गीतको राजनीति

विमल गुरुङले बजाउँथे,-‘जितेको जितेकै मोर्चाले, हार्न त कहिल्यै जान्दैन।’ निरज जिम्बाले बजाए,- ‘ढाँटेको ढाँटेकै मोर्चाले सत्य त कहिल्यै बोल्दैन।’ के ठेगान ‘मोट्टा नै चोट्टा’ भन्ने गीत अब विमलको मञ्चमा पनि बज्ने हो कि?


खबरम्यागजिन डेस्क


अचेल जनसभामा एउटा ट्रेन्ड छ, मञ्चमा नेता चढ्न अघि गीत बजाउने अनि गीत बज्दैगर्दा नेताले आफ्नो दलको झण्डा हल्लाउने।

जब विमल गुरुङ सिलगढी गान्धी मैदानमा उत्रिए। सबैलाई पुरानै विमल गुरुङको झझल्को आयो। तीनवर्षअघि विमल गुरुङ यसरी नै मञ्चमा चढ्दा एउटा गीत बज्थ्यो, ‘जसलाई बनायो अगुवा भगुवा उ भइदियो, जाति र माटोसितै विकुवा उ भइदियो।’

यो गीत बजेपछि विमल गुरुङ प्रसन्न मुद्रामा मञ्चमा देखापर्थे र पार्टीको झण्डा लहराउँथे। समर्थकहरूले परर ताली बजाउँथे। यो गीत त्यतिखेर सुबास घिसिङलाई वाण हान्न विमल गुरुङले कुनै गायकलाई पैसा दिएर गाउन लगाएका थिए। जनतालाई गीतमार्फत विमल गुरुङ भन्न चाहन्थे, ‘जनता तिमीले जसलाई अगुवा बनायौ, दागोपाप थापेर मुद्दाबाट भगुवा बनेका छन्। जातिलाई पनि बेचे, माटोलाई पनि बेचे। म चाहीँ त्यस्तो नेता होइन।’

तर गीत भनेको गीत नै हो, हिजो सुबास घिसिङलाई लाग्ने बाण आज विमल गुरुङलाई नै ठ्याक्क लाग्ने भयो। तीनवर्षअघि दिल्ली हुइँकिएका विमल गुरुङ ममता व्यानर्जीको हात समातेर फर्केला भनेर कसले सोचेका थिए होलान्?

ममता व्यानर्जीले 2017 मा 13 जना आन्दोलनकारीलाई गोली ठोके। कैयौंले पहाड छोडेर भागे। कैयौं घायल बने। तीनवर्ष विमल गुरुङ दिल्ली बसे। भाजपासित गठबन्धनमा रहेका साथीहरूसित मिलेर भाजपालाई चुनाउ त जिताए तर त्यसरी नै मिलेर मुद्दाको लागि भने विमल गुरुङले छिरिक्क काम गरेनन्। जे गरे एक्लै गरे। चुनाउ जिताउँदा सबै दल, तर मुद्दाको निम्ति भने एक्लै। भाजपाले विमल गुरुङलाई मात्र महत्व दिएर अरू दललाई किनारीकृत गरेन। त्यसैले विमलले बारम्बार मन्त्री र नेताहरू भेटे पनि भाजपाले केही महत्व दिएन।

भाजपाबाट आफ्नो स्वार्थ पूरा नहुने भएपछि आखिरमा विमल गुरुङलाई आफ्नो असली अनुहार देखाउन कर लाग्यो। जसले आन्दोलन दबायो उसैको हात समातेर विमल पहाड फर्किए।

गान्धी मैदानमा ठूलो जनसभा थियो। अबेर गरेर विमल गुरुङ मञ्चमा चढे। गुरुङलाई ठीक तीनवर्ष अघि कै स्टाइलमा मञ्चमा देखियो। विमल मञ्चमा चढे, त्यसरी नै गीत बज्यो। त्यसरी नै विमलले झण्डा लहराए।

तर गज्जबको कुरा के थियो भने विमल गुरुङले झण्डा लहराउँदै गर्दा गीत भने, यस्तो बज्यो-‘जसलाई बनायो अगुवा भगुवा उ भइदियो, जाति र माटोसितै विकुवा उ भइदियो।’

विमल गुरुङको जनसभाको मञ्चबाट अन्तिमपल्ट बजेको गीत त्यही थियो। त्यसपछि यो गीत विमलको मञ्चमा कहिल्यै बजेन। गीतले विमलको मुटु छेंड्यो कि?

विमल गुरुङको मञ्चमा बज्ने अर्को गीत पनि छ। ‘जितेको जितेकै मोर्चाले, हार्न त कहिल्यै जान्दैन।’ यो गीत पनि अचेल साह्रै बज्दैन।

विमलको जनसभामा अचेल उदय सोताङको ‘घरको जेठा दाजु’ बज्छ।

घरको जेठादाजु ‘जसलाई बनायो अगुवा भगुवा उ भइदियो, जाति र माटोसितै विकुवा उ भइदियो।’ भइसकेको गीत बज्दैन।

विनयको जनसभामा पनि यस्तो गीत बज्छ, ‘अनित थापा जिन्दावाद, विनय तामाङ जिन्दावाद’ वाला। जनताले भनोस् नभनोस् समर्थकहरूले भने भनिरहेकै छन्।

खासमा जनसभामा गीत बजाउने परम्परा सुबास घिसिङले नै शुरु गरेका हुन्। त्यति हो, विमल गुरुङ र विनय तामाङहरूलेजस्तो सुबास घिसिङले गीतमा झण्डा भने हल्लाएनन्।

घिसिङले नहल्लाएर के भो? गोरामुमोका नेता र भाजपाका विधायक निरज जिम्बाले ठ्याक्कै विमल, विनयकै परम्परा आजदेखि शुरु गरिहाले।

धेरैवर्षपछि दार्जिलिङमा गोरामुमोको जनसभा भयो। जनसभामा निरज जिम्बाको इन्ट्री ठिक त्यस्तै भयो, जस्तो विमल र विनयको हुन्छ। नेता मञ्चमा चढ्छन् र गीतको धुनमा झण्डा लहराउँछन्।

जिम्बाले पनि आज त्यसै गरे। तर गीत भने निक्कै अनौठो बज्यो।

विमल गुरुङले बजाउँथे,-‘जितेको जितेकै मोर्चाले, हार्न त कहिल्यै जान्दैन।’

निरज जिम्बाले बजाए,- ‘ढाँटेको ढाँटेकै मोर्चाले सत्य त कहिल्यै बोल्दैन।’

वास्तवमा जिम्बाले विमलको परम्परा पछ्याएका होइनन्, विमलकै परम्परालाई विमललाई नै वाण हान्नको निम्ति प्रयोग गरेका हुन्।

के ठेगान ‘मोट्टा नै चोट्टा’ भन्ने गीत अब विमलको मञ्चमा पनि बज्ने हो कि?

यो गीतको राजनीतिले जनतालाई भने खुब मनोरञ्जन मिलिरहेको छ।

https://www.facebook.com/iamzimba/posts/2391550427658124

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

विज्ञापन