राष्ट्रीय गोर्खाल्याण्ड कमिटीबाट बाहिरिए 6 प्रतिनिधि :  जे सोचेर गठन गरेका थियौं, त्यो काम नै भएन-मुनिस तामाङ

‘खासमा जे सोचेर यो कमिटी गठन गरेका थियौं, त्यो नै हुन सकेन,’ मुनिस तामाङले खबरम्यागजिनसित भने, ‘जुन स्तरका विषय विशेषज्ञहरू एनजिसीमा थिए, मलाई लागेको थियो, त्यसको प्रयोग हुनेछ। तर सबैको चासो लोकल राजनीतितिरै मात्र रहेको देख्यौं। यसै पनि समकक्षी मुद्दा भागोपले बोकेकै छ। यसैले एनजिसी छोडेर अब भागोपकै मुद्दालाई लयमा ल्याउन सोच बनाएँ।’


खबरम्यागजिन डेस्क


राष्ट्रीय गोर्खाल्याण्ड कमिटी (एनजीसी)-का महासचिव मुनिस तामाङले कमिटीलाई राजिनामा दिएका छन्। 2017 मा बौद्धिकहरूको जम्बोटोली बनाएर छुट्टै राज्य गोर्खाल्याण्ड गठनको निम्ति प्रतिबद्धरुपले काम गर्न गठन गरिएको एनजिसीबाट यसअघि नै क्रमैले 6 सदस्यले राजिनामा दिइसकेका छन्।

प्रोफेसर श्रवन आचार्यले अघिबाटै राजिनामा दिइसकेका हुन् भने पी. अर्जुन, जोएल राई, रोशनी राई अनि सुकमन मोक्तानसमेतले एनजिसीबाट राजिनामा दिइसकेका छन्।

14 जना बौद्धिकहरू भेला भएर गठन गरेको यो कमिटीका अध्यक्ष शक्ति गुरुङ हुन्। महासचिव तामाङले अध्यक्ष गुरुङलाई राजिनामा पत्र पठाएका छन्।

‘खासमा जे सोचेर यो कमिटी गठन गरेका थियौं, त्यो नै हुन सकेन,’ मुनिस तामाङले खबरम्यागजिनसित भने, ‘जुन स्तरका विषय विशेषज्ञहरू एनजिसीमा थिए, मलाई लागेको थियो, त्यसको प्रयोग हुनेछ। तर सबैको चासो लोकल राजनीतितिरै मात्र रहेको देख्यौं। यसै पनि समकक्षी मुद्दा भागोपले बोकेकै छ। यसैले एनजिसी छोडेर अब भागोपकै मुद्दालाई लयमा ल्याउन सोच बनाएँ।’

तामाङले एनजिसीका प्रबुद्ध र बौद्धिकहरूले आफ्नो क्षमतालाई प्रयोग नगरेकोले र जनतामा राखिएका मुद्दालाई रणनीतिपूर्ण सम्बोधन नगरेकैले आफूले एनजिसी त्यागेको बताए।

‘सङ्गठनमा ठूलो नाम वा बौद्धिकहरू हुँदैमा केही नहुँदोरहेछ,’ तामाङले भने, ‘सोच पनि परिवर्तन हुनुपर्दोरहेछ। मुद्दाको संवेदनशीलता र जिम्मेवारी पनि बुझ्ने हुनुपर्नेरहेछ। एनजिसीले त्यो अपेक्षा पूरा गर्न सकेन।’

तामाङको राजिनामा पत्र यस्तो छ-

२६ फरवरी २०२1

लेफ्टिनेन्ट जनरल शक्ति गुरूङ

अध्यक्ष

राष्ट्रिय गोर्खाल्याण्ड कमिटी

विषय: राष्ट्रिय गोर्खाल्याण्ड कमिटीबाट त्यागपत्र।

प्रिय सर,

यस पत्र मार्फत म राष्ट्रिय गोर्खाल्याण्ड कमिटी(एनजीसी)बाट राजिनामा दिने मेरो चहाना व्यक्त गर्दछु।

तपाईँलाई थाहा छ, गोर्खाल्याण्ड आन्दोलनलाई गति दिन अनेक तप्काका विशिष्ट मानिसहरूको समुह बनाउने सम्भावनातिर पहल गर्नको लागि जिएमसिसिको सङ्कल्पको कारण एनजीसीको गठन भएको थियो। यो जगजाहेर छ कि जिएमसिसिले मलाई परामर्श गर्न, मानिसहरूको चुनाव गर्न अनि प्रस्तावित समुहमा मानिसहरूलाई सामेल गराउने आदेश जारी गरेको थियो। जिएमसिसिका सम्पूर्ण सदस्यहरूको ममाथिको विश्वासको निम्ति म आभारी छु। यसै पहलको कारण १४ सितम्बर २०१७ को दिन एनजीसीको गठन भएको हो। तपाईं सम्झन सक्नुहुन्छ, मैले शुरूवाती महिनाहरूमा एनजिसीको संस्थापक संयोजकको रूपमा कार्य गरेँ, त्यसपछि एनजीसी सदस्यहरूको सर्वसम्मतिमा तपाईं अध्यक्ष अनि मूल सचिवको पदमा निर्वाचित भयौं।

एनजिसीको गठनलाई गोर्खा सामुदायका हरेक तप्काले स्वागत गरेका थिए अनि यसले गरेका सबै पहलहरूले व्यापक प्रशंसा पनि पाएको थियो। यी सालहरूमा अनेक राजनैतिक दल अनि सङ्गठनहरूसँगको हाम्रो अन्तर्क्रियाले गोर्खाल्याण्ड आन्दोलनमा हाम्रो प्रासाङ्गिकताबारे बताउँछ।

आज, एनजिसी गठनको तीन सालभन्दा अधिक समयपछि मसँग यो कुरा विश्वास गर्ने अनेक कारणहरू छन् कि गोर्खाल्याण्ड आन्दोलनमा आफ्नो योगदान दिनसक्ने गोर्खा सामुदायका विशिष्ट व्याक्तित्वहरूलाई एकजुट गराउन मलाई दिइएको जिम्मेवारीमा सफल बनेको छु। एनजिसीलाई एक सार्थक समूह बनाउने मनसाय राखेर मैले मेरो क्षमता अनुसार सबै राजनैतिक दल अनि सङ्गठनसँग तालमेल बनाउने काम गरेको छु। म आज विश्वास गर्छु, ममाथि दिइएको जिम्मेवारी पूर्ण भएको छ। मैले मलाई दिइएको कार्य आज पूर्ण भएको छ, अनि अब अगाडि बढ्ने समय आइसकेको छ। मलाई विश्वास छ, तपाईंको अध्यक्षतामा एनजीसीले ती कुराहरू हासिल गर्नेछ जसको निम्ति यसको गठन भएको थियो। एनजीसीका हरेक सदस्यसँग काम गर्नु मेरो निम्ति एक विशेषाधिकार थियो।

कृपया एनजिसीको मुल सचिव अनि साधारण सदस्यताबाट मेरो राजिनामा स्वीकार गर्नुहोला।

म सदैव गोर्खाल्याण्डको एक इमान्दार सिपाही भएर रहनेछु।

तपाईंको इमान्दार

डा. मुनिश तामाङ।

 

सिके श्रेष्ठको एसेम्बली अहिले चर्चालायक छैन

तामाङले उप्रान्त आफू भागोपकै मुद्दालाई गम्भीरतासित सम्बोधन गर्ने जनाएका छन्। भागोपले गोर्खाका राष्ट्रीय मुद्दाहरूलाई अघिबाटै सम्बोधन गर्दै आइरहेकै छ। यसै सिलसिलामा भर्खरै सिके श्रेष्ठले अघि बढाइरहेको राष्ट्रीय गोर्खा एसेम्ब्लीको मुद्दाबारे भागोपको राय जान्न चाहँदा तामाङले भने, ‘यो मुद्दा चर्चालायक मुद्दा बनेकै छैन।’

तामाङअनुसार सिके श्रेष्ठ भागोपमा छँदै यो मुद्दाबारे चर्चा गर्थे तर त्यो चर्चा कुनै चियागफजस्तो मात्र थियो। ‘10 वर्षअघि यो मुद्दाबारे जे भन्थे सिके श्रेष्ठले अहिले पनि त्यही भनिरहेका छन्,’ तामाङले भने, ‘10 वर्षभित्र यो मुद्दाको ठोसरुप अघि आइसक्नुपर्थ्यो। यसले बलियो प्रारुप पाइसक्नुपर्थ्यो। जबसम्म यो मुद्दाले बलियो ढाँचा बोकेर आउँदैन तबसम्म यो चर्चालायक मुद्दा होइन।’

यता गोजमुमो-2 का अध्यक्ष विनय तामाङ एसेम्ब्लीको मुद्दामा चर्चा होस् भनिरहेका छन्। उता मुनिस तामाङ यो मुद्दा चर्चायोग्य नै नरहेको ठहर गरिरहेका छन्। ‘आवधारणा एउटा कुरा हो, यो 10 वर्ष अघि नै श्रेष्ठले गरिरहने कुरा हो,’ तामाङले भने, जबसम्म यो मुद्दाले गतिलो ढाँचा प्राप्त गर्दैन, यसबारे बहस गरिरहन आवश्यक नै छैन।’

दार्जिलिङको चुनाउ गोर्खाहितको मुद्दामा होस् पार्टीहितको मुद्दामा होइन

भागोपले क्षेत्रीय राजनीति र चुनाउमा उस्तो चासो राख्दैन। चुनावी गतिविधिबाट पर बस्ने भागोपले बङ्गालको चुनाउलाई चाँही कसरी हेरिरहेको छ? भन्ने प्रश्न गर्दा तामाङले चुनाउबारे भागोपको कुनै चासो नरहेको जनाए।

‘यताबाट हेर्दा दार्जिलिङमा चुनाउलाई दलहरूले पार्टीहितमा प्रयोग गरिरहेको हो कि भन्ने देखिएको छ,’ तामाङले भने, तर यस्तो हुनु हुँदैन। चुनाउ गोर्खाहितमा हुनुपर्छ, पार्टीहितमा होइन। हरेक चुनाउले नयाँ नयाँ चुनौति लिएर आइरहेको छ, त्यो चुनौतिसित गोर्खाहितको लागि लड्नुपर्छ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन