पिपिएसबारे अनित थापाको आयो बयान : भने- ‘जे पनि होस्, पहाडको लागि राम्रो होस्’

खबरम्यागजिन डेस्क


जिटिए अध्यक्ष अनित थापाले स्थायी राजनैतिक समाधानबारे आफ्नो स्पष्ट धारणा राखेका छन्। अहिले तृणमूल काङ्ग्रेस अनि भाजपा दुवैले नै स्थायी राजनैतिक समाधान गर्ने भनिरहेको छ। ‘सबै पार्टीको आआफ्नो मुद्दा हुन्छ। तर जसले जे गरे पनि पहाडको निम्ति राम्रो होस्,’ थापाले भनेका छन्।

उनको कुरा स्पष्ट छ, स्थायी राजनैतिक समाधान भयो भने त्यसले पहाडका जनताको आकांक्षा बोकेको हुनुपर्छ। अर्कोतिर उनले तृणमूल काङ्ग्रेससितको आफूहरूको गठबन्धनबारे पनि खुलाएका छन्।

‘लोकसभा चुनाउ तृणमूल काङ्ग्रेसले लड्नेछ। गोर्खा जनमुक्ति मोर्चाले सघाउँछ,’ थापाले स्पष्ट पारे, ‘अन्य चुनावमा जनमुक्ति मोर्चाको उम्मेद्वारलाई तृणमूलले सघाउँछ।’ तृणमूलसित विनय खेमा मोर्चाको गठबन्धन सुझबुझ स्पष्ट छ। यता विनय खेमा मोर्चाको गठबन्धन सुझबुझ भने अहिलेसम्म स्पष्ट छैन।

यस सम्बन्धमा पनि थापाले भने, ‘मैले ममता व्यानर्जी अनि उहाँहरू (विमल) बसेर बैठक गरेको कहीँ देखेको छैन। अहिलेसम्म तृणमूलसितको उनीहरूको सम्बन्धबारे जेजति खबरहरू आइरहेका छन्, ती सबै मिडिया र उनीहरूकै बयान मात्र हो।’

थापाले छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दालाई चुनावी गोटी बनाउनु नै मुद्दा र जनतामाथि छलछाम गर्नु रहेको जनाएका छन्। ‘यदि भोटै हाल्दा गोर्खाल्याण्ड पाउने भए अहिले हामीसित १० वटा गोर्खाल्याण्ड हुनेथियो,’ थापाले भने, ‘नेताले गोर्खाल्याण्डजस्तो मुद्दालाई चौकीमा बस्ने हतियारकोरुपमा प्रयोग गरेकैले हामी सफल नभएका हौं। मैले यही वास्तविकता बुझेपछि छुट्टै राज्यको लागि नयाँ गोरेटो बनाउनु चाहेको हुँ।’

उनीअनुसार राजनैतिक दलले गोर्खाल्याण्डको मुद्दालाई प्रयोग गरेर ढाँटछलको राजनीति गर्नु हुँदैन। बरु बौद्धिकहरुको समूहले यसलाई बोकेर जानुपर्छ अनि सबै दलले उनीहरूलाई सहयोग पुऱ्याउनुपर्छ। जसरी भाषा मान्यताको लागि मुद्दालाई राष्ट्रीयकरण गरेर लगियो, गोर्खाल्याण्डको मुद्दालाई पनि उसरी नै लैजानुपर्छ। बुझ्नुपर्छ, जुन दलले गोर्खाल्याण्ड बोक्छ, उसले फेरि पनि धोका दिने तयारी गरिरहेको छ।

‘यस्तो मनोविज्ञान तयार गरिएको छ कि गोर्खाल्याण्ड भनेन भने भोटै पाइँदैन,’ थापाले भने, ‘यो सत्तामा पुग्न जानिबुझी तयार पारिएको नोविज्ञान हो। म त्यसै मनोविज्ञान तोड्न निस्किएको हुँ। गोर्खाल्याण्ड भनेन भने भोट पाइँदैन भनेर सबै नेता डराउँछन्। यो सत्तालोलुपता हो। यसै मानसिकताले पहाडलाई नै बिगर्दैछ। म स्पष्ट छु, म राजनैतिक दलको नेता हुँ, म मुद्दा ओगट्न चाहन्न तर बौद्धिकहरुहरूलाई मैले सक्ने सबै सहयोग गर्नेछु।’

थापाले स्पष्ट पारे, ‘२१ को चुनाउ विकास, रोजगार अनि पर्जा पट्टाको निम्ति लड्नुपर्ने चुनाउ हो।’

यता विमल गुरुङले अनित थापाहरूलाई धम्की दिएका छन्। विमलले रातो झण्डा लगाएर पहाडबाट खेदाउने  भन्दै सरकारलाई 10/15 दिनभित्र अनित थापाहरूलाई पदच्युत गर्नुपर्ने माग गरेका छन्।

यसैबीच कालेबुङका वार्डपार्षद कुनाल प्रधानको विमल गुरुङ र आफू दुवैलाई निधारमा गोली ठोक्ने धम्कीपूर्ण भिडियो भाइरल बनेको छ। अनित थापाले यस सम्बन्धमा पनि आफ्नो वयान दिएका छन्।

‘युवा हो, तातो रगत बग्छ। कुनाललाई विमल गुरूङको कुरा मन नपरेर यस्तो बोलेका होलान्। तर उनको प्रतिक्रिया दिने ढङ्ग ठीक थिएन’, थापाले भनेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन