11 जातलाई जनजाति : भाजपा, राजु विष्ट र गठबन्धनको एसिडटेस्ट : धोका भए गोर्खाले माफ गर्नेछैन

निरज जिम्बा भन्छन्, ‘विमल गुरुङले त तीन वर्ष दलसिङ ढुङ्गामा ओथ्रा बसेछन्, हामी यसपालि अण्डामा नै ओथ्रा बसेका छौं।’ राजु विष्ट भन्छन्, ‘यतिञ्जेल मैले किन काम गर्न सकिन, त्यो बताइरहन पर्दैन। तर अहिले त्यो बाधा हट्यो। विधानसभा चुनाउभन्दा अघि राम्रो खबर आउनेछ।’

विमल गुरुङले केन्द्रमा सर्वदलीय शक्ति लिएर दवाब बनाउनको साटो छुट्टै राज्य गोर्खाल्याण्ड विरोधी ममतालाई जिताउन प्रशान्त किशोरसित अनुबन्ध गरेपछि राजु विष्टलाई काम गर्ने फाटक खुलिएको छ। विष्ट निरन्तर सर्वदलीय टोली बोकेर केन्द्रका मन्त्रीहरू भेट्ने काममा जुटिसकेका छन्। राज्यकेन्द्रिय गृहमन्त्री जे.किसन रेड्डीपछि केन्द्रिय गृहमन्त्री अमित शाहालाई भेटिसकेका छन्।

यी भेटहरूबाट दुइवटा प्रमुख आश्वासन अघि आएको छ।

विधानसभा चुनाउअघि गोर्खाका 11 जातलाई जनजातिको मर्यादा दिने र चुनाउपछि स्थायी राजनैतिक समाधान गरिने। केन्द्रिय मन्त्री भेटेर आउनेहरूले पनि यही कुरा गरिरहेका छन्। सांसद विष्टले पनि यसकै लागि काम गरिरहेका छन्।

विमल गुरुङको आरोप छ, केन्द्रले उनीहरूलाई लण्ड्यायो। तर विमल गुरुङले केन्द्रसित केवल एक्लै भेट गरे। गठबन्धन टोली लगेर कहिल्यै भेटेनन्। यहाँसम्म कि सबै दल र स्टेक होल्डर्स लिएर बनाउनुपर्ने स्टेयरिङ कमिटी नै बनाएनन्। स्टेरिङ कमिटी बनाउनमा विमल गुरुङले नै रोक लगाए। दिल्लीमा गतिलो डेलिगेसन लैजानमा पनि विमल गुरुङले नै बाधा दिए। जस्तो विमलले बाटो छोडे उस्तै सर्वदलीय टोलीको गतिविधि शुरु भएको छ।
दुइमन्त्रीहरू भेट्ने वित्तिकै विधानसभा चुनाउ अघि 11 जातलाई जनजातिको मर्यादा दिने बचनबद्धता अघि आइसकेको छ। अब हेर्नु छ, भाजपाले विमललाई जस्तै यी सबै दललाई लण्ड्याउने हो कि विमलजस्तो बाधा निस्किएपछि पहाड, तराई र डुवर्सजस्तो संवेदनशील क्षेत्रको समस्याको समाधान उनीहरूको विश्वासमा गर्ने हो।

अहिलेसम्म पहाड, तराई र डुवर्समा केन्द्रियमन्त्रीहरू भेटेर आउने र चुनाउअघि 11 जातलाई जनजाति दिने भनिएको आश्वासनलाई उस्तो विश्वास गरिहालेका छैनन्। उनीहरूमा विमललाईजस्तै ती दलहरूलाई पनि भाजपाले झुक्काउने हो कि भन्ने सन्देह छ।

यदि साँच्चै भाजपाले 11 जातलाई जनजातिको मर्यादा दिएको खण्डमा विधानसभा चुनाउमार्फत तराई, डुवर्स र पहाडका जनताले मतप्रदान गरेर आभार व्यक्त गर्ने निश्चित छ। किन भने 11 जातलाई जनजातिको मर्यादा दिनु भनेको स्थायी राजनैतिक समाधान गर्ने पहिलो खुड्किलो हो। पहाडका अघिकांश जातले जनजातिको सुविधा प्राप्त गर्नेछन्।

11 जातलाई जनजाति दिनु संसाधन निर्माणको भरोसालाग्दो र भरपर्दो आधार बनाउनु हो। जुन आधार टेकेर पहाड, तराई र डुवर्सका गोर्खाले आफ्नो भविष्य बनाउने दिशाको खोज गर्न सक्नेछन्।

गठबन्धनका दलहरूले भनिसकेका छन्, विधानसभा चुनाउअघि 11 जातलाई जनजातिको मर्यादा प्रदान गर्नेछन्। यति यो साँचो हो भने विमल गुरुङले भाजपालाई लगाइरहेका सबै आक्षेप झुटा सावित हुनेछन्। चुनाउभन्दा अघि 11 जातलाई जनजातिको मर्यादा दिएन भने विमल गुरुङले लगाएको आरोप साँचो बन्नेछ।

यसैले यसपालि गठबन्धनलाई दिएको आश्वासन झुटो साबित भयो भने गोर्खाहरूलाई भाजपाले धोका दिएको सावित हुनेछ।  यतिखेर सबैको नजर सांसद राजु विष्टमा टिकेका छन्। विधानसभा चुनाउ अघि नै विष्ट र भाजपाको वास्तविक अनुहार पनि सार्वजनिक हुनेछ। केन्द्रबाट पहाडले आस्था हरायो भने पहाड,तराई र डुवर्सको राजनीति राज्यकेन्द्रित बन्ने पक्का छ। यसले मुद्दाको होइन विकासको निम्ति हुने राजनीतिक परिस्थिति निर्माण हुने सम्भावना चुलाउनेछ। भाजपा, गठबन्धन र सांसद राजु विष्ट 11 जातलाई जनजाति दिलाउने परिक्षामा बसिसकेका छन्, विधानसभा चुनाउअघि नै यसको रिजल्ट आउनेछ।

पास हुनेछ कि फेल? त्यसलेपहाड, तराई र डुवर्सको राजनैतिक परिदृश्यमा फरक पार्नेछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन