राजु विष्टले राज्यपाल र चुनाउ आयुक्तलाई लेखे पत्र : भने, ‘अनित थापाको राजनैतिक नियुक्ति तुरुन्तै रद्द गरियोस्’

‘जिटिएमा जनताद्वारा निर्वाचित सदस्यहरू नराखेर तृणमूल काङ्ग्रेसले आफ्ना वफादारहरूलाई गैर-कानूनी रूपमा जिटिए बोर्ड अफ एडमिनिस्टेटर्स भनी नियुक्ति दिएर 6-6 महिनाको एक्सटेन्शन दिँदै तिनीहरूमार्फत पहाड़मा आफ्नो घृणित राजनीति गरिरहेको छ,’ विष्टले विज्ञप्तिमा भनेका छन्, ‘आज आएर ती तृणमूल काङ्ग्रेसका वफादारहरूले जिटिएको प्रयोग गर्दै हाम्रा क्षेत्रका मतदाताहरूलाई भ्रमित गर्ने अनि आफ्नो राजनीतिक रोटी सेक्ने कुकृत्य गरिरहेका छन्।’


खबरम्यागजिन डेस्क


सांसद राजु वष्टले राज्यपाल जगदीप धनकड़ र मुख्य चुनाउ आयुक्त सुनील अरोड़ालाई अनित थापाको राजनैतिक नियुक्ति तुरुन्तै रद्द गर्ने माग गर्दै पत्र लेखेका छन्। उनले पत्रमा भनेका छन्, ‘जिटिएलाई सोझै राज्यपालको सुपरिवेक्षणमा सञ्चालित गराइयोस्।’

तृणमूल काङ्ग्रेसले आज उम्मेदवारहरूको घोषणा गर्ने वित्तिकै अनि पहाडमा पहाडकै दलहरूको लड्ने घोषणा गर्ने वित्तिकै विष्टले एक विज्ञप्ति जारी गरेका छन्। विष्टअनुसार तृणमूल काङ्ग्रेसले २०१७ देखि नै दार्जीलिङ र कालेबुङ जिल्लामा लोकतन्त्रको हत्या गर्दै आएको छ।

‘जिटिएमा जनताद्वारा निर्वाचित सदस्यहरू नराखेर तृणमूल काङ्ग्रेसले आफ्ना वफादारहरूलाई गैर-कानूनी रूपमा जिटिए बोर्ड अफ एडमिनिस्टेटर्स भनी नियुक्ति दिएर 6-6 महिनाको एक्सटेन्शन दिँदै तिनीहरूमार्फत पहाड़मा आफ्नो घृणित राजनीति गरिरहेको छ,’ विष्टले विज्ञप्तिमा भनेका छन्, ‘आज आएर ती तृणमूल काङ्ग्रेसका वफादारहरूले जिटिएको प्रयोग गर्दै हाम्रा क्षेत्रका मतदाताहरूलाई भ्रमित गर्ने अनि आफ्नो राजनीतिक रोटी सेक्ने कुकृत्य गरिरहेका छन्।’

विष्टअनुसार जिटिए सञ्चालन गर्ने अनित थापाहरूले पहाडका मतदाताहरूलाई रोजगार दिने, ठेका दिने, नोकरी स्थायी गरिदिने जस्ता लालच देखाएको छ।

‘कतिपय व्यक्तिहरूलाई त डराउने-धम्काउने समेत गरिरहेका थुप्रै शिकायतहरू मैले पाएको छु,’ विष्टले भनेका छन्, ‘हाम्रो संविधानले लोकतन्त्रका साथ यस्तो खेलाइँची गर्ने अनुमति दिँदैन।

मेरो विचारमा राजनीतिक नियुक्ति दिइएका यस्ता अनिर्वाचित व्यक्तिहरूलाई चुनाउको अवधिमा कुनै अधिकार दिइनु हुँदैन।’

पश्चिम बङ्गालभर वर्तमानमा तृणमूल काङ्ग्रेसद्वारा नियुक्त अनिर्वाचित व्यक्तिहरूद्वारा सञ्चालित सबै नगरपालिका एवं ग्रामीण निकायहरूमाथि चुनाउ आयोगद्वारा नियन्त्रण गरिनु पर्ने माग पनि विष्टले गरेका छन्। ‘लोकतान्त्रिक परिपाटी भताभुङ्ग गरिनुलाई सहन गरिने छैन अनि मलाई पूरा विश्वास छ कि चुनाउ आयोगले यस सम्बन्धमा यथोचित संज्ञान लिएर आवश्यक कारबाही गर्नेछ,’ विष्टले भनेका छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन