पिकेको ममता हराउने दार्जीलिङ डिजाइन

 

को हुन् प्रशान्त किशोर उर्फ पिके?

प्रशान्त किशोर अहिले ममता व्यानर्जीको राजनैतिक रणनीतिकार हुन्। उनको संस्थाले करोडौं पैसा लिएर कसैलाई चुनाउ जिताउने नोकरी गर्छ। चुनावी रणनीति बनाउने काम उनले 2014 देखि शुरु गरेका हुन्।

उनकै चुनावी स्ट्राटजीको कारण चन्द्रबाबू नायडुको पत्तासाफ भएको हो। जगन मोहन रेड्डीको वाईएसआर काङ्ग्रेसले आन्ध्र प्रदेशको सबै 25  सिट जितेको थियो। विधानसभामा 175 मा 150 सिट कब्जा गरेको थियो।

किशोर जेडियुका राष्ट्रीय उपाध्यक्ष पनि थिए। तर पार्टीले कुनै काम नदिएपछि निष्क्रिय बने।  2014 के लोकसभा चुनाउमा उनले नरेन्द्र मोदीको ‘क्याम्पेन डिजाइन’ गरेका थिए। त्यसपछि 2015 मा नितिस कुमारलाई जिताउन उनकै हात थियो।

तर 2017 को विधानसभा चुनाउमा काङ्ग्रेसलाई उनले उत्तर प्रदेशमा जिताउन सकेनन्। यद्यपि पञ्जाबमा काङ्ग्रेसले उनकै रणनीतमार्फत सत्ता प्राप्त गरेको थियो।

ममतालाई किन खाँचो पऱ्यो पिकेको?

2019 मा पिकेले ममता व्यानर्जीसित भेटेका हुन्। त्यही बैठकमा ममताले 2021 को चुनाउको निम्ति पिकेलाई झिकाउने निर्णय गरेकी हुन्।

ममतालाई लागेको थियो, जसरी भाजपाले 18 वटा लोकसभा सिटमा कब्जा जमायो, यो उनको राजनैतिक भविष्यको निम्ति राम्रो सङ्केत होइन। भाजपालाई हराउने रणनीति बनाउन नसकेपछि नै प्रशान्त किशोरलाई झिकाउन उनलाई बाध्य परेको हो। केजरीवालले गरेको काम भजाएर पिकेले रणनीति बनाए पनि ममताको काम भजाएर रणनीति बनाउन निक्कै चर्को कुरा हो। यद्यपि, पाएको नोकरी पिकेले छोड्ने कुरा भएन। वास्तवमा भाजपाकै डरले ममता व्यानर्जीले प्रशान्त किशोरको भरमा तृणमूल काङ्ग्रेसलाई छोडिदिएकी हुन्।

तर तृणमूल अनेकौं खेमाहरूमा विभक्त छन्। प्रशान्त किशोरले अभिषेक व्यानर्जीको खेमासित मिलेर काम गरिरहेका छन्।

बजगाईँले पार्टी छोड्नुको कारण गिरीको पिकेसितको भेट

यिनै प्रशान्त किशोरले 2019 मा नै दिल्लीमा रोशन गिरीसित भेट गरेको सूत्रहरूको खबर छ। यही भेटपछि नै रोशन गिरीले दिल्लीमा नेतालगायत कार्यकर्ताहरूसहितको एउटा बैठकमा ‘बङ्गालसितै मिलेर काम गरे मात्र हामी फर्किन पाउँछौं, अब हमीसित कुनै उपाय छैन’ भनेर जनाइसकेका थिए। त्यही बैठकमा तत्कालीन प्रवक्ता बीपी बजगाईँले रोशन गिरीको वक्तव्यको विरोध गरेका थिए।

यही विरोधपछि रोशन गिरीहरूको खेमाले बीपी बजगाईँबाट गतिविधिको स्वतन्त्रता खोस्न र एक्लाउन शुरु गरेको बताइन्छ।

जब बजगाईँले कोरोना कालमा चिया श्रमिकहरुलाई छुटको माग गर्दै प्रधानमन्त्रीलाई पत्र लेखे, तबदेखि नै ‘पार्टीलाई भाजपाको नजरमा नराम्रो बनाएको’ भन्ने आरोपमा बीपी बजगाईँलाई गिरी खेमाले सोकज लेखेका थिए।

बजगाईँले त्यसको जवाबमा लेखेको लामोपत्रको जवाब न त विमल गुरुङले दिए, न त रोशन गिरीले। त्यसपछि नै रोशन गिरीहरूको चलखेलले जनताको सपनामा कुठराघात गर्ने भन्दै बजगाईँ पार्टीबाट निस्किएका हुन्। गिरीको धोकाको डिजाइन देखेरै बजगाईँ पार्टीबाट निस्किएको स्पष्ट भइसकेको छ।

बजगाईँलाई कुनै गतिविधि गर्न नदिनुको पछिल्तिर रोशन गिरीको पिकेसितकै भेट प्रमुख कारण रहेको खुलिएको छ।

पिकेको कमजोर रणनीतिको कारण तृणमूल फुट्यो

ममता व्यानर्जीको चुनावी रणनीतिकार नियुक्त हुने वित्तिकै बङ्गालमा तृणमूल खेमामा चरम असन्तुष्टि देखा पऱ्यो। पार्टीको जिम्मा पिके र आइप्याक (इन्डियन पोलिटिकल एक्शन कमिटी)-लाई दिने वित्तिकै तृणमूलका विधायकहरू भड्किन शुरु भयो। सबैभन्दा पहिले ममताको प्रभावकारी नेता सुभेन्दु अधिकारी बिच्किए। पार्टीको नीति कर्पोरेट कम्पनीलाई बेच्नु आफ्नो पार्टी, नेता र कार्यकर्ताहरूमाथि भरोसा नगर्नु रहेको भन्दै सुभेन्दुले कम्पनीले बङ्गाली राजनैतिक संस्कृतिलाई निषेध गरेको र पार्टीको आचार संहितामा नै खलल पुगेको आरोप लगाउन थाले।

सुभेन्दुबाट पार्टी भत्किने देखेपछि पिके र अभिषेक व्यानर्जीले अधिकारीलाई भेटे। तर पिकेको रणनीतिले पार्टीमा काम गर्दै आइरहेका पुराना र सच्चा समर्थकहरूको काममा नै खलल पुऱ्याएको र अन्यायपूर्ण गतिविधि गरेको आरोप लगाए, जसको जवाब पिके र अभिषेक व्यानर्जीले दिन सकेनन्।  

भाजपाले सुभेन्दु अधिकारीलाई पार्टीमा लिएलगत्तै बङ्गालमा पिके रणनीति असफल बनेको सङ्केत गयो। हतपत्त कहिल्यै मिडियामा नआउने पिके त्यही कमजोरीलाई जस्टिफाई गर्न अहिले धमाधम मिडियामा आइरहेका छन्। आफ्नै अन्तरवार्ताहरूको डिजाइन गर्दै ममतालाई भरोसा दिलाउने काम शुरु गरेका छन्। यद्यपि तृणमूलका विधायक र वरिष्ट नेताहरू भाजपातिर ढल्किन बन्द भइसकेको छैन।

शुभेन्दु प्रकरणपछि तृणमूलको एउटा बैठक भयो, जुन बैठक पार्टी छोडेर जानेहरूलाई रोक्नु रहेको थियो। यद्यपि पिके यसमा पनि सफल बनिरहेका छैनन्।

भर्खरै पिकेले तृणमूलको विकासको दस सालको ‘रिपोर्ट कार्ड’- ल्याइएको छ, तर त्यसमा केन्द्रका कोषहरूको दुरुपयोग र बङ्गालका हत्याहिंसाका तमाम घटनाहरू लुकाइएको छ।

यहाँसम्म कि 2017 दार्जीलिङको हिंसासमेतलाई लुकाइएको छ। ममताको ‘रिपोर्ट कार्ड’-माथि अहिले व्यापक आलोचना भइरहेकै छ।

विमललाई महागद्दार र महादलाल बनाउने पिके

दिल्लीमा रोशन गिरीलगायतलाई भेटेपछि पिकेले विमल खेमाका नेताहरूसित सिलगढीमा पनि बैठक गरेका हुन्। विस्थापितहरू फर्काउन र उनीहरूलाई राजनीति गर्ने छुट प्रदान गर्ने शर्तमा विमल गुरुङहरू पिकेसित काम गर्न राजी भएका हुन्। विमलले अहिले ममताको होइन पिकेको काम गरिरहेका छन्। पिकेबाट विमललाई आर्थिक प्याकेज दिएको हुनसक्ने हल्ला पनि छँदैछ।

अभिषेक व्यानर्जीसितको सल्लाहमा विमललाई कोलकाता झिकाउने पिके नै हुन्। कोलकाता पुगेर विमलले सोझै पिकेसित भेट गरेका हुन्। पिकेले नै विमलको प्रेस कन्फरेन्सको व्यवस्थापन गरेका हुन्। प्रेस कन्फरेन्समा विमलले पिकेकै स्क्रिप्टमा बोलेका हुन्।

विमल गुरुङसित न त तृणमूल काङ्ग्रेसका नेताहरूले भेट गरेका छन्, न त ममता व्यानर्जीसित। किन भने विमलको ममता व्यानर्जीसित होइन ममताका रणनीतिकार पिकेसित नै चुनावी डिल भएको हो।

विमलले जति पनि वयानबाजी गरिरहेका छन्, चाहे त्यो विस्थापित फर्काउने कुरा होस् वा स्थायी राजनैतिक समाधानको नाममा बनाउने जिटिए-3, ती सबै पिकेसित राखेका कुरा हुन्, ममता व्यानर्जीसित होइन। तृणमूल र ममतासित विमलको बैठक नै अहिलेसम्म भएको छैन। पिकेको डिजाइनमा ममताले हस्तक्षेप नगरेको मात्र हो। त्यसैले विमल चुनाउसम्म फ्रि छन्।

सट्टामा विमलले तराई, डुवर्सको गोर्खा भोटको वर्चस्व रहेका सिटहरूमा जिताउने प्रतिबद्धता पिकेलाई दिएका छन्। डिल हो- विमलले तराई-डुवर्सका 16 वटा सिट जिताउने र साटोमा विस्थापितहरूलाई फर्काउने र विमलहरूलाई आफ्नो वर्चस्व बनाउन गतिविधि गर्न छुट दिने। अहिले विमलले पहाडमा गरिरहेको गतिविधि जीटीए-3 कै कसरत हो। पहाड चढ्ने वित्तिकै विमलले गरेको यो हतार चुनाउपछि ह्वात्तै सेलाउने सम्भावना छ। चुनाउ अघिसम्म विमलले पहाडमा आफ्नो वर्चस्व बनाइहालेमा विमल बच्ने केही सम्भावना छ। तर विमलको यो स्वार्थ विनय तामाङहरूले थाहा पाइसकेका छन्। यसैले विमलको रफ राजनीतिबाट पहाडलाई बचाउने मूल एजेन्डामा अनित थापाहरूले काम गरिरहेका छन्।

विमलको तुलनामा अनित थापाहरूको राजनीति गर्ने तौरतरिका, बोल्ने, सोच्ने तौरतरिकामा आकासपातालको फरक देखापरेको छ। विमल पहाडको लागि जति खतरा हुन्, अनित थापाहरू उति होइनन् भन्ने मनोभाव जनतामा आइसकेको छ। किन भने विमल पहाडमा स्थापित भए ममता व्यानर्जीको निर्देशमा भोलि आउन सक्ने सबै सम्भावनाको बाटो थुन्ने कठपुतली मात्रै बन्ने हुन्, अनित थापाहरू स्थापित भएमा राजनैतिक चरित्रहरूमा फेरबदल हुनसक्ने र जनपक्षीय राजनीतिले स्पेस पाउने सम्भावना छ।

अहिलेलाई पिकेको परामर्शमा विस्थापितहरूलाई घर जान दिइएको छ। त्यसैलाई विमलले भरपुर प्रयोग गरिरहेका छन्।  तर विस्थापितहरूको टाउकोको मुद्दा हटाउने कुनै कानूनी प्रक्रिया चलेको छैन। चुनाउअघि विस्थापितहरुको मुद्दा छिनाफाना हुने कुनै सम्भावना छैन। जब विमलले तराई-डुवर्समा 16 वटा सिट जिताउँछन्, तब मात्र मुद्दालाई लिएर सरकारसित विमलको बैठक हुनेछ। चुनाउ जिताउन नसके विस्थापितहरूको टाउकोबाट मुद्दा हट्ने छैन। विस्थापितहरू आजीवन ममताको दास बन्नुपर्ने स्थिति बनिसकेको छ।

टाउकोभरिको मुद्दाको कारण नै विमल गुरुङ ममता व्यानर्जीको कठपुतली भएर बस्नुपर्ने परिस्थिति बनिसकेको छ। विमल गुरुङले जनसभाहरूमा विस्थापित फर्काउने ममता व्यानर्जीले नोटिफिकेसन निकालिसकेको बताइरहे पनि त्यो सरासर झुटो हो। सरकारले यस्तो कुनै प्रक्रिया गरेको छैन। न त नोटिफिकेसन नै आएको छ। उनीहरूलाई पक्राउ नगरी फुक्का मात्र गरिएको छ। मुद्दा उनीहरूको टाउकोमा नै मुङ्ग्रोजस्तो झुण्डिएको छ।

उनीहरूलाई विनय तामाङहरूलाईजस्तो फुक्का छोडिदिएको मात्र हो। मुद्दा हटाइएको होइन। मुद्दा न्यायिक प्रक्रियामा छ। यही प्रक्रियाबाट नै विस्थापितहरुको मुद्दा छिनाफाना हुनेछ। त्यसले कति समय लिन्छ किटान गर्न सकिन्न। विस्थापितहरूको मुद्दा छिनाफाना नहुन पनि सक्छ। किन भने  ममताको लागि यही मुद्दा नै विमललाई आफ्नो पाइलामुनि राख्ने गतिलो हतियार हो। 

यता विस्थापितहरुलाई फर्काउन ममता व्यानर्जीले गैरकानूनी बाटो अप्नाउने वित्तिकै विपक्षले बङ्गालको कानून व्यवस्था र न्यायपालिकामाथि प्रश्न उठाउनेछन्।  ममता व्यानर्जीले पार्टीको निम्ति कानून र न्यायपालिकाको दुरुपयोग गरेको खण्डमा भाजपा लगायत विपक्षले सुप्रिम कोर्टमा ममता विरुद्ध मुद्दासमेत हाल्न सक्ने सम्भावना छ। जो ममता आफै र विस्थापितहरुको लागि पनि नितान्तै हानिकारक बन्ने स्पष्ट छ। पिकेलाई चुनाउसित मतलब छ, विमलको मुद्दासित होइन। पिकेलाई आफ्नो नोकरीसित मतलब छ, विस्थापितहरूको मुद्दासित होइन।

हिजो विमल गुरुङहरू तृणमूलको कठपुतली बनेका थिए। पछि भाजपाको कठपुतली बने र अहिले पिकेको कठपुतली बनेका छन्। विमल खेमाले विभिन्न अफवाह फैलाइरहेका छन्। ममता सरकारले विमललाई न त जिटिएमा बस्न आग्रह गरेको छ न यसकोकुनै सम्भावना नै छ।  भोलि विमल नै जिटिएमा बस्ने हो भन्ने भ्रम फैलाएर पैसाको पछि दगुर्ने जमात र केही चाप्लुसहरूलाई आफ्नोतिर फर्काउन विमलले फैलाइरहेको यो हल्लाको पछिल्तिर पहाडमा वर्चस्व बनाउनुबाहेक अर्थोक केही पनि होइन।

किन भने पहाडमा केही हिस्सा जो सत्तामा आयो, त्योसित लागेर पैसा कमाउने चस्का छ, यस्तो हिस्सालाई तान्न यो हल्ला विमलको लागि फाइदाकारी नै छ। तर दुरदुरसम्म विमल सत्तामा आउने सम्भावना कतै छैन। ममता व्यानर्जीले विमललाई जिटिएमा राख्ने कुरा भएकै छैन। विनय-अनितसित बैठक नगरी जिटिएबारे ममताले आफै केही सोच्ने सम्भावना र कारण नै छैन। यो पिकेसित भएको डिल अनुसार विमल समूहले फैलाइरहेको अफवाह मात्र हुन्।

तराई-डुवर्समा चुनाउ जिताए जुन पहाडको लागि बङ्गाल अधिनस्त पिपिएस उर्फ जिटिए-3 को परिकल्पना छ, मोर्चा उपाध्यक्ष विशाल छेत्रीको सन्दर्भ त्यही हो। तर त्यसैलाई तोडमोड गरेर समर्थकहरूको आँखामा धुलो त हालिरहेकै छन्, सत्ता मोह दर्शाएर जनताको नजरमा पनि विमल खेमा झर्ने काम भइरहेको छ। यो सबै लोभले लाभ र लाभले विलाप भनेजस्तो मात्र हो। जुन जिटिए-3 को कुरा छ, त्यो पनि विमलले तराई-डुवर्सको 16 वटा सिट जिताए मात्र सम्भव छ। हारे विमलको दुर्दिन शुरु हुने ठाउँ राखिएको छ। यतिखेर विमलको टाउकोमाथि तरवार झुण्डिरहेकै छ।

सबै हतकन्डा अप्नाएर भए पनि विमललाई प्रयोग गर्नु पिके रणनीतिको हिस्सा हो। पिकेलाई आफ्नो नोकरी जोगाउन विमल-विनयहरूलाई छमछमी नचाउँदै प्रयोग गर्नबाहेक अर्को उपाय छैन। पिकेकै रणनीतिको कारण पहाडको राजनैतिक परिदृष्य फेरिएको हो। जो पिकेको लागि त हानिकारक छँदैछ, ममताको लागि पनि छ। पिकेको यो असफल रणनीतिको कारण बाजी भाजपाले मार्ने स्पेस बनिरहेको छ।

पिकेले गरेका हुन् विमललाई हरिबिजोक पार्ने डिजाइन

पिके ममता व्यानर्जीको रणनीतिकार हुन्, यसैले उनले ममता व्यानर्जीकै पक्षमा काम गर्ने हुन्। बङ्गालका बौद्धिकहरूअनुसार पिके टिमको सर्वेक्षणले दुइवटा कुरा पायो, एउटा विमल गुरुङको वर्चस्वको कारण उनले बोकेको गोर्खाल्याण्डको मुद्दा अर्को भाजपाप्रतिको मोहभङ्ग र मुद्दाहरूको भारी।

ममता व्यानर्जीलाई सँधै सताउने विमल गुरुङको शक्ति थियो, गोर्खाल्याण्डको मुद्दा। पिकेले सबैभन्दा पहिले विमल गुरुङबाट त्यो मुद्दा नै झिकिदिए। अब कुनै पनि हालतमा आजीवन विमल गुरुङले गोर्खाल्याण्डको आन्दोलन गर्न सक्ने छैनन्। विमलको टाउकोबाट गोर्खाल्याण्डको बुद्धि झिक्ने वित्तिकै यता विमल गोर्खाहरूको निम्ति महागद्दार र महादलाल प्रमाणित भए। ममताको पक्षमा पिके रणनीतिको सबैभन्दा ठूलो उपलब्धी नै यही हो। टाउकोभरि मुद्दा बोकेको विमल बङ्गाल पुलिसकै घेरोमा छन्।

ममतालाई हानी हुने कुनै पनि गतिविधि गर्ने वित्तिकै विमललाई ती नै पुलिसले कठालोमा समात्नेछन्।

भाजपासितको विमलको मोहभङ्गलाई विधानसभा चुनाउमा प्रयोग गर्ने पिकेको अर्को रणनीति हो। विमल गुरुङको टाउकोमा रहेको युएपिएको मुद्दा केन्द्रको विषयवस्तु भए पनि उनका कार्यकर्ताहरूमाथि लागेको मुद्दा राज्यको विषय भएकोले राज्य सरकारसित यी मुद्दाहरू हटाउने शर्तमा विमलले पिकेलाई 16 वटा सिटमा जिताउने वाचा गरेका छन्।  विमललाई विस्थापितहरुको जुन चाप थियो, त्योबाट निजात पाउने हुँदा विमलले आफ्नै भविष्य दाउमा लगाउन परेको हो। विमलको विस्थापित खेमाले ‘मिसन-2020’ भन्ने मिशन शुरु गरेका थिए। यो मिशन गोर्खाल्याण्ड वा पिपिएस वा 11 जातलाई जनजाति बनाउने मिशन होइन, विस्थापित फर्काउने मिशन थियो।

‘जसरी होस्, विस्थापित घर फर्कियोस्’-मिशनको एजेण्डा यही थियो। अहिले यो मिशनमा लागेका धेरै एक्टिभिष्ट विस्थापित फर्केपछि मौन छन्। ती नै एक्टिभिष्टहरूले कतिले त विमल गुरुङलाई नै गाली गर्न थालेका छन्। कतिले चाँही ‘विमल दाजुलाई माया सम्मान गरिन्छ तर विमल दाजुले नै भने पनि तृणमूललाई भोट हालिँदैन’-मिशन नै शुरु गरेका छन्। विस्थापित फर्काउने मिशन-2020 अहिले विमललाई सम्मान गर्दै तृणमूललाई भोट नहाल्ने मिशन-2020 बनिसकेको छ।

यता भाजपाले धोका दिएको कुरालाई मूल एजेन्डा बनाएर उत्तरबङ्गालको 16 वटा सिटमा तृणमूललाई जिताउने विमलको रणनीति हो। तर छोटो समयमा राजनीति बुझ्न खप्पिस राजु विष्टले विमलको यही रणनीति विफल बनाउन गठबन्धनका दलहरूलाई केन्द्रिय गृहमन्त्री अमित शाहसित भेट गराइसकेका छन्। शाहले चुनाउ अघि नै 11 जातलाई जनजातिको मर्यादा दिने वित्तिकै तराई-डुवर्समा विमलको एजेण्डा पङ्गु बन्ने निश्चित छ। भाजपाले पहाडको तीनवटा सिटलगायत तराई डुवर्सका गोर्खा वर्चस्व भोटमा 11 जातको मुद्दाले प्रभाव पर्ने सोचेको छ।

पिकेले विमललाई दुइवटा कुरामा फँसायो, एउटा गोर्खाल्याण्डको मुद्दा विमलको टाउकोबाट सँधैको लागि निकाल्यो र जनताअघि महागद्दार र महादलाल साबित गरिदियो, जुन ममताको लागि सबैभन्दा ठूलो उपलब्धी हो। सँधैको लागि उपलब्धी हो।

अर्को भाजपाप्रतिको मोहभङ्ग र टाउकोभरिको मुद्दाको कारण विमललाई तराई-डुवर्समा होमिदियो। चुनाउ जिताउन सकेन भने विमल गुरुङ, ममता र पिकेको रणनीतिको शिकार बन्ने पक्का छ। पिकेको विमल कार्ड निरस्त गर्न भाजपाले 11 जातको मुद्दा अघि सारेको छ। पिकेले हारे पनि जिते पनि पैसा कमाउँछन् नै तर पिकेले विमलको करियर भने समाप्त गरिराखेर जानेछन्। किन भने विमलले तराई-डुवर्सको 16 वटा सिट जिताउने कतैबाट कुनै सम्भावना छैन। यसैले विमल जनताको छेल लागेर बाँच्न सकिन्छ कि भन्ने दाउमा पहाडमा राजनीति गरिरहेका छन्।

विमल र विनयको द्वन्द्व : पिकेको ममता हराउने दार्जिलिङे डिजाइन

मुद्दा बोक्दा विमलको वर्चस्व साँच्चै थियो। विमललाई इमान्दार र मुद्दाप्रति प्रतिबद्ध नेता मानिन्थ्यो। त्यसैले विमललाई पहाड, तराई र डुवर्सका गोर्खाहरूले सम्मान गरेका थिए। तर जस्तो ममता व्यानर्जीसित सम्झौता गरे उनको त्यो सम्मान स्वात्तै घट्यो। अहिले विनय-विमलको समर्थक बराबर छन्। जब कि एक समय सबै समर्थक विमल कै थिए। विमलको त्यही  पूर्व इतिहासको आधारमा विमललाई तराई-डुवर्सको गोर्खा भोट तृणमूलको पक्षमा तान्न प्रयोग गर्न पिकेले कोलकाता बोलाउन अघि ममता व्यानर्जीले विनय खेमालाई राय मागेकी थिइन्। विनय खेमाले विमललाई तराई-डुवर्समा प्रयोग गर्न सक्ने सल्लाह दियो। ममताले त्यो सल्लाहलाई मानेकी थिइन्।

विमलबाट मुद्दा झिकिदिए विमलको दबदबा समाप्त हुन्छ भनेर जान्दाजान्दै पनि आखिर किन पिकेले विमललाई गोटी बनाए? यही सवाल महत्वपूर्ण छ। किन भने उत्तरबङ्गालमा चुनाउ हारोस् जितोस्  विमलको अध्याय अब सँधैलाई क्लोज गर्न यही डिल नै कारगर साबित हुने छ। यो  गलत रणनीति गरेर ममतालाई सँधैको लागि पिकेले पुऱ्याएको फाइदा हो। 

पहाडको 3 वटा सिट विनयखेमाले आफै लडेर जित्ने र तराईमा विमलले 16 वटा सिट जिताउने सुझबुझ थियो। पिके र ममताको रणनीति यही थियो। तर त्यो रणनीति त्यतिखेर भताभुङ्ग बन्यो, जतिखेर विमलले विनय तामाङहरूलाई गाली गर्न शुरु गरे। ममता र पिकेसितको एक बैठकपछि सुझबुझमा विनय खेमाले विमल आफ्नो सिलेबसमा नै नपर्ने भनेर ममता र पिकेसित बनेको रनीतिको आधारमा त बोले तर विमलले उनीहरूकै जरा काट्न थालेपछि समस्या चुलियो। 

यता सिलगढी आउने वित्तिकै विमलको एजेण्डा पहाडबाट विनय-अनितलाई खेदाउने  बन्यो। विमलले दार्जिलिङको जनसभाबाटै 15 दिनभित्रमा उनीहरूलाई जिटिएबाट हटाउन सरकारलाई आग्रह गरे। रातो झण्डा लगाएर खेदाउने धम्की दिए। खेदाउन विनयका नेताहरूको सूची नै बनाएको हल्ला गरे।।

खासमा पिकेसित जुन जिटिए-3 को निम्ति विमलको डिल छ, त्यसको लागि विमलले आउने वित्तिकैदेखि काम गर्न शुरु गरे। वास्तवमा विमलको काम पहिले तराई-डुवर्सको 16 सिटमा ममतालाई चुनाउ जिताउनु थियो। तर विमलको गतिविधिले तृणमूलले चुनाउ जिताउन त परको कुरा विनयहरुसित जोरी खोजेर ममतालाई नै हराउने चलखेल शुरु गरे।

सिलगढीमा विमलले जुन 20 जना आफ्ना सोसल मिडियाका कार्यकर्ताहरूलाई सम्मान जनाए, उनीहरू अहिले ममता व्यानर्जीकै विरुद्ध र भाजपाको समर्थनका गतिविधि गरिरहेका छन्। लाखौं रुपियाँ खर्चेर विमलले बनाएको मिडियासेलको प्रयोग नै ममता व्यानर्जी विरुद्ध देखिनुले पनि स्पष्ट पारेको छ, पिके रणनीति ममता जिताउन होइन, ममता हराउनैको लागि बनिएको हो। त्यति मात्र होइन विमल र रोशन गिरीबाहेक विमल खेमाका तल्लोतहका नेताले भोट तृणमूललाई दिनु हुँदैन भन्ने प्रचारप्रसार गरिरहेका छन्।

यो अभियानमा विनिता रोका लागिपरेकी छन्। विनिता रोका विमल खेमा प्रवक्ता हुन्, उनैले ममता व्यानर्जीलाई हराउने मन्तव्य खुलेआम दिइरहेकी छन्। विनिता रोकाले हजारौं समर्थक अघि खुलेरै बोलिन्, ‘2017 को ममता सरकारको अत्याचारको कारण म त तृणमूललाई भोट हाल्दिन, जनताले पनि हाल्दैनन्।’

विनिता रोकाको यो वयान ममता व्यानर्जीलाई हराउने पिके डिजाइन कै एक अंशकोरुपमा देखा परेको छ। विनिता रोकाको वयानले पहाड, तराई र डुवर्समा खुब चर्चा बटुलेको छ। विमल समर्थकहरूले पनि भन्न थालेका छन्, ‘विनिता रोकाले जे बोलिन्, गोर्खाको मनको कुरा बोलिन्।’

वास्तविकता पनि त्यही हो।

पिकेले विमललाई पहाड चढाएपछि अहिले पहाडमा विमल-विनय दुइ खेमामा द्वन्द्व बढिसकेको छ। यो द्वन्द्वको कारण पिके र ममता व्यानर्जी नै हुन्। 2017 मा विमल भूमिगत बनेपछि विनय-अनितले ममता व्यानर्जीलाई विमलले लगाएको गद्दारीको लाञ्छना बोकेरै सघाएका हुन्। पिकेलाई जुन ममता जिताउनुपर्ने भार छ, पिके जुनै पनि हदसम्म जान सक्छन्। किन भने पिकेको यो नोकरी हो। यसपल्ट ममता जिताएन भने यसै पनि उनको करियरमा ठूलो धब्बा लाग्नेवाला छ।

ममताको हारपछि कुनै पनि दलले उनलाई रणनीतिकार बनाउने आँट गर्न सक्ने छैन। यसैले ममताको हार नै पिकेको कम्पनी डुब्ने सबैभन्दा ठूलो कारण बन्नेछ। यसैले पिकेले भेटेजति सबै हतकन्डा अप्नाइरहेका छन्। विमल-विनयको द्वन्द्व पनि पिके रणनीतिकै असफलताको उपज हो।

विमल पहाड नचढेको भए विनय-अनितले यसपल्ट जित्न सक्थ्यो। तर विमल पहाड चढ्ने वित्तिकै जुन द्वन्द्व आयो, यसले न त विमलले न त विनयले जित्ने सम्भावना रह्यो। विमल-विनयको झगडाले भाजपातिर जनभावना मोडिन थालेको छ।

‘आखिर विमल होस् वा विनय, दुवै गोर्खाल्याण्ड विरोधी ममताकै खेताला त हुन्’ भन्नेतिर पहाड, तराई र डुवर्सको ठूलो हिस्सा मोडिसकेका छन्। त्यसको कारण विमलले विनय तामाङहरू विरुद्ध गरेको वयानबाजी नै हो। यस्तोमा राजु विष्टले 11 जातलाई जनजाति बनायो भने बचेखुचेका भोट पनि भाजपातिरै जाने स्थिति बनिसकेको छ।

विमल र विनयको द्वन्द्व बनाउनु नै ममता व्यानर्जीप्रति नकरात्मक सन्देस फैलाउनु हो। यसैले पिकेले विमल-विनयको द्वन्द्व गराएर ममता जिताउने होइन ममता हराउने रणनीति बनाएको स्पष्ट छ।

पिकेले विमललाई तराई र विनयलाई पहाडको जिम्मा दिनुपर्थ्यो र चुनाउ जिताउने पिके रणनीति हातमा थमाउनु पर्थ्यो। तर त्यसको ठिक उल्टो भयो।

अब विमल र विनयको द्वन्द्व नीति अस्मिता, पार्टी स्वाभिमान र नेतृत्व वर्चस्वतिर गइसकेको छ। जब काम बिग्रियो तब अभिषेक व्यानर्जीलाई साथमा बोकेर विमल-विनय मिलाउने काममा पिकेले जोड दिइरहेका छन्।

भर्खरै विनय तामाङहरूलाई कोलकाता बोलाएर पिकेले विमलसित मिल्न आग्रह गरे। तर विनय तामाङले सोझै नकारी दिए। विनयहरूको कुरा स्पष्ट छ, उनीहरूले पहिल्यै परामर्श दिइसकेका हुन्। त्यो परामर्शअनुसार पिकेको रणनीति चलेन। अहिले पिकेले विनय तामाङहरूकै पत्तासाफ गर्ने रणनीति बनाइसकेको थाहा पाउने वित्तिकै विमलसित मिल्न विनय तामाङहरूले सोझै इन्कार गरिसकेका छन्।

आज भइरहेको अनित थापाको परिवर्तन यात्रा पिकेलाई दिइएको चुनौति नै हो। पिकेले जुन खेलाइँची विनय-अनितमाथि गरे, त्यसको जवाब नै यो यात्रा हो। पिके जनवरीमा सिलगडी आउने भएका छन्, त्यो बैठकमा विनय तामाङहरूले विमलखेमाले गरेको ममता व्यानर्जी विरुद्धका सबै गतिविधि र जिटिएको लागि चलाइरहेको प्रोपोगान्डा रख्न सक्ने सम्भावना छ।

विनय तामाङहरूले भनिसकेका छन्, पहिलेबाटै लोकसभा चुनाउमा तृणमूललाई सघाउने र विधानसभा चुनाउमा तृणमूलले विनयको पार्टीलाई सघाउने लेखापढी भइसकेको छ। विमलको सन्दर्भमा पनि राय दिइसकेको छ। विनयहरूको पक्षबाट सम्झौता मिच्ने काम कतैबाट भएको छैन। राज्य सरकारसित सौहार्द सम्बन्ध बनाएर विकासको काम गरिरहेकै छ।

तर जब विनय तामाङको पार्टी नै उखेल्ने पिकेको रणनीति अघि आयो, त्यसप्रति विनय तामाङहरू खुशी छैनन्। पिकेले होमवर्क नगरी पहाडको राजनीतिमा हात हालेको कारण स्थिति ममता व्यानर्जी विरुद्ध खडा भइसकेको छ। यस्तोमा विनय तामाङहरूले तृणमूलसित गठबन्धन तोडेमा त्यसको कारण पिकेकै रणनीति दायी रहने स्पष्ट बनिसकेको छ।

पिकेसित अब कुनै पनि उपाय छैन। उपाय छ भने विमललाई तराईमा झार्नु पऱ्यो र पहाड विनय तामाङहरूको लागि छोडिदिनु पऱ्यो, तर यो पनि अब सम्भव छैन।

यसकारण आफ्नो साख बचाउन अभिषेक व्यानर्जी लगाएर पिकेले विनय तामाङहरूमाथि दवाब बनाउन सक्ने सम्भावना छ। तर यो दवाबसित विनय तामाङहरू हाऱ्यो भने उनीहरूको राजनीति विस्तारै समाप्तितिर जाने निश्चित छ, जित्यो भने विमल गुरुङको राजनीति समाप्तितिर जाने निश्चित छ।

पिके आफ्नो नोकरी जोगाउन कुनै पनि हद जानै सक्छन्, त्यो हदसित विमल र विनय कसरी लड्ने हो, त्यसैले उनीहरूको वर्चस्व तय गर्ने सम्भावना छ।


विभिन्न बङ्गला, हिन्दी र अङ्ग्रेजी दैनिक पोर्टलहरूको समाचारको आधारमा तयार पारिएको फिचर

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

विज्ञापन