सिन्कोना बगानलाई नेश्नल मेडिकल प्लान्ट्स बोर्डभित्र राख्ने विष्टको माग : ‘प्रत्येक अस्पतालमा कम्तिको पनि दुई मेडिकल अफिसर नियुक्त हुनुपर्ने हो- ओसएसडी राय

सिन्कोना बगानलाई नेश्नल मेडिकल प्लान्ट्स बोर्डभित्र राख्न दार्जिलिङका सांसद राजु विष्टले सदनमा माग राखेका छन्।  यता बगानका चार अस्पतालबारे बैठक भएको छ। ओसएसडी  डा. सुशान्त कुमार राय  ‘प्रत्येक अस्पतालमा कम्तिको पनि दुई मेडिकल अफिसर नियुक्त हुनुपर्ने हो’


खबरम्यागजिन डेस्क


दार्जिलिङका सांसद राजु विष्टले सिन्कोना बगानलाई नेश्नल मेडिकल प्लान्ट्स बोर्ड अधिन राख्न माग गरेका छन्। विष्टले तत्काल सार्वजनिक महत्त्वको मामिला उठाउन सकिने नियम ३७७-लाई प्रयोग गर्दै संसदमा उक्त कुरा उठाएका हुन्।

‘मैले आयुष मन्त्रीसमक्ष सिन्कोना बगानहरूलाई नेश्नल मेडिकल प्लान्ट्स बोर्ड अधिन लिएर  बगानलाई  पुनर्जीवन दिन सहयोग गरिदिने अपील गरेको छु,’ विष्टले भने, ‘यसबाहेक बगानको उपलब्ध भूमिमा श्रमशक्तिको प्रयोग गर्दै पहाडलाई औषधीय बोटबिरुवा केन्द्रको मेडिसनल प्लान्ट हबकोरूपमा कायाकल्प गर्न अनुरोध गरेको छु।’

पहाडलाई मेडिसनल प्लान्ट हब बनाइएमा पहाडसितै पनि लाभान्वित हुने विष्टले जनाएका छन्।

दार्जिलिङ अनि कालेबुङ क्षेत्रमा सिन्कोना बगानको इतिहास चिया बगानको इतिहास जत्तिकै पुरानो छ। सिन्कोना बगानहरू २६,००० एकड़ इलाकामा फैलिएको छ। यहाँ चार कारखानाहरू – मङ्पू, मन्सोङ, रोङ्गो, र लाटपञ्चरमा सञ्चालित छन्।

सिन्कोना महानिदेशालयले करिब ७००० जना श्रमिकलाई  नियमित र मौसमको हिसाबले रोजगार प्रदान गरेको छ।

यहाँ कुइनैन र इपिकेकजस्ता जीवनरक्षक दवाईहरू उत्पादन गरिन्छ। यसबाहेक पनि बगानमा हर्दि, अलैँची, लाबर, किम्बु, सुन्तलाजस्ता अन्य बोट-विरुवाहरूको पनि उत्पादन हुन्थ्यो।

‘तर, पश्चिम बङ्गाल सरकारको लगातार अवहेलना, बेवास्ता तथा विशेषज्ञताको अभावले गर्दा मानिसहरूको जीवन बचाउने यी बगानहरू आज आफ्नै अस्तित्वको लागि सङ्घर्ष गरिरहेको छ,’विष्टले भने, ‘औषधीय बोट-बिरुवाहरूको अत्याधिक सम्भावनाको बावजूद हाम्रो सिन्कोना बगान मृत्युको मुखेञ्जी छ। हजारौँ श्रमिकहरूको आजीविका सङ्कटमा छ।’

यता केही दिन अघि मात्र सिलगढीमा सिन्कोना बगानका निर्देशक सामुएल राईले सिन्कोना बगानका अस्पताल समस्याबारे बैठक गरेका छन्। उत्तर बङ्गालमा स्वास्थ्य सेवा हेरविचार गर्न राज्य सरकारले अफिसर अन स्पेशल ड्यूटी (ओएसडी)-कोरुपमा  डा. सुशान्त कुमार रायलाई नियुक्त गरेको छ। उनै ओएसडीसित सामुएल राईले बैठक गरेका हुन्।

‘सिन्कोना प्लान्टेशन क्षेत्रका अस्पतालहरूमा केही असुविधा चलिरहेको पत्तो लागेको छ। यसै सम्बन्ध जानकारी लिन यो बैठक गरिएको हो,’ ओएसडी रायले भने,  ‘अस्पतालमा मेडिकल अफिसर, ल्याब तक्नीशियन, एक्सरे मसिन, एक्सरे तकनीशियनलगायत अन्य सुविधा अनिवार्य छ। प्रत्येक अस्पतालमा कम्तिको पनि दुई मेडिकल अफिसर आवश्यक छ।’

रायले अस्पतालको स्थितिको जायजा लिन आफै अस्पतालको निरिक्षण गर्ने जनाएका छन्।  ‘कसरी हुन्छ समस्यालाई समाधान गर्नेछौं,’ उनले भने, यसबारे  एउटा नोट तयार गरेर स्वास्थ्य विभागलाई पठाइनेछ।’

 चार बगानमा चारवटा अस्पताल छन्। चार अस्पतालमा चार  मेडिकल अफिसर छन्। जसमा तीनजनाको नियुक्ति अनुबन्धको आधारमा भएको छ। रोङ्गो सिन्कोना बगानमा निर्देशक सामुएल राईले नक्कली डाक्टर नियुक्त गरेको खबर आएको थियो। रोङ्गोमा नियुक्त डाक्टरले एमबीबीएस नगरेको तर आरएमपी सर्टिफिकेट (रेजिस्टर मेडिकल प्राक्टिसनर) धारक मात्र रहेको खबर छापामा आएको थियो। यो मुद्दा कहाँ पुग्यो, के भयो कसैलाई पनि थाहा छैन।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन