विमल गुरुङलाई लोप्पा : अनित थापालाई सत्ता

खबरम्यागजिनडेस्क


१९ मार्च २०२१ को दिन राज्यद्वारा मनोनित जिटिए अध्यक्ष अनित थापाको मियादको अन्त्य भएपछि विमल गुरूङलाई कुर्सीको लागि राज्य सरकारले मनोनित गर्नसक्छ भन्ने भारी अडकलबाजीबीच आज राज्य सरकारको गृह अनि पहाड मामिला विभागले आधिकारिक सूचना जारी गर्दै अनित थापालाई जिटिए अध्यक्षको पदमा थप छ महिनाको मियादको निम्ति मनोनित गरेको छ।

‘गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन एक्ट २०११ को सेक्सन १७(१) ऐन अनुसार पूर्वोक्त अधिकारीलाई थप छ महिनाको निम्ति २० मार्च २०२१ देखि प्रशासन सञ्चालन गर्नसक्ने घोषणा राज्यपालले हर्षसाथ गर्नुभएको छ’, राज्यपालको आदेश अनुसार सुचना जारी गरिएको उल्लेख गर्दै एच. के. द्विवेदीले हस्ताक्षर गरेको आधिकारिक पत्रमा जनाइएको छ।

विशेषगरी राज्यको विधानसभा चुनाव नजिक आइरहेको बेला यस समाचारले व्यापक चहलपहल ल्याउने सम्भावना देखिन्छ।

२१ अक्टोबर २०२०को दिन अचानक कलकत्तामा प्रेस भेला आयोजना गरेर भाजपाबाट समर्थन फिर्ता लिँदै राज्यको तृणमूल काङ्ग्रेसलाई  आउँदो चुनावमा समर्थन गर्ने विमल गुरूङको घोषणासँगै ‘जिटिएको चौकी राज्यले विमललाई दिने हो कि?’ भन्ने आशंका स्वयं विनय खेमाका समर्थकहरूले जताइरहेका थिए।

विनय-अनितले जुटाइरहेका जनसमर्थनको जड जिटिए हो भन्नमा दुइमत देखिन्न। विभिन्न विकास अनि अन्य योजनाका आशामा जिटिएको चौकीमा हुनेलाई जनताको एउटा समुहले पछ्याउनु स्वाभाविक पनि हो।  

यता विमल खेमाका समर्थकहरूमा भने विमलको जिटिएको चौकीमा वापसी हुने बित्तिकै दलमाथिको सङ्कटको अवस्था केही हटेर जाने आशा थियो।

तर राज्य सरकारद्वारा जारी गरिएको आधिकारिक सुचनासँगै कमसेकम छ महिनाको लागि सारा अडकलबाजी समाप्त भएको छ। जिटिएको चौकीमा वापसी गर्न अब विमल अगाडि कमसेकम पहाडको तीनवटा विधानसभा सिट जितेर राज्यलाई आफूमाथि विस्वास जताउने चुनौति स्पष्ट रूपमा देख्न सकिन्छ।

‘अब विनय-अनितको सत्ताको मियाद केवल १५-२० दिनको मात्र छ’, केही दिन अगाडि मात्र विमल गुरूङ स्वयंले एक जनसभालाई सम्बोधन गर्ने क्रममा यो भनेका थिए। स्पष्ट छ, उनको यो वक्तव्यको सङ्केत सकिन लागेको जिटिए अध्यक्षको मियादतिर थियो। उनको यस वक्तव्यपछि विमलले चौकीमा वापसी गर्ने हो कि भन्ने अडकलबाजी उनकै समर्थकहरूभित्र अझ तीब्र बनेको थियो।

एक महिना अगाडि अनित थापाको दोहोरो नागरिकताको समाचारले पहाडको तातिएको राजनैतिक माहौलबीच विमल खेमाले व्यापक पोस्टरिङ गरेको थियो। ‘नैतिकताको आधारमा अनित थापाले जिटिएको चौकी छोड्नुपर्छ’ पोस्टरमा स्पष्ट रूपमा भनिएको थियो। विमल खेमा जिटिएको चौकीको लागि कति व्याकुल छन् भन्ने कुरा यस किसिमको पोस्टरले व्यक्त गर्ने पहाडका कति राजनैतिक विश्लेषकहरूको ठम्याइँ थियो।

जिटिएको चौकीमा आफू आउनसक्ने सङ्केत विमल गुरूङले मिरिक जनसभाबाट दिइसकेपछि आजमात्र खबर म्यागजिनले अन्तर्वाता लिने क्रममा कालेबुङ विमल खेमाका शिर्ष नेता शुभ प्रधानलाई यसबारे सोधिएको प्रश्नमा उनले भनेका थिए, ‘मलाई यसबारे जानकारी छैन। थाहा छैन दलका नेतृत्वले कुन स्रोतलाई आधार गरेर यो कुरा गरिरहेका छन्।’

जिटिए चौकीमा वापसी गर्ने व्याकुलता दलका गतिविधीबाट थाहा लागेपनि विमल खेमाका केन्द्रिय उपाध्यक्ष विशाल छेत्रीको बयान नितान्त फरक थियो।

‘जिटिएको चौकीमा जानको लागि राज्यबाट अध्यक्षलाई राज्य सरकारबाट प्रस्ताव आइरहेको छ, तर उनले यसलाई नकारेका छन्। उनी जिटिएको चौकीमा गए भने मनोनित भएर होइन, निर्वाचित बनेर जानेछन्,’ केही महिना अगाडि कालेबुङको एक प्रेस भेलालाई सम्बोधन गर्दै उनले भनेका थिए। अन्तत राज्य सरकारले विमल गुरुङलाई चित अनित थापालाई पट दिएको छ।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन