूपमा छन् तिनीहरू प्राय: नै बाहिर छन्। बाहिर शोधहरू गरिरहेका छन् तर तिनीहरूको पनि मनमा त गोर्खा समाजको निम्ति केही गर्छु भन्ने इच्छा हुँदा-हुँदै पनि जोडिन नै सक्दैनन्। यिनीहरूलाई जोड्ने साधनको रूपमा उभिनु पर्छ यस्ता संस्थाहरू।

यस्ता स्रोत व्यक्तिहरूलाई लिएर गाँउ-गाँउको स्कूलहरूमा सङ्गोष्टी-कार्यशालाहरूको आयोजना गर्नुपर्छ। स्रोत व्यक्तिहरू पनि आफ्नो ज्ञानको अहम त्यागेर आफ्नै खर्चमा गाडी नपुग्ने ठाँउमा हिँडेर पनि जान सक्नुपर्छ। अलैँचीको शोधार्थीले अलैँची घारीमा नै गएर बुझ्नु पनि पर्छ र बुझाउनु पनि पर्छ। डाक्टरेट हुनको निम्ति चियामाथि धेरै थेसिस लेखिसके तर चिया श्रमिकको उन्मुक्तिको बाटो देखाइएन। शिक्षाको मात्रा कम्ति होस वा बेसी तर समाजलाई काम लागेको हुनुपर्छ। सरकारी जागिर पाउनको लागि मात्र गरेका उच्च शिक्षालाई खदा-माला लगाउनु बन्द गर्नुपर्छ। सफल बनिसकेका विद्यार्थीलाई सम्बर्द्धना दिनु भन्दा ती कमजोर विद्यार्थीहरूलाई कसरी सफल बनाउनु सकिन्छ पट्टि लागे, यो कुराले परिवर्तन ल्याउनेछ।

यसरी सम्पूर्ण स्कूलका शिक्षकहरूको आ-आफ्नो विषयको संस्था बनिसके पछि ज-जसले नयाँ जे-जे जान्दछन् अरूलाई सिकाउने र नजान्नेले पनि लाजै नमानी सिक्ने प्रथा शिक्षकहरूबाट नै शुरू हुनु पर्छ। ज्ञानको आदान-प्रदान गर्ने संस्कार बसाल्नु पर्छ। सबै भन्दा पहिले त शिक्षकले नै पढ्ने संस्कृति जन्माउनु पऱ्यो। हुन त शिक्षकले पनि सबै जानेको हुन्छ भन्ने त्यस्तो हुँदैन। सही ज्ञानहरू त झनै आफ्नो भोगाइको अनुभूतिहरूबाट प्राप्त हुने गर्दछ भने कति शिक्षकहरू कुनै पनि भोगाइको अनुभव नै नगरी आएको पनि त हुनसक्छन्। कलाक्रममा सिक्दै जानुपर्छ।

संस्था बनिसके पछि धेरै कामहरू गर्न सजिलो हुन्छ। तर कामहरू गर्दा भने त्यसको परिणति दुरगामी भएर नै सोँचेको हुनुपर्दछ। गर्ने जोश छ भन्दैमा जताभावी गर्न थाले लाभभन्दा बेसी झनै हानी हुने गर्दछ। यसरी सही कुराबाट उल्टो हानी हुनथाले राम्रा मानिसहरूको मानसपटमा नराम्रो आघात पुग्ने गर्दछ।

पहाडका विद्यार्थीहरूले कविता बाहेक अरू खासै त्यस्तो केही लेख्दैनन्। यस्ता संस्थाहरू बनिसके पछि नानीहरूले आफ्नो ठाँउहरूको इतिहास, भुगोलबारे लेख्न सक्छन्। विषय-आधारित पत्रिकाहरू निकाल्न सकिन्छ। आफ्नै घर वरि-परि विज्ञानको प्रयोगहरू देख्न थाल्दछन्। आफूले पढेको अमूर्त (Abstract) -होइन जीवन्त लाग्नु थाल्दछ। पढ्ने रहर जाग्दछ। गणितको (maths)  सुत्रहरू (formulae) कता काम लाग्छ भनेर ट्वाँ पर्दैन। पढ्नु भनेको किताबमा घोत्लिनु मात्र नभएर जीवनको सङ्घर्षमा नै ज्ञान देख्न थाल्दछन्।

अहिले हामीले भत्किएको शिक्षा व्यवस्थामा सुधार गर्नुपर्छ मात्र भनेका हौँ। शिक्षालाई सुधारेर ठीक गर्नुमा नै निकै समय लाग्छ। निकै कष्ट भोग्नु पर्छ। अनि भविष्य नसोँचेर सामाजिक सञ्जालतिर प्रचलित हुनको लागि भने यस्तो काम गर्नु नै हुँदैन। जसले यस्तो काम गर्छ तिनी हाइलइटमा हुँदैन र जो हाइलाइटमा हुन्छ उसले यस्तो काम गरेको हुँदैन। यिनीहरू सिटी-गोल्डहरू हुन् भनेर बुझ्नु पऱ्यो।

हुन त आज गरौं भनेर शिक्षामा सुधार आज नै भइहाल्ने होइन। भत्किनु समय लागेको कुरालाई फेरि बनिनु झनै समय लाग्छ र जटिल पनि हुन्छ। यस्ता कार्यमा नेतृत्वको पहिलो मापदण्ड नै हो अध्ययन गर्नु। अध्ययन गर्न नसक्नेले यस्तो कार्यको नेतृत्व गरे, गोर्खाल्यण्डको आन्दोलनलाई जस्तै भडखालोमा होमिदिन्छन्। अध्ययन पनि जे पायो त्यही गरेको हुनु भएन। व्यस्थित भएर ठीक कुरा सही ढङगमा पढेको हुनु पर्छ। आफूले पढेको कुरा समाजको विकासमा लगाउनु सक्नु पर्छ।

शिक्षाको सुधार मात्र गर्ने क्रममा पनि हामी धेरै नै पछि छौँ। यो माथिको कुरा त एउटा सम्भावना मात्र हो। यो यात्राको एक कदम मात्रा हो। यस्ता हजारौं कदम मिलेर नै यात्रा सपूर्ण हुने हो। एक पछि अर्को कदम चाल्दै जानुपर्छ। सुधार नै नगरी शिक्षाको विकास गर्ने परिकल्पना गर्नु पनि लज्जास्पद हुन्छ। छताछुल्ल भइराखेको यो गोर्खे समाजलाई जतन गरी उठाएर मिलाउने दायित्व कसै न कसैले त लिनु नै पर्छ। गर्नु पर्ने कामहरू धेरै नै छन्। स्वाभिमानलाई नबेच्ने प्रत्येक गोर्खाको मनमा यो कुरा उब्जिएकै हुनुपर्छ। मन मात्र मिल्नेहरूको साथ धेर दिन टिक्दैन त्यसैले यस्ता कार्यमा विचार मिल्नेहरू अघि आएर सही रणनीतिहरू बनाई आफूले गर्न सक्ने कामहरू गर्न थाल्नुपर्छ। हाम्रो जातिको मुक्ति दिन कसै मसिहा आउनेवाला छैनन्। जे गर्नु पर्छ हामीले नै गर्नु पर्छ। यस्ता धेरै पाटाहरू छन् जुन कुरा गर्दा हामीले कसैको अघि हात फैलाउनु पर्दैन। हामीले हाम्रो आफ्नो दममा नै यस्ता कुराहरू गर्न सक्छौँ। यति हो विश्वास राखेर गर्दै जानु पर्छ। एकपल्ट ठेस् लागेर लड्दैमा हिँड्न छोड्नु हुँदैन। हाम्रो जातिको निकासको बाटो भनेको नै शिक्षा हो। र यसैलाई नै ध्यानकेन्द्रित गरेर सम्पूर्ण काम गर्नुपर्छ।

अन्तमा अहिलेसम्म गौण रूपमा रहेर पनि शिक्षाको गरीमालाई फिलिङ्गो सरह भए पनि जोगाइराख्ने प्रत्येकलाई नमन गर्दछु।


लेखक  मिजौराम विश्वविद्यालयका भौतिक विभागका शोधार्थी हुन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन