
खबरम्यागजिन डेस्क
सोनादादेखि दार्जीलिङसम्म अनित थापाको नेतृत्वमा विनय समूह मोर्चाले ‘परिवर्तन यात्रा’ गऱ्यो। यात्रावधि थापाले भने, ‘यो कुशासन हटाएर सुशासन ल्याउने परिवर्तनको यात्रा हो। रचनात्मक राजनीतिको विकास गर्ने परिवर्तनको यात्रा हो।’
पदयात्रा दार्जिलिङको मोटरस्ट्याण्डमा पुगेर पथसभामा परिणत भएको थियो। जहाँ थापाले परिवर्तन यात्रा विध्वंशकारी राजनीतिक गतिविधि रोक्न जनतालाई सचेत गराउने रहेको जनाए।
त्यही मोटरस्ट्याण्डबाट केही दिन अघि विमल गुरुङले अनित थापाहरूमाथि जमेर गाली गरेका थिए। त्यसको जवाबमा आलोककान्तमणि थुलुङले आफूहरू विमल गुरुङजस्तो तल्लो स्तरमा झर्न नसक्ने तर तथ्यहिन आरोपहरूको केही जवाब भने दिनैपर्ने भएकोले आफूहरू बोल्नुपरेको जनाए।
यता थापाले अबको राजनीतिलाई ‘हाम्रो घर हाम्रो भर’-नाराले निर्देशित गर्ने जनाए। ‘हामी बुद्धिजीवीहरूलाई विधायक बनाएर पठाउँछौं र हामी जनतामा जान्छौं। हामी बुद्धिजीवीलाई लालकोठीमा राख्छौं र हामी जनतामा जान्छौं,’ उनले भने, ‘हामी छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति रचनात्मक सोचको बाटो बनाउँछौं, त्यहाँ बुद्धिजीवी हिँड्नेछ। म एक्लैले मागेर गोर्खाल्याण्ड हुँदैन। राजनैतिक दलले मागेको गोर्खाल्याण्ड जहिल्यै सानोसानो चौकीमा सम्झौता हुन्छ। अब बुद्धिजीवीहरूले मुद्दालाई बोक्नुपर्छ।’
पहाडका दलहरू आफ्नै खुट्टामा उभिन जरुरी रहेको र अब क्षेत्रीय दल र क्षेत्रीय मुद्दा बँचाउनुपर्ने पनि बताए। अब आफूहरू यथार्थवादी राजनीति गर्ने पनि उनले जनाए।
यता विमल गुरुङबारे पनि उनले बोले। ‘पत्रकार, साहित्यकार, बुद्धिजीवीलाई त गाली गऱ्यो गऱ्यो कन्ट्याक्टर, नेताहरूलाई सोझै ध्म्क्याउँदैछ,’ उनले भने, ‘पुलिसले याद राख्नुपर्छ। हामी यही विचारको विरुद्धमा हिँडेका हौं। अब हामी गोरेटो बनाउँछौं, जहाँ बुद्धजीवीहरू हिँड्छन्। एकलकाँटे नीतिको विरुद्ध लड्नेछौं।’
2017 मा आफूहरूले बुझेको, विमलहरूले अहिले बुझिरहेको र विमलले जुन अनित-विनय र अरु नेताहरूलाई खेदाउने धम्की दिइरहेका छन् त्यसबारे थापाले ठाडै चुनौति दिएका छन्।
‘अनित थापा अब दार्जिलिङमा बस्छ। खेदेर देखाउ,’ उनले भने, ‘बरु म विमलको बत्ती पात्लेबासमै निभाइदिन्छु।’
विस्थापितहरूलाई प्रयोग गरिएको भन्दै उनले विस्थापितको लागि आफ्नो ढोका सँधै खुल्ला रहेको जनाए। ‘विस्थापितहरू गोर्खाल्याण्डका सच्चा योद्धाहरू हुन्, उनीहरूको योगदानको म कदर गर्छु,’ उनले भने, ‘तर उनीहरू गलत नेतृत्वको पछि छन्। भोलि उनीहरूले धोका पायो भने पनि मेरो ढोका सँधै खुल्ला हुनेछ।’
विमल गुरुङले छोरालाई हिरो बनाउँदा हामी जेलमा थियौं-केशव
केशवराज पोखरेलले विमल गुरुङले लगाएका केही आरोपहरूको जवाब फर्काए। पोखरेल परिवारले नोकरी पाएकोमा विमलले सवाल खडा गरेका थिए। त्यसको जवाबमा पोखरेलले भने, ‘विमलले टिचरको स्पेलिङ गरेर देखाउन्। तराई डुवर्सको 16 वटा सिट कुन कुन हो फरर उच्चारण गरेर देखाउन्। हामीले त दुख गरेर पढेका हौं र नोकरी पायौं। विमललाई त क्लास टेनदेखि उभों के के हुन्छ त्यो पनि थाहा छैन। विमलले हाम्रो 13 वर्ष खाइदिए। आन्दोलनमा योगदान पुऱ्याउन, तिरङ्गा झण्डा फहराउन पिएचडी छोडेर, मास्टर्स छोडेर जुन योगदान दिएको छ, त्यो फर्काउ।’
सारा युवाहरूले योगदान दिएर बनाएको झण्डालाई प्राइभेट लिमिटेड कम्पनी बनाएको र युवाहरूलाई ठगेको भन्दै पोखरेलले भने, ‘तिमीले छोरालाई हिरो बनाउँदा हामी जेलमा थियौं। तिमीले त सहिदको आमाको मुटु लुछ्यौ र आफ्नो फिला टाल्यौ। हामी यही संस्कारको विरुद्ध आएका छौं।’
‘ए बङ्गाल सरकार, पहाड शान्ति गर्ने कुतत्वहरू पहाडबाट खेदिहाल’
यता युवा मोर्चा अध्यक्ष अमृत योञ्जनले पनि विमल गुरुङले दिइरहेको विभिन्न धम्कीहरू अघि राखेर भने, ‘बङ्गाल सरकार, तिमी पहाडमा शान्ति चाहन्छौ भने अशान्ति गर्ने कुतत्व पहाडबाट खेदिहाल। नत्र टिस्टा रगताम्मे बन्न सक्छ। हामी बाईँ लगाएर बसेका छैनौं। हामी बदला होइन बदलावको राजनीति गरिरहेका छौं। हामीले बारम्बार भनिरहेका छौं।’
‘खेल्ने भए रिङ कोरेर तकभरमा खेलौं, पहाड अशान्ति हुन दिन्नौं’
यता आलोककान्तमणि थुलुङले पनि भने, ‘हामी निर्माणको राजनीति गरिरहेका छौं, तर यसरी विध्वशंकारी गतिविधिहरूले बाधा दिन्छ। अब यो विध्वंशकारी राजनीति बन्द गरिनुपर्छ।’
उनले कञ्चनजङ्गा स्कूल विमलको पैसाले होइन ठेकेदारहरूको पैसाले चलेको पनि बताए। स्कूल भत्काएको सम्बन्धमा उनले भने, ‘त्यो स्कूल बङ्गाल पुलिसले भत्काएको हो, डेस्कबेञ्च लाने सिआरपी हो, छातीमा भुत्ला र रगत छ भने उनीहरूलाई गाली गरेर देखाउ।’
विमलले विनय तामाङ समूहका केही प्रभावकरीहरू नेताहरू खेदाउन लिष्ट बनाएको भन्ने सम्बन्धमा पनि थुलुङ बोले। ‘विमललाई झगडै पर्न मन लागेको छ भने हामी तकभर समष्टीका हामी केही युवाहरू रिङ कोरेर विमलसित लड्ने छौं। ममता व्यानर्जीबाट अनुमति लिएर आउ। तिमीले हामीसित लड्न मान्छे जहीँबाट मगाउँदा पनि हुन्छ। तर पहाडमा अशान्ति हुन कदापि दिन्नौं,’ उनले भने।