एक रिक्सावाला लेखकको कथा

मैले मेरो शिर ठाडो गर्न सकिरहेको थिइनँ। जीवनमा दम्भसँग शिर ठाडो गरेर उभिन अनेक अवसर जुर्न सक्छ। तर विरलै मात्र शिर झुकाउनुको मीठो अनुभूति मिल्छ। त्यतिबेला मेरो शिर उनको पाउतिर झुकेको थियो। वर्षौं पहिले एक अस्थायी स्कूलको कोठाभित्र आमाको स्तनबाट तनतनी दुध चुसेर तिर्खा मेट्ने एउटा वालक आज एक साक्षात ईश्वरको अगाडि शिर झुकाएर उभिएको थियो। के महाश्वेता देवी सरस्वतीको अर्को नाम होइन र?


मनोरञ्जन व्यापारी


किताबको दुनियाँमा चुर्लुम्म डुबिसकेको थिएँ। हठात बिउँझिएँ। रिक्सा लाइनमा मेरो पालो लागिसकेको रहेछ। सधैं देखिरहेजस्तो चिनारू एक शिक्षिका क्याम्पसबाट बाहिर निस्किन् अनि हामी भएतिर बढिन्। उनी एकलो थिइनन्। लगभग पच्चिस सालको युवक साथमा थिए। मैले हतारहतार किताबको पाना पल्टाएँ। अब मात्र छ या सात पाना बाँकी छ भन्ने थाहा लागेपछि मैले मेरो पछाडिको मान्छेलाई प्यासेन्जर लगेर जान आग्रह गरेँ। किताब पढ्दै लाइनमा अघिल्लो पालो पर्खेर बस्ने मेरो योजना थियो।

‘ओ मान्छे! तिमी होसमा आऊ’, उनले रिससरि जवाब फर्काए।

‘दुइजना प्यासेन्जरको भार ज्यादा हुन्छ भन्ने बुझेर चलाख हुन नखोज। भाग्यले तिमीलाई जे दिएको छ त्यसलाई स्वीकार गर। मेरो भाग्यमा जे पर्छ म त्यसलाई लिएर जान्छु। हामी पनि गर्मीले तड्पिरहेकाछौं। झट्ट किताब छोड अनि कामतिर लाग,’ उनले थपे।

त्यसदिन भाग्यले मेरो लागि के दियो? तर यही सत्य थियो। होइन भने आज किन उनैलाई मेरो प्यासेन्जर भएर आउनु थियो?

म मजबुर बनेर आफ्नो ठाउँबाट उठेँ अनि सिटमुनि किताब हुलेँ। घामले पश्चिमतिरको सयर गरिरहेको थियो तर गर्मी उत्तिकै थियो। मेरो शरिर पसिनाले सर्वाङ्ग भिजिसकेको थियो।

सडक सधैंभन्दा धेर भीडभाड देखिन्थ्यो। शनिबारको दिन। स्कूल अनि कलेज भर्खरै छुट्टी भएको थियो। घर फर्कने विद्यार्थीले सडक ढाकेका थिए। मेरो अगाडि उभिएकी बुढी आइमाईको कपाल सेत्ताम्मे फुलिसकेको थियो। उनले चस्मा लगाएकी थिइन् अनि काँधमा झोला पनि भिरेकी थिइन्।

गम्भीर अनुहारकी उनको भङ्गी हेर्दा पक्कै शिक्षक हुन् भन्ने पत्तो लाग्थ्यो।

उनलाई जादवपुर जानु थियो। यात्राको लगभग आधा भाग तय गरिसकेपछि केही दिन अगाडि चाणक्य सेनको किताबमा भेटेको एक कठीन शब्दको एकाएक सम्झना भयो। त्यो शब्द थियो, ‘जिजिविषा’। कसैले मलाई यस शब्दको अर्थ खुलाउन सकेका थिएनन्। त्यसकारण मैले उनलाई सोधेँ।

‘दिदी, तपाईंलाई असुविधा हुँदैन भने, मलाई जिजिविषाको अर्थ खुलाइदिन सक्नुहुन्छ?’

मेरो प्रश्नले पक्कै उनी चकित बनिन्। अनि भनिन्,

‘जिजिविषा माने जिउने इच्छा। तर कहाँबाट तिमीले यो शब्द पायौ?’

‘किताबमा’, मैले फ्याट्टै जवाब दिएँ।

त्यसपछि माहौलमा एकाएक सन्नाटा छायो। मलाई उनको अनुहारतिर नजर लगाउन मन लागेको थियो। तर उपाय थिएन। कारण उनी म पछाडिको प्यासेन्जर सिटमा बसेकी थिइन्।

त्यसपछि उनले सोधिन्, ‘तिमीले कतिसम्म पढेको छौ र?’

‘म त कुनै स्कूलको ढोकासम्म पुग्न सकिन।‘

‘तर तिमीले कसरी पढ्न सिक्यौ त?’

‘जति सिकेँ, आफैले सिकेँ’, मैले भनें।

घुमिरहेको रिक्साको चक्काले हामीलाई गन्तव्यको नजिकनजिक पुऱ्याइरहेको थियो।

वास्तवमा त्यो कुन चक्का थियो होला जो घुमिरहेको थियो? रिक्साको चक्का अथवा मेरो भाग्यको चक्का? के अगाडि बढिरहेको थियो? मेरो रिक्सा अथवा म? एक अन्धकारमय अनि अपमानको अनाम जीवनदेखि के म साँच्चै गरिमामय अनि सम्मानको जीवनतिर लम्किरहेको थिएँ?

त्यसपछि उनले भनिन्, ‘म एउटा जर्नल प्रकाशन गरिरहेकी छु जसमा तिमीजस्ता मजदुरहरूले लेख्न सक्छन्। के तिमी मेरोलागि लेख्छौ? लेख्यौ भनें पक्कै म त्यसलाई छाप्छु।’

मलाई लाग्थ्यो, किताबको खोललाई चम्किलो बनाउने नाम, रेडियोमा सुनिने आवाज, टिभीको पर्दामा तैरिरहने अनुहार, सब कुनै दोस्रो ग्रहका प्राणी हुन्। उनीहरू खाना खाँदैनन्। सुत्दैनन्। हाटबजार जाँदैनन्। अथवा हामीजस्तो सडकतिर बरालिँदैनन्। अनि पक्का उनीहरू हामीजस्तो रिक्सा चलाउँदैनन्।

अनि अहिले मसँग एक आइमाई छिन्, जसले मलाई यस्तै यथार्थको वाचा गरिरहेकी छिन्। कस्तो अचम्म!

‘तपाईं साँच्चै मेरो लेख छाप्नुहुन्छ र?’

‘अहो! त्यही त भनेँ भर्खरै मैले तिमीलाई। अब भन, के तिमी लेख्छौ?’

‘तर मैले के बारे लेख्ने र?’ मैले सोधिहेरेँ।

‘के लेख्ने र? एक रिक्सावालाको तिम्रो जीवन’, उनले तुरन्त जवाब फर्काइन्।

‘तिमी कसरी यस कामतिर लाग्यौ, दिनमा तिम्रो कति कमाइ हुन्छ, अनि त्यो कमाइ तिम्रो परिवारको लागि पर्याप्त छ, छैन, हो, यस्तै कुरा लेख।’

त्यसपछि थपिन्, ‘भन तिमी लेख्छौ?’

‘मैले त अहिलेसम्म कहिल्यै लेखेकै छैन’, आतेसमा मैले जवाब दिएँ, ‘….तर म कोशिश गर्नसक्छु। यदि मलाई लाग्यो कि मबाट यो काम हुनसक्छ, म तुरन्त तपाईंकहाँ लिएर आउनेछु। तपाईं आफ्नो ठेगाना दिनसक्नुहुन्छ?’

हामी जादवपुर पुगिसकेका थियौं। उनले कलम अनि कागज निकालिन्, ख्यासख्यास केही लेखिन् अनि मेरो हातमा थमाइन्।

‘लेऊ’, उनले भनिन्।

उनले थमाएको कागजको टुक्रा पढिसकेपछि मेरो संसार एकाएक फनफनी घुम्न थाल्यो।

‘तपाईं….!?’ उदेक मानेर म चिच्याएँ।

‘के तिमी मलाई चिन्छौ र?’

‘म तपाईंलाई राम्ररी चिन्छु, ओ महान् लेखक! सङ्घर्ष, प्रतिवाद, प्रतिरोध अनि आक्रोशको रगतबाट उब्जिएको त्यो ज्ञान, आहा! त्यो त्यही आक्रोश त हो जसले उत्पीडित अनि निमुखाको लागि उठ्ने तलवारजस्तो तपाईंको कलममा जलप भरिरहेको हुन्छ। तपाईंको कथा ‘द्रोपदी’ले मलाई उसको बलात्कारीलाई खोजेर निकाल्न उक्सायो ताकि म उसको हत्या गर्न सकूँ। यदि त्यसलाई होइन भने पनि त्यो जस्तोहरूलाई।’

त्यतिबेला कमसेकम मलाई यति भन्न मन लागेको थियो। तर मेरो मुखबाट केही पनि निस्किरहेको थिएन। म बिल्कुलै अवाक बनेको थिएँ।

‘मैले तपाईंका किताब पढेको छु। तपाईंको ‘अग्निगर्भ’ त यहीं मसँग छ,’ मैले केवल यतिमात्र भन्न सकेँ।

म सिटबाट उत्रिएँ अनि उनलाई किताब निकालेर देखाएँ।

मलाई थाहा छैन किताब बोकेर उभिरहेको त्यो बेला उनको दिमागमा के कुराले फन्को मारिरहेको थियो होला। तर उनको अनुहारमा छाएको एक विरल अनुभूतिलाई महसुस गरिरहेँ। आफूले विषय बनाएर लेखिरहने मजदुरले उनको किताब पढेको थाहा पाएपछि पक्कै उनलाई खुशी लागेको थियो कि।

जहाँसम्म मेरो कुरा छ, म रोमाञ्चले हावामा तैरिहेको अनुभूति गरिरहेको थिएँ। मेरो मुटु उत्पात धड्किरहेको थियो। मेरो शरिर कामिरहेको थियो। मष्तिष्क कामिरहेको थियो। जीवनै कामिरहेको थियो। दुइ खुट्टाहरूको सहारामा ठाडो उभिन मलाई भाउन्न भइरहेको थियो।

मैले मेरो शिर ठाडो गर्न सकिरहेको थिइनँ। जीवनमा दम्भसँग शिर ठाडो गरेर उभिन अनेक अवसर जुर्न सक्छ। तर विरलै मात्र शिर झुकाउनुको मीठो अनुभूति मिल्छ। त्यतिबेला मेरो शिर उनको पाउतिर झुकेको थियो। वर्षौं पहिले एक अस्थायी स्कूलको कोठाभित्र आमाको स्तनबाट तनतनी दुध चुसेर तिर्खा मेट्ने एउटा वालक आज एक साक्षात ईश्वरको अगाडि शिर झुकाएर उभिएको थियो। के महाश्वेता देवी सरस्वतीको अर्को नाम होइन र?

भोलिपल्टको बिहानको खानाको लागि मलाई निम्तो गर्दैगर्दा उनको बस आइसकेको थियो। बसमा चढेपछि मतिर हल्लिरहेको उनको हातमा एक अलौकिक आश्वासनको सङ्केत थियो।

000

सात बज्न अगाडि म उनको घर पुगिसकेको थिएँ। उनको घर बालिगञ्ज रोडमा थियो। एक एक पाइला गर्दै मैले उकालो चढिरहेको घुमाउरो सिँडीको फेद यस्तो जमिनमा भास्सिएको थियो जो प्रकृतिले ओतप्रोत थियो: फल-फूल, झारपात अनि कीरा फट्याङ्ग्रा पनि। तर सिँडीको माथिल्लो भागले मेरो लागि एउटा यस्तो स्थानको सङ्केत गरिरहेको थियो जो अथाह, अन्त्यहीन, सिमाहीन थियो, जसमा एक गोप्य अनि अज्ञात भविष्य थियो।

उकालो चढ्दै गर्दा सिँडी चुइँकियो। लाग्यो, त्यसले आफ्नै भाषामा मलाई स्वागत गरिरहेछ। पहिल्लो तल्लाको उनको ढोका अगाडि उभिएपछि मलाई जीवनको चरम बिन्दुमा पुगिसकेको आभास भइरहेको थियो। मेरो सुस्त ढकढकलाई भित्रबाट आएको उनको आवाजले जवाब दियो।

‘ढोका खुल्लै छ, भित्र आउ अनि बस मदन।’

उनले मलाई देखिरहेकी थिइनन् तर उनलाई थाहा थियो उनको ढोका अगाडि उभिने मनुवा म हूँ। हो, हिजको त्यही पागल मान्छे जो रातभरि झिमिक्क निदाउन सकेन अनि उज्यालो खस्ने बित्तिकै हस्याङफस्याङ उनको ढोका अगाडि उभिन आइपुगेको छ।

एउटा टेबल अनि एउटा चौकी। टेबलमा केही कलम अनि कागज। त्यो उनको लेख्न बस्ने कोठा थियो। उनी दस-बाह्र मिनटपछि आइपुगिन्। आइतबारको दिन थियो। कोठामा केही मान्छे आइपुगे अनि हरेकलाई उनले मलाई लेखक भनेर चिनाइन्।

‘यिनी मेरो नयाँ लेखक हुन्, मदन।‘

000

त्यसपछि मेरो जीवनको सबभन्दा कठिन समयको थालनी भयो। एउटा यस्तो सङ्घर्ष जो खँदुवा अनि बमसँग लड्नभन्दा गाह्रो थियो। एउटा यस्तो सङ्घर्ष जो मलाई थाहा भएका साह्रा सङ्घर्षहरूभन्दा चुनौतिपूर्ण थियो।

एउटा हरफले अर्को हरफलाई व्यापक दखल दिइरह्यो। फरक ठाउँमा फरक अर्थ लाग्ने शब्दसँग मेरो साक्षात्कार हुनथाल्यो। कुन शब्द सही अनि कुन चाहिँ गलत, कसरी थाहा गर्ने? कुन शब्दलाई कहाँ राख्दा वाक्य बोधगम्य अनि व्याकरणिक हिसाबले सही हुन्छ? यही मेसोमा अनेक पाना भरिए। अनि त्यतिकै च्यातिए पनि। कागजको दिस्ता अनि त्यसलाई जलाउने मट्टितेलको लागि दौड्धुप चलिरह्यो। अन्तमा लेखिएको कुरामा कमोबेस सन्तुष्टि मिल्यो।

‘म रिक्सा चलाउँछु’ शिर्षकको त्यो लेख ‘बर्तिका’को जनवरी-मार्च १९८१ अङ्कमा छापिएर आयो।

महाश्वेता देवी केवल एक लेखक थिइनन्। कवि मनिष घटकको छोरी, फिल्म निर्देशक ऋत्विक घटकको भतिजी अनि नाट्यकर्मी विजन भट्टाचार्यको पूर्वपत्नी।

उनी प्रतिरोधको एक विशेष हस्ताक्षरको रूपमा त्यतिबेला स्थापित थिइन्।

उनले सम्पादन गर्ने जर्नलमा मेरो नाम आइसकेपछि ‘युगान्तर’ समाचारपत्रको एक समिक्षकले मेरो लेखनको तारिफमा दुइ हरफ लेखे।

‘धेरै नजिक, तर धेरै टाढा,’ साप्ताहित स्तम्भमा महाश्वेता देवीले लेखिन्, ‘मदन साँच्चै विशेष मान्छे हून्। उनी रिक्सा चलाउँछन्। उनी लेख्छन्।’

मलाई चिनाउन यति काफी थियो। त्यसपछि शहर अनि बाहिरका अनेक पत्र-पत्रिकाले मेरो लेख माग्न शुरू गरे। एक रिक्सावाला लेखकको नाममा म एकाएक चर्चित बनेँ। यसले मेरो उत्साहमा इन्धनको काम गऱ्यो अनि मलाई विस्वास दिलाउन थाल्यो।

अब मात्र मलाई लाग्न थाल्यो, हो म लेख्नसक्छु।


(उनको आत्मकथा ‘इन्टरोगेटिङ माई चन्डाल लाइफ’ पुस्तकको अंश)

अनुवाद: लेखनाथ छेत्री

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

विज्ञापन