
सन्दर्भ
क्रान्तिकारीहरूको मिसन हुन्छ। भिजन हुन्छ। रणनीति हुन्छ। उनीहरू अन्तिम सास रहिञ्जेल लड्छन्। योद्धाहरू सम्मानजनक लडाईँ लड्छन्, यदि उसले क्रान्ति बुझेको छ भने, लड्नुको अर्थ बुझेको छ भने। गिरीले त्यही सम्मानजनक लडाईँ नै योद्धाको युद्ध हुने जनाएका छन्।
सपना छेत्री
कवि अगमसिंह गिरीलाई नेपाली साहित्यमा भारतीय नेपाली (गोर्खा) कविहरूका प्रतिनिधि मानिन्छ। उनको पाँच काव्य सङ्ग्रह याद, आत्मा व्यथा, आँशु, जीवन गीत, युद्ध र योद्धा, जलेको प्रतिविम्ब रोएको प्रतिध्वनि हुन्। पहिलो सङ्ग्रह 1955 मा प्रकाशित गरेका थिए अनि अन्तिम प्रकाशन 1978 मा मरणोपरान्त प्रकाशित गरिएको थियो। जसलाई 1979 मा पश्चिम बङ्गालको नेपाली अकादमीद्वारा प्रथम भानु पुरस्कारले सम्मानित गरिएको हो।
गिरीले लेखेको दुःख जातिले लगातार महसुस गरेको दुःख हो। त्यही दुःख उनको कवितामा हावी भयो। अनि एक अधिक उदासी उनको कवितामा हावी हुने गर्थ्यो। त्यो दुःखवाद गिरीको स्वाभाविक प्रकृति थियो। गोर्खाहरूको भारत- नेपाल बीचको भौगोलिक र राजनैतिक यन्त्रणा उनको कवितामा प्रतिध्वनित भयो।
जातीय पीडालाई केन्द्र बनाएर उनले कविता लेखेकै कारण उनलाई जातीय कवि भनियो। पछिल्लोसमयका कविताहरू अधिक रुचाइएका र जातीय मर्मसित मेल खाएका छन्।
आफ्नो पहिलो चरणमा, कविले आफ्नो दुःखलाई अङ्गाले। मानवीय पीडा र मर्मलाई उतारे। पछिल्लो चरणमा ती दुःखको जरा खोज्ने कविता लेखे। आजको मौजूदा सामाजिक वास्तविकतासित अझै पनि उनका कविताहरू मेल खान्छन्।
भारतीय नेपालीहरूको पहिचानको सन्दर्भलाई उनले कवितामा यसरी उतारेका छन्, कि त्यो कविता गोर्खाहरूको निम्ति सँधै स्तुत्य बनेको छ। उनले लेखेका छन्,
तिमी त यहाँ नचिनिने भएछौं,
गालाका रगतहरू सुकिसकेछन्
आँखाका ज्योति सब हराइसकेछन्
तिमी त रूदाँरूँदै निदाएको बालकजस्तो
केवल तिमी तिमी नै हो कि चिन्न आएको म
तर, तिमी त यहाँ नचिनिने भएछौं।
आफ्नो लेखनमा रोमान्टिक स्वभावलाई गिरीले लय दिएका छन्। सरलता उनको खुबी हो। आधुनिकतावादी लेखन उनको बाटो थियो। उनले युद्ध र योद्धा लेखे। युद्ध अनि योद्धाले गोर्खाहरूको पहिचानको सन्दर्भमा क्रान्तिकारी चेतनामा गोर्खालाई नेताजी सुभाषचन्द्र बोससित जोडेर प्रासङ्गिक बनाएका छन्।
क्रान्तिकारीहरूको मिसन हुन्छ। भिजन हुन्छ। रणनीति हुन्छ। उनीहरू अन्तिम सास रहिञ्जेल लड्छन्। योद्धाहरू सम्मानजनक लडाई लड्छन्, यदि उसले क्रान्ति बुझेको छ भने, लड्नुको अर्थ बुझेको छ भने। गिरीले त्यही सम्मानजनक लडाईँ नै योद्धाको युद्ध हुने जनाएका छन्।