
खबरम्यागजिन डेस्क
विगत केही सालदेखि पश्चिम बङ्गालको राजनैतिक उतारचडावलाई निजकबाट अवलोकन गर्ने कसैलाई शायदै तृणमूल काङ्ग्रेसका नेताहरूमाथि नारद न्यूज च्यानलले चलाएको स्टीङ अपरेशनबारे थाहा नहोला। तृणमूल काङ्ग्रेसका केही उच्च अधिकारी अनि नेतालाई केन्द्रमा राखेर म्याथ्यू सामुएल्सले गरेको उक्त स्टीङमा दलका अनेक नेता सहित एक पुलिस अधिकारीलाई एक निजि कम्पनीलाई अनाधिकारिक अनुग्रह प्रदान गर्ने सर्तमा नगद घुस थाप्दै गरेको फेला पारिएको थियो।
उक्त स्टीङ अपरेशनमा क्यामेरा अगाडि घुस थाप्दै गरेको फेला परेका तमाम नेतामध्ये सुवेन्दु अधिकारी अनि मुकुल रोय पनि सामेल थिए। उल्लेखनीय छ, मुकुल रोयले सन् २०१७ मा भाजपाको दामन थामिसकेका छन्। अर्कोतिर केही दिनदेखि लगातार समाचारमा छाइरहेका सुवेन्दु अधिकारी बितेको शनिबार मात्र गृहमन्त्री अमित शाहको उपस्थितिमा भाजपामा सामेल भइसकेका छन्।
पश्चिम बङ्गाल भाजपाको आधिकारिक फेसबुक पेजको टाइमलाइनमा सन् २०१६ को त्यस स्टीङ अपरेशनको आधारमा आरोपित तृणमूल नेताहरूको सूचि अहिलेसम्म यथावत छ। अन्य नेताहरूसँगसँगै १४ मार्च २०१६ को त्यस फेसबुक पोस्टमा अहिले भाजपामा सामेल हुने मुकुल रोय अनि सुवेन्दु अधिकारीको पनि नाम सामेल छ।
सन् २०१६ मा उक्त भिडियो भाजपाको आधिकारिक यूट्युब च्यानलमा आएपछि अनेक अन्तर्वाताहरूमा अमित शाहले त्यसको उल्लेख गर्दै तत्कालिन तृणमूल सरकारलाई निशाना साधेका थिए।
स्टीङ अपरेशनको भिडियो सामाजिक सञ्जालतिर व्यापक रूपमा फैलिएपछि उक्त केस सिबिआइले सन् २०१७ मा आफ्नो हातमा लिएको थियो। अनलाइन वेब पोर्टल द प्रिन्टको २१ अक्टोबर २०२० मा छापिएको एक रिपोर्ट अनुसार ओरोपीहरूलाई सजाय दिन अगाडि सिबिआइको हातमा लोकसभा स्पीकरको अनुमोदन आउन अझ बाँकी छ।
सुवेन्दु अनि मुकुल, यी दुवै नेता भाजपामा सामेल भइसकेपछि सिबिआइसम्म लोकसभा स्पीकरको अनुमोदन आउने हो कि होइन त्यसबारे अहिले सबैले नजर लगाइराखेका छन्। सत्ताधारी दलको हस्तक्षेपबिना पारदर्शी तरिकाले भारतको संसदप्रणाली चल्ने हो कि होइन भन्ने कुरा यही केसले स्पष्ट गराइदिने विश्लेषकहरूको मत छ।
कतै यही स्टीङ भिडियोको आडमा ब्ल्याकमेलिङ गरेर भाजपाले यी दुइ नेताहरूलाई दल बदल्न बाध्य गरेका त होइनन्? भन्ने प्रश्न पनि अहिले एकाध मिडिया हाउसहरूबाट उठ्न थालेको छ।
बितेको शनिबार आफ्नो गढ मानिने मिदनापुरको भाजपा ऱ्यालीबाट अमित शाहको उपस्थितिमा सुवेन्दु अधिकारीले भाजपामा सामेल भएको आधिकारिक घोषणा गरेलगत्तै अहिले बङ्गालको राजनीतिमा उक्त स्टीङ भिडियो एकाएक चर्चाको विषय बनेको छ।
हिज बेलुकी मात्र भाजपाको आधिकारिक यूट्युब च्यानलबाट उक्त भिडियो डिलिट गरिएपछि विवाद एकाएक चुलिएर गइरहेको छ। तृणमूल सांसद महुआ मोइत्राले यही आधारमा भाजपामाथि खनिनन शुरू गरेकी छिन्।
भाजपालाई घेर्दै महुआ मोइत्राले एक ट्विटमार्फत भनेकी छिन्, ‘भाजपाले कथित रूपमा नारद स्टिङ भिडियो आफ्नो युट्यूब च्यालनबाट हटाइसकेको छ। अमित शाहको बङ्गालमा कपडा धुने जादुई अभियान जारी छ। भाजपामा सामेल हुनुहोस् अनि धुलाई पछि स्वच्छ बनेर निस्कनुहोस्।’
राज्यमा विधानसभा चुनाव हुन लगभग छ महिना अगावै राजनैतिक घमासान तीब्र भइरहेको छ। यसपालि भाजपा अनि तृणमूलबिच सिधा टक्कर हुने तय छ। भाजपाको विजय रथ रोक्न तृणमूल काङ्ग्रेस अनेक जुक्ति अप्नाइरहेको छ।
हाल तृणमूल नेतृत्वमाथि गुनासो पोख्दै नेताहरूको भाजपामा सामेल हुने क्रम जारी छ जो तृणमूलको लागि समस्याको विषय बनिरहेको छ।
यद्यपी आफ्नो कमजोरीलाई ढाकछोप गर्न तृणमूलका केही नेतृत्व प्रेस कन्फरेन्सतिर आफ्नो बाक्लो उपस्थिति दिइरहेका छन्।
‘दलबाट धोकेबाजहरूको सफाया भइसकेको छ। पार्टी अब बिल्कुल भाइरसमुक्त अवस्थामा छ। ती धोकेबाजहरूलाई धन्यवाद दिन आज हामी विराट खुशी मनाउने तयारीमा छौं’, गत शनिबार सुवेन्दु अधिकारी भाजपामा सामेल भइसकेपछि तृणमूलको मदन मित्रले पत्रकारहरूसँग भने।
तृणमूलले सुवेन्दु अधिकारीको अनुपस्थितिले पार्टीलाई कुनै असर नगर्ने कुराको जिकिर बारबार गरिरहेको छ। पार्टीमा सामेल भइसकेपछि यता बङ्गाल भाजपा गुटमा पनि सुवेन्दुमाथि केही असन्तुष्टीहरू देखा परेका छन्। ‘तृणमूलको भ्रष्टाचारी नेतालाई पार्टीमा ठाउँ दिनुहुन्न’ भन्ने मत जाहेर गर्दै स्वयं भाजपाका भातृ सङ्गठनहरूले राज्यको केही ठाउँमा सुवेन्दु विरुद्ध ऱ्याली निकालेको खबर केही समाचारदाताले अगाडि ल्याएका छन्।
चलिरहेको राजनैतिक गतिविधिमाथि राज्यको कम्युनिष्ट पार्टीले पनि आफ्नो प्रतिक्रिया जनाएको छ। सारदा घोटाला अनि नारद भिडियो अगाडि आपपछि बङ्गालमा व्यापक रूपमा चलिरहेको लामो नाटकको अन्त्य भएको पार्टीले दावी गरेको छ।
‘तृणमूलका केही नेता आज आफ्नो अनुहार भाजपातिर फर्काइरहेका छन्। तिनीहरू सबै सारदा अनि नारद घोटालाका आरोपीहरू हुन्’, सिपिआइ(एम) राज्य सचिव डा. सुर्य कान्त मिश्राले प्रेस अगाडि भने।