दार्जिलिङ पार्वत्य विश्वविद्यालयका उपकुलपतिको पदमा डा. ढकाल र डा. छेत्रीको साटो अरुकै नाम : ‘घोषणा गरिएको उपकुलपतिको नाम परिवर्तन गोर्खालाई स्वीकार छैन’-: बी पी बजगाईं

खबरम्यागजिन डेस्क


गत शनिबार बिहान पश्चिम बङ्गाल राज्यका राज्यपाल तथा राज्य विश्वविद्यालयका कुलपति जगदीप धनकरले कालेबुङ महाविद्यालयका प्राचार्य डा. राजेन्द्र प्रसाद ढकाललाई दार्जिलिङ पार्वत्य विश्वविद्यालयका उपकुलपति अनि प्रसन्नदेव महिला महाविद्यालय, जलपाइगढीका प्राचार्य डा. शान्ति छेत्रीलाई अलिपुरद्वार विश्वविद्यालयमा उपकुलपतिको रूपमा घोषणा गरेका थिए।

हिजो सोमबार बेलुकी डा० शान्ति छेत्रीको बदलीमा अलीपुरद्वार विश्वविद्यालयको उपकुलपति उत्तर बङ्गाल विश्वविद्यालय रसायन विभागको अध्यापक महेन्द्रनाथ रायको नाम राज्य सरकारले घोषणा गरेको आजको उत्तरबङ्ग संवादले समाचार प्रकाशित गरेको छ।

 यो जानकारी विकास भवनबाट निर्देशिका जारी गरेर राज्यको उच्च शिक्षा कार्यालयको सहकारी सचिव तथा ल अफिसरले दिएको संवादले उल्लेख गरेको छ।  समाचारले अझै बताएको छ,  डा० ढकाललाई पनि अहिले नै नियुक्ति पत्र पठाइने छैन।  त्यसको साटो दार्जीलिङ हिल विश्वविद्यालयको उपकुलपति उत्तरबङ्गाल विश्वविद्यालयको रेजिस्टार दिलिप कुमार सरकारलाई बनाउन सकिने सम्भावना छ।

उत्तरबङ्ग संवादको यस्तो समाचार आएपछि राजनैतिक क्याटालिष्ट बीपी बजगाईँले यसको विरोध गरेका छन्।

‘यो समाचार हामी समस्त गोर्खाको निम्ति पीडादायक समाचार हो अनि राज्य सरकारको यस निर्णयले राज्यसत्ताको हामीप्रतिको हेपाई अनि बलमिचाईलाई स्पष्ट पारेको छ,’ बजगाईँले खबरम्यागजिनसित भनेका छन्, ‘गोर्खा विद्वानहरूको मुल्याङ्कन गर्न राज्य सरकारले कहिल्यै चाहेन। जसको कारणले हामीले युगौंदेखि अस्मिताको र पहिचानको मुद्दा लडिरहेका छौं।’

बजगाईँले अझ भनेका छन्, ‘राज्य सरकारको यस कोल्टे नीतिको विरोध केवल शिक्षा क्षेत्रका मानिसहरूले मात्रै होइन, गोर्खा जातिको हक र हीतको निम्ति उभिएको हाँक पिट्ने पहाड, तराई अनि डुवर्सका जम्मै राजनैतिक दलहरू लगायत सामाजिक सङ्घ संस्थाहरूले राज्य सरकारको यस निर्णयको विरोध गर्नुपर्छ भनि म आहवान गर्न चाहन्छु। हामीलाई यसरी हेप्दा हामी मौन बस्यौं भने भोलि जन्मने हाम्रा शिशुले पनि हामीलाई धिक्कार्नेछन्। भोलिको चुनावको राजनीतिलाई हेरेर होइन, आजको अस्मिता उभ्याउनपर्ने आवश्यकतालाई हेरेर समस्त भारतीय  गोर्खा एक भएर राज्यको यस निर्णयको विरोध गरौँ। यस विरोधको निम्ति म पहाडका सबै राजनैतिक दलहरू लगायत टीएमसीका गोर्खा नेताहरू अनि कार्यकर्ताहरू समेतलाई आव्हान गर्दछु। पहिले तपाईंहरू गोर्खा हो अनि पछि मात्र पार्टी कार्यकर्ता हो, हामी कसैले पनि कुनै पनि राजनीति किन नगरौं तर यस सत्यलाई हामीले भुल्नु हुँदैन। आउनुहोस, हाम्रो विरोधको स्वर एक बनाउँ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन