भागोपले मुद्दा बोकेर हिँडुन्

 ‘नेपाली भाषाको आन्दोलनलाई हेऱ्यौं भने त्यो आन्दोलनलाई अघि बढाउने व्यक्तित्वहरू कुनै कुर्सीमा बसेको देखिएन। उनीहरूले राजनैतिक नेतृत्वलाई लिएर नेपाली भाषालाई मान्यता दिलाई छाडे,’ थापाले अझ भने, ‘भागोप हाम्रो निम्ति गौरवको संस्था हो। यो संस्थाबाट मान्छेले नौकरी पाउँदैन तर यो संस्था हाम्रो निम्ति धरोहर हो। हामीले यो संस्थालाई बचाउनु पर्छ। यो संस्थाको महत्व बुझेर नै आज मैले मेरो अरु सबै कार्यक्रमलाई छोडेर यहाँ उपस्थिति दिएको हुँ। भागोपले मुद्दा बोकेर हिँडुन्।’


खबरम्यागजिनडेस्क


जिटिए अध्यक्ष अनित थापाले अरु नेताभन्दा फरक धारणा राख्दै आइरहेका छन्। थापा सोझै भन्छन्, ‘जो पनि सत्तामा बस्छन् वा कुनै पनि एउटा दलले छुट्टै राज्य गोर्खाल्याण्ड भन्छ भने उसको तार्गेट केवल सत्ता मात्र हो, यसैले छुट्टै राज्यको मुद्दालाई सत्तामा बस्ने दलले होइन बौद्धिकहरूले अलग्गै नेतृत्व गर्नुपर्छ।’

थापा अझ भन्छन्, ‘म विकासको पक्षमा छु यसैले झुटो बोलेर म गोर्खाल्याण्ड ल्याउँछु भन्दिन। मसित गोर्खाल्याण्ड ल्याउने क्षमता छैन, म विकास गर्न सक्छु, जे सक्छु म त्यही गर्छु।’

आज पनि थापा भारतिय गोर्खा परिसङ्घ, खरसाङ क्षेत्रिय समिति अनि भारतीय गोर्खा महिला परिसङ्घले संयुक्तरुपमा आयोजना गरेको साङ्गाठनिक कार्याशाला अनि सामाजिक बौद्धिक विचार विनिमय समावेश-कार्यक्रममा उपस्थित थिए।

यसै कार्यक्रममा पनि थापाले स्पष्ट पारे, ‘हाम्रो मुद्दा के हो, हामी के हौं, मुद्दा कसरी फत्ते गर्ने विषय एउटा रोड म्याप तयार गर्नुहोस्, गोर्खा जनमुक्ति मोर्चा तपाईंहरूको पछि उभिएको हुनेछ।’

एक हिसाबले थापाले भागोपलाई गतिलै होमवर्क दिएका छन्। उनले स्पष्ट भनेका छन्, ‘मेरो स्ट्याण्ड स्पष्ट छ, मलाई गोर्खाल्याण्डको विषय माथि बोल्ने त्यति ज्ञान पनि छैन अनि कसरी गोर्खाल्याण्ड ल्याउनु पर्छ जान्दिन पनि। त्यसैले म गोर्खाल्याण्डको नाममा भोट पनि माग्दिन। तर तपाईंहरू (भागोप) जो जातिको मुद्दा लिएर काम गर्नु हुँदैछ, तपाईहरुको सहयात्री बनेर म अवश्य हिँड्नेछु।’

भागोपसित थापाको पहिलो भेट थियो। थापा मान्छन्, भागोप भारतीय गोर्खालाई एक सुत्रमा बाँधेर राख्ने संस्था हो। गैरराजनैतिक संस्था हो।  भारतीय गोर्खाले गर्व गर्नु पर्ने संस्था पनि हो।

यसैले भागोपले नै छुट्टै राज्यको मुद्दालाई नेतृत्व गर्नुपर्छ।

‘गोर्खा जातिको मुद्दा, राजनैतिक दललाई केवल भोटको समय मात्र याद आउँछ। जातिको मुद्दालाई भोटको बजारमा लिलामी गर्ने पहाडको राजनैतिक दलले प्रथा अनि राजनैतिक संस्कार नै बनाई सक्यो,’ भागोप पदाधिकारीहरूलाई थापाले भने, ‘नजान्ने मान्छेले गोर्खाल्याण्ड माग्दा जनताले दुःख पाएको इतिहास साक्षी छ। हाम्रो विगतको आन्दोलनले कुनै राम्रो फल फलाउनु सकेन।’

थापा चाहन्छन्, पहाडका सबै बुद्धिजीवि, दिग्गजहरु, ,गोर्खा हितको निम्ति काम गर्ने सङ्घहरु एउटै मञ्चमा आउनुपर्छ। गोर्खा जातिको चिन्हारी अनि सुरक्षाको मुद्दालाई कसरी अगाडि बढाउने त्यसबारे निर्णय लिनुपर्छ। रोड म्याप तयार पार्नुपर्छ। जनतालाई अन्योलमा नपार्ने रणनीति लिएर काम गर्नुपर्छ। जसरी भाषाको आन्दोलन फत्ते भयो त्यसरी नै चिन्हारीको मुद्दा पनि फत्ते गर्न सकिन्छ।

‘तपाईंहरू जस्तो दिग्गज व्यक्तित्वहरूबाट म जस्तो प्रशासन चलाउने व्यक्तिले धेरै सिक्नु छ। अवस्थाले व्यवस्थामा आइपुगेको व्यक्ति हुँ म। परिस्थितिबाट जन्मेको प्रसाशक हुँ अनि म। त्यसैले मलाई सबै कुरा थाहा छ भनेर भन्नु सक्दिन,’ थापा भन्छन्, ‘म कुनै विद्वान होइन। म चाहन्छु कि विद्वानहरूले व्यवस्था चलाउन्।’

थापालाई लाग्छ, गोर्खाहरू चिन्हारीको प्रश्नमा अल्झेका छन्। तर राजनैतिक दलले गोर्खाको चिन्हारी अनि सुरक्षाको मुद्दा पार लगाउन सक्दैन।

‘सुबास घिसिङले सुरु गरेको ८६ को आन्दोलन राजनैतिक दलले सुरु गरेको आन्दोलन थियो जुन आन्दोलन अन्तमा एउटा व्यवस्थामा आएर टुङ्गियो। १२०० शहीदहरूको बलिदान दागोपापमा आएर खतम भयो। यसको कारण हो कुर्सीको लोभ,’ थापाले भागोपका पदाधिकारीहरूलाई यसरी सम्झाए,  ‘राजनैतिक नेताहरुलाई कुर्सीको लोभ हुन्छ। उनीहरू महत्वाकाङ्क्षी हुन्छन् कुर्सी पाउनु। राजनैतिक नेताहरुलाई कहिले रातो बत्ती बालेर कुर्सीमा बस्नु भन्ने उनीहरुको उद्देश्य हुन्छ। राजनैतिक दलले माग गरेको चिन्हारीको मुद्दा आजसम्म पूरा भएको छैन। त्यसरी नै विमल गुरुङले २००७ अनि २०१३ मा गरेको आन्दोलन जीटीएको कुर्सीमा गएर सकियो।’

गोर्खाको हित चाहने अनि कुर्सीको लोभ नगर्ने गोर्खा व्यक्तित्व साथै सङ्घहरुले गोर्खाको मुद्दालाई अघि बढायो भने गोर्खाको मुद्दा फत्ते हुनसक्ने कुरा स्पष्ट पारे।  ‘नेपाली भाषाको आन्दोलनलाई हेऱ्यौं भने त्यो आन्दोलनलाई अघि बढाउने व्यक्तित्वहरू कुनै कुर्सीमा बसेको देखिएन। उनीहरूले राजनैतिक नेतृत्वलाई लिएर नेपाली भाषालाई मान्यता दिलाई छाडे,’ थापाले अझ भने, ‘भागोप हाम्रो निम्ति गौरवको संस्था हो। यो संस्थाबाट मान्छेले नौकरी पाउँदैन तर यो संस्था हाम्रो निम्ति धरोहर हो। हामीले यो संस्थालाई बचाउनु पर्छ। यो संस्थाको महत्व बुझेर नै आज मैले मेरो अरु सबै कार्यक्रमलाई छोडेर यहाँ उपस्थिति दिएको हुँ। भागोपले मुद्दा बोकेर हिँडुन्।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन