यसपालि गोर्खा जातिमाथि विश्‍वासघात हुनुहुँदैन- मन घिसिङ

 

‘भाजपाको काम गर्ने तरिका सर्जिकल स्ट्राइकको स्टाइलको छ। धारा 370 हटाउँदा, राम मन्दिरको मुद्दा पनि बिलको सूची ननिकाली अचानक समाधान गरेको थियो,’ जिम्बाले भने, ‘गोर्खाको मुद्दामा पनि यस्तै हुनेछ। यसैले हामीले वान फाइन मर्निङ भनेका हौं।’


खबरम्यागजिन डेस्क


आजदेखि दिल्लीमा संसद सत्र शुरु भयो। यो सालको अन्तिम सत्र हो। बजेट सत्र। सत्रमा चल्ने बहस हुने बीलको सूचीमा गोर्खाको एउटै मुद्दा छैन।

यता सांसद राजु विष्टले भनेका छन्, ‘भगवानले चाह्यो भने विधानसभा चुनाउ अघि केही हुन्छ।’

यस्तोमा आज गोर्खा राष्ट्रीय मुक्ति मोर्चाले मोटरस्ट्याण्डमा जनसभा गऱ्यो। जसलाई सम्बोधन गर्दै गोरामुमो अध्यक्ष मन घिसिङले भने, ‘सांसद राजु बिष्टजस्तो सांसद पाउनु गोर्खा जातिको भाग्य हो।’

यतिभन्दा भन्दै पनि घिसिङले थपे, ‘विष्टले गोर्खा जातिका लागि दिल्लीमा असल कार्य गरिरहेका छन्। यसैले भाजपालाई गोरामुमोले सधैँ साथ दिनेछ। तर यसपालि गोर्खा जातिमाथि विश्‍वासघात हुनुहुँदैन।’

मन घिसिङको भनाइ छ, विमल गुरुङले गोर्खाको शिर झुकाएका छन्। ‘उनले शिर मात्र झुकाएनन् शिरको टोपी कसैको खुट्टामा झारेका छन्। तर त्यो टोपी हामीले टिपेका छौं,’ घिसिङले भने, ‘आप्पा भन्नुहुन्थ्यो, गोर्खाल्याण्डको घोडामा जोकोही चढ्न सक्दैनन्। चढ्न खोज्नेहरू पछारिएको हामीले देख्यौं।’  

जनतालाई विश्वासघात गर्ने विमल गुरुङले झुटो बोल्न छोड्ने आग्रह गर्दै घिसिङले सुझाव पनि दिए, ‘अझ पनि समय छ, यदि यो समयमा पनि सही निर्णय लिएन भने भावी-पिँढ़ीले विमल गुरुङलाई माफ गर्नेछैन।’

घिसिङलाई यसपालि केन्द्र सरकारले केही गर्छ भन्ने आशा छ।  उनलाई लाग्छ, केन्द्र सरकार स्थायी राजनैतिक समाधान (पीपीएस)-का लागि गम्भीर छ। यसैले जनता पनि गम्भीर बन्नुपर्छ।

घिसिङको कुरा स्पष्ट थियो, पहाड, तराई र डुवर्सका जनता अरु कुनै पार्टीको पछि होइन गोरामुमोको पछि लागोस्।

पहाडको आरटीआई बाबा मै हुँ-जिम्बा

जनभेलालाई भाजपाका सांसद र गोरामुमोका नेता निरज जिम्बाले पनि सम्बोधन गरे।

‘यसपल्ट राष्ट्रपतिले सुबास घिसिङलाई पद्मभूषण पुरस्कार दिने पक्कापक्की थियो। तर त्यो पुरस्कार एकजना मान्छेको कारण दिइएन,’ जिम्बाले भने, ‘ती मान्छे थिए- मन घिसिङ।’

जिम्बाअनुसार मन घिसिङको अडान फरक आयो। मन घिसिङ चाहन्थे, जबसम्म केन्द्रले स्थायी राजनैतिक समाधान दिँदैन तबसम्म पुरस्कारको मूल्य रहँदैन।

भर्खर केन्द्रिय मन्त्रीहरूसित गठबन्धन दलले बैठक गरेको सम्बन्धमा एउटा आरटीआई सोसल मिडियामा भाइरल भयो। जिम्बाले त्यसबारे स्पष्टिकरण दिए। उनले भने, ‘बैठक 19 तारिक भएको थियो, तर आरटीई 25 तारिकको गरियो। 25 तारिक केही भएकै थिएन यसकारण सरकारले सत्य कुरा बताएको हो। आरटीआई गर्नु मलाई नसिकाए हुन्छ। पहाडको आरटीआई बाबा मै हुँ।’

यसबीच जिम्बाले 2017-मा देशरक्षालाई ध्यानमा राखेर नै दार्जीलिङ पहाड़मा शान्ति कायम गर्न गोरामुमोले वार्ताका लागि राज्य सरकारलाई पत्र लेखेको स्पष्टीकरण पनि दिए।

जिम्बाअनुसार राष्ट्रीय सुरक्षा सल्लाहकार अजित डोभालले मन घिसिङलाई फोन गरेका थिए। त्यतिखेर डोक्लाममा चीन र भारतको विवाद चलिरहेको थियो। स्थिति हेर्दा नर्थइष्ट नै चाइनाले हडप्ने स्थिति बनेको थियो।

‘त्यतिखेर केन्द्रको कसैले पनि गोर्खाल्याण्ड आन्दोलनमाथि बोलेको भए, त्यसलाई विदेशी शक्तिले गलत तरिकाले प्रयोग गर्न सक्थ्यो,’ जिम्बाले भने, ‘डोभालको यही परामर्श बुझेर गोरामुमोले राज्यलाई शान्तिको लागि पत्र लेखेको थियो।’

यता संसद सत्रमा गोर्खाका मुद्दाको बीलको सूची नआएकोले भाजपालगायत गठबन्धनका दलहरूमाथि प्रश्न उठिरहेको छ। जिम्बाले यसबारे पनि स्पष्टिकरण दिए। ‘भाजपाको काम गर्ने तरिका सर्जिकल स्ट्राइकको स्टाइलको छ। धारा 370 हटाउँदा, राम मन्दिरको मुद्दा पनि बिलको सूची ननिकाली अचानक समाधान गरेको थियो,’ जिम्बाले भने, ‘गोर्खाको मुद्दामा पनि यस्तै हुनेछ। यसैले हामीले वान फाइन मर्निङ भनेका हौं।’

गोरामुमोलाई सत्ता चाहिन्छ

अर्कोतिर यसपालि गोरामुमोबाट दार्जिलिङका उम्मेदारको निम्ति प्रवल सम्भावना बोकेका अजय एडवर्डले सिधासिधी कुरा राखे। ‘अहिलेसम्म गोरामुमोले जति विकासको काम गरिरहेको छ, त्यो गोरामुमोले गोजीको पैसाले गरिरहेको छ,’ एडवर्डले भने, ‘गोरामुमो सत्तामा आयो भने विकासले रफ्तार समात्नेछ। जनताले यसपल्ट गोरामुमोलाई सत्ताको बाटो देखाउनुपर्छ।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

विज्ञापन