
उता बङ्गरत्न पुरस्कार थाप्नु, यता श्रेष्ठको मुद्दा उठ्नु के संयोग मात्र हो? खबरम्यागजिनले सोधेको उत्तरमा श्रेष्ठले भने, ‘हो, संयोग मात्र हो।’ श्रेष्ठ भन्छन्, ‘बंगरत्न सम्मान चयन प्रकिया धेरै अघिदेखि नै शुरू हुन्छ अनि मात्र चुड़ान्त निर्णय गरिन्छ। गोजमुमो-2 ले गोर्खा भारती विचार मञ्चको अवधारणा स्वीकारेको भर्खरै मात्र हो। कुनै सम्बन्ध छैन दुई विषयमा। दुवै घटना एकै दिनमा घट्नु संयोग मात्र हो।’ श्रेष्ठले संयोग मात्र हो त भने, तर संयोग नै मात्र हो त? भन्ने प्रश्न उनकै उत्तरले पनि जन्माएको छ। किन भने सेटेलाइट वा एसेम्ब्लीको मुद्दाले बङ्गाल विभाजन नै हुँदैन। बङ्गाल चुँडेर गोर्खाल्याण्ड बनाउनुपर्ने समस्याबाट सेटेलाइट वा एसेम्ब्लीको मुद्दाले ममतालाई बचाउँछ। त्यसो हो भने बङ्गरत्न पुरस्कार र एसेब्लीको कुरा एकैसाथ उठ्नु कसरी संयोग मात्र होला त?
खबरम्यागजिन डेस्क
2017 मा जनता सडकमा उत्रिँदै गर्दा लेखक, कविहरू भने घरैमा बसेनन्। अझै वाम एक्टिभिष्टहरू घरैमा थुनिने कुरै आएन। कालेबुङ जनमुक्ति पार्कमा वाम एक्टिभिष्टहरूले कविहरू भेला गरेका थिए। भाषाको प्रतिवाद हुँदाहुँदै छुट्टै राज्यको मागमा उर्लिएका गोर्खा आवोगलाई रोक्न राज्यले जुन दमन नीति अप्नायो, त्यसको प्रतिरोधमा बोल्न कविहरू आएका थिए।
त्यही भेलामा आइपुगेका सीके श्रेष्ठले नितान्तै अभिनयको भावभङ्गीमा एउटा रोचक कविता सुनाए। अहिले त्यही कविता सोसल मिडियामा भाइरल छ।
त्यही कविताको भिडियो लिङ्क मुनिल्तिर हालेर चर्चित गायक महेश सेवाले श्रेष्ठलाई बधाई दिए। त्यो बधाई कम व्यङ्ग्य धेर थियो। ठ्याक्कै श्रेष्ठले गर्ने व्यङ्ग्य कै शैलीको।
‘सरहजुरलाई बङ्गरत्न पुरस्कारको निम्ति हार्दिक बधाई। हजुर त हाम्रो शिर हुनुहुन्छ, जब जब हजुरको यो कविता सुन्छु, गोर्खा हुनुको गर्वबोधले गदगद हुन्छु म’, सेवाले लेखेका छन्। कविता सुनेर सेवा जति गदगद थिए, कविता सुनाउनेले ग्रहण गरिरहेका पुरस्कारप्रति भने देखिएन।
त्यही शैली यता भाजपाका नेता बीपी बजगाईँले पनि अप्नाए।
‘आदरणीय दाज्यु श्री सीके श्रेष्ठज्यु पुरस्कारको हकदार हो भन्ने कुरालाई म मान्दछु,’ बजगाईँले लेखेका छन्, ‘मैले जीवनमा उहाँबाट धेरै प्रेरणा लिएको छु। आज उहाँले पाएको बङ्गरत्न पुरस्कारले उहाँको यस भिडियोमा वाचन गरिएको कविताको भावनालाई मर्न नदियोस्।’
यति लेखेर बधाई र शुभकामना दिँदैदिँदै पनि बजगाईँले थपेका छन्, ‘आज मेरो मन निकै गह्रौं भएको अनुभव भइरहेछ। यो मेरो साहित्यिक मनले पोखेको विचार हो।’
कविता सुनेर बजगाईँको मन गह्रौं भएको हो कि ममताको हातबाट श्रेष्ठले पुरस्कार थापेर? त्यो बजगाईँ नै जानुन्। तर बजगाईँको व्यङ्ग्य कसले नबुझ्लान्?
यसो त सोसल मिडियामा धेरैले धेरै प्रतिक्रिया दिइरहेकै छन्।
सेवा र बजगाईँले जुन कविताको भिडियोसितै बधाई दिएका थिए, त्यसले भने अर्कै कुरा भनिरहेको देखियो।
श्रेष्ठले वाचन गर्दै गरेको कविता राज्यको दमन विरुद्ध उठेको आवाज मात्र होइन, उनले त मुख्यमन्त्री ममता व्यानर्जीलाई ‘तिमी’ सम्बोधन गर्दै हाँकै दिएका छन्।
मुख्यमन्त्री ममता व्यानर्जीको दमन विरुद्ध त्यसरी कवितामा हाँक दिने सीके श्रेष्ठले हिजो सोही ममता व्यानर्जीकै हातबाट बङ्गरत्न पुरस्कार ग्रहण गरिरहेका थिए।
जब मिडियामा सीके श्रेष्ठ र रङ्गु सौरियालाई बङ्गरत्न पुरस्कार दिने खबर फैलियो, सबैको ध्यानाकर्षण सीके श्रेष्ठमा नै थुरियो।
ममता व्यानर्जीलाई कवितामा दमन विरुद्ध कविता वाचन गर्ने क्रान्तिकारी कविले गोर्खालाई दमन गर्ने मुख्यमन्त्री ममता व्यानर्जीको हातबाट कसरी पुरस्कार ग्रहण गर्न सक्छ? यही प्रश्न धेरैको मनमा झुण्डियो।
यसो त श्रेष्ठ पुरस्कारका हकदार हुन् भनेर सोसल मिडियामा नै धेरैले बधाई दिएकै छन्। तर केहीले भने बधाई दिने जुन शैली अप्नाए, त्यसले भने ‘ममताको दमनबारे बोल्ने कविले दमनकारी ममताबाट पुरस्कार नथापेको भए हुने’ भन्ने आशय नै प्रकट गरेको देखियो।
त्यसैले हकदारको हिसाबमा बधाई र शुभकामना त दिए, सँगसँगै ‘ओ ममता’ भन्ने कविताको लिङ्क सेयर गर्दै व्यङ्ग्य पनि कसे।
श्रेष्टले वाचन गरेको हिन्दी कविता यस्तो छ-
ओ ममता
सीके श्रेष्ठ
आज आठ दस पत्थर क्या चली
दो चार गाडियाँ क्या जली
आप ने सेना को ही बुला लिया?
क्या करेंगी आप
कल अगर अन्याय और अत्याचार के प्रतिरोध मे
गोर्खाओं का गुस्सा बाँध तोडकर फुट पडी तो
कहर बनकर टुट पडी तो
किसको जुहार करोगी तुम
किसको पुकार करोगी तुम
ओ ममता
क्या हमें पता नहीं
अनाहक, अकारण
बिना कोही उत्तेजन
इस तरह सेना को क्यों बुलाया गया
क्या हमे पता नही?
अरे शांति स्थापना तो कहना भर है
ये तो एक महज बहाना भर है
आप तो अनुशासित दार्जिलिंग को अराजकता कि तस्वीर बनाना चाहती हो
इस को स्वीजरल्याण्ड तो बना नसकी तुम अब अशांत कश्मिर बनाना चाहती हो
क्या हमे पता नहीं
ओ ममता
ममता
आग से इतना मत खेलो
झुलसकर फस जाओगी तुम
हमारे लिए खोदे गड्डे मे
खुद ही गिरकर धस जाओगी तुम
ममता
और सायद तुम को पता नही
गोर्खों का एक इतिहास भी है
इस जाति ने समर भूमि मे कहीं भी पीठ नही दिखायी हैं
जहाँ कुछ करने की ठानी है वोही जितकर आयी हैं
और क्या अधिकार है तुमको कहना
दार्जिलिंग पर हम को नाज है
अरे तुम को पता नही
दार्जिलिंग डेड करोड गोर्खाओं का ताज है
ममता
तुम सोचती हो
विमल शेष तो आन्दोलन शेष
जिटिएको हथियालिया तो आन्दोलन शेष
कुछ विकाउ लिडरों को खरिद लिया तो आन्दोलन शेष
कुछ निरीह लोगों को पैसा बाँटे तो आन्दोलन शेष?
बहुत बढी भूल कर रही हो तुम
एक बात गांठ बाँधकर सोचलो तुम
गोर्खाल्याण्ड विकाउ सामान नहीं हैं
जबतक एक गोर्खा का सिने मे एक गोर्खा दिल धडकता रहेगा
तब तक उस में गोर्खाल्याण्ड का सुखद सपना पनपता रहेगा
ममता
ये बात मत भूलो तुम
और
ये भी मत कहना कि अरे गोर्खा तो मेरा साथ में हैं
मोहतरमा
आप के साथ जो है न, गोरखा नही हैं
क्यूँ कि जो टिके हैं वो ही गोर्खा हैं
जो बिके हैं वो कहाँ गोरखा हैं?
ओ ममता
बहुस सारे सितम ढाये है आप ने गोर्खाओं के उपर
अब सितमों के हिसाब गिन्ने को हमें मजबुर मत किजिए
गोर्खाल्याण्ड तो जन्मसिद्ध अधिकार है हमारा
इस तरह विरोध करके छिन्ने को हमें मजबुर मत किजिए
हम तो सब को मिलाकर करना चाहते थे
और तुम हिलाकर रोकना चाहती हो
ममता चलिए यह भी देख लेंगे हम
कौन कितना हिलाता है कौन कितना हिलता है
ये भी देख लेगें है हम।
श्रेष्ठलाई बङ्गरत्न पुरस्कार दिने खबर फैलिँदैगर्दा उनको निक्कै निकट रहेका हीरा छेत्रीसमेतले प्रतिक्रिया गरेका थिए।
‘सरले पुरस्कार ग्रहण गर्नु हुन्न होला,’ छेत्रीले लेखेका छन्, ‘मैले जानेको सरले त नथाप्नुपर्ने।’
जसले जे नै भने पनि आखिर श्रेष्ठले ममता व्यानर्जीको हातबाट बङ्गरत्न टिपेरै छाडे। हिजोदेखि गोर्खारत्न सीके श्रेष्ठ बङ्गरत्न बने।
संयोग कस्तो देखियो भने अचानक सीके श्रेष्ठलाई उता ममता व्यानर्जीको हातबाट बङ्गरत्न पुरस्कार दिइँदै थियो, यता दार्जिलिङमा गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विनय तामाङले ‘अल इण्डिया गोर्खा एसेम्ब्ली’-को माग गर्दै थिए।
त्यसै पनि सीके श्रेष्ठले ममता व्यानर्जीको हातबाट जिटिए अध्यक्ष अनित थापालाई साक्षी राखेर बङ्गरत्न थापिरहेको कुरा सुनेर वैचारिक प्रतिबद्धताको कुरा गर्ने र ‘टिके’-का तर ‘नबिके’-का सचेत गोर्खाहरू च्यापुमा हात राखेर अचम्मै मानिरहेको बेला विनय तामाङले गरेको एसेम्ब्लीको मागले अझै छक्क परे।
उनीहरू छक्क पर्नुको कारण थियो, सीके श्रेष्ठकै गोर्खा नेशनल सेटेलाइट काउन्सिल।
उनी आफै विचारक रहेको गोर्खा भारती विचार मञ्चले केही वर्ष अघि नै पत्रकार सम्मेलन गरेरै यो अवधारणा सार्वजनिक गरेका थिए। तर मुद्दाले प्रभवाकारीरुपले उठ्नको लागि राष्ट्रीय स्वरुपको संस्था र संस्थागत गतिविधिको माग गरेको हुनाले श्रेष्ठको मुद्दा त्यतिकै थन्किएको थियो।
यो यस्तो मुद्दा थियो, जो राष्ट्रीय फ्लोरबाटै र प्रभावकारीरुपले नउठाए मुद्दाले आफ्नो मर्यादा गुमाउने पक्का थियो।
गोर्खाको नाममा अहिलेसम्म जति पनि आन्दोलन, माग वा राजनैतिक गतिविधि भयो, त्यो केवल पहाडबाटै भएको छ। देशभरिका गोर्खाहरूलाई चिह्नारीको सङ्कट हुँदो हो किन केवल दार्जिलिङबाट नै चिह्नारी निश्चित गर्ने देशभरिका गोर्खाहरूले सहुलियत पाउने मुद्दा उठ्नु?
किन बङ्गालबाहेक बाँकी 28 वटा राज्यका गोर्खाहरूबाट सारा गोर्खाको चिह्नारीको मुद्दा र सारा गोर्खाहरूले देशमा पाउनुपर्ने समान सहुलियतको मुद्दा उठ्दैन? किन सारा गोर्खाबारे दार्जिलिङले नै सोच्नुपर्छ? किन सारा गोर्खाको सहुलियतको सुर्ता दार्जिलिङले नै गर्नु? दार्जिलिङभन्दा कता हो कता धेर जनसंख्यामा रहेका नर्थइष्टका गोर्खाहरूले किन उठाउँदैन गोर्खा नेशनल सेटेलाइट काउन्सिलको मुद्दा?
श्रेष्ठले पत्रकार सम्मेलन गरेर यो काउन्सिलको मुद्दा उठाउँदा यस्तै प्रश्नहरू उठेको थियो। किन भने श्रेष्ठले कालेबुङमा यो प्रस्तावना सार्वजनिक गरेका थिए।
यद्यपि, उनको प्रस्तावनामा राष्ट्रीयस्तरमा गोर्खाहरूको प्रतिनिधि सभा गठन गर्ने, भारतभरिबाट 51 जना प्रतिनिधिको तदर्थ कमिटी बनाउने र सोही कमिटीले सभाको संहिता बनाउने त उल्लेख छ, तर यसलाई प्राप्त गर्न चाहिने राष्ट्रीय शक्ति वा रुपरेखाबारे भने केही उल्लेख छैन।
‘के कालेबुङ र दार्जिलिङबाट उठाउने वित्तिकै यो मुद्दा प्रभावकारी होला त?’ उतिखेर पत्रकारहरूले उठाएको प्रश्न पनि त्यही थियो।
त्यतिखेर 29 वटा राज्यका प्रतिनिधिहरू राखेर दिल्लीमा पत्रकार सम्मेलन गरेर घोषणा गर्नुपर्ने मुद्दा श्रेष्ठले कालेबुङको एउटा होटलमा बसेर उठाइरहेका थिए। त्यो पनि गोर्खा भारती विचार मञ्चका दुइएक सदस्यहरू साथमा राखेर।
सोही मुद्दा तर नाम चाँही फेरेर हिजो विनय तामाङले प्रवक्तालाई छेउमा राखेर सीके श्रेष्ठकै स्टाइलमा मुद्दा उठारहँदा कुरा बुझ्नेहरू त छक्क परिरहेकै थिए, तामाङको पत्रकारसम्मेलन सकिसक्दा पनि कुरै नबुझेर धेरै अन्योलमा पनि परिसकेका थिए।
उता बङ्गरत्न पुरस्कार थाप्नु, यता श्रेष्ठको मुद्दा उठ्नु के संयोग मात्र हो?
खबरम्यागजिनले सोधेको उत्तरमा श्रेष्ठले भने, ‘हो, संयोग मात्र हो।’
श्रेष्ठ भन्छन्, ‘बंगरत्न सम्मान चयन प्रकिया धेरै अघिदेखि नै शुरू हुन्छ अनि मात्र चुड़ान्त निर्णय गरिन्छ। गोजमुमो-2 ले गोर्खा भारती विचार मञ्चको अवधारणा स्वीकारेको भर्खरै मात्र हो। कुनै सम्बन्ध छैन दुई विषयमा। दुवै घटना एकै दिनमा घट्नु संयोग मात्र हो ।‘
श्रेष्ठले संयोग मात्र हो त भने, तर संयोग नै मात्र हो त? भन्ने प्रश्न उनकै उत्तरले पनि जन्माएको छ।
किन भने सेटेलाइट वा एसेम्ब्लीको मुद्दाले बङ्गाल विभाजन नै हुँदैन। बङ्गाल चुँडेर गोर्खाल्याण्ड बनाउनुपर्ने समस्याबाट सेटेलाइट वा एसेम्ब्लीको मुद्दाले ममतालाई बचाउँछ।
त्यसो हो भने बङ्गरत्न पुरस्कार र एसेब्लीको कुरा एकैसाथ उठ्नु कसरी संयोग मात्र होला त?
सोसल मिडियामा अनेक थरीका कुरा फैलिएपछि श्रेष्ठलाई प्रतिश्रुति दिन कर लाग्यो। कुनै पनि पुरस्कारप्रति उठेको सवालमा पुरस्कार प्रापकले यसरी प्रतिक्रिया दिएको पहिलोपल्ट हुनसक्छ।
उनले कवितामा नै आफ्नो प्रतिक्रिया यसरी दिएका छन्।
आशीर्वादमा सराप देख्ने
सम्मानमा धराप देख्ने
पारखी आँखाहरूलाई हामी
विनम्रतापूर्वक सलाम भन्छौं…
पुरस्कारसित सशंकित
हाम्रा शुभचिन्तकहरूलाई भन्छौं –
‘दुवाली होइन पुरस्कार
हाम्रो गतिलाई मोड़िदिने
न त ढड़िया हो पुरस्कार
हाम्रो यात्रालाई थुनिदिने … ‘
भारतमा गोर्खा राष्ट्रिय चिह्नारीको सङ्घर्ष
हिज पनि गर्दैथ्यौं
आज पनि गर्दैछौं
भोलि पनि गरिरहने छौं…
यो हो हाम्रो प्रतिबद्धता!
यही हो हाम्रो प्रतिश्रुति!!
00
श्रेष्ठको प्रतिवद्धता र प्रतिश्रुति श्रेष्ठले नै पूरा गर्ने हुन् कि विनय तामाङले?