विमल निकट लेखक सुरज धड्कन बन्ने निर्दलीय प्रार्थी

‘घरिघरि हाम्रो भावनामाथि कुठाराघात गरिएको छ। हामीलाई केवल भोट मेसिन, झण्डा बोक्ने बाहक र जिन्दावाद-मुर्दावाद भन्ने शक्तिका रूपमा मात्र प्रयोग गरिएको छ। यसैले मेरो उम्मेद्वारिता पहाडको यही रुढ राजनैतिक संस्कारप्रति चुनौति साथै शिक्षित जमातको समस्या र चियाश्रमिकहरूको जीवनशैलीमा परिवर्तनका निम्ति क्रान्तिको आह्वान हो,’ गुरुङले भनेका छन्, ‘म चाहन्छु – धेरैभन्दा धेरै सङ्ख्यामा शिक्षित युवाहरू यस क्रान्तिको हिस्सा बनोस्। धेरैभन्दा धेरै शिक्षित युवाहरू नामाङ्कनका लागि अघि आवोस्।’ 


खबरम्यागजिन डेस्क


एक उपन्यास र केही कथा सङ्ग्रह लेखिसकेका, साहित्य अकादमी युवा पुरस्कारसमेत प्राप्त गरिसकेका लेखक सुरज धड्कन दार्जिलिङ निर्वाचन क्षेत्रबाट निर्दलीय उम्मेदवार बन्ने घोषणा गरेका छन्।

एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो उम्मेदवारिताको घोषणा गरेका छन्।

सुरज गुरुङ (धड्कन)-को झुकाव विमल गुरुङतिर देखिएको छ। उनलाई केही महिना अघि विमल गुरुङसित बैठक गरिरहेको पनि देखिएको थियो। सोसल मिडियामासमेत विमल गुरुङको वकालत गरिरहेको र विनय तामाङहरूको विरुद्धमा आफ्नो मत राखिरहेको देखिएको थियो।

गुरुङले पहाडका सम्पूर्ण स्वाभिमानी शिक्षित जमात र वर्षैभरि पसिना बगाएर पनि सुखको अनुभूति कहिल्यै गर्न नसकेका चियाश्रमिकहरूको पक्षमा चुनाउ लड्ने जनाएका छन्।

‘यसमा मेरो राजनैतिक महत्त्वाकांक्षा र स्वार्थ केही पनि छैन,’  गुरुङले भनेका छन्, ‘म कुनै नेता होइन र नेता हुनका लागि कसरत गरेको पनि होइन। जब आफ्नो जाति र समाजको भविष्य सम्झन्छु, शिक्षित युवाहरूको पलायनवृत्ति सम्झन्छु र चियाश्रमिकहरूको चर्को परिश्रम सम्झन्छु तब मन कुडिएर आउँछ।’

गुरुङले पहालाई युगौँदेखि नै बुर्जुवा एवम् रूढ राजनैतिक संस्कारभित्र पल प्रतिपल मर्दै बाँचिरहेको अवस्थामा रहेको बताउँदै नेतृत्वले भाषणमा मात्र ठूलाठूला कुरा हाँक्ने तर शिक्षा प्रणाली, युवाहरूको भविष्य र चियाश्रमिकहरूको समस्यालाई गम्भीरतापूर्वक भने नलिने बताएका छन्।

‘घरिघरि हाम्रो भावनामाथि कुठाराघात गरिएको छ। हामीलाई केवल भोट मेसिन, झण्डा बोक्ने बाहक र जिन्दावाद-मुर्दावाद भन्ने शक्तिका रूपमा मात्र प्रयोग गरिएको छ। यसैले मेरो उम्मेद्वारिता पहाडको यही रुढ राजनैतिक संस्कारप्रति चुनौति साथै शिक्षित जमातको समस्या र चियाश्रमिकहरूको जीवनशैलीमा परिवर्तनका निम्ति क्रान्तिको आह्वान हो,’ गुरुङले भनेका छन्, ‘म चाहन्छु – धेरैभन्दा धेरै सङ्ख्यामा शिक्षित युवाहरू यस क्रान्तिको हिस्सा बनोस्। धेरैभन्दा धेरै शिक्षित युवाहरू नामाङ्कनका लागि अघि आवोस्।’  

अहिलेसम्म अनुभवमात्र भएका तर नियत ठिक नभएकाहरूलाई जिताउँदै एकोले नै पहाडको स्थिति बिग्रिएको दाबी गर्दै गुरुङले भनेका छन्, ‘म जाति र माटोको नाममा ठूलाठूला कुरा गर्दिनँ। जाति र माटोको माया मनभित्र छँदैछ। यद्यपि यस समय देखा परेका थुप्रै समस्याहरूमध्ये यहाँको शिक्षा व्यवस्था र चियाबारी सबैभन्दा जल्दोबल्दो समस्या हो। एकातिर भ्रष्टाचार, भाइभतिजावाद र चहितावादको कुसंस्कारभित्र यहाँको शिक्षा प्रणाली मरणासन्न अवस्थामा पुगिसकेको छ भने अर्कातिर मालिकहरूको शोषक प्रवृत्ति र सरकारको उदासीन नीतिभित्र चियाश्रमिकहरूको जीवन नर्कतुल्य बनिसकेको छ। यी दुवै विषयमा यहाँ नेताहरूले के कति काम गरे ? यसको हिसाबकिताब गर्ने समय आइसकेको छ’

उनले अबको राजनीतिदेखि शिक्षित र सचेत युवाहरू टाढिनु नहुने युवाहरूले आफ्नो उपस्थिति बोध गराउन सकेन भने बाँच्नु र मर्नुबिच कुनै पार्थक्य नै नरहनेसमेत बताएका छन्।

‘हाम्रा समस्याहरू धेरै छन् जसलाई भिख मागेको जस्तो फ्यातुलो पाराले होइन तर शक्तिशाली आवाजका रूपमा राख्नु आवश्यक छ। यसैले आज महाशिवरात्री पूजाको छेक पारेर पहाडका सम्पूर्ण शिक्षित युवाहरूले पनि परिवर्तनका निम्ति तेस्रो आँखा खोल्न सक्नुपर्छ भन्ने आह्वानसहित मैले मेरो उम्मेद्वारिता घोषणा गरेको हुँ,’ गुरुङले विज्ञप्तिमा लेखेका छन्, ‘म मेरो नामाङ्कन-पत्र आगामी 25 मार्चको दिन भर्नेछु जसले पहाडका शिक्षित र सचेत युवाहरूका निम्ति एउटा अवकास निर्माण गर्नेछ मेरो विश्वास छ।’

सुरज धड्कन केही समय विमल गुरुङलाई पहाड फर्काउने अभियानमा सक्रिय थिए। आफूलाई विमल गुरुङको राजनैतिक सिद्धान्त मनपर्ने तर विनय तामाङहरूको मन नपर्नेसमेत बताइसकेका छन्।

विमल गुरुङलाई फर्काउने अभियानमा धेरै सक्रिय थिए। जब विमल गुरुङ पहाड फर्किए तीमध्ये धेरै निष्क्रिय रहेका छन्। यसरी नै निष्क्रिय रहने मध्ये एक सुरज धड्कन पनि हुन्। विमल फर्किसकेपछि उनले सोसल मिडियामा गरिनुपर्ने भूमिका निर्वाह गरिसकेको लेखेका थिए।

विमल गुरुङलाई पहाड फर्काउन सोसल मिडियामा वकालत गर्नेहरू अहिले धेरैजसो  सोसल मिडियामा निष्क्रिय छन्, यद्यपि आन्तरिकरुपले चुनाउ अभियानमा उनीहरू सक्रिय छन्। गोर्खा जनमुक्ति मोर्चा, दुवै खेमाले यसपल्ट स्वतन्त्र उम्मेदवार उठाउने छ। यदि गोरामुमो, क्रामाकपा भाजपाको गठबन्धनमा बसेर भाजपाको चिह्नमा उम्मेदवार दिए पहाडमा आफ्नै दलमा उम्मेदवार दिने पार्टी केवल भाजपा र गोर्खालिग मात्र रहनेछ।

यसैले यसपल्ट विभिन्न दलहरूले भोट काट्ने रणनीतिअनुरुप आवश्यकताअनुसार स्वतन्त्र उम्मेदवारहरू उठाउन सक्ने सम्भावना देखापरेको छ।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected]mail.com +919563441432

आजका समाचारहरू

विज्ञापन