भोलेन्टियर शिक्षकको भविष्य बिचल्नीमा किन?

शिक्षा सिरिज-2

पहाडमा धेरै नै खटिखाने मानिसहरू छन्। चियाबारीमा खुन डकारिञ्जेल खट्ने श्रमिकहरू, श्रीमतिको न्यानो अङ्गालो छोडेर बिहानीको ठिहिराउने जाडोमा पर्यटकलाई लगेर जाने चालकहरू वा ई०एम०आइ० को मारमा परेर दिन-रात नभनी गाडी कुदाउनेहरू, कुलेन बगानमा चाम्रा कुट्दा कति पल्ट नङ फक्ल्याक्क पार्नेहरू, आफ्नो अस्मितालाई जोखिममा पारेर विदेशतिर काम गर्न जाने आमाहरू, महानगरमा गाली खाँदै काम गर्ने बाबाहरू, ऐँजरो पलाएको ढुङ्गा फुटाउने हातहरू, खेती किसान-गर्नेहरू अनि यस्तै दु:ख गरेर आफ्नो नानीले आफूले भोगे झैं दु:ख-कष्टहरू भोग्नु नपरोस् भनेर जुन स्कूलमा पढ्न पठाएका हुन्छन् ती स्कूलहरूमा यसरी धाँधली भएर शिक्षकहरू नियुक्ति भएको देख्दा चित्त कसलाई पो दुख्दैन र? यो खट्ने जमातहरू बोलिहाल्दैनन् तर बोली फुट्यो भने आगो नै निकाल्छन्।


कमल भुजेल


पहाड भनौं वा जिटिए क्षेत्रमा अहिले शिक्षा-समस्या लिएर मान्छेहरूमा निकै जागरूकता आइरहेको छ। सही र गलतको भिन्नता बुझ्न थालेका छन्। हुन पनि शिक्षा एकदमै संवेदनशील विषय हो र यसमा सबैको भविष्य भर पर्ने गर्दछ। सचेत त हुनु नै पऱ्यो र त्यसैमा भोलेन्टियर शिक्षक नियुक्ति पनि एक हो।

भोलेन्टियर शिक्षक को हुन्?

(कस्तो हुनुपर्नेको परिभाषा यहाँ राख्न चाहिनँ)

      पहाडमा दार्जीलिङ गोर्खा पार्वत्य परिषद (DGHC) लादिए देखि नै सबै विभागमा स्थायी नियुक्ति बन्द हुन थालेको हो। यसको परिणामस्वरूप पहाडमा धेरै मात्रामा बेरोजगारहरू जन्मिएका हुन्। नियुक्ति नै बन्द भएपछि त परीक्षाहरूको निम्ति तयारी गर्न पनि छाडे। सानो-सानो स्तरको परीक्षा धरी नदिने लत लागे पछि WBCS, UPSC –हरूको त झनै तयारी कसरी हुने?

 घर जसरी पनि चलाउनु पर्ने वाध्यता र घिसिङकालको छ: इञ्च घटाउने डर सबैतिर व्याप्त भएकोले गर्दा पनि यस्ता अधिकारहरूका निम्ति कुनै हकको आवाज नै उठ्न सकेन। नेताका चम्चाहरूको लाइनमा पर्नेहरूले भने कमाइराखेका नै थिए। तर सोझो जनताहरू भने गरिबीको चपेटमा झनै जाँकिरहेका थिए। एकापट्टी कमाउनेहरूको जत्था र अर्को पट्टी गरिबीको  मार झेलिरहेकाहरू बिच निकै ठूलो खाडल नै बनियो। नेताहरू भ्रष्ट छन् भनेर जनतालाई पहिलेदेखि नै थाहा भएको कुरा हो। त्यसैले जनतामा पनि छिट्टै कसरी हुन्छ कमाइहाल्नु पर्छ, धनी भइहाल्नु पर्छ भन्ने सोचको बिजारोपन त्यस समयदेखि नै भएको हो।

यसैले गर्दा पहाडको हरेक सरकारी विभागहरूमा पोष्ट (रिक्त पद) रहे तापनि वैध नियुक्ति गरिएन अपितु एड-हकको सिस्टम शुरू गरियो। नहुनु भन्दा काना-मामा निको भनेर मानिसहरू एड-हकमा नै पस्नु वाध्य भए। यसरी विद्यालयमा पनि पार्टीद्वारा धेरैलाई हाले (नियुक्त गरे भन्न त मिलेन)। एड-हक, प्यारा, भोलेन्टियर गरेर के-के नामहरू दिएका हुन् तर व्यवस्थित ढङ्गमा भने कुनै पनि नियुक्ति गरेनन्।

यसरी रोजगारको अभावमा जहाँ पायो त्यहाँ नै, जे पायो त्यही काम गर्न थाले। वर्क ऐथिक्स बिना नै काम गर्न थाले। शैक्षिक संस्थानहरूमा पनि यसरी नै धेरै पसे। धेरैलाई शिक्षाबारे त्यस्तो केही जानकारी नै थिएन। धेरैलाई शिक्षक बनेर समाजको सेवा गर्नु नै थिएन तर घर चलाउनु थियो।

अलिक पैसा कमाएर शपिङ-मलहरूमा ब्राण्डेड लुगा किन्नु थियो, नयाँ गाडीमा कुकुर पनि ब्राण्डेड नै नानीको काखमा राखेर घुमाउनु मात्र थियो। सपनामा महङ्गो दामका साडीहरू थियो, पहाडमा चिसो हुँदा सिलीगडीमा न्यानो दिने घर चाहिएको थियो। यी मध्येमा केही अब्बल पनि थिए तर कालक्रममा यिनीहरूको पनि इच्छा-आकाङ्क्षाहरू त्यति स्कूल-म्यानेजमेन्टको दया-मायाले दिएको कम आयले पूर्ण हुने कुरा नै भएन। घरको छाक टार्नु अर्को समस्या थियो।  यस्तो चेपारोमा परेर शिक्षा प्रदान गर्न गाह्रो काम नै थियो।  अभावहरूको बिचमा आफूलाई अझ ज्ञान थपेर अप्डेट हुन सक्ने कुरा पनि सम्भव थिएन, सो फस्टाउन सकेनन्।

 बिस्तारै-बिस्तारै यसरी भोलेन्टियर बनेर पसेका शिक्षकहरू साइकोलोजिकली धेरै कमजोर बनी पढाउन नै नसक्ने स्थितिमा पुगे। धेरै शिक्षकहरूलाई मानसिक रोगले पनि ग्रस्त पारेको हो। यसको एउटा उदाहरण ती शिक्षकहरूले आफ्नो विद्यार्थीहरूलाई निकालेको कुण्ठा र भडासहरूबाट मात्र पनि बुझ्न सकिन्छ (अरू पनि छन्)।

शिक्षा सम्बन्धमा थोरै मानिसहरू मात्र शिक्षा कै खेती गर्न भनी आएका हुन्। इमान्दार शिक्षकहरूले राजनैतिक चापहरू पनि धेरै नै खप्नु परेको हो। धेरैले आफ्नै गाँउमा सरकारको  कुनै सहुलियत बिना पनि कति स्कूलहरू शुरू गरेर धेरैलाई शिक्षाको बाटोमा डोहोऱ्याएका पनि छन्।

यसरी बेरोजगार उन्मुख शिक्षित जमातले रोजगारको विकल्प नपाएर अप्नाएको बाटो भएर गयो भोलेन्टियर शिक्षक। तर पछि यसमा फर्जी सर्टिफिकेटधारीहरूको प्रवेशले अर्को आघात पुऱ्यायो। अन्य विभागहरूमा पनि यसरी पसेकाहरूको भने शिक्षकहरूको जस्तो स्थायीकरण भएन।  शिक्षकहरूको मात्र यसरी स्थायीकरण भएर ३ हजार, ४ हजार वेतन पाउनेले ३० हजार, ४० हजार पाउन थालेको देख्दा शैक्षिक क्षेत्रमा लगानी (घुस) लगाउनेको घुँइचो डरलाग्दो बढ्यो।  छिट्टो अनि सजिलो कमाउने साधन नै भएर गयो शिक्षक नियुक्ति। काम पाउनको लागि कतिले बिहेको मङ्गल सुत्र समेत बन्दकी राखे भने स्वाभिमानको त बलात्कार नै गरेर झण्डा पक्रिन वाध्य बनेको जमात हो भोलेन्टियर शिक्षक। जतिबेला जता बोलायो त्यता नै जमिने भीड बनेर गयो भोलेन्टियर शिक्षक।  भनौं भने हाम्रो समाजको सबैभन्दा खुशी, सम्वृद्ध, धन-सम्पत्तिले सम्पन्न हाँसिरहेको देखिने दु:खीहरूको पीडित जमात हो भोलेन्टियर शिक्षक।

भ्रममा भोलेन्टियर शिक्षक

यसरी बिना क्राइटेरिया नै फुतु-फुतु नियुक्ति पाएर शिक्षकहरू स्थायी भएको देख्दा सबैले यसलाई नै चोर बाटो अप्नाएर शिक्षक हुने भनी ठानिराखेका छन्। भ्रम के छ भने यसरी नियुक्ति पाए पछि यो नियुक्ति स्थायी हुन्छ। तर के साँच्चै नै यसरी पाएको नियुक्ति स्थायी हुन् त? कदापी होइन। यसरी भ्रममा बसेर नै पाएको नियुक्तिको पछि कुद्नेहरूको जमात धेरै नै छन्। 

यो राजनैतिक नियुक्ति हो, वैधानिक नियुक्ति होइन। यो नियुक्त गर्ने राजनैतिक पार्टीको वर्चस्व रहुँञ्जेलसम्म मात्र सुरक्षित रहन्छ। राजनैतिक पार्टी ढलपल हुने बितिक्कै यी नियुक्तिहरूलाई पनि ज्वरो आउन थाल्छ। ब्याङ्क खातामा सरकारले नै पैसा हालिदिए भने पनि यो वैधानिक कहिले पनि होइन। यो कुनै पनि बेला रद्द गर्न सकिन्छ (सर्तहरू अवश्य नै छन्)। जसले घुस खाएर भेरिफिकेसन गरिदिएका छन् उसलाई केस लगाएर काम बाँच्ने पनि त होइन। अप्ठ्यारो पो छ।

जोखिम के छ त?

यसरी मापदण्ड (क्राइटेरिया) नपुगी नियुक्ति पाएका शिक्षकहरूलाई कुनै पनि बेला रद्द गरेर निष्काशित (टर्मिनेसन) गर्न सक्छन्। टर्मिनेसन मात्र गरे भने पनि हुने तर टर्मिनेसनको साथमा नियुक्त भएदेखि एताको सबै वेतन फर्काउनु पर्ने स्थिति आए यत्रो जमातलाई आत्महत्या नै गर्ने बनाइदिन्छ। भोक मेटाउन कै लागि कति लगानी गरेर पाएको नियुक्ति पनि हातबाट गयो भने बाँच्ने आधार नै के रहन्छ र? 

नियुक्ति पाए पछि वेतन बढ्दा कसैले गाडी किने, कसैले घर बनाए भने कसैले लोनहरू लिएका हुन्छन्।  अचानक यी सबैको स्रोतको बाटो नै बन्द हुने स्थिति आए के गर्ने? सत्ता त कसैको ससुराली होइन जो रिझाउँदा रिझिने। जताबाट आफ्नो मतलब निस्किन्छ त्यही बाटो नै रोज्छ सरकारले। जनताले चाहेको खण्डमा यो अवैधानिक कुरा रद्द गर्नु ठूलो कुरा होइन। र अहिले जनताले पनि यही नै चाहिरहेका छन्।

  जतिले पनि नियुक्ति पाएका छन् वा पाउनको निम्ति लागी परेका छन् तिनीहरूले पनि यो सर्टकट बाटो देखेको मात्र हुन् तर तिनीहरूलाई पनि स्पष्ट रूपमा थाहा छ कि यो बाटो सही होइन भनेर तर पनि वाध्यता त छ।

फर्जी सर्टिफिकेट, ब्याक डेटेट एक्सपिरियन्स सर्टिफिकेटहरूको जब सत्यापन (भेरिफिकेसन) हुनथाल्छ तब त्यस स्कूलका विद्यार्थीहरूले नै पोल खोलिदिइ हाल्नेछन्। कोर्ट केश गरेर जुनी नै बित्छ। लहरा तान्दा पहरा नै गर्जन थाल्नेछ।

यसरी भविष्यमा गएर भडखालोमा जाँकिनु भन्दा शुरूमा नै जोगिएको राम्रो हो। सधैँ च्युउँच्युउँ हुँदै बाँच्नु पनि त गाह्रो हुन्छ। यसरी नियुक्ति पाए हुनु त केही क्षणको निम्ति घरको आर्थिक अवस्था दह्रिलो हुन्छ होला तर पछि जुन परिणति लिएर आउँछ त्यस समय क्षति भने सम्पूर्ण परिवारले नै भोग्नु पर्छ।

नियुक्ति रद्द हुने सम्भावना के हुन्?

यो नियुक्ति सरकारी अधिसुचना जारी नगरी मनमानीमा गरिएको नियुक्ति हो। कुनै तर्कसम्मत योजना पनि छैन। यो नियुक्ति बहुसंख्यामा (मास) भयो, अपवादमा एक-दुइवटा भएको होइन। कुन स्कूलमा कुन विषयको शिक्षक चाहिएको छ त्यो कतै पनि पूर्ण भएको छैन। सबैभन्दा अहम कुरा शिक्षकको मापदण्ड बिना नै नियुक्ति दिएको छ।

नियुक्ति दिने कुरामा अर्को कुरा घोटाला, धाँधली, घुसखोरीको अर्को समस्या देखा परेको छ भने खट्ने भोलेन्टियरको नाम हटाएर अन्यको नाम हालेको कुरा पनि प्रकाशमा आइरहेको छ। १०० मा ९९% सही र १% गलत भयो भने पनि रद्द त भइ नै हाल्ने हो।

विरोध कहाँबाट उठ्छ त?

पहाडमा धेरै नै खटिखाने मानिसहरू छन्। चियाबारीमा खुन डकारिञ्जेल खट्ने श्रमिकहरू, श्रीमतिको न्यानो अङ्गालो छोडेर बिहानीको ठिहिराउने जाडोमा पर्यटकलाई लगेर जाने चालकहरू वा ई०एम०आइ० को मारमा परेर दिन-रात नभनी गाडी कुदाउनेहरू, कुलेन बगानमा चाम्रा कुट्दा कति पल्ट नङ फक्ल्याक्क पार्नेहरू, आफ्नो अस्मितालाई जोखिममा पारेर विदेशतिर काम गर्न जाने आमाहरू, महानगरमा गाली खाँदै काम गर्ने बाबाहरू, ऐँजरो पलाएको ढुङ्गा फुटाउने हातहरू, खेती किसान-गर्नेहरू अनि यस्तै दु:ख गरेर आफ्नो नानीले आफूले भोगे झैं दु:ख-कष्टहरू भोग्नु नपरोस् भनेर जुन स्कूलमा पढ्न पठाएका हुन्छन् ती स्कूलहरूमा यसरी धाँधली भएर शिक्षकहरू नियुक्ति भएको देख्दा चित्त कसलाई पो दुख्दैन र? यो खट्ने जमातहरू बोलिहाल्दैनन् तर बोली फुट्यो भने आगो नै निकाल्छन्।

यी शिक्षकहरूले पाइरहेको तलब कुनै नेताको गोजीबाट दिएको पैसा होइन। यसरी आफ्नो जीवनमा सुख-दु:ख नभनी खट्नेहरूले कमाएको पैसाबाट उठाएको ट्याक्सको पैसा हो। अनि जसले ट्याक्स तिरे अनि तिनीहरूकै नानीहरूको भविष्य अन्धकार बनाइदिँदा यसको विरोध हुनु स्वभाविक नै हो। नानीहरूको भविष्यलाई अँध्यारो पारेर के०एफ०सी०, डोमिनोजहरू उज्यालो पार्नु भएन। यिनीहरूको छोरा-छोरीहरूले स्तरीय शिक्षा पनि पाउनु पर्छ र  योग्य भएको खण्डमा यिनीहरूले पनि घुसबिना नै काम पाउनु पर्छ।

र अहिले विरोध शुरू पनि भइ नै रहेको छ।

सिक्किम सरकारको वान फ्यामिली वान जब मा पनि १८ हजार अवैध नियुक्ति कै कारण हाईकोर्टमा केस पुग्दा सरकार विचलित छ।

बिहारको पनि अवैध शिक्षक नियुक्ति हुँदा ६५ जनाको सुप्रिम कोर्टले टर्मिनेसन अर्डर भर्खरै दियो।

बङ्गालमा पनि यस्ता धेरै केसहरू छन् र पहाडकै प्राइमरी स्कूलका अवैध नियुक्तिको पनि केस चलिनै राखेको छ।

गोर्खाल्याण्ड (चिन्हारी)-को नाममा कलङ्क हुनेछ

प्रश्न यो उठ्छ कि,

के गोर्खाहरू यति निष्क्रिय छन् कि एउटा काम पाउन धरी सही बाटो अप्नाउन सक्दैनन्?

के गोर्खाहरूमा क्षमता नै छैन कुनै परीक्षा पास गरेर नियुक्ति पाउने?

हुन त जिटिएका शासकलाई त नोमिनेट गरेर सिंहासनमा राखे भन्दैमा

सिङ्गो जाति कै अस्मितालाई पनि यसरी प्रतिस्पर्धा बिना नै नोमिनेट गर्नु दिइरहनु र?

लाज त झनै ती व्यक्तिहरूलाई हुन्छ जसले राष्ट्रीय स्तरको परीक्षा पास गरेर देशको विभिन्न स्थानमा कार्यरत छन्। तिनीहरू गोर्खा भएको नाताले पनि तिनीहरूको कौशलतामा पनि शङ्का उठ्न थाल्छ।

गोर्खाको चिन्हारी स्थापना गर्नु कै लागि यत्रो शहिदहरूले बलिदान दिएका हुन् भने हाम्रो शिक्षित जमात भने चोरबाटोबाट आफ्नो भविष्य निर्माण गर्न खोजेको देख्दा गोर्खा जातिको क्षमता माथि ठूलै प्रश्न उठ्छ।

यदि यो रद्द नभएर लागु भए, गोर्खा जातिको कौशलतामा कहिले नमेटिने कलङ्क नै लाग्ने छ, जुन पुर्खाले कमाएर गएको वीरताको ट्याग पनि धमिलिन थाल्छ।

प्रश्न ती शिक्षितहरूलाई

योग्यतालाई रोजेर जातिको गरिमा जोगाउने हो कि चोर बाटो रोजेर जातिलाई नमेटिने कलङ्क लगाउने हो?

के हो त निकासको बाटो?

यदि भोलेन्टियर शिक्षकहरू साँच्चै नै खट्ने शिक्षित नै हुन् भने यिनीहरूले जसरी पार्टीको जनसभाहरूमा आफ्नो समय लगानी गरिरहेका छन्, जुलुस तिर नारा लगाइरहेका छन् त्यहिँ समय सही कुरामा लगाउनु पऱ्यो। राष्ट्रीय स्तरको परीक्षाहरू पास गरेर नियुक्ति पाउन सक्ने योग्य हुनुपर्छ। स्थायीकरणको माग शैक्षिक संस्थानहरूमा मात्र होइन सबै विभागमा गर्नुपर्छ। रिजिअनल एस०एस०सी० (क्षेत्रीय स्कूल सर्विस कमिशन) मात्र होइन सबै विभागको रिक्त पद हेरेर सरकारी अधिसुचना जारी गरेर (स्टाफ सेलेक्शन बोर्डहरूबाट) परीक्षा अनि अन्तर्वार्ताको पारदर्शी व्यवस्था मिलाएर मात्र नियुक्ति गरिनु पर्ने क्षेत्रीय व्यवस्थाहरू लागु हुनुपर्छ भनी माग राख्नुपर्छ।

कार्यन्वयन नहुञ्जेलसम्म चाप दिइबस्नु पर्छ। काम हाम्रै मान्छेले पाउनु पर्छ तर ढङ्गको मान्छेले ढङ्गमा नै काम पाउनु पर्छ। वैधानिक रूपमा हुनुपर्छ।

 धाँधली गरेर बनेका नेता भनौँदाहरूलाई “मैले काम दिएको” भनेर धाक पिट्नु दिनु भएन। काम पाउनेछौं त आफ्नो योग्यता र दममा पाउनेछौं नभए पाँउदैनौं र कसैको दया-मायाले होइन भन्नु सक्नु पर्छ।

यी शिक्षित जमातले आफ्नो शिक्षाको लगानी ठीक कुरामा ठीक ढङ्गले लगाए भविष्य सुनिश्चित छ। नभए सरकारले डमरू बजाइनै रहन्छ, आफूहरू जीवन भरि नै मन नभइ-नभइ पनि नाचिनै रहनु पर्छ। गट्ठे स्वार्थी नेताहरूले त सजिलै आफैलाई बेचे भन्दैमा शिक्षित जमातले पनि त्यही बाटो रोज्नु हुँदैन।

कुरा सही र गलतको हो। आफूले जुन संस्कार पायौँ त्यसलाई तोडेर नयाँ संस्कार बनाउने प्रश्न हो। हामीले चाहेको परिवर्तन हो। र कुनै पनि परिवर्तन सजिलै आउँदैन। अहिलेको लडाई हामीले चिन्हारी मात्र जोगाउनु होइन तर हामीले हाम्रो “स्वाभिमान” पनि जोगाउनु पर्नेछ। शिक्षित जमातको लडाईँ भनेको “स्वाभिमान” को लडाईँ हो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन