म ममता व्यानर्जीसित मिलेर जनताको शिर ठाडो पार्न आएको छु – विमल

खबरम्यागजिन डेस्क


दार्जिलिङको मोटरस्ट्याण्डबाट विमल गुरुङले आज भाजपा र विनय-अनितलाई तारो बनाए। दिल्लीबाट कोलकाताआएदेखि निरन्तर लगाइरहेको रट नै गुरुङको आजको सम्बोधनका विशेष बुँदाहरू थियो।

भाजपाका केन्द्रिय मन्त्रीहरूसित बारम्बार भेटेको, तीनजना सांसद दिएको, भाजपाले स्थायी राजनैतिक समाधान र 11 जातलाई जनजाति दिने भन्दै झुक्याएको अनि अन्तमा भाजपाका बङ्गाल प्रभारी कैलास विजय वर्गीय अनि गृहमन्त्री अमित शाहासित भेटेपछि मन टुटेको गुरुङले जनाए।

‘अमित शाहालाई भेट्न जाँदा आसमको चुनाउपछि मात्र स्थायी राजनैतिक समाधान र 11 जातलाई जनजातिको मुद्दाबारे विचार गर्छु भने,’ गुरुङले भने, ‘कैलास विजयवर्गीयसित भेट्न जाँदा ‘तपाईँहरूलाई दिल्लीमा सुरक्षा दिएकै छौं, नदिएको भए ममता व्यानर्जीले गोली हान्थ्यो’ भनेपछि मैले बुझें भाजपाले हामीलाई केवल प्रयोग गरेको थिएछ। यसैले उनीहरूलाई जवाब दिन मैले ममता व्यानर्जीसित हात मिलाएको हुँ।’

गुरुङको वक्तव्यको केन्द्रमा ‘आफूहरू भाजपाबाट ठगिएको र प्रयोग गरिएको’ नै थियो। भाजपाले धोका दिएपछि आफ्नै क्षेत्रमा बसेर राजनीति गर्न आफू आएको उले जनाए।

‘म ममता व्यानर्जीसित मिलेर जनताको शिर ठाडो पार्न आएको छु,’ गुरुङले भने, ‘पहाडमा त हामी चुनाउ जित्छौं नै भाजपालाई उत्तरबङ्गालका 18 वटा सिट पनि ममताको पक्षमा जिताएर जवाब दिनेछौं।’

उनले राजनीतिमा कोही साथी र दुश्मन नहुने भन्दै आफूहरू ममतालाई मुख्यमन्त्री बनाउन आएको अनि उत्तरबङ्गालमा भाजपालाई तहसनहस बन्न आएको जनाए।

उनले विनय तामाङ र अनित थापाले गद्दारी गरेको अनि जिटिएमा व्यापक भ्रष्टाचार गरेको पनि बताए। पुरानौ गर्जिने शैलीमा विमलले विनय-अनितलाई सक्दो गाली गरे।

‘विनयले मैले हरियो झण्डा नदेखाए विमल पहाड आउन सक्दैन भन्दै थिए, म आएँ,’ विमलले भने, ‘अब उनीहरूलाई मैले रातो झण्डा देखाएर पहाडबाट विदा गर्न नपरोस्। उनीहरूले अशान्ति गर्ने कोसिस गर्दैछ। म सरकारलाई अनुरोध गर्छु अब दस- पन्द्र दिनभित्रमा उनीहरू पहाडबाट निस्किएको हुनुपर्छ।’

उनले विनय-अनितहरूलाई झण्डा चोरेको आरोप पनि लगाए भने 17 सय करोडमा 70 पर्सेन्ट खाएर 30 पर्सेन्टको काम गरेको भन्दै सरकारले शीघ्र नै जाँच गर्नुपर्ने पनि जनाए।

उनले शिक्षक नियुक्तिमा धाँधली भइरहेको जनाउँदै सोधे,  ‘मदन तामाङ हत्याकाण्डमा संलग्न भएकहरूले शिक्षक नियुक्ति कसरी पायो?’

उनले पहाडले दागोपाप, जिटिए पाएको भए पनि तराई र डुवर्सले भने केही नपाएको भन्दै यसपल्ट तराई र डुवर्सको लागि आफूले ममता व्यानर्जीसित कुराकानी गरेको पनि जनाए। ‘ममतालाई डुवर्स र तराई मिलाएर डेभलोपमेन्ट काउन्सिल बनाउनुपर्छ भनेर हामीले कुरा राखेका छौं,’ गुरुङले भने, ‘पहाडको लागि स्थायी राजनैतिक समाधान गर्नुपर्छ।’

आफूहरूले सरकारसित यस्तै विषयहरूमा सम्झौता गरेको भन्दै गुरुङले थपे, हाम्रा दाजुभाईलाई लागेका सबै मुद्दाहरू हटाइदिनुपर्छ भनेका थियौं, सरकारले नोटिफिकेसन निकालेर रिहा गर्ने काम शुरु गरिसकेको छ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

विज्ञापन