‘जिटिए चेयरमेन राहत कोष’को प्रयोग बारे बैठक

खबरम्यागजिन डेस्क


बढ्दो कोरोना सङ्क्रमण अनि यसबाट उत्पन्न हुने खतराबाट देशवासीलाई बँचाउन देशका प्रधानमन्त्री नरेन्द्र मोदीले २३ मार्च २०२० को दिन देशको नाममा सन्देश दिँदै अनिश्चितकालिन देशव्यापी लकडाउनको घोषणा गरे।

प्रधानमन्त्रीको आपातकालिन लकडाउनको घोषणाले धेरैवटा क्षेत्रहरूलाई व्यापक असर पार्ने कुरा शुरूबाटै सबैलाई ज्ञात थियो। विशेष पहाडका चिया मजदुरहरूलाई यस अनिश्चितकालिन लकडाउनले आर्थिक अवस्थामा असर पार्ने बुझेर चियाबगान बन्द हुने सम्भावना देखेपछि जिटिएले ‘जिटिए चेयरम्यान राहत कोष’ को स्थापना गरेको थियो।

तर केही समयपछि सरकारले चिया बगानहरूलाई लकडाउनबाट छुट दियो। तर जिटिएले स्थापना गरेको उक्त राहत कोषमा अनुदान भने आइरह्यो। आजको दिनसम्म उक्त राहत कोषमा कुल २,१२,५८,९५७.६७ रूपैयाँ जम्मा भइसकेको कुरा आज जिटिएबाट जारी गरिएको सुचनामा बताइएको छ।

तर धेरै महिनासम्म यस अनुदानको प्रयोग बारे सम्बन्धित पक्षबाट कुनै पहल नहुँदा नागरिक समाजमा यो व्यापक चर्चाको विषय बनिरहेको थियो। विशेष विपक्षी खेमाले राहत कोषको नाममा पैसा सङ्कलन गरेर धाँधली गरेको आरोप पनि जिटिएमाथि कसिरहेका थिए। कतिले उक्त राहत कोषमा कति रकम जम्मा भयो, सम्बन्धित निकायले झट्ट सार्वजनिक गरिनुपर्ने कुरा पनि उठाइरहेका थिए।

आज सारा सन्देहमाथि विराम लगाउँदै जिटिए अध्यक्ष अनित थापाले स्टेकहोल्डरहरूलाई बोलाएर लालकोटीमा एउटा बैठक बसेका छन्। बैठकको मुख्य एजेन्डा उठेको रकमलाई कसरी प्रयोगमा ल्याउने भन्ने थियो। उक्त बैठकमा कोषमा जम्मा भएको रकमको आँकडा सार्वजनिक गर्दै अनित थापाले आफ्नो वचन अनुसार जम्मा भएजति पैसा जिटिएबाट थपिएपछि मोठ रकम ४ करोड २५ लाख भएको घोषणा गरेका छन्।  

 ‘कोषमा आएको रकम जनताको पैसा हो, यसको उपयोग परापर्श लिएपछि गरिनेछ।‘ सभापछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ। जनताको पैसा हुनको कारण उक्त रकमको अडिट हुने कुरा पनि उक्त विज्ञप्ति मार्फत जनाइएको छ।

चिया श्रमिकको निम्ति उठाइएको उक्त रकम जिटिए क्षेत्र अन्तर्गत पर्ने ८७ चिया बगानका श्रमिकको निम्ति मात्र प्रयोग गर्ने कि सम्पूर्ण जिटिए क्षेत्रका जनताको निम्ति गर्ने? भन्ने कुरा सभामा वहसको मुख्य विषय रहे पनि यस बारे ठोस निर्णय ननस्किएको जानकारी छ।  

वहसबीच स्टेकहोल्डरहरूबाट धेरै राम्रा सुझावहरू आएको तर सम्पूर्ण सुझावहरूलाई कार्यमा परिणत गर्न नसकिने कुरा पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

अन्तमा जी टी ए सेक्रेटरीको अध्यक्षतामा एउटा कमिटी बनाएर यो कोषको उपयोगिता विषय निर्णय लिने भन्ने कुरामा आएपछि सभाको अन्त्य भएको छ।

आजको सभामा प्रभुख सचिव, जिटिए, क्याथलिक चर्चका विशप स्टेफन लेप्चा, प्रमुख आर्थिक कन्ट्रोलर जिटिए, गोरामुमो, अभागोलि, टिएमसी ट्रेड युनियनका प्रतिनीधि, स्कूल अनि कलेजका प्रमुख, गैर सरकारी साथै अन्य संस्थाका प्रतिनीधि अनि अन्य केही विभागका प्रतिनीधि मण्डली उपस्थित रहेको जानकारी पाइएको छ।  

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

विज्ञापन