प्रशान्त किशोरको टाउको दुखाई शुरु : विमल-विनय मिलाउन ममताले दिइन् पीकेलाई चाप 

खबरम्यागजिन डेस्क


प्रशान्त किशोरसित बिमल गुरुङले दिल्लीमा नै भेटेका थिए। विभिन्न बङ्गला दैनिक र बङ्गला अनलाइन पोर्टलहरूले प्रशान्त किशोर र विमल गुरुङको सम्बन्धहरूबारे लेख्दै आइरहेको छ। ती नै खबरहरूअनुसार जब विमल गुरुङलाई कोलकाता ल्याइयो एकजना मन्त्री अनि प्रशान्त किशोरले नै गाइड गरेका थिए। खासगरी प्रशान्त किशोरले करोडौं रुपियाँको डिलमा  तृणमूल काङ्ग्रेसको रणनीति बनाउने जिम्मेवारी लिएपछि नै विमल गुरुङसित सम्बन्ध बनाएका हुन्।प्रशान्त किशोरलाई विमल गुरुङले तराई डुवर्सको 16 वटा सिट जिताउने बचनबद्धता प्रकट गरेका छन्।कोलकाताका सरकारी इन्टेलेजेन्सिया, पत्रकार र बौद्धिकहरू ठान्छन्, उत्तरबङ्गालका लगभग 16 वटा सिटमा गोर्खा भोटको वर्चस्व छ।

यी सिटहरू जित्नलाई हो भने त्यहाँका प्रभुत्वशाली गोर्खा नेतालाई नै प्रयोग गर्न सकिन्छ। विभिन्न सोर्सहरूको परामर्शमा पिके टिमले छुट्टै राज्य गोर्खाल्याण्डको मुद्द बोकेको कारण त्यस्तो प्रभुत्वशाली नेता विमल गुरुङ नै पाए। जुन विमल गुरुङ दिल्लीमा भाजपाले आफूहरूको मुद्दा लम्ब्याएको कारण निक्कै सङ्कटमा थिए। पिकेसित भेट गरेपछि विमल गुरुङले भाजपाका वरिष्ट नेताहरू भेटे र उनीहरूसित पक्कापक्की आश्वासन मागे। तर अमित शाहले आसम चुनाउपछि मात्र स्थायी राजनैतिक समाधान र 11 जातलाई जनजाति दिने मुद्दाबारे काम गर्न सकिने चुडान्त निर्णय सुनाए। त्यसपछि कैलाश बिजयवर्गीयसित तर्तातर्की नै गरे।विजयवर्गीयले धैर्य गर्ने आग्रह गरे तर विमल गुरुङ पटक्कै मानेनन्।

तर्कातर्कीमा विजयवर्गीयले ‘तपाईँहरू भाजपाको कारण नै सुरक्षित हुनुहुन्छ। यो सुरक्षा नगरेको भए ममता व्यानर्जीले दिल्लीमा नै तपाईँलाई गोली ठोक्थ्यो। आत्तिएर हुन्न धैर्य गर्नुस्’ भनिदिए।तर विमल गुरुङ रिसाए। गुरुङले ‘यसरी हाम्रो मुद्दालाई लम्ब्याएर राख्नु सही होइन। यस्तै हो भने नतिजा राम्रो हुँदैन। यसपालिको भोटमा त्यसको रिजल्ट पाउनुसक्नुहुनेछ’भन्ने चेतावनीसमेत दिए।विमलको चेतावनी पिकेसित गरेको तराई-डुवर्सको 16 सिटको डिलकै उपज थियो।प्रशान्त किशोरलाई तराई डुवर्सको 16 वटा सिट जसलाई कोलकाताले गोर्खा भोटको वर्चस्व रहेको क्षेत्र मान्छ, त्यहाँ गोर्खा भोटले भाजपालाई हराउने बचनबद्धता प्रकट गरेपछि विमललाई प्रशान्त किशोरले नै कोलकाता झिकाएका हुन्।

विमललाई कोलकाता झिकाउन अघि प्रशान्त किशोर र अभिषेक व्यानर्जीले विमल खेमाका नेताहरूसित सिलगढीमा बैठकसमेत गरेका थिए। यही बैठकपछि र विमललाई कोलकाता झिकाउन अघि ममता व्यानर्जीले विनय तामाङ र अनित थापासित राय मागेकी थिइन्।विनय-अनितले विमललाई कि त कोलकाता कि त डुवर्स तराईमा राखेर सरकारले प्रयोग गर्न सक्ने परामर्श दिएका थिए। ममता व्यानर्जीले दुवैको परामर्श मानेकी थिइन्।एकजना राज्यमन्त्री एक महिनादेखि गुरुङसित सम्पर्कमा थिए।

जसको नेतृत्वमा तृणमूल काङ्ग्रेसका तल्लो तहका नेताहरूसित विमल गुरुङले झारखण्डमा बैठक पनि गरेका थिए। कोलकाता छिर्ने वित्तिकै विमल गुरुङ राजभवनमा एक मन्त्री क्वार्टरमा गए। प्रशान्त किशोर त्यहीँ थिए। पिकेले नै मोर्चाको प्रेस कन्फरेन्स मिलाएका हुन्। सोही प्रेस कन्फरेन्सबाट विमल गुरुङले ममतालाई जिताउने र भाजपालाई हराउने प्रतिबद्धता जाहेर गरेका थिए।विमलको इच्छा गोर्खाभवनमा पत्रकार सम्मेलन गर्नु थियो। तर गेट खोलिएन। त्यसो हुँदा दुइहप्ता अघि नै बुकिङ गरिसकेको ललित ग्रेट ईस्टर्न होटेलमा पुगे। र त्यहीँबाट विमल गुरुङले प्रेस कन्फरेन्स गरेका हुन्।

सिलगढीमा विमल गुरुङको जनसभापछि पहाड, तराई र डुवर्सका गोर्खा भोटर्सलाई प्रभावमा राख्न पहाड छिर्नैपर्ने अडान विमल गुरुङले राखेका हुन्।विमल गुरुङलाई तराई-डुवर्सकै 16 वटा सिटको समिकरण मिलाउन वा त्यहाँ गोर्खा भोटलाई प्रभावित पार्न झिकाएको भए पनि पहाडका नेता पहाडै नछिर्दा भोटर्समा नकरात्मक प्रभाव पर्ने देखेर विमललाई पहाडमा जनसभा गर्न दिइयो।तर विमल गुरुङले पहाड छिर्ने वित्तिकै एउटै हतियारले दुइ शिकार गर्ने कोसिस गरे।उनले विनय-अनितलाई जमेर गालीगलौज गरे। यहाँसम्म कि 15 दिनभित्रमा उनीहरूलाई पहाडबाट हटाउनुपर्ने मागसमेत गरे।

विमलको पहाड इन्ट्रीबारे विनय अनितको ममता व्यानर्जीसित कुनै सुझबुझ थिएन। किन भने विनय-अनितसित व्यानर्जीले परामर्श माग्दा विमललाई कि त कोलकाता कि त डुवर्स तराईमा राखेर सरकारले प्रयोग गर्न सक्ने परामर्श दिएका थिए। ममता व्यानर्जीले दुवैको परामर्श मानेकी थिइन्।तर विमलले पहाड चढ्ने वित्तिकै भाका फेरेपछि प्रशान्त किशोरको टाउको दुखाई शुरु भएको छ।

यता  राज्य पुलिसले नवान्नमा दुइगुटबीचको यस्तो मनोमालिन्यले पहाडमा अशन्ति हुनसक्ने रिपोर्ट बुझाइसकेको छ। सोही रिपोर्टअनुसार ममता व्यानर्जीले पहाडमा हुनसक्ने अशान्ति रोक्न र विमल-विनयबीचको दुरी मेट्न प्रशान्त किशोरलाई दवाब दिएकी छन्।बङ्गला पत्रपत्रिका र पोर्टलहरूअनुसार राज्य पुलिसले पहाडको वर्तमान हावाबारे पठाएको रिपोर्ट पाउने वित्तिकै प्रशान्त किशोरले विनय-अनितलाई कलकत्ता बोलाएका हुन्। पिकेले दुवैलाई विमलसित मिलेर काम गर्ने आग्रह गरेका थिए। तर विनय खेमाले त्यसलाई सोझै खारेज गरिदिए।

विनय-अनित फर्किने वित्तिकै सोही दिन प्रशान्त किशोरले रोशन गिरीलाई कोलकाता बोलाए।गिरीलाई पनि पिकेले विमललाई विनयसित हात मिलाउन आग्रह गरे।गिरीले विनय-अनितसित हात मिलाउन आफूहरूलाई कुनै आपत्ति नरहेको तर विमललाई उनीहरूले नेता स्वीकर्नुपर्ने अड्को राखे।गिरी र विनय-अनितको यस्तो खिचातानीबीच प्रशान्त किशोरको टाउको दुखाइ शुरु भएको छ।पिके टिमले विनय-अनितलाई मनाउन अनेकौंपल्ट फोन गरिसकेको छ। तर विनय-अनितले आफ्नो पुरानै अडान छोडेका छैनन्।

यता जनवरीमा मुख्यमन्त्रीले क्षेत्रीय दलहरूको बैठक बोलाउने भएकी छन्। प्रशान्त किशोरलाई त्यो बैठकअघि नै विनय-विमलको झमेला मिलाउन चाप दिएकी छन्। विभिन्न बङ्गला पत्रपत्रिका अनि पोर्टलहरू अनुसार कोलकातामा हुने क्षेत्रीय दलको बैठक अघि नै पिके र अभिषेक व्यानर्जी सिलगढी आउने बताइएको छ।

उत्तरबङ्गालका तृणमूल नेताहरूले विमल गुरुङले तृणमूल काङ्ग्रेससित हात मिलाए पनि जनसभामा बारम्बार गोर्खाल्याण्डको मुद्दा उठाएकोले कार्यकर्ताहरूले बङ्गाल विभाजनकारी नीति र बोली बोकेका विमल गुरुङको कारण अगोर्खा र बङ्गाल विभाजन नचाहने भोटर्सहरू बिच्किएको रिपोर्ट बुझाइसकेका छन्।पिके र व्यानर्जीले पहिले तृणमूल नेताहरूसित यसैबारे बैठक गर्ने भएको र त्यसपछि विमल-विनय समूहसित बैठक गर्ने भएको बताइएको छ।यहाँ पनि कुरा नमिले उनीहरूलाई कोलकाता नै बोलाइनेसमेत पत्रपत्रिकाहरूले लेखेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन