एसेम्ब्लीको विषयमा किन आजसम्म दार्जीलिङ छोड़ेर अन्यत्रबाट समर्थन आइरहेको छैन?

विमति

आफै राष्ट्रिय सोच हुनुपर्छ भन्ने श्रेष्ठ दार्जीलिङको राजनीतिसित यति धेरै चासो राख्छन् कि उनी पनि अन्त्यमा कुवाकै भ्यागुतो लाग्छ हामीलाई। आज जो हामीसित छ उसित हामी रहनेछौँ भनेर फेसबुकको भित्तामा लेख्ने श्रेष्ठ जहिले पनि हामीले यो सोच्यौँ, हामीले यो भन्यौँ इत्यादि भनेर हामी-हामी भनिहिँड़्छन् कालिम्पोङ टेलिभिजनलाई मुखपत्र बनाएर। तर उनको त्यो हामीभित्र कोको छ आजसम्म कसैलाई थाहा छैन। यिनै श्रेष्ठले थापेको भर्खरैको पुरस्कारलाई के हामी चिहानरत्न भन्न सक्दैनौँ? सर्वभारतीय स्तरको सोच हो भने उनको एसेम्ब्लीको विषयमा किन आजसम्म दार्जीलिङ छोड़ेर अन्यत्रबाट समर्थन आइरहेको छैन। त्यो दुईचारवटा ठाउँमा पैसा लगानी गरेर सङ्गोष्ठी गरेजस्तो खालको नाटक त उहिलेदेखि चलेको हो। ती नाटकमा खेल्ने कलाकारहरू पनि कतिजना साट्टिइसके त्यसको इतिहास पनि छ।


अपूर्व कुरकुटी


 भीगे होंठ तेरे, प्यासा दिल ये मेरा……. केही सालअघि कालिम्पोङमा एउटा सङ्गीत प्रतियोगिताको अडिसनमा एक प्रतियोगीले उपयुक्त गीत गाएपछि निर्णायकको चौकीमा बसेका बहुप्रतिभाशाली सिके श्रेष्ठले आफ्नो प्रतिक्रिया पोख्दै भनेका थिए, सोनु निगमको गीत गाउनु सारो छ तर तिमीले यो गीत गाउने कोशिश गर्नु नै ठूलो कुरा हो।

श्रेष्ठको यो कुरा सुनेर दर्शक अनि घरघरमा लाइभ टेलिकास्ट हेरिरहेकाहरू सबै सङ्गीतप्रेमीहरू अवाक् बनेका थिए। त्यसै मञ्चमा एउटी सानी स्कुले ठिटीले त कसो भनेकी थिई भने, को हौ यो झुसुले जस्तो बुढ़ो चैं। यो गीत कुणाल गांजावालाको भनेर थाहा छैन क्या?

सिके श्रेष्ठ यसरी चाउरिँदै गएका हुन् समाजमा जसबारे आफैलाई थाहा थिएन। मन जवान हुनुपर्छ भनेर भनिहिँड़्ने बुढ़ा श्रेष्ठ समयको तालमा चल्ने खुब कोशिश गर्छन् तर लड़्खड़ाउँछन्। आफूले गरेकोलाई मात्र श्रेष्ठ ठान्ने उनको अहम् भावले गर्दा उनीसित सधैँभरि सँगै हिँड़्नेहरू कम्ती छन्। दुईएक पाइन्छन् दबाईँको रूपमा तर अधिक भने पाइन्नन्। बहुप्रतिभाले सम्पन्न श्रेष्ठको जीवनमा आएका विफलताहरूको फेहरिश्त धेरैसित छ। पुरानाहरूलाई अझ बेसी थाहा छ। थाहा मात्रै छैन त्यस विफलताका कारणहरू पनि बताउँछन् उनीहरू।

राजनीति नगर्ने तर त्यसमा पाइला चाहिँ टेक्ने श्रेष्ठले युवाहरूको धुकधुकी चिनेनन्। नयाँ काम गर्नेहरूलाई कहिल्यै स्याबासी दिएनन्। मैले गरेको पो ठिक छ त भन्ने उनको अहम् धारणा दार्जीलिङ्गे राजनीतिमा पनि भक्कुचुरै देखिन्थ्यो। देखिन्छ। आफै राष्ट्रिय सोच हुनुपर्छ भन्ने श्रेष्ठ दार्जीलिङको राजनीतिसित यति धेरै चासो राख्छन् कि उनी पनि अन्त्यमा कुवाकै भ्यागुतो लाग्छ हामीलाई। आज जो हामीसित छ उसित हामी रहनेछौँ भनेर फेसबुकको भित्तामा लेख्ने श्रेष्ठ जहिले पनि हामीले यो सोच्यौँ, हामीले यो भन्यौँ इत्यादि भनेर हामी-हामी भनिहिँड़्छन् कालिम्पोङ टेलिभिजनलाई मुखपत्र बनाएर। तर उनको त्यो हामीभित्र कोको छ आजसम्म कसैलाई थाहा छैन।

घरको परिवारको कुरा गरेका हुन् भने उनका छोराछोरी साथमा छैनन्। साथीभाइको कुरा गरेका हुन् भने उनीसित साह्रै धेर साथीहरू देखिन्नन्। भद्रेको टोलीदेखि लिएर बसिबियाँलोसम्म पनि साथीहरू सधैँ एकै आँतका पाएनन् उनले। आज आएर गोर्खा भारती विचार मञ्च नामक एउटा अस्तित्वमै नरहेको धारणाको भारी अथवा बियोन्ड गोर्खाल्याण्ड भन्ने भावनात्मक मुद्दा पहाड़को एउटा विवादास्पद राजनीतिक दलको पिठमा लाद्नलाई धेरै तिकड़म गरिरहेका छन्।

आफु राजा बन्न नसके पनि किङ्ग मेकर बनेर आफ्नो नाम उज्ज्वल बनाउन खोज्ने श्रेष्ठले जुन ममता बन्दोपाध्यायको व्यक्तिगत विरोधमा कविता लेखेर आगो उगाले उसैको बाहुलीबाट मास्क लगाएर बङ्गालरत्न भन्ने विवादास्पद पुरस्कार ग्रहण गरेर सबैलाई अवाक् बनाइदिए। पुरस्कारमा पनि राजनीतिक देख्ने, आँखा जल्नेहरूको विरुद्ध पनि उनले स्पष्टिकरण दिएर आफ्नो काम सही रहेको बताउन खोजे। जातिको हितको लागि अरे उनका एक अनुयायीले भनेको यो तर्क।

कतिजनालाई स्पष्टिकरण दिइरहने अब, कतिजनाको मुख थुन्ने? प्रतिभाको सम्पन्नतामा कुनै शङ्का नभएका श्रेष्ठले बङ्गाल सरकारप्रति कहिल्यै पनि श्रद्धा राखेनन्। सबैलाई उक्साए बङ्गालविरुद्ध। धेरै ठाउँ भनिहिँड़े, बङ्गालको भोट हालेर आफ्नो हात कालो पारेको छुइनँ आजसम्म। साथै दावी पनि गरे बङ्गाल हाम्रो चिहान हो भन्ने नारा आफैले जन्माएको भनेर। उनको चिहानलाई सबैले चिहानै देखे, देखिरहेका छन्। उनका एक प्रशंसक वा चेला डा. शशिभुषण राईले त आफ्नो मृत्युको एक साताअघिसम्म लेखिरहेको एकमात्र पुस्तकको नामै राखे – चिहानमा गोर्खा।

यिनै श्रेष्ठले थापेको भर्खरैको पुरस्कारलाई के हामी चिहानरत्न भन्न सक्दैनौँ? एउटीले भनी, पुरस्कार थाप्नु नथाप्नु उनको निजी विषय हो। जसले चिहान भन्न सिकाए उसैले त्यो चिहानको पुरस्कार थाप्नु निजी हुन्छ मामिला? जाँड़-रक्सी नखानू भनेर सिकाउने आफैले खानु चै निजी मामला हुन्छ? वास्तवमा अब श्रेष्ठ बुढ़ा भए। हिन्दीमा भन्छन् नि सठिया गए। उनलाई दुःख छ जीवनको अन्तिम पलमा पनि आफूले राजनीतिक क्षेत्रमा भनेजस्तो माइलखुट्टी गाड़्न नपाएकोमा। गोर्खाल्याण्ड भन्ने शब्द पनि आफैले कुँदेको भन्ने दाबी गरिहिँड़्ने श्रेष्ठले राजनीतिमा भनेजस्तो सफलता पाएनन्। न नै गैर राजनीतिक गतिविधिमा।

भागोप बाट छुट्टिँदा श्रेष्ठले त्यो राष्ट्रिय संस्थाले दार्जीलिङ्गे राजनीतिमा बेसी ध्यान दिएको कारण आफ्नो राष्ट्रीय सोचसित तालमेल नमिलेको आधार दिएका थिए भनिन्छ। तर आज आएर जब बङ्गाल विधानसभा चुनावको बिकुल बज्नथाल्यो तबदेखि उनी धेरै तात्तिएका छन्। कहिल्यै कुनै व्यक्तिको विरुद्धमा कविता नलेख्ने श्रेष्ठले यसपालि बिमल गुरुङलाई पनि छोड़ेनन्। दार्जीलिङ्गको  राजनीतिमा जुन दिनोरातको खेल हुन्छ वल्लो घरको नरे पल्लो घर सरे भन्ने त्यस्तो थोत्रे कुरालाई पनि आफ्नो राष्ट्रिय सोचको विचार बनाएर सार्वजनिक सञ्जालमा आए।

कहिलेकहिले त यिनी पार्टीका उम्मेद्वारहरू पनि मनोनित गर्लान् जत्तिकै लेख्छन्। सबैलाई थाहै छ यसपालि बिमल गुरुङ फर्केपछि पहाड़मा राजनीतिक गतिविधि तेज भएको हो। तर कम्तीलाई जानकारी होला त्यसैपछि श्रेष्ठका विचार, सोच, अवधारणा, तर्कहरू कविता र संवादको माध्यमद्वारा सामाजिक सञ्जालमा आउनथालेका हुन्। यसमा कतिपय उदगारहरू त सोझै बिमल गुरुङमाथि खनिएर लेखेका छन्। व्यक्तिलाई होइन विचारलाई ध्यान दिऔँ भन्ने उनको महावाणी अनि समाजको हितलाई कटिवद्धता मानौँ भन्ने धारणाको बोक्ने बसिबियाँलो आफै पनि कतिको समाजमुखी छ त्यो त सबैले देखेकै छौँ।

कुनै एउटा समाजमुखी काम बसिबियाँलोले गरेको उदाहरण छ भने सुन्न पाऔँ त। सफाई अभियानदेखि लिएर, भुइँचालो राहतकोष वा पैह्रो पीड़ितहरूको उद्धार वा त्यसमाथि नै कुनै विचारगोष्ठी गरेको छ त यो बसिबियाँलोले आजसम्म? यसरी कुरा एकापट्टि काम अर्कोतिर गरिहिँड़्ने श्रेष्ठले अहिले आफ्नो राजनीतिक अखाड़ा बनाएका छन् कालिम्पोङको मङ्गलधामलाई। अरू सबै गतिविधिबाट मोटामोटी सन्यासै लिइसकेका श्रेष्ठ अहिले केवल दार्जीलिङको विधानसभा आसनबारे चिन्तित छन् अनि सर्वभारतीय गोर्खाहरूको लेबल लगाएर गोर्खा एसेम्बलीको गोली ताकिरहेका छन् एउटा नचल्ने राजनीतिक दलको काँधमा बन्दुक राखेर।

घरि काङ्ग्रेस, घरि भाजपाको बुइँ चढ़्दै चढ्दै उनी अहिले लोक्कल पार्टीको आश्रय लिन पुगेका छन्। घरि बिमल गुरुङसित गुप्त बैठक, घरि ममतासित राजनीतिक हनिमून खेल्दै अहिले श्रेष्ठ झोड़ा र खोल्साको राजनीतिक गर्ने पार्टीको शरणमा आइपुग्नुको अर्थ हो उनको राजनीतिक हताशा। हवाईजहाज, रेल, पानीजहाज, ट्याक्सी, रिक्सा, टोटो सबैमा चढ़्ने कोशिश गरे तर कतै आसन नपाएर अहिले थोत्रे स्कुटी भेटेका छन् लाइसिनबिनाको चालकको।

त्यसको पछि तीन मन्डको भारी लिएर चढ़िदिएका छन् अनि चालकलाई पनि अप्ठ्यारो पारिदिएका छन्। सर्वभारतीय स्तरको सोच हो भने उनको एसेम्ब्लीको विषयमा किन आजसम्म दार्जीलिङ छोड़ेर अन्यत्रबाट समर्थन आइरहेको छैन। त्यो दुईचारवटा ठाउँमा पैसा लगानी गरेर सङ्गोष्ठी गरेजस्तो खालको नाटक त उहिलेदेखि चलेको हो। ती नाटकमा खेल्ने कलाकारहरू पनि कतिजना साट्टिइसके त्यसको इतिहास पनि छ। अन्ततः यति धेर प्रतिभाका धनी, जातीय चिन्तक श्रेष्ठले किन चिहानरत्न पुरस्कारसित सम्झौता गरे अनि किन तथाकतित राष्ट्रिय स्तरको मुद्दा यति सानो क्षेत्रीय दललाई सुम्पे, किन चुनावकै बेला यसो गरे त्यो रहस्य जादुवालाको जादुजस्तै एकदिन उदाङ्गो होला। अहिलेलाई दार्जीलिङ्गे राजनीतिकको मुख्यालय मंगलधाममवासी श्रेष्ठलाई शुभकामनासम्म दिँदा हुन्छ होला।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन