कालेबुङ, दार्जिलिङमा 17 अप्रिल चुनाउ : पहाडमा दह्रो प्रतिस्पर्धाको सम्भावना

राज्यमा एउटै दल तृणमुलसँग गठबन्धन गरे पनि गोर्खा जनमुक्ति मोर्चाको दुइ खेमाको आपसी मतभेदको कारण दुवै खेमाले आ-आफ्नो उम्मेद्वार दिने तय देखिन्छ। यसचोटिको चुनावमा तीन वर्षको विस्थापित जीवन बिताएर पहाड फर्किएका बिमल गुरूङको चुनावी रणनीति पनि हेर्न लायक बन्ने छ। धेरैले यसै चुनावले बिमलको राजनैतिक अस्तित्व तय हुने लख काटिरहेका छन्।


खबरम्यागजिन डेस्क


निर्वाचन आयोगको मुख्य निर्वाचन कमिशनर सुनिल अरोराले आज एक प्रेस भेलाको आयोजना गरेर पश्चिम बङ्गाल लगायत अन्य चार राज्य केरला, पन्डिचेरी, तामिलनाडु अनि आसामको विधानसभा चुनावको घोषणा गरेका छन्।

पश्चिम बङ्गालको यसचोटिको विधानसभा चुनाव आठ चरणमा हुने उनले घोषणा गरेका छन्।

पहिलो चरणको मतदान तीसवटा विधानसभा क्षेत्रको निम्ति १३ मार्चको दिन मतदान हुनेछ। यसमा पुरूलिया, झारग्राम, बाङ्कुरा-१, पश्चिम मेदिनीपुर-१ अनि पूर्व मेदिनीपुर-१ जिल्ला परेका छन्।

राज्यमा दोस्रो चरणको मतदान तीसवटा विधानसभा क्षेत्रको निम्ति १ अप्रेलको दिन हुनेछ। यसमा बाङ्कुरा-२, पश्चिम मेदिनीपूर-२, पुर्व मेदिनीपुर-२ अनि चौबिस पर्गना दक्षिण-१ जिल्ला सामेल छन्।

तेस्रो चरणको मतदान एकतीसवटा विधानसभा क्षेत्रको निम्ति ६ अप्रेलको दिन हुनेछ। त्यस्तै गरी चौंथो चरणको मतदान ४४ विधानसभा क्षेत्रमा हुने तय गरिएको छ जसमा हावडा-२, हुग्ली-२, चौबिस पर्गना दक्षिण-३, अलिपुरद्वार अनि  कुचबिहार जिल्लामा १० अप्रिलको दिन हुनेछ।

पाँचौं चरणको मतदानमा दार्जिलिङ जिल्लाको पाँच विधानसभा क्षेत्र अनि कालेबुङ जिल्लाको एउटा विधानसभा क्षेत्रलाई सामेल गराइएको छ। यस चरणको मतदानको सुचना २३ मार्चको दिन जारी हुनेछ। उम्मेद्वारिताको लागि आवेदन भर्ने अन्तिम दिन ३० मार्च रहेको छ भने उम्मेद्वारिता फिर्ता लिने अन्तिम मिति ३१ मार्चसम्म तय गरिएको छ। मतदानको तारिख १७ अप्रिल रहनेछ।

पाँचौं चरणमा दार्जिलिङ अनि कालेबुङ लगायत उत्तर पर्गना, नादिया, पूर्व वर्धवान, जलपाइगुडी जिल्लाहरूमा पनि मतदान हुनेछ।

छैटौं चरणको मतदान २२ एप्रिलको दिन हुनेछ जसमा ४३ विधानसभा क्षेत्र सामेल छन्।

सातौं चरणको मतदान माल्दा, मुर्सिदाबाद, पश्चिम वर्धमान अनि दक्षिण दिनाजपुर जिल्लाहरूमा ३६वटा विधानसभा क्षेत्रहरूको निम्ति २६ अप्रिलको दिन हुने तय गरिएको छ।

पश्चिम बङ्गाल लगायत अन्य चार राज्यहरूको विधानसभा चुनाव परिणामको घोषणा २ मईको दिन हुनेछ।

कोभिड प्रोटोकललाई ध्यानमा राख्दै चुनावको मतदान केन्द्रहरूमा भीड कम गर्नको लागि चुनावको समय थप एक घण्टा बढाइएको आयोगले घोषणा गरेको छ।

विशेष पश्चिम बङ्गालको पछिल्लो पञ्चायत चुनावमा आएको गडबडीलाई ध्यानमा राख्दै आयोगले राज्यका धेरैवटा क्षेत्रहरूको अध्ययन गरेर अशान्ति हुनसक्ने बुथहरूलाई चिन्हित गरेको छ। त्यस क्षेत्रहरूमा व्यापक रूपमा सिएपिएफ जवानहरूको तैनाथी हुने आयोगले जनाएको छ।

पहाडको यसचोटिको चुनाव आम जनताको लागि व्यापक चासोको विषय बन्ने सम्भावना अघिबाटै देखिएको छ। कारण दार्जिलिङ, खर्साङ अनि कालेबुङ यी तीनवटा क्षेत्रमा कुन दलले जीत हाँसिल गर्ने हो, यसबारे यसचोटि अडकलबाजी मात्र गर्न पनि चुनौतिपूर्ण देखिन्छ।

राज्यमा एउटै दल तृणमुलसँग गठबन्धन गरे पनि गोर्खा जनमुक्ति मोर्चाको दुइ खेमाको आपसी मतभेदको कारण दुवै खेमाले आ-आफ्नो उम्मेद्वार दिने तय देखिन्छ। यसचोटिको चुनावमा तीन वर्षको विस्थापित जीवन बिताएर पहाड फर्किएका बिमल गुरूङको चुनावी रणनीति पनि हेर्न लायक बन्ने छ। धेरैले यसै चुनावले बिमलको राजनैतिक अस्तित्व तय हुने लख काटिरहेका छन्।

यता विनय खेमा जिटिए अध्यक्ष अनित थापा मार्फत विभिन्न विकास परियोजनाहरूको घोषणा गरेर जनताको मन जित्ने कोशिशमा लागेका छन्। चुनावको ठिक्क अगाडि चुनावी राजनीतिबाट सन्यास लिएको घोषणा गरेर गोर्खाल्याण्ड एसेम्बलीको प्रस्ताव लिएर अगाडि आएका विनय तामाङको यस अवधारणाले मतदानमा कतिको असर गर्ला त्यो हेर्न लायक हुनेछ।

विधानसभा चुनाव अगाडि गोर्खाहरूको लागि केन्द्र सरकारले केही पहल गर्छ भन्ने जनताको समुह भाजपासँग निराश बनेका छन्। विधानसभा चुनाव अगाडि ११ जातगोष्टीलाई जनजातिको मर्यादा दिलाउने अनि पहाडको स्थायी राजनैतिक समस्याको हल तत्काल भाजपाले छिराउन नसक्ने तय भएको छ।

त्यसकारण यसचोटि पनि भाजपाले केवल आश्वासनको भरमा चुनावी मैदानमा जानपर्ने चुनौति देखिन्छ। यसबाहेक विशेष २०१७को आन्दोलनमा राज्य सरकारको प्रताडनाको कारण रूष्ट बनेका जनताको ‘एन्टी-बङ्गाल सेन्टिमेन्ट’लाई भोटमा परिणत गर्नको लागि भाजपाले कुनै कसर बाँकी नराख्ने तय छ।

विगतको विधानसभा चुनावमा ‘गोर्खाल्याण्ड’को लागि भनेर जनतालाई भोट हाल्न लगाइएता पनि यसचोटि जनताको मत फरक छ। विधानसभा चुनावको सम्बन्ध केवल विकास हो, जमिनी जनताको नाडी छाम्दा जनताले यसचोटि यो कुरा बुझेको भान हुन्छ।    

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन