आज सङ्कल्प : भोलि ठूलो घोषणा

वास्तव तामाङले दुइवटा कुरा गरिरहेका छन्। एउटा, दार्जिलिङ, तराई र डुवर्सका ट्रिटी अब्लिकेटेड क्षेत्रलाई संवैधानिक न्याय दिलाउने।, अर्को, देशभरिका गोर्खाहरूको निम्ति कुनै व्यवस्थाको निम्ति तयार गरिएको एजेण्डाको घोषणा। त्यो कस्तो व्यवस्था होला? भोलि छर्लङ्ग हुने सम्भावना छ।


खबरम्यागजिन डेस्क


मन घिसिङको ठाउँमा विनय तामाङ : विनय तामाङको ठाउँमा मन घिसिङ

आज दार्जिलिङमा अचम्मको घटना भयो। जसले मुद्दा उठाएको थिए, उनको पार्टीले मुद्दासुद्दा छोडेर विधानसभा चुनाउको लागि भोट मागिरहेको थियो। जो चुनाउमा उठ्नुपर्ने उनले भने चुनाउ नै नउठ्ने घोषणा गर्दै सङ्कल्प सम्मान थापिरहेका थिए।

सम्मान यसकारण पनि थियो, कि जसले चुनाउको लागि मुद्दासुद्दा फ्याँकिरहेका थिए, त्यसरी फ्याँकिएको मुद्दासमेत काँधमा हालेर ‘म फत्ते गर्छु’ भनेर सङ्कल्प गरिरहेका थिए।

कुरा हो विनय तामाङ र मन घिसिङको।

किन भने विनय तामाङले गर्नुपर्ने काम आज मन घिसिङले गरिरहेको देखियो र मन घिसिङले गर्नुपर्ने काम विनय तामाङले गरिरहेको देखियो।

एकातिर 2021 को चुनाउलाई ध्यानमा राखेर गोरामुमोले जनसभा गरिरहेको थियो। अर्कोतिर कहिल्यै चुनाउमा नउठ्ने र दार्जिलिङ, तराई र डुवर्सको ट्रिटी अब्लिकेटेड क्षेत्रलाई संवैधानिक न्याय दिलाउन अग्रसर बनेकोमा गोर्खा जनमुक्ति नारी मोर्चाले सङ्कल्प सम्मान गरिरहेको थियो।

यस्तो ठिक उल्टा राजनैतिक गतिविधि आज दार्जिलिङमा देखियो।

विनय तामाङलाई सङ्कल्प सम्मान

गोर्खा दुःख निवारक सम्मेलन भवनमा विनय तामाङ सङ्कल्पसम्मान ग्रहण गर्न पुगेका थिए। जनमुक्ति मोर्चाले उनले चुनाउ नलड्ने भनेर गरेको घोषणा र संवैधानिक न्यायको निम्ति अग्रसर बनेकोमा यो सम्मान प्रदान गरिएको थियो।

सम्मान कार्यक्रममा उनले आफ्ना धारणाहरू स्पष्ट राखे।

नेपाल अनि थिम्पुमा तामाङको मुद्दाले उथुल पुथुल

‘म चुनावको भाग दौडमा छुइन,’ तामाङले भने, ‘मैले कालेबुङमा नै घोषणा गरेको थिएँ। जबसम्म भारतमा सम्पूर्ण भारतीय गोर्खाले संवैधानिक न्याय पाउँदैन तबसम्म भारतको कुनै पनि चुनावमा म भाग लिने छुइन।’

तामाङले 2019 को विधानसभा उपचुनाउ हारेका हुन्। हल्ला थियो, यसपल्ट पनि तामाङ चुनाउ उठ्नेछन्। तर भयो ठिक उल्टो। ‘चुनाउले मुद्दालाई बाधा गर्दोरहेछ,’ तामाङले भने, ‘म मुद्दा बोकेर हिँड्नेछु, चुनाउ बोकेर होइन।’

अनित थापाले बारम्बार भनिरहेका छन्, ‘जो सत्ताको लागि चुनाउ उठ्छन्, उसले गोर्खाल्याण्डको मुद्दा नबोके पनि हुन्छ। किन भने सत्ताको लागि गोर्खाल्याण्डको आन्दोलन गर्नेले आनदोलनलाई सत्ताकै लागि सम्झौता गरेको इतिहास छ।’

विनय तामाङ भनिरहेका छन्, ‘गोर्खाल्याण्ड वा गोर्खाहरूको चिह्नारी स्पष्ट हुने कुनै व्यवस्था हुनु अघि दार्जिलिङ, तराई र डुवर्सको ट्रिटी अब्लिकेटेड क्षेत्रले संवैधानिक न्याय पाएको हुनुपर्छ।’

सङ्कल्प सम्मान कार्यक्रममा आज पनि उनले भने, ‘विषय गम्भीर छ। १३ दिसेम्बरमा जुन मुद्दा हामीले उठायौं, यो मुद्दाले जन मानसमा त्यति असर पुऱ्याएको छैन होला तर दिल्ली, नेपाल अनि थिम्पुमा यो मुद्दाले उथुल पुथुल अवश्य पारेको छ।’

भारतीय गोर्खा राजनैतिक सफोकेसनमा

तामाङअनुसार जातिको चिन्हारीको निम्ति भनेर आन्दोलनहरू भए। आन्दोलनले धेरैलाई शहीद बनायो। तर जुन सपनाको निम्ति लडिएको थियो, त्यही सपना भने कहिल्यै पुरा भएन।

‘किन पूरा भएन त? कतै नेतृत्वको गल्तीको कारण पो हो कि,  हाम्रो बाटो पो ठीक थिएन कि,’ तामाङले भने, ‘अब केलाएर अघि बढ्नैपर्ने भयो।’

केही वर्षदेखि उनी यही केलाइरहेका थिए। केलाउँदाकेलाउँदै उनले थाहा पाए राजनैतिक संस्थालाई सही मार्गमा ल्याउनु हो भने विचारधारालाई अघि राखेर काम गर्नुपर्ने रहेछ।

‘भारतमा बस्ने गोर्खाहरू राजनैतिक सफोकेसनमा छन,’ तामाङले भने, ‘त्यहाँबाट निकाल्ने विचारधारा बनाउनैपर्ने भयो।’

हाम्रो मुद्दा गम्भीर छ

उनले कार्यक्रममा स्पष्ट पारे। उप्रान्त उनले बोकेको मुद्दाले विधवा, टुहुरो सहिद बनाउने छैन। कोही जेल जानु पर्ने छैनन्। विध्वंशकारी राजनैतिक क्रियाकलाप हुने छैन। बौद्धिक आन्दोलन हुनेछ।

‘हचुवाको भरमा मैले यो मुद्दा बोकेको होइन,’ तामाङले भने, ‘हामीसँग धेरै बौद्धिकहरू जुटेका छन्। तर यो आन्दोलनले अर्कै रूप लिनसक्छ। किनभने हाम्रो मुद्दा गम्भीर छ। यो अन्तर्राष्ट्रिय मुद्दासँग सम्बन्धित छ। यी दुई सन्धीले देशलाई फाइदा होला तर गोर्खा जातिलाई असर पारेको छ। यी सन्धीका धाराहरू संसोधन हुनुपर्छ।’

केही दिन अघि नेताजी सुबास चन्द्र वोसको जन्म जयन्ती मनाइयो। आजाद हिन्द फौजमा ९०% गोर्खाहरू थिए। गान्धीजीको आन्दोलनमासमेत गोर्खाहरू थिए। भारत स्वतन्त्र भएको पहिलो भारतको क्याबिनेटमा सरदार वल्लभ भाई पटेलले नर्दन हिमालयन जोनमा बस्ने गोर्खाहरूलाई शङ्काको दृष्टिकोणले हेरेका छन्।

तामाङअनुसार गोर्खाहरूको देशप्रतिको सम्मानमाथि त्यसरी सन्देह गरेर गोर्खालाई पटेलले उतिबेलै मारिसकेका हुन्।  

‘हामी कसैको दया मायामा आएको होइनौं। यो भूभाग हाम्रो हो। आज पनि भारतीय सेनामा गोर्खाहरू छन्। जहाँ पनि युद्ध हुन्छन् हाम्रै गोर्खाहरू शहीद हुन्छन्। भारतले सम्मान त दिन्छन तर बिर्सन्छन्,’ तामाङले विस्तारसित सुनाए, ‘आज जुन कुरो हामी उठान गर्दैछौं, यो मुद्दालाई ठीक ठाउँमा उठाउनु हो भने चुनावको राजनीतिदेखि बाहिर बसेर काम गर्नु पर्छ। त्यसैले जनताको समस्याको निम्ति शाषणप्रणालीको राजनीति हुनेछ अनि हामीले बोकेको राजनीति सैद्धान्तिक राजनीति हो। गोजमुमोले पहाडमा अर्को आयाम थपिदिएको छ त्यो हो -सैद्धान्तिक राजनीति।’

तामाङ पछिल्तिर बौद्धिकहरू

भारत भुटान सन्धी 1949 र भारत नेपाल सन्धी 1950 ले निम्त्याएका सङ्कट र त्यो सङ्कटसित लड्न वा संवैधानिक न्यायको लडाईँको लागि तामाङसित 9 सदस्यीय कमिटी छ। दिल्ली र मुम्बईमा पनि यसै विषयमा काम गर्नेहरू छन्।

तामाङअनुसार प्रस्तावित गोर्खाल्याण्डको मानचित्र 1965 मा नै कोरिएको हो। यो मानचित्रको 70% भुभाग भुटानको हो। मालिक भुटान हुन् तर मागिँदैछ दिल्लीलाई।  कालेबुङ अनि डुवर्सलाई दुई सन्धीले छोएको छ जब कि अन्य ठाउँका गोर्खालाई केवल 1950 को सन्धीले मात्र छुन्छ। जबसम्म यो सन्धीहरूको संसोधन हुँदैन गोर्खा भारतमा सुरक्षित नै छैन।

‘भारत-नेपाल सन्धीबारे प्रवुद्ध कमिटी बनाइएको छ। त्यो कमिटीले कुन रिपोर्ट बुझायो त्यो हामी जान्न चाहन्छौं। इपिजीको 9 पल्ट बैठकमा के के निर्णय लिएको छ त्यो जान्न चाहन्छौं,’ तामाङले थपे।

सुबास घिसिङलाई श्रेय

आफूले उठाउँदै गरेको मुद्दा अघिबाटै सुबास घिसिङले ठाएको भन्दै श्रेय दिन चुकेनन् तामाङ। उनले भने, ‘घिसिङले पनि एकपल्ट सन्धीको मुद्दा उठाएका हुन्। त्यो धारा 7 जलाउँदा नै हामीले आज पनि सहिद दिवस मनाउँछौं। त्यही धारा 7 को मुद्दा उठाउँदा उनलाई राष्ट्रद्रोहीको मुद्दा पनि लाग्यो। त्यस पछि पहाडको कुनै नेताहरूले यो मुद्दालाई छोएनन्।’

यो मुद्दा उठाउँदा भारत सरकारले उनीमाथि पनि मुद्दा थोप्न सक्ने तर आफूले भारतका नागरिक गोर्खाको सुरक्षाको सवाल उठाएकोले भारत सरकारले यो मुद्दालाई सम्बोधन गर्ने पर्ने जनाए।

‘देशहितकै निम्ति देशकै नागरिकको सुरक्षाको मुद्दा उठाउँदा देशद्रोही ठान्छ भने म जेल जान्छु तर मुद्दा छोड्दिन,’ तामाङले स्पष्ट पारे।

भोलि हुनेछ ठूलो घोषणा

‘13 डिसेम्बरमा हाम्रो मुद्दाको मगनी गरिएको दिन हो। आज सङ्कल्प सम्मानले मलाई (मुद्दालाई) घर भित्राएको छ, भोलि 1 फेब्रुअरी 2 बजे आफैले आफैलाई सिन्दुर लगाउन जाँदैछु,’ तामाङले घोषणा गरे, ‘जबसम्म त्यो सिन्दुर रहन्छ म कसैलाई पुछ्नु दिने छुइनँ। भोलि 2 बजे पत्रकार सम्मेलन डाकेको छु। भोलिको पत्रकार सम्मेलन भारतीय गोर्खाको निम्ति आशाको किरण हुनेछ।’

तामाङले भोलि देशभरिका गोर्खाहरूको निम्ति चाहिने कुनै व्यवस्थाको प्रारुप र त्यसको प्राप्तीको निम्ति तयार गरिएको एजेण्डा सुनाउने छनक छ। ‘गोर्खाको किपट गोर्खाल्याण्ड नै हुनेछ तर भारतभरि बसेका गोर्खाको निम्ति के छ?  त्यसबारे पार्टीको अडान भोलि घोषणा गर्नेछु,’ तामाङले भने, ‘आज हामीलाई भारतमा सम्मान सहित बस्नको निम्ति संवैधानिक न्याय चाहिएको छ। यही कुरा लिएर हामी अघि बढेका हुनेछौं।’

फेरि देशभरिका गोर्खाको लागि अर्को मुद्दा?

तामाङअनुसार 3 फरवरीको दिन कालेबुङमा विचार गोष्ठी हुनेछ। हल्ला छ, गोष्ठीमा भारतभरिका गोर्खाहरूको निम्ति चाहिने व्यवस्थबारे विषय विशेषज्ञहरूले बोल्नेछन्। त्यस्तै गोष्ठी खरसाङ अनि दार्जीलिङमा पनि हुनेछ। तामाङले छनक दिएका छन्, ‘यो सबै गोर्खाको निम्ति विचार गोष्ठी हो।’

वास्तव तामाङले दुइवटा कुरा गरिरहेका छन्। एउटा, दार्जिलिङ, तराई र डुवर्सका ट्रिटी अब्लिकेटेड क्षेत्रलाई संवैधानिक न्याय दिलाउने।, अर्को, देशभरिका गोर्खाहरूको निम्ति कुनै व्यवस्थाको निम्ति तयार गरिएको एजेण्डाको घोषणा। त्यो कस्तो व्यवस्था होला? भोलि छर्लङ्ग हुने सम्भावना छ।

तामाङले स्थायी राजनैतिक समाधान भन्नेहरूलाई छड्के पनि हाने। भने, ‘संवैधानिक न्याय’ संविधानले जन्माएको विषय हो। स्थायी राजनैतिक समाधान राजनैतिक दलले जन्माएको विषय हो। हाम्रो लडाइ संवैधानिक न्याय अनि अन्यायसित हो। पिपिएससित होइन।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन