ममताले गर्दैछिन् विस्थापितहरूमाथि लागेको मुद्दाको दुरुपयोग : काम नगरे जेलमा कोचिनेछ : रिजु विष्ट

खबरम्यागजिन डेस्क


दार्जिलिङका सांसद राजु विष्टले विस्थापितहरूलाई लागेको मुद्दाको दुरुपयोग गरिरहेको आरोप लगाएका छन्। एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘युवाहरूविरुद्ध तृणमूल सरकारले लगाएका सबै झुट्टा र बनावटी मुद्दाहरू फिर्ता लिइनु बाँकिनै रहनु दुःखद छ। तृणमूल ले मोर्चा विमल खेमालाई वास्तवमा अप्रत्यक्ष रूपमा जेलमा नै राख्नका लागि ती मुद्दाहरूको दुरुपयोग गर्नेछ र मोर्चा विमल खेमा का कसैले पनि तृणमूल ले भनेअनुसार काम नगर्ने बित्तिकै उनीहरूलाई फेरि जेलमा कोचिने छ।’

विष्टले  दार्जीलिङ पहाड़, तराई र डुवर्सका विस्थापित युवाहरू आफ्ना घर र परिवारमाझ फर्केकोमा  बधाई दिएका छन्। मोर्चा विमल खेमा ले तृणमूल सित हात मिलाउनुका सबै नकारात्मकताहरूमाझ, विस्थापित युवाहरू आफ्ना घर फर्कन सफल हुनु एकमात्र सकारात्मक पक्ष रहेको पनि बताएका छन्।

‘दुःखद के छ भने यो तृणमूल-मोर्चा विमल खेमा गठबन्धन दार्जीलिङ पहाड़, तराई र डुवर्सका जनताको भलाईको निम्ति नभएर, केही व्यक्तिहरूका राजनीतिक हितसाधनका लागि मात्र गरिएको हो,’ विष्टले भनेका छन्, ‘यो गठबन्धनका कारण क्षेत्रमा धेरैजनाका आत्मसम्मान र स्वाभिमानलाई राजनीतिक स्वार्थको बलिवेदीमा होमिएको छ।’

उनले मोर्चा विमल खेमा का नेताहरूले जिम्मेवारी पन्छाउँदै जनताविरुद्ध नृशंशता र दमनका कृत्यहरूलाई ढाकछोप गर्ने प्रयास गरिरहेको आरोप लगाउँदै भनेका छन्, ‘सत्य त के हो भने जनताले आफूविरुद्ध गरिएका ती कृत्यहरूलाई पटक्कै बिर्सेका छैनन् र तृणमूललाई कुनैपनि मूल्यमा माफ गर्ने मूडमा छैनन्।’

यो कुरा मोर्चा विमल खेमा का सबै नेताहरू तथा कार्यकर्ताहरू समेतलाई राम्ररी थाहा रहेको विष्टले जनाएका छन्। ‘गोर्खा मनले उनीहरूलाई तृणमूल को पक्षमा भोट हाल्ने अनुमति दिने छै,’ विष्टले भनेका छन्, ‘त्यसैले, आगामी चुनाउमा जनताले नै तृणमूल लाई दार्जीलिङ पहाड़मा मात्रै होइन सारा बङ्गालभर नराम्रो घतले पराजित गरेर तृणमूल को दमनको जवाफ दिनेछन्।’

दार्जीलिङको प्रतिनिधित्व गर्न संसदका लागि जनताले उनलाई निर्वाचित गरेको डेढ़ वर्ष मात्र पुगेको र आफू एक सांसदको रूपमा यी छोटो अवधिमा जनताका सपना र आकांक्षाहरू पूरा गर्नका लागि पूरा इमानदारिता अनि वचनबद्धताका साथ काम गर्दै आइरहेको दाबी पनि उनले गरेका छन्।

‘मोर्चा विमल खेमा नेताहरूद्वारा असन्तुष्टिका बिउहरू रोप्ने प्रयास गरिएतापनि, मेरो कार्यकाल पूरा हुनुअघि मैले गरेका सबै वाचाहरू पूरा गरेरनै देखाउनेछु,’ विष्टले भनेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन