के हो त चिह्नारीको समस्या?

ज्योति कुमार मुखियाको अनुवाद

आजको आवश्यकता भनेको एउटा यस्तो डिस्कोर्स सुरू हुनु पऱ्यो जुन डिस्कोर्सले भारतीय गोर्खालाई विभाजन गर्नु होइन अपितु एकिकृत गराओस्। यस्तो डिस्कोर्स जहाँ हामी खान पान, रहन सहन, भेष भुषा, धर्मको मतभेद अनि विभिन्नताको विवाददेखि टाढो रहेर गोर्खा एकीकरणको विचार बाँड्न सकौं।


         गौतम कालिकोटे


दार्जीलिङमा सांस्कृतिक जागरणको परिणाम नै गोर्खा चिह्नारीको उद्भव मान्न सकिन्छ। यही जागरण समय दार्जीलिङमा नेपाली साहित्य सम्मेलन (१९२४), गोर्खा दुःख निवारक सम्मेलन (१९३२), श्री हितकारी सम्मेलन (१९४५) हिमालय कला मन्दिर (१९५०) आदि जस्ता नागरिक सङ्घ संस्थाहरूको जन्म भयो। यी सङ्घ संस्थाहरूको क्रियाकलाप दाज्युभाईको नाता अनि सम्बन्धको आत्मपहिचान (self Identity) लाई  पुनःपरिभाषित गर्नु रह्यो। यो एकीकरणको मुख्य बिन्दु रह्यो नेपाली भाषाको वैश्विकरण अनि मानकिकरण।

यी सङ्घ संस्थाहरूको प्रयास अनि अन्य कारणको फलस्वरूप दार्जीलिङ पहाडका अनेकौं जातिहरूलाई एकत्रित गरेर गोर्खा जाति सृष्टि भयो जुन जाति सुरक्षित थिए अनि बाँच्न सक्यो अनेकन संस्कृतिहरू अनि स्वप्नहरू बोकेर। संस्कृति अनि स्वप्नको सङ्गम बन्यो गोर्खा जाति।

मजबूत सांस्कृतिक चिह्नारीको धरातलमा नेपाली चिह्नारी स्थापना गर्ने प्रक्रिया पूर्णरूपले स्थापित हुन सकेन कारण यो स्थापनाको प्रक्रिया भारतीय राष्ट्रिय संस्कृति अनि चिह्नारीको मेरू भएर गुज्रिन पऱ्यो। चिह्नारीको मुद्दामा समस्या त्यस समय आउँछ जब राष्ट्रिय चिह्नारीले स्थानीय चिह्नारी स्थापना गर्न संसाधन उपलब्ध गराएर चिह्नारीलाई परिभाषित गर्न मध्यस्थता समेत गर्छ।  स्तुअर्त हल हामीलाई याद दिलाउँछन् कि राष्ट्रीय संस्कृतिहरू सांस्कृतिक संस्थानहरूले बनिएको हुँदैन परन्तु जातिको बिम्ब अनि उसलाई दिने प्रतिनिधित्वले बन्दछ।

 

राष्ट्रिय संस्कृतिहरू डिस्कोर्स हो। व्याख्या हो। यसले ती कुराहरूलाई अर्थ दिने अनि समेट्ने काम गर्छ जसले हाम्रो क्रियाकलाप  अनि हाम्रो आफै माथिको विचारधारालाई प्रभाव पार्दछ। राष्ट्रिय संस्कृतिले राष्ट्रसँग पहिचान बनाउने नागरिकलाई राष्ट्रको परिभाषा दिँदै नागरिकको अथवा जातिको चिह्नारीलाई मुर्तता दिँदछ।

परन्तु भारतीय गोर्खाले भारत देशले कल्पना गरेको राष्ट्रवादभित्र आफ्नो छुटै राजनैतिक स्पेस बनाउनु खोज्दा, भारतीय नेपालीको आफ्नै उपनिवेश पूर्वको गोर्खा महिमा अनि बहादुरीको  इतिहासको कारण गोर्खाको आत्म पहिचान नै लङ्गडो बन्यो।

यो होइन कि तत्कालीन समयमा बहादुरी अनि लडाकु जातिको अवधारणा थिएन। अपितु गोर्खाको इतिहासको समस्या तब खडा भयो जब उसको बहादुरी अनि लडाकु जातिको पहिचानलाई उपनिवेश राष्ट्रले वैज्ञानिक सत्य नै भनी स्थापित गरिदियो। गोर्खाको पहिचान अथवा चिह्नारी बन्यो “बहादुर लडाकु जाति”। त्यसैले ” वीर गोर्खाको” को व्याख्या  “लडाकु जाति” को व्याख्यासँग मेल खान जान्छ। अब यो व्याख्याले यस्तो वातावरण सृजना गर्छ कि गोर्खाको पहिचान भनेको नै “वीर गोर्खा” रहेछ। गोर्खा जातिलाई विश्वले चिन्ने भनेको नै बहादुर सिपाही अनि यही पहिचानलाई हामीले गौरव ठान्यौ, गर्व गऱ्यौं अनि आफैलाई यही पहिचानसँगै जोड्यौं। परन्तु यो पहिचान उपनिवेशी इतिहासको उपज हो। ब्रिटिश मालिकप्रतिको सामन्ति निष्ठाको उपज हो।

अब यो परिस्थितिमा उपनिवेशवादप्रति दुविधा उत्पन्न हुनु स्वाभाविक ठहर्छ। गोर्खाले उपनिवेशिक व्याख्याबाट आफैलाई छुटकारा गर्ने प्रयासको क्रममा एउटा नौलो चिह्नारी स्थापित त गर्न खोज्यो नै परन्तु नयाँ चिह्नारी पनि त्यही उपनिवेशको व्याख्यामा नै गएर ठोक्कियो। त्यसैले गोर्खाको नौलो सांस्कृतिक पहिचान ‘गोर्खा’ आज पनि लडाकु जातिको कैदबाट उम्कनु सकेको छैन।

गोर्खाको चिह्नारी ब्रिटिश मालिकले चिनाई दिएको “लडाकु जातिको पहिचान” -भित्र नै आज पनि गोर्खा कैद छ। उपनिवेशवादले केवल ज्ञानमा वर्गिकरण ल्याएन परन्तु मानिस माझ पनि वर्गिकरण स्थापित गऱ्यो। यही वर्गिकरणभित्र गोर्खा जाति एक निवेदक अथवा अनुनय विनय गर्ने जाति बनेर गयो। यसर्थ पहिला ब्रिटिशको निम्ति काम गर्ने त्यस पश्चात उपनिवेशको ज्ञान बोकेर राज्य गर्नेको।

गोर्खा चिह्नारी अनि स्वतन्त्रतामाथिको डिस्कोर्समा समस्या

गोर्खा चिह्नारीको सङ्घर्षको यात्रा कठिन यात्रा छ। यो यात्राले सांस्कृतिक चिह्नारी अनि नागरिक हक साथै भारतीय राष्ट्रिय संस्कृतिलाई सन्तुलनमा राखेर हिँड्ने यात्रा बनेको छ। गोर्खा चिह्नारीको आधार, गोर्खा जातिले भारत स्वतन्त्र भए पश्चात त्यही उपनिवेशवादको सोचले सिँचेको राज्यलाई आफैलाई समर्पण गरेको इतिहासमा आधारित छ।

गोर्खा चिह्नारीको समस्याको उपज भनेको नै गोर्खा जातिले आफैलाई भारतको राष्ट्रिय संस्कृतिमा ढाल्न दैनिक रूपमा भोगेको अनुभवहरूको समिश्रण हो। गोर्खा चिह्नारीले आधिकारिकता खोज्न भारतलाई स्वाधीन बनाउन गोर्खाको योगदानको कथालाई अघि ल्याउने गर्छ। परन्तु यो नैतिक दावीको पुष्टिले गोर्खाको नेपालसँगको सम्बन्धको इतिहासलाई नै अवहेलना साथै नकारेको पाइन्छ। त्यसैले शब्दको खेल चलिरहन्छ भारतीय नेपाली, भारतीय गोर्खाली भन्दै।

जर्ज ओरवेल भन्छन, “कुनै पनि जातिलाई मास्नु/ नष्ट गर्नु हो भने उसलाई, उसको आफ्नो इतिहासलाई बुझ्ने मौका नै नदेऊ। सके इतिहास नै नष्ट गरिदेऊ”। पृथ्वीनारायण शाहलाई नेपाल एकीकरण गरे बापत सम्मान गर्छन्। तर कतिले उनलाई शोषक अनि साम्राज्यवादी पनि भन्छन्। नेपालमा ११ जनवरी, पृथ्वीनारायणको जन्म जयन्तीलाई नेपाल एकता दिवसको रूपमा पालन गर्छ। तर धेरै जातीय समूहले एकता दिवसको विरोध पनि गर्छन्, विशेषत कीर्तिपुर क्षेत्रमा।

१८ औं शताब्दीमा पृथ्वीनारायण शाह राजा भएको समय, उनले सिंगो नेपालको कल्पना गरे, जुन कल्पना अनुसार नेपालमा मानिसहरू एक भाषा (खस) बोल्छन्, एक धर्म मान्छन् (हिन्दू धर्म) अनि एक उत्सव मनाउछन् ( हिन्दू  धर्मका उत्सव)।

पृथ्वीनारायण शाहले सुरू गरेको नेपाली उत्सवहरू राजनैतिक थिए कारण ती सबै राजाले स्थापना गरेका उत्सव थिए। यदि यी स्थापनाहरूलाई (उत्सव, सेना, नागरिक जीवन) सुक्ष्म रूपमा केलायौं भने हामी त्यहाँ लोक संस्कृति पाउँछौं, धर्म पाउँछौं मानौं त्यहाँ यी दुई आयामहरूको समागम भएको छ।

ब्राह्मणवादलाई संस्थागत नै गरिएको थियो। जातप्रथाले समाजमा जरा नै गाडेको पाउँछौं। शाहको नेपाल उभिएको थियो सांस्कृतिक अनि धार्मिक विचारधाराको आडमा।

धर्म अनि संस्कृतिलाई जबर्जस्ती लादने क्रममा खस भाषा नबोल्ने अनि गैर हिन्दूहरू जस्तै नेवार, तामाङ, गुरूङ, लिम्बू आदिसम्मले राष्ट्रले सृजना गरेको हिन्दू परम्परालाई मान्न थाले। त्यही परम्परा अनुकूल चल्न थाले। यसको फलस्वरूप नेपालमा संस्कृतिक स्खलन आयो। स्थानीय मूल जनजातिको चिह्नारी नै सङ्कटमा पर्न गयो।

एक जातिको चिह्नारी त्यति बेला विलोप हुन्छ जब दोस्रो चिह्नारी पहिलो चिह्नारी माथि हावी बन्छ अनि कुन चिह्नारीसँग आफैले आफैलाई चिन्हित गर्छ। एक व्यक्ति या समुदायले विभिन्न पहिचान बोक्न सक्छ – व्यक्तिगत रूपमा अनि सामुदायिक रूपमा। त्यसैले चिह्नारी बहुआयामिक अवधारणा भएको कारण यो कि त आफै निर्माण हुन्छ या अरू कसैले बनाई दिन्छ।

 

गोर्खाको जातीय समूह

क) हिमाली क्षेत्रका किराँती जनजाति

१. खम्बू

२. यक्थुङबा

३. याखा

४. सुनुवार

५. नेवार

६. जिरेल

७. हायू

८. तमु (गुरूङ)

९. मगर

१०. तामाङ

११. भुजेल

१२. थकाली

१३. थामी

१४. चेपाङ

१५. स्युवा (कागते)

१६. कुसुन्डा

१७. छन्त्यालो

ख) तराई क्षेत्र का किराँती जनजाति

१. दुरा

२. दनुवार

३. माझी

४. धिमाल

५. मेचे

ग) खस जाति

१. बाहुन

२. छेत्री

३. ठकुरी

४. सार्की

५. कामी

६. दमाई

७. गाइने

यी माथि उद्घृत प्रमुख जातीय समुहले नै गोर्खा जनजातिको चिह्नारीको निर्माण गर्दछ।

भारतीय गोर्खा समुदायको बेग्लै जातीय पृष्ठभूमि छ। उदाहरणको निम्ति, लिम्बू, नेवार, लेप्चा, तामाङ (मुर्मी), दमाई, मगर, शेर्पा आदि सर्वभारतीय परिप्रेक्ष्यमा (प्यान इण्डिया स्तरमा) यो समुदायले आफैलाई गोर्खा भनी चिनाउँछन्। यसको मूलभूत कारण हुन् अर्थनैतिक, राजनैतिक, सामाजिक, क्षेत्रिय अनि कानुनी। त्यसैले गोर्खाको जातीय डिस्कोर्सको चरित्र थुप्रै विशेषणहरूले सिङ्गारिएको छ, जस्तै नेपाली भाषा, उपनिवेशको इतिहास, गोर्खा रेजिमेन्ट, गोर्खाको ऐतिहासिक अनुभूति, संस्कार, परम्परा, क्षेत्रीय, खाना (सेल रोटी, किनेमा, गुन्द्रुक, थुक्पा, मोमो, तामा आदि), सङ्गीत (नेपाली सङ्गीत, तामाङ सेलो) । पारंपरिक गोर्खे टोपी अनि खुकुरीले गोर्खाको दृश्य पहिचान/ चिह्नारी दिँदैछ।

२३ सितम्बर १५५९।

द्रव्य शाह, पृथ्विनारायण शाहका पूर्वज, राजपूत वंश। उनले गोर्खाका खड्का राज अनि नेपालका वरिपरिका राज्यहरूमाथि हमला गरे। आक्रमण पश्चात उनले खस, मगर, गुरूङ अनि ठकुरी जातिको सहायता लिएर पहिलो गोर्खा साम्राज्य स्थापना गरे। कामी, सार्की अनि दमाई खस जाति अन्तर्गत पर्ने भए पनि यी जातिलाई सेनामा लिइएन।

एकीकरणको समय, गोर्खा साम्राज्यको सेनालाई गोर्खा आर्मी/ सेना भनी बोलाइन्थ्यो। यसरी गोर्खा जातिको लडाकु जातिको पहिचान इतिहासविद नीलाम्बर छेत्री सुरू भएको ठान्छन्। सैद्धान्तिक रूपमा जुन डिस्कोर्स बोकेर “गोर्खा ” शब्दको उद्भव भयो हामीले हेर्नु पर्छ कि यो उद्भवको क्रममा इतिहासलाई कसरी विकृत गरिएको छ अनि यो लडाकु जातिको पहिचान कति सार्थक छ।

गोर्खा शब्दको उद्भवको सैद्धान्तिक पक्षलाई नियालेर हेर्ने हो भने  यो पक्षले राखेको न्यारेटिभ सत्य देखा मात्र पर्दैन तर सत्य नै लाग्छ।

विश्वदीप तामाङ लेख्छन्,”सन् १७६९ मा पृथ्विनारायण शाहको उदय हुनु अघि दार्जीलिङ अनि डुवर्स क्रमैले सिक्किम अनि भुटानको भूभाग थियो। आजको उत्तर बङ्गालको भूभाग, हिमाचल अनि उत्तराञ्चल (कुमाउँ अनि गढवाल) को केही भूभाग १७६९ देखि १८१४ सम्म नेपालको भूभाग थियो।

यी जितेका भूभागहरू पछि सिक्किम अनि इस्ट इण्डिया कम्पनीमा १८१४ को सुगौलीको सन्धि पश्चात गाभियो। भूभागसँगसँगै पृथ्वीनारायण शाहको सामाजिक चिन्तनको झोला पनि पस्यो।

भारतीय गोर्खाको चिह्नारीको बनावट

भारतीय गोर्खाको चिन्हरीको उद्भव बुझ्न तीनवटा प्रभाव पार्ने कारकहरू बुझ्न जरूरी छ :

 १. आसाम अनि दार्जीलिङ : नयाँ क्षितिज

१८६० को दशकमा आसाम अनि दार्जीलिङ क्षेत्रमा चियाको खेती बढ्न थाल्यो, दार्जीलिङमा शहरीकरण सुरू भयो साथै अन्य व्यापार वाणिज्य क्रियाकलाप बढ्न थाल्यो। त्यतिखेर श्रमिकहरूको डिमाण्ड बढेर गयो। श्रमिकको डिमाण्डलाई पूरा गर्न ब्रिटिशले नेपालबाट श्रमिकहरूलाई वर्तमान उत्तर बङ्गाल क्षेत्रमा  आउने अनुमति दियो।

आसाममा गोर्खाको संख्या अन्य राज्यको तुलनामा धेरै छन । तर आसाम, उत्तर बङ्गालको भूभाग सरह कहिले पनि सिक्किम, भुटान, नेपालको भूभाग बनेन। सन् १८२६ मा ब्रिटिशले आसामलाई इष्ट इण्डिया कम्पनीमा गाभ्यो अनि त्यहाँ एउटा ठूलो गोर्खा सैनिकको छाउनी नै सुरू गऱ्यो। त्यसरी नै आसामको कोइला खानी अनि तेल खानीले धेरै श्रमिकहरू खपत गऱ्यो। बिस्तारै ब्रह्मपुत्रका छेउछाउ अनि हरियो जङ्गल गोर्खाहरूले आफ्नो पशुको चरण बनाए।

१८३८ को वेस्ट ल्यान्ड रूल लागू गरेर ब्रिटिशले पशु चरणलाई प्रोत्साहन दिए । पशु चरणबाट अङ्ग्रेज सरकारले चरणी ट्याक्स नाममा कर उसुल्थे।

नेपालबाट दार्जीलिङ पसेका नेपाली श्रमिकहरू दार्जीलिङको रेल लाइन बनाउनमा अनि दार्जीलिङ शहर बनाउन तल्लीन बने या त चियाको बुट्टासँग खेल्न। यसो हुँदा नेपालबाट बोकेर ल्याएको जात भेद/ प्रथा यहाँ बिस्तारै विलिन हुँदै गयो। यसको सट्टा यहाँ वर्गभेद थालनी भयो।

जब कि नेपालमा १८५४ को मुलुकी ऐन अनुसार समाजलाई जात जातमा भेदभाव राखेर टुक्राएको थियो। यो प्रथा राणा शासनकालीनको इतिहास हो। यो ऐन अनुसार हरेक जातीय गोष्ठी अनि जातिको समाजमा कस्तो स्तर अनि मान्यता हुनेछ बताइएको थियो।

एनी कुकुक्सा आफ्नो पुस्तक “Negotiating Ethnic Identity in the Himalaya” ( पृष्ठ १०-११) मा लेख्छन्, जातिगत भिन्नता तागाधारी (जनै लगाउने ) अनि मतवाली जाति अर्थात रक्सी खाने जात माझ देखा पर्छ। तागाधारी जात गोष्ठीमा छेत्री, बाहुन, ठकुरी, नेवार भित्रका अनेकौं उपजाति पर्दछन्। यिनीहरूको स्थान समाजमा उच्चतम श्रेणीमा पर्छ।

मतवाली अर्थात रक्सी खाने जातभित्र पनि दाश बनिनु नपाइने उपजाति, मगर, लिम्बू, राई, गुरूङ छने भने दास बनाउन सकिने मतवालीमा तामाङ, भोटिया, शेर्पा, योल्मो पर्दछन् अनि तल्लो स्तरको मतवाली।

दार्जीलिङमा अङ्ग्रेज शासनकालमा मतवाली जातिले अङ्ग्रेजको व्यवस्थाको/ प्रशासनको दमन झेल्नु पऱ्यो भने नेपालमा राणाको शासनमा प्रशासनिक साथै सामाजिक दमनको सामना गर्नु पऱ्यो।

त्यसैले मतवाली जातिको निम्ति दार्जीलिङ धेरै फराकिलो, स्वतन्त्र अनि सामाजिक बन्धनहरूदेखि मुक्त स्थान भयो। सायद यसै कारण पनि हुनुसक्छ १९०१ मा राई, तामाङ, लिम्बु, मगर, गुरूङ, कामी अनि अन्य पीडित जातिको संख्या दार्जीलिङमा धेरै संख्यामा देखिन्छ। मतवाली जातको चिह्नारी राणा शासनले थोपेको चिह्नारी थियो भने भारतीय गोर्खा चिह्नारी आत्म – निर्माण चिह्नारी हो।

२. नेपाली भाषा

नेपालको राष्ट्रिय भाषा नेपाली। नेपाली भाषालाई नेपालका जनजाति समुहले विरलै प्रयोगमा ल्याउँथे कारण उनीहरू आफ्नै भाषा बोल्ने समहु माझ बस्दथे। किराँतीहरू उत्तर पूर्वी नेपालमा बसो बासो गर्थे। तामाङहरू काठमाडौंको उत्तरी भाग तिब्बत सीमानाका रैथाने थिए।

भुटिया शेर्पाहरू मुस्ताङ, उत्तर पश्चिम अनि उत्तर पूर्वका केही क्षेत्रका रैथाने थिए। नेवारको गढ काठमाडौं। गुरूङको गढ गण्डकी। क्षेत्रिय स्तरमा जनजातिहरूले आफ्नो भाषा अनि संस्कृतिलाई जोगाएर राखेका थिए। जब एकीकृत नेपालको स्थापना भयो तब काठमाडौं एकीकृत नेपालको राजधानी बन्यो।

तब भाषाको अतिक्रमणको बोझ नेवारी भाषाले खप्नु पऱ्यो। गुसिप्पे टुकी “Nepal: Discovery of Malla” (पृष्ठ १३७) मा लेख्छन् ,” नेवार अनि गोर्खा जातिमा तनाव यति बढेर गयो कि नेवार भाषाको प्रयोगमाथि प्रतिबन्ध लगाइयो अनि गोर्खा भाषालाई अनिवार्य भाषा बनिइयो।”

काठमाडौं वरिपरिको रैथाने भएर बसेका तामाङ जातिले पनि गोर्खा भाषाको अतिक्रमण भोग्नु पऱ्यो। तामाङहरूले शाषणको विरूद्ध दुई पल्ट विद्रोह नै गरे। मगर अनि गुरूङले राज्यको कुरामा हो मा हो मिलाए। उनी अझ लेख्छन् कि दार्जीलिङमा सबै जात गोष्ठी एक साथ मिलेर रहन्थे। त्यसैले सबैले बुझ्ने अनि जान्ने भाषा बन्यो नेपाली। अनि यही नेपाली भाषा दैनिक प्रयोगको भाषा बन्यो। (पृष्ट ४)

बीसौं शताब्दीको सुरूमा दार्जीलिङमा नेपाली भाषा फस्टाए कारण यो स्थान शासन विरोधीहरूको निम्ति स्वर्ग थियो। राणा शासन विरूद्ध विरोधका टीका टिप्पणी, लेख आदि दार्जीलिङबाट नै नेपालीमा लेखियो कारण नेपालमा आलोचनाको निम्ति कुनै ठाउँ थिएन। भारत स्वाधीन हुनु अघिसम्म भारतीय गोर्खालाई एकबद्ध गर्ने माध्यम भनेको नै नेपाली/ खस भाषा थियो। कतिले तर्क राखेका छन् कि नेपाली भाषाको कारण भारतीय गोर्खा एकबद्ध भएको श्रेय पृथ्वीनारायण शाहलाई जान्छ। त्यही तर्क अनुसार हेर्ने हो भने भारतीय नागरिकले अङ्ग्रेजलाई २०० वर्षको शासन पश्चात स्वाधीनता दिएकोमा धन्यवाद दिनु पर्छ। त्यसैले यस्तो तर्क न्यायसँगत छैन। निरङ्कुश शासकलाई हिरो बनाउने कुनै कारण नै बन्दैन।

३. गोर्खा रेजिमेन्ट

पृथ्वीनारायण शाह अनुसार, “खस, मगर, गुरूङ अनि ठकुरी, यी चार जातिलाई मात्र सेनामा भर्ना गर्नु। युद्धको समय सबै बलिया बनुन् ताकी दुश्मन अनि स्वर्गको यिनीहरूलाई देख्ने बित्तिकै कम्पन छुटोस।”

एडेन् भन्सित्तर्तले “The Gurkha” पुस्तकमा कुन जातिले सेवक भएर काम गर्छन्, जातिको सूची तयार गरिदिएका छन्। सेवक भएर काम गर्ने जातिको सुचीमा पर्दछन् दमाई, कमारा, कामी, कसाई (नेवार), पिपा अनि सार्की। सेवक जातिलाई सेनामा भर्ना निषेध थियो।

नेपालमा ३४ वर्ष शासन गर्ने महाराजा जङ्गबहादुर राणाले १८५४ मा मुलुकी ऐन लागु गरे। यो कानुन बमोजिम तामाङ जातिलाई ब्रिटिश इन्डियन आर्मीमा भर्ना हुन अनि नेपाली सरकारी काममा नौकरी गर्न निषेध गरियो। तर यिनीहरूलाई पीपा अर्थात भरिया कामको निम्ति मात्र अनुमति दिइयो। तर भारतीय सेनाको गोर्खा सेनामा यस्तो किसिमको भेदभाव थिएन।

कुनै पनि जातिले सेनामा भर्ना हुनु पाउने प्रावधान थियो। भारत स्वतन्त्र भए पश्चात भारतीय सेनाको गोर्खा रेजिमेन्ट मार्फत सम्पूर्ण जात गोष्ठीमा समानता देखापऱ्यो। विधान गोले  “Rethinking Gorkha Identity” पुस्तकमा लेख्छन् (पृष्ट ११), ” १८६४ मा अङ्ग्रेजले एउटा राजपत्र जारी गरे। राजपत्रले गोर्खा रेजिमेन्टका सैनिकहरूलाई धर्मशाला, देहरादून, अल्मोडा, गोरखपुर, शिलङ आदि स्थानहरूमा जमीन किनेर बसोबासो गर्ने कानुनी प्रावधान दियो। सन् १८९० मा दार्जीलिङमा गोर्खा सेनाको भर्ती डिपो सुरू भयो। त्यस समयदेखि सेना भारतीय गोर्खाको निम्ति रोजगारको मुख्य माध्यम बन्यो। त्यसैले भारतीय गोर्खाको चिह्नारीको निर्माण १९ औं शताब्दीको मध्यतिर सुरू भयो। दार्जीलिङ, डुवर्स, आसाम अनि भारतका अन्य क्षेत्रबाट धेरैको संख्यामा गोर्खाहरू भारतीय सेनामा भर्ना हुनथाले। गोर्खा सेनाको कारण तिनीहरूलाई “गोर्खा” भनियो। नेपाली भनिएन। नेपालमा हेर्नु हो भने गोर्खा शब्दको कुनै पनि जातीय महत्व छैन। परन्तु भारतीय नेपालीले “गोर्खा” शब्दलाई जातीय चिह्नारीको शब्दको रूपमा प्रयोग गर्न थाल्यो।

गोर्खा चिह्नारीको राजनैतिक कालक्रम

बीसौं शताब्दिको सुरूवाती समयसम्म दार्जीलिङ, डुवर्स, आसम, कुमाउँ, गढवाल अनि भारतमा बसोबासो गरिरहेका नेपालीहरूले राष्ट्रिय धारामा आफ्नो पहिचान देखाउनु कुनै आतुरता देखाएन। भारत जस्तो बृहत देशमा आफैलाई विदेशी अथवा बाहिरको होइन भनी चिह्नारी दिनु नै चिह्नारी स्थापना गर्नु हो।

१९०७ मा हिल्स मेन एशोसिएसन प्रथम पल्ट चिह्नारी बिगुल बजाए। मुरली मिन्टो रिफर्म कहाँ अलग्गै प्रशासनिक व्यवस्थाको माग गर्दै मेमोरण्डम चढाएको इतिहास छ। त्यस समय “गोर्खा” शब्दको प्रयोग गरिएको थिएन। गोर्खा शब्दको प्रयोग गोर्खा रेजिमेन्टसँग संलग्न सेनाहरूलाई गरिन्थ्यो।

राजनैतिक तौरमा १९४३ मा गोर्खा शब्दको प्रथम प्रयोग अखिल भारतिय गोर्खा लिगले आफ्नो पार्टीको नाममा गऱ्यो। ८० को दशकमा राष्ट्रिय चिह्नारीको माग अनि आवश्यकताले तुल पक्रियो। भारतीय नेपालीले आफैलाई गोर्खा भनी चिन्हित गराउन गोर्खा चिह्नारीको प्रयोग भयो।

जुलाई १९८६ मा मेघालयबाट नेपालीहरूलाई निर्वासित गरिएको घटना पछि चिह्नारीको आवाज झन् ठूलो हुँदै गुन्जिन थाल्यो। त्यस समय इण्डिया टुडेले रिपोर्ट गऱ्यो, ‘यद्यपि मेघालय सरकारले नेपाली कब्रस्थान खाली गरेर २५०० नेपाली बिस्थापितहरूलाई राख्न ठाउँ बनाउँदै थियो।  मणिकुमार सुब्बाले प्रश्न उठाए, ‘ के नेपालीहरूलाई जिउँदै कब्रस्थान् लगिरहेको त छैन?’ १९८८ मा दार्जीलिङ गोर्खा पर्वतीय परिषद अनि २०१२ मा गोरखाल्याण्ड क्षेत्रिय प्रशासनको गठन पश्चात चिह्नारीको मुद्दाले कानुनी अनि राजनैतिक स्पेस पायो।

स्वर्गीय सुबास घिसिङ्गले गोर्खा या गोर्खाली शब्दको प्रयोगको वकालत गरे। १९९२ मा नेपाली भाषालाई आठौं अनुसूचीमा गाभिने समयमा उनले नेपाली भाषालाई गोर्खाली भाषा भन्नु पर्छ भनी संसदमा उठानसम्म गरे। घिसिङको सैनिक पृष्ठभूमि रहेको कारण पनि गोर्खा शब्दको प्रयोगप्रति उनको जोड रहेको हुनसक्छ। २३ अगस्त १९८८ मा भारत सरकारले एउटा ग्याजेट नोटिफिकेसन (२६०११/६/८८ – आइसिआई) जारी गरी गोर्खालाई भारतीय नागरिकको मान्यता दिए। गृहमन्त्रालयको नोटिफिकेसनले गोर्खा शब्दको प्रयोग गरेका छन्, भारतीय नेपाली होइन।

निष्कर्ष

जातीय चिह्नारी भनेको कुनै पत्थरको खम्बा होइन। यो कुनै निर्दिष्ट वर्गिकरण पनि होइन। परन्तु यो आफैलाई अनि आफ्नो जातीय पृष्ठभूमिलाई चिन्ने गतिशील अनि तरल प्रक्रिया हो। सिमाना कोरिँदै जान्छ। वंशको सामान्य विचार स्थापित हुँदै जान्छ। समुहभित्र आस्थाको नयाँ आयाम थपिँदै जान्छ। शक्तिको नयाँ संरचना सृजना हुन्छ। यही परिवर्तनसँगसँगै व्यक्ति अनि समुहको पहिचान बनिँदै जान्छ। वाद्ययन्त्रवादी दृष्टिकोणले जातीय चिह्नारीको व्याख्या समाजमा स्थापित शक्ति संरचनाको दृष्टिकोणले गर्छ।

ब्राह्मणवादले आज पनि समाजको थुप्रै तन्तुहरूलाई प्रभाव पारिनै रहेको छ। यसलाई जराबाट नै उखेल्नु अनिवार्य छ। लोकतन्त्रमा जनताले आफ्नो भविष्यको निर्णय आफै लिन्छ। त्यसैले हामीले निर्णय लिने समय आएको छ कि हाम्रो भावी पिढिँले हाम्रो जातिलाई कसरी याद गर्न चाहन्छ।

विकासवादको दृष्टिकोणले हेर्ने हो भने दार्जीलिङ सांस्कृतिक नवयुगको धरतीमा रहेको छ। पहाडकी रानी दार्जीलिङले भाषा आन्दोलनलाई नेतृत्व दिएर सितम्बर १, १९९२ मा। फल फलाएर देखाइदियो। दार्जीलिङ केन्द्रबिन्दु बनेको १९८०, २००७, २०१७ को गोर्खाल्याण्ड आन्दोलन पश्चात् भारतीय गोर्खालाई चिह्नारीको प्रश्न अनि मागले सदैव हुटहुटी लगाइरहेको छ। त्यसैले दार्जीलिङ भारतीय गोर्खाको चिह्नारी निर्माणको केन्द्रबिन्दु नै बनेको छ।

आजको आवश्यकता भनेको एउटा यस्तो डिस्कोर्स सुरू हुनु पऱ्यो जुन डिस्कोर्सले भारतीय गोर्खालाई विभाजन गर्नु होइन अपितु एकिकृत गराओस्। यस्तो डिस्कोर्स जहाँ हामी खान पान, रहन सहन, भेष भुषा, धर्मको मतभेद अनि विभिन्नताको विवाददेखि टाढो रहेर गोर्खा एकीकरणको विचार बाँड्न सकौं।

वर्तमान राजनैतिक परिप्रेक्ष्यमा भारतीय गोर्खा जातिको संवैधानिक एवं राजनैतिक न्याय तथा राष्ट्रिय चिह्वारीको मुद्दा उठाएका छन् गोर्खा जनमुक्ति मोर्चा (विनय) राजनैतिक दलले। विनय तामाङले भारतीय गोर्खालाई एकिकरण हुन गर्नु भएको आह्वान हरेक भारतीय गोर्खाको निम्ति महत्वपूर्ण आह्वान हो।

सबैले उनले उठाएको मुद्दालाई वैचारिक रूपमा भए पनि समर्थन दिए व्यर्थ जाने छैन। विनय तामाङको आह्वानसँगै यो लेखलाई अन्त्य गर्न चाहन्छु। विनय तामाङ भन्छन,“भारतमा गोर्खा जातिको एकीकरण भए मात्र हाम्रा जातिगत मुद्दाहरू पार लाग्नेछ अन्यथा सबै प्रयासहरू अर्थहीन एवं निष्कर्षहीन बन्नेछ।”

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन