चुनाउ, पहाड र नयाँ स्पेस (भिडियोसहित)

मनोजमत

ममता व्यानर्जीले पहाडमा तृणमूलको उम्मेदवार नदिनु भनेको राजनैतिक र कुटनैतिकरुपले पहाडले फाइदा पाउनु हो। यसलाई फाइदाकोरुपमा लिने नलिने हो, त्यो दलीय चेतनामा भर पर्ने कुरा हो। तृणमूलले बाटो छोडिडियो, अब भाजपाको पालो?


मनोज बोगटी


भाजपासित गठबन्धन गरेको थियो, गोर्खा जनमुक्ति मोर्चा विमल खेमा, क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी, गोर्खालिग, गोर्खा राष्ट्रीय मुक्ति मोर्चा र एकदुइ साना दलहरूले। 2019 को लोकसभा चुनाउमा यी दलका समर्थकलगायत साइलेन्ट भोटर्सले भारतीय जनता पार्टीलाई जिताएको थियो। विधानसभाको उपचुनाउमा गठबन्धनबाट क्रामाकपा चुट्टियो तर अरू भाजपासितै बस्यो। यसैले भारी मतले भाजपाले चुनाउ जित्यो।

2019 देखि 2021 सम्म टिस्टामा धेरै पानी बगिसकेको छ। 2019 को चुनाउ गोर्खाल्याण्डपन्थी दलहरूको आडमा विमल गुरुङले 11 जातलाई जनजाति र स्थायी राजनैतिक समाधानको मुद्दा भाजपाको मेनिफेस्टोमा हालेको कारण जितेको थियो। गठबन्धन दलका समर्थकहरूले यही मुद्दालाई नै मत दिएका थिए। साइलेन्ट भोटर्सको मत तान्न विमल खेमाले विनय खेमालाई गद्दार भनेर गरेको प्रचार खुबै काम लागेको थियो। विमल खेमाले प्रचार गरेको गद्दारी कार्डले साइलेन्ट भोटर्समा व्यापक असर गरेको जगजाहेर कुरा हो।

तर यसपल्ट दृश्य अर्कै छ। 2021 मा विमल गुरुङले भाजपा छोडिसकेका छन् र आन्दोलन दबाउने ममता व्यानर्जीलाई नै मुख्यमन्त्री बनाउन तृणमूल काङ्ग्रेसको चुनावी रणनीतिकार प्रशान्त किशोरसित चुनावी व्यापार गरेर फर्किएका छन्।

अहिले विमल गुरुङहरूलाई महागद्दारीको लाञ्छना छ। उनी गोली ठोक्ने, खेदाउने, आन्दोलन दबाउने ममता व्यानर्जीलाई नै जिताउन फर्केका छन्। यसकारण 2019 को साइलेन्ट भोटर्सले विमल गुरुङको महागद्दारीको बद्ला लेला कि नलेला, त्यो हेर्न बाँकी छ।

2019 मा भाजपाले पाएको भोटरेट 2021 मा उस्तै रहने छैन। यसपल्ट गोर्खालिग दुबैखेमाले आफ्नै, क्रामाकपाले आफ्नै उम्मेदवारिता दिने लक्षण छ। गठबन्धन केवल लोकसभा चुनाउको लागि रहेको गठबन्धनका दलहरूले भनिरहेकै छ, तर गोर्खा राष्ट्रीय मुक्ति मोर्चा भाजपाको जनसभा सफल बनाउन हिँडिरहेको देखियो। गोरामुमोको भाजपासितको गठबन्धन् 2021 को विधानसभा चुनाउको लागि पनि हो त? के गोरामुमोलाई यसपल्ट पनि भाजपाको टिकट पाउने लोभ छ त? कि गोरामुमोले आफ्नै उम्मेदवारी दिन्छ? यस विषयमा गोरामुमो खुलेको छैन।

विधायक निरज जिम्बाले पार्टीले सल्लाह गरेरै निर्णय गर्ने छनक दिएका छन्।

यसपाली 2019 मा भाजपाले पाएको भोटबाट विमल खेमाको भोट काटिनेछ। क्रामाकपा र गोर्खालिगले आफ्नै उम्मेदवार दियो भने त्यो भोट पनि काटिनेछ। विमलको महागद्दारी र 2021 को चुनाउ अघि नै केही हुन्छ भनेर भाजपाले पहाड, तराई र डुवर्सका गोर्खालाई खुवाएको लोप्पाले पनि भोट पातलो पार्ने नै छ।

पहाडमा भएको भाजपाको परिवर्तन यात्रा हेरौं। कालेबुङका जुन खाली बेञ्चहरू देखा पऱ्यो, त्यसले अर्कै सन्देस दिइसकेको छ। दार्जिलिङमा राजु विष्टको भाषण चल्दै गर्दा समर्थकहरूले ‘2021 भन्दा अघि केही दिएन भने भाजपा हार्छ’ भनेर गरेको प्रतिक्रियाले त झन अर्कै सन्देश दिएको छ। दार्जिलिङको जनसभामा गोरामुमो समर्थकहरूको बाहुल्यताले पनि अर्कै सन्देस दिइसकेको छ। दार्जिलिङको जनसभामा गोरामुमोको घोडामा भाजपाको हिहि देखापऱ्यो। भाजपाको परिवर्तन यात्राले साबित गरेको छ पहाडमा भाजपा आफैको कुनै पकड छैन।

गोरामुमो कार्यकर्ताहरूले जनसभामा भाजपाको लाज राखिदिएको दृष्यले पनि यही बताएको छ, यसपल्ट भाजपा गोरामुमोको मेरुदण्डमा उभिने कोसिसमा छ। गोरामुमो यसैको फाइदा उठाउन चाहन्छ।

तर गोरामुमो र भाजपाका समर्थकहरूको मतले मात्र भाजपाको जित निश्चित होला त?

जेजस्तै भए पनि विमल गुरुङको केही पकड त छ नै। विमलले भाजपाले दिएको धोकाको प्रचारप्रसारले पनि भाजपालाई असर त गर्छ नै।

भाजपा नेताहरूलाई तृणमूल काङ्ग्रेसको सरकारले 2017 मा गरेको ज्यादतिको भजन गाएर जनतालाई आफूतिर आकर्षित गर्नु बाहेक अर्को विकल्प छैन। तर यतिले चुनाउ जित्न पर्याप्त स्पेस बन्ला त? भन्ने सवाल फेरि पनि उठ्छ।

भाजपाको आफ्नै गतिलो मुद्दा छैन। केन्द्रको विषय रहेको र लोकसभा चुनाउको मुद्दा 11 जातलाई जनजाति र स्थायी राजनैतिक समाधान नै फेरि विधानसभा चुनाउमा पनि भाजपाले दोहोऱ्याइरहेको छ। जब कि यी मुद्दासित विधानसभा चुनाउको कुनै सम्बन्ध छैन।

यस हिसाबले भाजपाले 2017 को तृणमूल सरकारको ज्यादति स्मरण गर्न लगाएर भोट जित्ने सपना पूरा हुन्छ भन्ने ग्यारेन्टी दिँदैन। केही दिन अघिसम्म तराईमा सांसद विष्टले चुनाउ अघि केही हुन्छ भने, केही दिनपछि पहाड चढ्दा 2024 सम्म चाँही केही हुन्छ भनिदिए।

केही दिनहरूकै अन्तरालमा भाजपा नेताहरूको भाका फेराईले जनतामा कस्तो असर गर्छ, त्यो भाजपालाई नै थाहा होला।

तपाईँहरूलाई थाहा छ, 2019 मा पहाडमा भूमिपुत्रको लहर चलेको थियो।

त्यही लहरको खिचातानीले भाजपालाई गोर्खा उम्मेदवार राजु विष्टलाई मैदानमा उतार्ने मौका दिएको थियो। भूमिपुत्र नसही, गोर्खा उम्मेदवार त दियो भन्ने सन्तुष्टिले पनि भोट तानेकै हो। 2019 को भोटमा जनताले दिएको मतका कारणहरू अनेक छन्, तर मुख्य कुरा दुइटा नै हो, एक भाजपाले मेनिफेस्टोमा मुद्दा हाल्यो, अर्को विनय तामाङहरूको गद्दारीको बदला।

तर यसपल्ट गद्दारी भन्नेहरू आफै महागद्दार बनेर घर फर्किएका छन्। त्यहीँमाथि 2021 भन्दा अघि केही हुन्छ भनेर भाजपाले पनि मज्जैले ढाँटेको छ। त्यहीँमाथि कोरोनाकालमा अनित थापाले गरेको काम र जनसभाहरूमा ढाँटेर राजनीति नगर्ने भनेर दिइरहेको बयानहरूले जनतालाई आकर्षित गरेकै छ।

स्थिति 2019 को जस्तो 2021 मा पटक्कै छैन। जनता यी दलहरूको चरित्र देखेर सचेत र राजनीति बुझ्ने भइसकेका छन्। यो झुक्याउने, अशान्ति गर्ने, मारकाटको राजनीतिबाट जनता वाक्क भइसकेका छन्। गोर्खाहरूको राष्ट्रीय मुद्दा के हो, विकासको मुद्दा के हो, त्यसको फरक छुट्याउन सक्ने भइसकेका छन्।

जनताले जति नै गरे पनि नेताले मात्र नाफा पाउने राजनीति गर्ने नेताहरू उदाङ्गो भइसकेका छन्। भूल सबैले गरेकै छन्, सबै नेताको कुनै न कुनै दोष छँदैछ। विस्तारै सारा गोर्खाहरूको चिन्हारीको मुद्दा र पहाडको विकासको मुद्दा अलगअलग छुट्टिन थालेको छ।

आन्दोलन सफल बनेको भए त ठिकै थियो, तर रणनीति नपुगेरअसफल बनेको आन्दोलनले बारम्बार पहाडकै संसाधनहरू नष्ट गरेको छ। निरन्तर विकासमा बाधा गरेकै छ, सम्बन्धहरू र मूल्यहरू नष्ट गरेकै छ। यी जम्मै घटनाले स्थिति यस्तो बन्यो, न त राम्रो विकास भयो, न त मुद्दा नै टुङ्गोमा पुग्यो।

जनताको योगदान अन्तमा गएर भोटमा मात्र सिमित बन्यो।

अहिले राजनीति केलाएर पहाडको हितको लागि चल्नुपर्ने मनोविज्ञान विकसित बनिरहेको छ।

यस्तोमा सांसद विष्टले जितेको तीनवर्ष पुगिसकेको छ। तर मुद्दा ठेगानमा पुग्ने कुनै सम्भावना र लक्षण देखापरेको छैन। मुद्दा जहाँ थियो, त्यहीँ नै छ।

सांसदले सदनमा कुरा त उठाएका छन्, तर ती मुद्दाहरूलाई व्यावहारिक बनाउन केन्द्र सरकारले एकै सुता पनि काम अघि बढाएको छैन। भाजपामाथि आशा गरेको र दवाब नदिएको परिणति अहिले विमल गुरुङले भोगिरहेकै छन्।

अहिले पनि भाजपामाथि कुनै दवाब नगरी आशा गरेरै बसेको छ गोरामुमो, क्रामाकपा र अन्य दलहरू। उनीहरू पनि आशा कै भरमा यसपालीको विधानसभा चुनाउमा आफ्नो मत भाजपालाई दिनतिर लालयित छन्। आजको समयमा पनि आशाको भरमा मत दिने कि प्रतिबद्धता र प्रत्याभूतिको भरमा दिने? भाजपाको प्रतिबद्धताको ग्यारेन्टी खोज्नेहरू आफै भाजपाका गुलाम बनेका छन्।

जनमतको सम्मान जनाकांक्षालाई सम्बोधन गरेमात्र हुन्छ। तर जनाकांक्षा एकातिर छ, न त जनमतको सम्मान छ, तर मत भने उसैलाई दिनुपर्ने बाध्यता जन्माउन भाजपामा पसेका गोर्खा नेताहरूको कसरत चलिरहेकै छ, यस्तो राजनीतिले पहाडलाई कता लान्छ? कसैलाई थाहा छैन।

तपाईँहरूलाई थाहा छ, यसपल्ट पहाडमा क्षेत्रीयताको लहर छ।

तृणमूल काङ्ग्रेस र भाजपालाई समर्थन गरेर पहाडका दलहरूले कुन क्षेत्रीयताको कुरा गरेको हो? जब पनि क्षेत्रीयताको कुरा आउँछ, भाजपाका नेता बिपी बजगाईँ, यस्तो प्रश्न गरिहाल्छन्। बजगाईँले गरेको प्रश्न नितान्तै जायज छ।

तर यसपल्ट तृणमूल काङ्ग्रेसले पहाडलाई पहाडकै हालतमा छोडिदिएको छ। आजको परिस्थितिमा ममताको यो निर्णयले पहाडलाई नितान्तै फाइदा दिने देखिन्छ।

तृणमूलले चाहेको भए विमल खेमा र विनय खेमा दुवैलाई तृणमूल उम्मेदवारलाई समर्थन गर्न लगाउन सक्थिन्। बङ्गालका मिडियाहरूले त विमल-विनय दुवैको द्वन्द्वले भाजपालाई फाइदा पुग्ने र यसलाई रोक्नु हो भने विमल-विनय दुवैले तृणमूललाई समर्थन गर्नु उपयुक्त हुने आशायको रिपोर्ट नै प्रकाशित गरिसकेको थियो।

तर यसपल्ट ममता व्यानर्जीको रणनीति अघिल्ला चुनाउहरूभन्दा फरक देखा पऱ्यो। यसपल्ट ममता व्यानर्जीले पहाडका दलहरूलाई निर्णय थोपिनन्। अघिल्लो चुनाउमा जन आन्दोलन पार्टीको अध्यक्ष र दावेदार उम्मेदवार हुँदाहुँदै पनि डा. हर्कबहादुर छेत्रीको नाम तृणमूल उम्मेदवारकोरुपमा घोषणा गरेकी थिइन्। यसै घोषणाको कारण जितिसकेको चुनाउ पनि डा. छेत्रीले हार्न परेको थियो।

इतिहास हेर्दा पनि ममता व्यानर्जीले पहाडको लागि जे पनि गरिन्, सबै गलत रणनीति देखा परेको थियो। तर प्रशान्त किशोरको असर यसपल्ट व्यापक देखापऱ्यो। यसपल्ट पहाडका मित्रशक्ति दलहरूलाई स्वतन्त्ररुपले चुनाउमा भागिदारी बन्ने मौका दिएकी छन्।

उनले भनेकी पनि छन्, उनीरूले चुनाउ जितेपछि हाम्रो सरकारलाई समर्थन गर्नेछन्।

उनको लाइन सप्ष्ट छ, तर पहाडका मित्रशक्ति दलहरूले चुनाउ जित्यो र सरकार तृणमूल काङ्ग्रेस बन्यो भने समर्थन त गर्नै पर्छ। तर सरकार बनेन भने सरकार बनाउने दललाई  नै पहाडले समर्थन जनाउन सक्ने स्पेस पनि बनेको छ। चाहे त्यो तृणमूलको सरकार होस् वा भाजपको।

पहाडले ममताको घोषणाबाट पाएको नाफा भनेको यही नै हो।

यदि भाजपाको सरकार बन्यो र पहाडमा पहाडकै दलले जित्यो भने भाजपा सरकारसित सम्बन्ध बनाउनैपर्छ। अब राज्य सरकारसित दुश्मनी गरेर केही फाइदा छैन।

हिजो दुश्मनी थियो भने छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दा र आन्दोलनको कारण थियो। यदि भोलि भाजपाले राज्यमा सरकार बनायो र पहाडमा फेरि गोर्खाल्याण्डको आन्दोलन भयो भने भाजपा सरकारले पनि काङ्ग्रेसलेजस्तै, माकपालेजस्तै, तृणमूललेजस्तै दबाउने नै छ। छुट्टै राज्य भए बङ्गाल टुक्रिने डरले जसको सरकार आए पनि आन्दोलन दबाउँदै दबाउँछ।

तर विकासको सवालमा न त केन्द्र दुश्मन हो न त राज्य। केन्द्र र राज्य दुवै नै पहाडको विकास चाहन्छ। गोर्खाल्याण्डको मुद्दाको कारण दुश्मन बनेको राज्य विकासको मुद्दामा मित्र नै बन्छ। गोर्खाल्याण्डको मुद्दाको कारण दुश्मन बनेको केन्द्र विकासको मुद्दामा मित्र नै बन्छ।

विधानसभा चुनाउ गोर्खाल्याण्डको मुद्दा बोक्ने चुनाउ होइन, यो नितान्तै विकासको चुनाउ हो। यसैले लोकसभा चुनाउको भोटरेट र विधानसभाको भोटरेट फरक हुनेगर्छ।

राज्य सरकारसित सौहार्द सम्बन्ध बनाउनकै लागि विधानसभा चुनाउ लड्ने हो। पहाडमा भाजपा हाऱ्यो तर राज्यमा भाजपाको सरकार बन्यो भने भाजपाले पहाडलाई गम्भीरतासित लिने छैन। यसैले यसपल्ट पहाडले पहाडको विकास र भविष्यको लागि जसको सरकार बने पनि सम्बन्ध सौहार्द बनाउने स्पेस राखेर चुनावी राजनीति गर्नुपर्छ, त्यो मौका तृणमूलले मैदान छोडेर तयार भएको छ।

अब राज्यमा भाजपाको सरकार आयो, तर पहाडमा विमल गुरुङले जित्यो भने पनि पहाडको विकास र भविष्यको लागि सम्बन्ध बनाउन सरकार बनाउने सरकारलाई नै समर्थन गर्ने स्पेस बन्यो। अब राज्यमा तृणमूलको सरकार आयो, तर पहाडमा गोरामुमोले जित्यो भने पनि सम्बन्ध बनाउन सरकार बनाउने सरकारलाई नै समर्थन गर्ने स्पेस बन्यो।

जित जसको पनि होस्, हार जसको पनि होस्, त्यसको कारण अब पहाडले दुख पाउनु हुँदैन।

तृणमूलले पहाडलाई क्षेत्रीय दलको लागि चलखेल गर्ने स्पेस दियो, अब भविष्यमा राज्यसित दुश्मन नै बन्नुपर्ने स्थिति रहने छैन। एक हिसाबले पहाडमा चलिरहेको क्षेत्रीयताको लहरलाई ममता व्यानर्जीले मैदान छोडिदिनुले ठूलो टेवा मिलेको छ।

तर भारतीय जनता पार्टीले पनि तृणमूललेजस्तो पहाडलाई क्षेत्रीय दलको लागि चलखेल गर्ने स्पेस देला त? पहाडमा चलिरहेको क्षेत्रीयताको लहरलाई ममता व्यानर्जीले मैदान छोडिदिएर ठूलो टेवा दिएजस्तै भाजपाले पनि देला त टेवा?

के गोरामुमोले आफै, क्रामाकपाले आफै, गोजमुमो-1-ले आफै, गोजमुमो-2-ले आफै, गोर्खालिगले आफै, गोरानिमोले आफै चुनाउ लड्न सक्ने स्पेस भाजपाले दिन सक्छ त?के भाजपाले क्षेत्रीयताको सवाललाई सम्मान गर्न सक्छ त? हेरौं, भाजपाले कस्तो रणनीति अघि ल्याउँदो रहेछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन