गोर्खामारा भाजपा : दिलिप घोषहरूले बङ्गालको सत्ता पाउँछन्, गोर्खाले के पाउँछ?

घिसिङलाई हटाएर गुरूङ, गुरूङलाई हटाएर तामाङ, तामाङको साटो थापा गरे झैं व्यानर्जी हटाएर घोष राख्ने परिवर्तनले हाम्रो भाग्य कोरिँदैन। हामीले चाहेको परिवर्तन त बङ्गालसँग हाम्रो भौगोलिक सिमारेखाको हो। हामीले रोजेको परिवर्तन भनेको बङ्गालदेखि अलग्ग एउटा प्रशासनिक व्यवस्था हो। हामीले खोजेको परिवर्तन भनेको भारतभित्र गोर्खाहरूको अलग राज्य गोर्खाल्याण्ड हो। एउटा गोर्खाल्याण्ड विरोधी मुख्यमन्त्रीलाई हटाएर अर्को गोर्खाल्याण्ड विरोधी मुख्यमन्त्री राख्दा हामीलाई के फायदा हुन्छ? भाजपाले फलाकी रहेको परिवर्तनले भोलि दिलिप घोषहरूले बङ्गालको सत्ता पाउँछन्, गोर्खाहरूले के पाउँछौं?


पुरण छेत्री


गोर्खाका सपना, मेरा सपना

,यति भनेर नरेन्द्र मोदीले गोर्खाहरूलाई हुच्याई राखेर गए।

‘देशको प्रधानमन्त्रीले भनेको कुरा हो,’ हामी मख्खै भएर पत्यायौं। कहिले राजिव प्रतापहरूले अर्को वर्ष गोर्खाल्याण्डमा स्वतन्त्रता दिवस मनाउने मिथ्या सपना देखाए त कहिले अमित शाह चट्टान भएर उभिने झुटो बाचाहरू गरे।

भाजपाले हामीलाई जोतिरह्यो। हामी जहिल्यै आशावादी आँखाहरू दिल्लीतर्फ ओछ्याएर बसिरह्यौं। अब स्वामी र ईरानीहरू हामीलाई जोत्न तयार हुँदैछन्। हामी जोतिनलाई फेरि बुरूक बुरूक उफ्रँदैछौं।

गोर्खाहरूको काँध चढेर कोलकाता ताकिरहेको भाजपालाई, हाम्रो सपना मानेर बोकिरह्यौ यतिका वर्षसम्म। जब 2017 मा हामीलाई भाजपाको काँधको जरूरत थियो तब त हो नि उसले आफ्नो असली रूप देखाइदिएको।

असली मित्र त सङ्कटको बेला चिनिने हो। 2017 को सङ्कटमा भाजपाले गोर्खाहरूलाई के कति सहयोग गरे जनताले स्पष्ट देखेका छन्।

भाजपाले चाहेको भए कमसेकम गोर्खाहरूलाई मर्नदेखि बचाउन सक्थ्यो। निहत्था देशको नागरिकमाथि पहिलो गोली चल्दा नै राज्यको तृणमूल सरकारलाई कानमा समाएर वार्तामा राख्न सक्ने थियो। तर गरेन। जति धेरै गोर्खाहरू मर्छन्, उतिनै राज्यको तृणमूल सरकारप्रति जनाक्रोस बढ्दै जाने बुझेरै हामीलाई मर्न छोडिदियो। हामी मरिरहनु भाजपाको निमित्त राजनैतिक फायदा थियो अनि त चुपचाप तमाशा हेरेर बस्यो।

प्रधानमन्त्री नरेन्द्र मोदीले जिब्रो बटारी बटारी नाम लिएको छोडिएको ११ जातगोष्टीलाई जनजातिको मान्यता अनि बनाधिकारको निम्ति बीपी बजगाईँ अनि लीलाकुमार गुरुङहरूले धेरैपल्ट केन्द्रीय मन्त्रीहरूलाई भेटेका हुन्। भाजपाले दिन्न कहिल्यै भने तर दिएन पनि। जहिले पनि “चुनाव सकेर बिचार गरिनेछ“ अनि “चुनाव पछि पक्का हुनेछ“ जस्ता आश्वासनका पोकाहरू मात्र थमाएर पठायो।

भाजपालाई थाहा छ, गोर्खाहरू आश्वासनमा मात्र पनि वर्षौ बाँच्न सक्छन्। अब पनि गोर्खो सन्तान लाटो बनेर भाजपाकै आश्वासनमै बाँच्ने हो भने यो भन्दा ठूलो बिडम्बना अर्को हुने छैन।

2017 को आन्दोलन ममता व्यानर्जीको निम्ति ठूलो टाउको दुखाइ भएको थियो। झमेला बढ्दै गएपछि केन्द्रको गुहार माग्न गए कि ममतालाई तत्कालीन गृहमन्त्री राजनाथ सिंहले यो ल एण्ड अर्डर ईश्यु हो भनेर सिकाइपठाए। त्यसपछि नै बनेको हो, पुलिस प्रशासन हाम्रो निम्ति क्रुर। केन्द्र सरकारले एकै झट्कामा आन्दोलनकारी अनि राज्यसरकारलाई एक ठाउँ राखेर मिलाउन सक्ने विषयलाई भाजपाले आफ्नो फायदाको निम्ति पालेर राख्यो। उल्लेख्य छ, गोर्खाल्याण्ड मुद्दामा काङ्ग्रेस सरकारले 2007 देखि 2011 सम्म एघाह्रवटा त्रिपक्षीय वार्ता राख्यो। हामीले तीनतीन वटा एमपी दिएको भाजपाले अहिलेसम्म एउटा त्रिपक्षीय वार्ता समेत राख्न सकेन।

अब पनि भन्नु भाजपा हाम्रो निम्ति हितैषी हो भनेर?

परिवर्तनको नाममा बङ्गालको शासन ताकिरहेको भाजपा हाम्रो निम्ति तृणमूल काङ्ग्रेस जत्तिकै दोषी छ। गोर्खाहरूलाई तृणमूल सरकारले गोली ठोक्दा रमाउँदै रमिता हेर्ने भाजपा सरकार कुनै मूल्यमा पनि हाम्रो उद्दारकर्ता हुन सक्दैन।

नत्र गोर्खाल्याण्ड माथि 7 अक्टोबर 2020 मा गरिने त्रिपक्षीय बैठकको एजेन्डा रातारात परिवर्तन हुने थिएन। बङ्गाल भाजपाको आग्रहमा एजेन्डा परिवर्तन भएको कुरा विचरा सांसद राजु विष्टले सुइको धरी पाएनन्। यसले स्पष्ट हुन्छ कि भाजपा सांसद राजु विष्ट भन्दा बङ्गाल भाजपाकै कुरा सुन्छ अनि मानिलिन्छ, जो गोर्खाल्याण्ड गठनको कठोर बिरूद्धमा छ।

बिमल गुरूङको आशिर्वाद लिएर 2009 मा एउटा सांसदबाट छिरेको भाजपा अहिले आएर पोरिवर्तन भन्दै बङ्गालकै सिंहासन ताकिरहेको छ। आफूलाई भोट हाल्ने मतदाताहरूलाई अमानवीय व्यवहार हुँदासमेत बङ्गालकै सत्ताको माया गरेर हाम्रो पक्षमा चुइँक्क बोलेन। किन बोलोस् पनि, जसलाई हाम्रो प्राणभन्दा धेर बङ्गालको सत्ताको माया छ। तीन-तीनवटा सांसद दिँदा पनि हामीलाई वचन दिएको केन्द्रीय विश्वविद्यालय कहिल्यै देख्न पाएनौं। ११ जात गोष्ठीलाई जनजाति दिने कुरा दन्तेकथा मात्र भयो। स्थायी राजनैतिक समाधान त अझ आकाशकै फल भयो।

घिसिङलाई हटाएर गुरूङ, गुरूङलाई हटाएर तामाङ, तामाङको साटो थापा गरे झैं व्यानर्जी हटाएर घोष राख्ने परिवर्तनले हाम्रो भाग्य कोरिँदैन। हामीले चाहेको परिवर्तन त बङ्गालसँग हाम्रो भौगोलिक सिमारेखाको हो। हामीले रोजेको परिवर्तन भनेको बङ्गालदेखि अलग्ग एउटा प्रशासनिक व्यवस्था हो। हामीले खोजेको परिवर्तन भनेको भारतभित्र गोर्खाहरूको अलग राज्य गोर्खाल्याण्ड हो। एउटा गोर्खाल्याण्ड विरोधी मुख्यमन्त्रीलाई हटाएर अर्को गोर्खाल्याण्ड विरोधी मुख्यमन्त्री राख्दा हामीलाई के फायदा हुन्छ?

भाजपाले फलाकी रहेको परिवर्तनले भोलि दिलिप घोषहरूले बङ्गालको सत्ता पाउँछन्, गोर्खाहरूले के पाउँछौं?

के हामीले चाहेको परिवर्तन यही हो?

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन