फुलाङ्गे ८६ को ग्रामिण डार्क-एज कथा हो

खबरम्यागजिन डेस्क


फुलाङ्गे सार्वजनिकरणको कथा

2012-को शुरु शुरुमा लेखनाथ छेत्रीले केही कविता फेसबुकमा हाले। ती कविता धेरैले मन पराए। एकदिन कविलाई म्यासेन्जरमा एक पाठकको सानो सल्लाह आयो। ती पाठकले लेखेका थिए, ‘तपाईँका कविताहरू उम्दा लागे, हिमालय दर्पणतिर छाप्नुस् न।’
कवि लेखनाथ फुरुङ्ग बने। कविले जवाब दिइहाले, ‘हस, म छाप्नेछु।’
तर लेखनाथले आफ्ना कविता हिमालय दर्पण दैनिक पत्रिकामा छाप्न पठाएनन्।
एक दिन म्यासेन्जरबाटै तिनै पाठकको अर्को अनुरोध आयो। पाठकले लेखेका थिए, ‘तपाईँका कविताहरूले म छोइएँ, म तपाईँको कविताको सङ्ग्रह प्रकाशित गर्न चाहन्छु।’
भर्खर कवितासित खेल्न थालेका लेखनाथलाई किताबै छापिहाल्छु भन्ने लागेको थिएन। अघिबाटै दुइवटा कृति छापिसकेका लेखनाथलाई लागिसकेको थियो, कविता निक्कै गम्भीर कुरा हो, यसमाथि खेलाइँची गर्न मिल्दैन। त्यसैले कविता परम्पराबाट आफ्नो धार छुट्याउन अघिल्ला कविहरूका कविता मनोयोगले पढिरहेका थिए। उनी कविता पढ्दै, लेख्दै गरिरहेको बेला थियो त्यो।
आफूले लेखेका कविता कविता नै भयो कि भएन? उनलाई जाँच्न मन लाग्यो रे। ‘फेसबुकमा धेरै राम्रा कवि र पाठकहरूसित जोडिएँको थिएँ, उनीहरूको प्रतिक्रिया कस्तो आउँला भनेर म कविता फेसबुकमा पोष्ट गरिरहेको थिएँ,’ कवि लेखनाथ छेत्रीले सुनाए।
‘ती नै कविता पढेर कुनै पाठकले किताब नै छापिदिन्छु भन्ने प्रस्ताव राख्दा पहिले त मलाई त्यसको उत्तर के दिनुपर्ला भन्ने हेक्का नै भएन,’ छेत्रीले सुनाए, ‘केही सोचेपछि मैले हुन्छ भनिदिएँ।’
आफ्नो प्रस्ताव कविले स्वीकारेपछि उनका पाठक रमाउनसम्म रमाए।
त्यसपछि कवि र पाठकबीच दार्जिलिङको चोकबजारमा भेट्ने सल्लाह भयो। भर्चुवलरुपमा भेटघाट भए पनि भौतिकरुपमा उनीहरूको भेट पहिलो थियो।
एकदिन चोकबजारमा उनीहरूको भेट भयो। उनका पाठकले गोजीबाट भारु चौबीस हजार रुपियाँ निकाले र कवि लेखनाथको हातमा थमाउँदै भने, ‘अब शीघ्र नै किताब निकाल्नुपर्छ।’
त्यसपछि उनको तेस्रो कविता सङ्ग्रह ‘बाउको पसिना’ बजारमा आयो।
000
हिजो कालेबुङको लस रेसिडेन्सीमा निम्तारुहरूको भीड बढिसकेको थियो। हलको अन्तिम लहरका बेञ्चमा उनको कविता सङ्ग्रह प्रकाशित गरिदिने पाठक पनि चुपचाप बसेका थिए।
‘बाउको पसिना’ कविता सङ्ग्रहले लेखनाथ छेत्रीलाई बलियो कविकोरुपमा स्थापित गरिदियो। त्यसपछि आरोहण प्रकाशनले उनको अर्को कविता सङ्ग्रह ‘अक्षर अनप्लग्ड’ बजारमा ल्याइसकेको छ। दुवै कविता सङ्ग्रहले उत्तिकै चर्चा पायो। त्यसपछि कवि लेखनाथ अनुवादतिर लहसिए।
रवीश कुमारको गैरआख्यानको पुस्तक ‘फ्रि भोइस’-लाई उनले ‘मुक्त आवाज’-नाममा अनुवाद गरेका छन्। साङ्ग्रिला बुक्स इण्डिया-नेपालले त्यसलाई बजारमा ल्याइसकेको छ।
त्यसपछि छेत्री आख्यान लेखनमा लहसिए। तीन वर्षको मेहनतपछि साङ्ग्रिला बुक्स इण्डियाले उनको पहिलो उपन्यास ‘फुलाङ्गे’ लस रेसिडेन्सीमा सार्वजनिक गरिरहेको थियो।
हलमा मनप्रसाद सुब्बा, राजेन्द्र भण्डारी, सुधिर छेत्री, गुप्त प्रधान, सञ्जय विष्ट, हर्कबहादुर छेत्री, सम्सेर अली, प्रवीण राई जुमेलीजस्ता अघिल्ला पुस्ता, बासुदेव पुलामी, ज्ञानेन्द्र यस्को, राजा पुनियानी, टीका भाई, भूपेन्द्र सुब्बा, विनोद प्रधान, कर्ण विरह, दीपा राई, मुन्नु गौतमजस्ता पछिल्ला पुस्ताका नामचिन लेखकहरू आइसकेका थिए।
‘….त्यसरी चिन्दै नचिनेको एक कविको कविता पढेकै भरमा कविता सङ्ग्रह त्यसरी ती पाठकले नछापिदिएका भए, आज लेखनाथ छेत्रीको उपन्यास फुलाङ्गे बजारमा सायदै आउँथ्यो। कवि लेखनाथले अनेकौं माध्यबाट ती पाठकलाई आभार प्रकट गरे होलान्, तर आज यो उपन्यासलाई उनको हातबाट सार्वजनिक गराएर आख्यानकार लेखनाथ छेत्रीले उनलाई खास सम्मान जनाउन चाहेका छन्,’ उद्घोषक मनोज बोगटीले दर्शक दीर्घालाई बताए।
त्यसपछि लस रेसिडेन्सीमा ठिक बाह्रबजी दिउँसो ती पाठक र आख्यानकार लेखनाथ छेत्रीले फुलाङ्गे भारतका पाठकका लागि सार्वजनिक गरे।
ती पाठक थिए-पुष्कर सिङ्गर।
सिङ्गर चलचित्रकर्मी र कवि दुवै हुन्। उनले अनमोल गुरुङको ‘आप्पा’-लगायत केही लघु चलचित्रमा दृष्यभित्र र दृश्यबाहिर काम गरिसकेका छन्। उनको ‘फूलको थप्पड’ रुवाई सङ्ग्रह प्रकाशित छ।
पुष्कर सिङ्गर र लेखनाथ छेत्रीले मञ्चमा उभिएर फुलाङ्गेको विमोचन गर्दैगर्दा दर्शक दीर्घाले पररर ताली मारेका थिए।

86 को ‘डार्क-एज’-को कथा हो फुलाङ्गे


‘1986 मा जुन गोर्खाल्याण्डको आन्दोलन भयो, त्यसको अन्तरविरोध, त्यसका प्रभाव र त्यसका नाफा नोक्सान साहित्यले पटक्कै बोकेन,’ युवा कवि विनोद प्रधान पुस्तक सार्वजनिक भएलगत्तै फुलाङ्गेबारे बोल्न डायसमा उभिएका थिए, तिनले भने, ‘तीन कारणले त्यतिखेरको आन्दोलनलाई साहित्यले नबोकेको हो कि भन्ने मलाई लाग्यो। पहिलो, आन्दोलनबारेको टेस्क्ट छाप्न जोखिम मोल्ने प्रकाशकको अभाव, दोस्रो, प्रशासनको भय र तेस्रो हिटलरी राजनैतिक माहौल।’
विनोदले आफ्नै दृष्टिकोणबाट 1986 लाई फुलाङ्गेसम्म तानेर थपे, ‘हो त्यतिबेला कसैले पनि सम्बोधन गर्न नसकेको समय, समाज, आन्दोलन र पात्रहरूको अँध्यारो पाटोको कथा हो-फुलाङ्गे।’
विनोदको पठनमा फुलाङ्गे आन्दोलनको ऐतिहासिक दस्तावेजीकरण होइन। तर ग्राम्य सामाजिक द्वन्द्व, संवेदन, आक्रोस र प्रेमहरूको दस्तावेजीकरण चाँही हो। तत्कालीन कुटनैतिक चरित्रको आख्यानीरकरण। विचारधाराहिन राजनैतिक चरित्रको आख्यानीकरण। ‘फुलाङ्गे आन्दोलित ग्रामीण क्षेत्रको ‘डार्क-एज’-को कथा हो,’ विनोदले थपे, ‘अथवा यसो भनौं, तत्कालीन आन्दोलनले निम्त्याएको ‘पोलिटिकल इन्जाइटी’-को प्रकटिकरण हो फुलाङ्गे।’
विनोदको पठनअनुभूतिको प्रस्तुति यस्तो थियो, कि लाग्थ्यो, अहिलेनै पुस्तक पढिहालौं।
‘फुलाङ्गे जीवन, राजनीति, समाज, सम्बन्धको असफलताको शीर्षक हो,’ विनोदले यसरी बिट मारेका थिए, ‘यद्यपि उपन्यास जहाँ टुङ्गिएको छ, त्यसले फेरि अर्को उज्यालोको खोज गर्ने हो कि अथवा फेरि अर्को ‘डार्क-एज’ खडा गर्ने हो, त्यसबारे जिज्ञासु बनाइराख्नेछ।’

आवेदन भरेर मलाई पुरस्कार लिनु छैन-लेखनाथ छेत्री


अहिलेका मानिएका साहित्यिक आलोचक प्रणय शङ्कर र लेखक मञ्चमा देखापरे। फुलाङ्गेलाई केन्द्रमा राखेर उनीहरूले कुराकानी गरे।
प्रणयले सोधे, ‘उपन्यासमा माइग्रेसनकै कथा किन? यसले हाम्रो चिह्नारीको सवाललाई कठघरामा उभ्याउँदैन?’
लेखनाथले जवाब दिए, ‘उपन्यासको जुन सेटिङ र चरित्रहरू छन्, ती वास्तविक हुन्, मैले त्यही वास्तविकता लेखें। चिह्नारीको सवाल कठघरामा पर्छ भनेर मलाई ढाँटछल गरेर लेख्न मन लागेन।‘
प्रणयले फेरि घेरिहाले, ‘नेपालको पाठक केन्द्रित बनेर किताबमा ‘व्याकरण’ प्रयोग गरिएको हो? नुक्ताबिनाको व्याकरण रहेको किताबले साहित्य अकादमी पुरस्कार पाउँदैन भन्ने हल्ला सुनिन्छ, पुरस्कारमा यो व्याकरणले बाधा गर्दैन?’
‘व्याकरण र भाषा प्रकाशकले राखेका सम्पादक अनुसार आएको हो। जहाँसम्म पुरस्कारको सवाल छ, यो अहिले आवेदन भरेर ‘मलाई पुरस्कार देउ’ भन्ने प्रणालीमा छ। म आवेदन भरेर ‘पुरस्कार देउ’ भन्ने कित्तामा छैन। आवेदन भरेर म पुरस्कार कहिल्यै माग्नेवाला छैन। मेरो किताबको ओजन, स्तरीयताको आधारमा पुरस्कार दिइन्छ, भने स्वीकार्य छ। व्याकरणको हेरेर, आवेदन भरेर पाइने पुरस्कारसित मेरो कुनै सरोकार छैन,’ यो लेखनाथको उत्तर थियो।
प्रणय शङ्करले लेखकलाई उपन्यासका पात्रका नाम, नारीहरूको उपस्थिति, त्रासदी, दुःख, पीडा र हिंसामा केन्द्रित रहेर निक्कै चेपे। सोधिसकेर प्रणय शङ्करले दर्शक दिर्घालाई सुनाए, ‘मार्खेजको म्याजिकल रियलिज्म जे हो, त्यस्तै स्वाद उपन्यासको ‘ओपनिङ’ रहेको आख्यान मैले पढेकै यही हो। धेरै अर्थमा फुलाङ्गे स्तरीय छ।’

हस्तक्षेपी फुलाङ्गे


कवि राजा पुनियानी फुलाङ्गेको हस्तक्षेप आग्रह कोट्याउँदै थिए। उनले भने, ‘हस्तक्षेपका धेरै बुँदा छन्, त्यसमध्ये प्रतिरोधी लेखन, समय लेखन र अर्गानिक लेखनको उदाहरण हो फुलाङ्गे।’
गोर्खाल्याण्डको आन्दोलनका भुइँप्वाल कोट्याएर थोरैले मात्र कथा र आख्यान लेखेको सुनाउँदै राजाले भने, ‘1986 मा आन्दोलन भयो, 1987 मा इन्द्रबहादुर राईले लीलालेखन शुरु गरे। हामी अहिले आन्दोलन लेखिएन भनेर गुनासो गर्छौं, तर लीला लेखनले पनि त्यसलाई लेखेन। लेख्न अनिवार्य मानेन। यसैले हस्तक्षेपले समय र ग्रामीण अन्तविरोधलाई लेख्नुपर्छ भन्ने आग्रह गरेको हो।’
राजाको धारणा थियो, जबसम्म समाजले भोगेको कुरा साहित्यमा सचेततापूर्ण आउँदैन, तबसम्म कुनै पनि रुपान्तरण सम्भव छैन।
‘आन्दोलनले नव धनाढ्य जन्माए। ठेकेदारहरू आन्दोलनका नेतृत्व बने, त्यसैले आन्दोलनहरू असफल बने,’ राजाले भने,’ उपन्यासका झुप्पेहरूले आन्दोलनलाई नेतृत्व गरेको भए आन्दोलन असफल बन्दैन थियो। यसैले फुलाङ्गेले हस्तक्षेपी दृष्टिबाट ग्रामीणजीवनको इतिहास, ग्रामीण द्वन्द्व, ग्रामीण हिंसा, ग्रामीण संवेदनाबाट आन्दोलनको मूल स्रोततिर हेर्न आग्रह गरेको छ।’

भ्रमर, आज रमिता छ, नीलकण्ठजस्ता टाकुराको लहरमा फुलाङ्गे पनि थपियो-मनप्रसाद सुब्बा


मनप्रसाद सुब्बालाई फुलाङ्गे पढिसकेर लाग्यो रे, ‘यस्स, लेखनाथले साँच्ची नै लेखेछ।‘ उनलाई त्यस्तो लाग्नुको कारण रहेछ, हजारौं उपन्यास लेखिए पनि काइदासित लेखिएको उपन्यास नपाइनु। फुलाङ्गे पढेर उनलाई धेरै समयपछि बलवान उपन्यास पढेको अनुभूति भयो रे।
‘भ्रमर एउटा टाकुरा थियो, आज रमिता छ थपियो, त्यसपछि नीलकण्ठ पनि थपियो,’ सुब्बाले भने, ‘सानासाना थुम्काहरू त धेरै देखियो तर यी टाकुराको हाराहारीमा अर्को टाकुरा देखिएकै थिएन, फुलाङ्गे आएपछि बल्ल अर्को टाकुरा थपिएको अनुभत गरें।’
सुब्बाले आन्दोलनलाई पार्श्वमा राखेर तर ग्रामीण पात्रका चरित्रहरूमा आन्दोलनको मूल चरित्र प्रकट हुनेगरी लेखिएको उपन्यास नै फुलाङ्गे रहेको बताए।
‘फातसुङ पनि आएको छ, तर त्यो आन्दोलन सकेर सम्झौता गर्ने दलले जन्माएको दुइ गुटबीचको द्वन्द्वको कथा हो, त्यो आन्दोलनको कथा होइन’, सुब्बाले भने, ‘फुलाङ्गे भने आन्दोलनका छिटा परेको उपन्यास हो। यसमा तल्लो तहको समाज कसरी पक्ष, विपक्ष र पुलिस प्रशासनको त्रिकोणीय द्वन्द्वको चपेटमा परेको छ, त्यसको जिउँदोजाग्दो कथा छ। आजको समयको बलियो उपन्यास हो-फुलाङ्गे।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

विज्ञापन